प्रदर्शन तयारीमा रहेको फिल्म 'के घर के डेरा: घर नं २' भावनात्मक आरोह अवरोहको कथा रहेको यसका निर्देशक दीपेन्द्र के. खनालले बताएका छन्।
साहित्यकार बुद्धिसागरले यसको कथा लेखेका हुन्। स्थापित साहित्यकारले लेखेकाले पनि अझ बढी भावनात्मक स्पर्श फिल्ममा रहेको निर्देशक खनालको भनाइ छ। भावनात्मक भन्दैमा रूने भन्ने अर्थमा भने बुझ्न नहुनेमा उनको जोड छ।
टिजर र ट्रेलरलाई साहित्यिक बनाइएको र त्यसले फिल्मको एउटा सानो अंश मात्रै समेट्ने निर्देशक खनालले बताए।
उनले भने, 'फिल्म साहित्यक मात्रै छैन। फिल्म जस्तो हुनुपर्ने हो त्यस्तै छ। साहित्यिक व्यक्तिको हात, मन र दिमाग परेकाले त्यस्तो लागेको होला। साहित्यिक व्यक्तिको हात, मन र दिमाग फिल्ममा जहाँ आउँछ त्यसले फिल्मलाई थप सुन्दर बनाउँछ।'
'के घर के डेरा: घर नं २' दर्शकको दिमागमा लामो समयसम्म बस्ने फिल्म रहेको समेत निर्देशक खनालको भनाइ छ।
'धेरै फिल्म हलमा बत्ती बलेर बाहिर निस्किएपछि सकिन्छ। तर यो त्यस्तो छैन। यो घर पुगेपछि पनि दिमागमा रहिरहन्छ। त्यसैले यो मान्छेलाई सोच्न बाध्य बनाइरहने फिल्म बन्नेछ भन्ने अपेक्षा छ,' उनले भने।
हसाउने सिन समेत धेरै रहेको उनको भनाइ छ। पात्रहरू आफ्नो यात्रामा निस्किँदा हुने रमाइलो र इमोसन सबै फिल्ममा रहेको उनले बताए।
'कति फिल्म भात खानका लागि गरिन्छ, यो सत्य हो। हाम्रो अरू कुनै काम छैन। तर, यो फिल्ममा म मनदेखि जोडिएको छु। मनदेखि काम गरेको छु, यो मेरो आत्मविश्वास हो।'
'के घर के डेरा: घर नं २' यही शुक्रबार अर्थात जेठ २ गते रिलिज हुँदैछ। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रूविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय छ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा फिल्म निर्माण भएको हो।
यसको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।
सिनेमा हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।