दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'घरज्वाइँ' जापानमा प्रदर्शन हुने भएको छ। नेपाल मगर संघ जापानको आयोजनामा फिल्मको प्रदर्शन हुन लागेको हो।
फिल्मको प्रदर्शनका लागि अभिनेत्री मिरूना मगर जापान जाने तयारीमा छिन्।
अगस्ट ११ (आइतबार) राजधानी टोकियोमा हुन लागेको प्रदर्शनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।
अगस्ट ११ तारिखमा टोकियो, १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी फिल्मको शो हुने जनाइएको छ। सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि 'घरज्वाइँ' प्रदर्शन हुनेछ।
दर्शकबाट मिरुना मगरको पनि माग भएपछि सम्बोधन स्वरूप उनलाई निमन्त्रणा गरिएको संघका अध्यक्ष रामहरी खपांगी मगरले बताए।
जापानका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको स–परिवार उपस्थित हुने शोमा एनआरएनए लगायत विभिन्न संघसंस्थाको उपस्थिति रहने जानकारी नेपाल मगर संघ जापानले दिएको छ।
अनिल बुढा मगरको निर्देशन र जनक घर्ति मगरको निर्माण रहेको यो फिल्म नेपालमा गत असार २८ गतेदेखि प्रदर्शनमा आएको थियो।
रूकुम पूर्वको गाउँमा छायांकन गरिएको फिल्मले त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उठान गरेको छ।