दयाहाङ राई र मिरूना मगर अभिनीत फिल्म 'घरज्वाइँ' शुक्रबारदेखि पाँचौं सातामा प्रवेश गरेको छ।
फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ।
चार सातामा फिल्मले ५ करोड २५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको वितरक रोहित कट्टेलले बताए।
हिजो बिहीबारसम्म फिल्मले घरेलु बक्स अफिसमा उक्त कलेक्सन गरेको हो।
अनिल बुढा मगरको निर्देशन रहेको फिल्मको निर्माता जनक घर्ती मगर हुन्। रूकुम पूर्वको गाउँमा छायांकन गरिएको फिल्मले त्यहाँको मगर समुदायमा प्रचलित घरज्वाइँ प्रथालाई उठान गरेको छ।
विभिन्न देशमा समेत प्रदर्शनमा आएको फिल्म जापानमा पनि लाग्दैछ। फिल्म प्रदर्शनका लागि अभिनेत्री मिरूना मगर जापान जाने तयारीमा छिन्।