वैदेशिक रोजगारीमा जाने नेपालीहरूले सामना गर्ने स्वास्थ्य जोखिमहरूबारे सचेतना जनाउने उद्धेश्यले वृत्तचित्र 'टू हट टू वर्क' काठमाडौंमा स्क्रिनिङ गरिएको छ।
घर (ग्लोबल हेल्थ एड्भोकेसी एन्ड रिसर्च) ले नेपाल विकास समाज र ला इस्ला नेटवर्क लगायतको सहकार्यमा क्युएफएक्स छायाँ सेन्टरमा शनिबार कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा गायक प्रकाश सपूतको सचेतनामूलक गीत 'ख्याल राखे ज्यानको' समेत रिलिज गरियो।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, सांसद गोकर्ण विष्ट, मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेलगायत स्वास्थ्य, कलासहित विभिन्न क्षेत्रका व्यक्तिहरू अतिथिका रूपमा उपस्थित थिए।
वृत्तचित्र 'टू हट टु वर्क' मा कामदारहरूमा चरम गर्मीले पार्ने प्रभावहरू, साथै जलवायु र स्वास्थ्यसम्बन्धि विशेषज्ञहरूका टिप्पणीहरू प्रस्तुत गरिएको छ। त्यस्तै, गीतले रोजगारमा जाने नेपाली कामदारहरूलाई आफ्नो ख्याल गर्ने सन्देश दिएको छ।
कार्यक्रममा घरकी सह–संस्थापक, एन्डोक्रिनोलोजिस्ट तथा सिए डा. पूजा शेरचनले नेपालका डायलासिस केन्द्रहरूको तथ्यांकले लगभग एक तिहाइ बिरामीहरू अति तातो देशहरूबाट फर्किएका कामदारहरू रहेको बताइन्।
जलवायु परिवर्तनको प्रभावले स्वास्थ्य समस्याबाट पीडितहरूको अनुपात बढ्दै गएकाले त्यसलाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
'गर्मी, स्वास्थ्य र आशा' माथि रहेर उनले छलफल गरिन्।
नेपाल विकास समाजकी कार्यकारी निर्देशक डा. स्वेता कोइरालाले ‘मिर्गौला फेल र प्रवासी कामदार’ माथि रहेर छलफल गरिन्।
कार्यक्रममा प्रश्नोत्तर सत्र समेत चलेको थियो।
डा. दिनेश न्यौपानेले प्रवासी काम, गर्मी र स्वास्थ्यबारे बोलेका थिए। निशा थापा, डा. किसु रावल लगायतले सहजीकरण गरेका थिए।
कार्यक्रममा सारंगीको धून समेत गुञ्जिएको थियो।
तस्बिरहरूः