वैदेशिक रोजगारीमा गएका युवाको कथामा आधारित 'प्याकुली' नामक म्युजिकल फिल्म सार्वजनिक गरिएको छ।
काठमाडौंको सिटिसी मलमा आयोजित समारोहकाबीच २७ मिनेटको यो गीति फिल्म सार्वजनिक गरिएको हो।
नीतिन चन्दको निर्देशनमा तयार भिडिओमा आरआर खड्का, तलिशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय छ।
बाबुल गिरीको संगीत र स्वर रहेको गीतका शब्द आरआर (रामहरि) खड्काका हुन्।
आयोजित कार्यक्रममा बोल्दै कलाकार आरआर खड्काले गाउँ समाजमा घटिरहेको घटनालाई शब्दमा उतारेको बताए।
'अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन्। केही सत्य घटना पनि होलान्। तर अरूका कुरा सुनेर कुनै कदम नचाल्नूस्। श्रम गर्ने परिवारले कागले कान लग्यो भनेर पछि लाग्ने भन्दा पनि कान छाम्ने गरौं। यो गीतको यही सन्देश हो,' उनले भने ।
गीतको भिडिओमा अभिनय गरेकी तलिशा गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्रको रूपमा काम गर्न पाउँदा खुसी लागेको बताइन्।
कलाकार महेश खड्काले प्याकुलीमा जोडिन पाउँदा आफ्नो कामलाई फरक पाएको बताए। दुःख पाएको युवाको क्यारेक्टरमा प्रस्तुत हुन पाउँदा खुसी लागेको उनको भनाइ छ।
गायक बाबुल गिरीले यो अहिलेसम्मकै फरक खालको गीत भएको बताए। समाजको कथामा चित्रण गरिएको गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो।
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेको भन्दा फरक परिवेशमा बनेको गीत उत्कृष्ट लागेको बताइन्। उनले चलिरहेको भन्दा अलि फरक गीत बनेको र मन छोएको बताइन्।
गीत सार्वजनिक समारोहमा दिपाश्री निरौला, शिवहरि पौडेल, गीतकार शंकर अधिकारी ‘घायल’, निर्देशक ज्ञानेन्द्र देउवालगायतको उपस्थिति थियो।
शिशिर गुरूङको प्रस्तुति रहेको भिडिओमा दिनेश पराजुलीको छायांकन, सिलन लम्सालको सम्पादन छ। यसको क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल रहेका छन्।
भिडिओः