हाँस्य व्यंग्यमा आधारित रहेर टेलिभिजन शो 'कमेडी किरो राष्ट्रको हिरो' दर्शकमाझ आउने भएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच यो शोको अफिसियल घोषणा गरिएको हो। सोही अवसरमा कार्यक्रमको लोगो र प्रोमो समेत सार्वजनिक गरियो।
जनता टेलिभिजनको प्रस्तुतिमा रेस्क्यू क्रियसनसँगको सहयात्रामा आउन लागेको शो प्रतियोगिता भने होइन।
'कमेडी फर करियर' भन्ने नारा सहित सुरू हुन लागेको शो मा देश विदेशमा रहेका नेपालीहरूले डिजिटल अडिसनमा भाग लिन पाउनेछन्।
डिजिटल अडिसन मार्फत आएका प्रतियोगीबाट टप २० छान्ने र उनीहरुलाई १ वर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समन अधिकारीले बताए।
मासिक तलबमा काम गर्ने रोजगारी सिर्जना गर्ने उद्देश्यले यो शो निर्माण गर्न लागिएको अधिकारीले जानकारी दिए।
बिहीबारबाट सुरू भएको डिजिटल अडिसनमा भाग लिन चाहनेहरूले भदौ १५ गतेभित्र २ मिनेटसम्मको भिडिओ ह्वाटस् एप मार्फत पठाउन सक्ने उनले बताए।
चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन गरिने उनले बताए।
कार्यक्रममा बोल्दै जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरैले रोजगारी पाउने बताए।
कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोष खनाल, सुदिप खतिवडा, सरोज भण्डारीले प्रशिक्षण दिनेछन्। कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्।
शो जनता टेलिभिजनमा प्रसारणमा आउनेछ। डिजिटल पार्टनरमा म्युजिक नेपाल रहेको छ।