अभिनेता राजेश हमालले फिल्ममा काम नगरेको धेरै वर्ष भइसक्यो।
उनले पछिल्लो पटक फिल्म 'सकुन्तला' मा अभिनय गरेका थिए। यो फिल्म हलमा लागेको ८ वर्ष भइसकेको छ।
रिलिजका हिसाबले भने राजेशको पछिल्लो फिल्म 'सीता' थियो, जुन ५ वर्षअघि प्रदर्शनमा आएको थियो।
पहिल्यै छायांकन गरिएको फिल्म केही वर्षपछि रिलिज गरिएको थियो।
यसबीचमा राजेश हमालले थुप्रै म्युजिक भिडिओमा अभिनय गरे। टेलिभिजन शो संचालन गरे। तर अफर पुगेका थुप्रै फिल्म भने अस्वीकार गरे।
३ वर्षअघि उनले कमब्याकको तयारीसहित फिल्म 'सत्यम' साइन गरेका थिए। यो फिल्मको निर्माण कार्य भने बिचमै रोकिन पुग्यो।
यसरी लामो समयदेखि फिल्म अभिनयबाट टाढा रहेका राजेशले सोमबार नयाँ फिल्म साइन गरे। निर्देशक दिवाकर भट्टराईको अनटाइटल फिल्म साइन गरेसँगै राजेशको कमब्याक पक्का भएको छ।
सामाजिक कथामा बन्ने एक्सनप्रधान यो फिल्मको नाम केही दिनमा घोषणा गर्ने तयारी छ।
अभिनेता राजेशले थुप्रै पटकको बसाइमा भएको छलफलपश्चात यो फिल्ममा अभिनय गर्न तयार भएका हुन्। निर्देशक दिवाकरका अनुसार आफूहरूको योजना र स्क्रिप्ट चित्त बुझेपछि राजेशले फिल्म साइन गरेका हुन्।
'८–९ पटकको बसाइपछि बल्ल ओके हुनुभयो,' उनले भने, 'उहाँ सहमत हुनुमा स्क्रिप्ट र मेकरप्रतिको विश्वास भन्नुपर्छ।'
राजेशका लागि यो फिल्म करिअरको पावरफूल दोस्रो इनिङ हुनसक्ने दिवाकरले बताए। उनले आफूप्रतिको विश्वासलाई एउटा उचाइ दिने पनि बताए।
दिवाकरका अनुसार फिल्ममा राजेशलाई नयाँ लुकमा ल्याउने तयारी छ।
उनले भने, 'उहाँको नयाँ लुक देख्न पाउनुहुनेछ। फिल्म धेरै हिसाबले फरक र राम्रो हुनसक्छ। त्यहीअनुसार मेहनत गर्दैछौं।'
दिवाकरकै लेखन रहेको फिल्मको छायांकन भदौ पहिलो सातादेखि सुरू गर्ने तयारी छ।