फेरि प्रदर्शनमा आउन लागेको फिल्म 'बुलाकी' को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले ट्रेलर रिलिज गरेको हो। एकसाथ धेरै फिल्म रिलिज हुँदा गतवर्ष प्रदर्शनको दोस्रो दिनमा नै निर्माताले यो फिल्मलाई हलबाट उतारेका थिए।
यही साउन ३२ गतेदेखि फिल्म फेरि प्रदर्शनमा आउन लागेको हो।
सार्वजनिक नयाँ ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारीप्रथाको यथार्थ सामाजिक परिवेशलाई जोडिएको छ।
राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त, अभिनेताहरू नरेन खड्का र विराज विष्टसँगै नव-कलाकार सरस्वती खत्रीले शीर्ष भूमिका निर्वाह गरेका छन्।
ट्रेलर रिलिज समारोहमा बोल्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए।
बुलाकी कर्णाली र देशकै गहना रहेको भन्दै खड्काले यसको छुट्टै सांस्कृतिक महत्व रहेको बताए।
'यो फिल्मले संस्कृती, संस्कार, रितिरिवाज बोकेको पाएँ। कर्णाली नेपाली कलासंस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो। यो प्रकारको कथा उठान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु,' खड्काले भने ।
अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिँड्दा मात्र सफलता सम्भव हुने भन्दै 'बुलाकी' को यो दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन्।
शिव ढकालको छायांकन रहेको फिल्ममा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको पनि अभिनय छ।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ।
ट्रेलर हेर्नलाई यहाँ क्लिक गर्नुहोस्।