अभिनेत्री दीया पुनले युरोपको सबभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण गरेकी छन्।
मंगलबार बिहान १० बजे ५,६४२ मिटर उचाइको हिमालको शिखरमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। त्यहाँ उनले नेपालको झन्डा फहराएकी छिन्।
यसअघि दीयाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अफ्रिकाको सबभन्दा अग्लो हिमाल किलिमन्जरो, दक्षिण अमेरिका महादेशको अकोनकागा हिमाल र नेपालकै मनास्लु हिमाल आरोहण गरिसकेकी छन्।
सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री समेत रहेकी दीयाले आफू ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेको बताउँदै आएकी छिन्।
आधा दर्जन बढी फिल्ममा काम गरेकी दीयाको पछिल्लो समय फिल्म 'दयारानी' सुपरहिट बनेको थियो। उनी अभिनीत आगामी फिल्म 'एक्लो' प्रदर्शनको तयारीमा छ। यो फिल्ममा उनले अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन्।