फिल्म 'अञ्जिला' प्रदर्शनको एक सय दिन पुगेको छ। गत वर्षको फागुन २९ गते रिलिज भएको फिल्म शुक्रबार ६ वटा हलमा सय औं दिनमा प्रदर्शन भइरहेको छ।
काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा फिल्म अझै प्रदर्शन भइरहेको हो।
यो अवसरमा फिल्मका निर्देशक मिलन चाम्सले सबै दर्शकप्रति आभार व्यक्त गरेका छन्। उनले अझै पनि दर्शकबाट निरन्तर साथको अपेक्षा गरे।
'अञ्जिला' वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ। फिल्मले १२ करोडमाथिको व्यापार गरिसकेको निर्माताले बताएका छन्।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेर यो फिल्म बनेको हो।
फिल्ममा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने साथमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरूङ, प्रेमकुमार श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ। प्रेमकुमार श्रेष्ठ फिल्मका निर्माता हुन्।
केही हलले यो फिल्म यतिबेला एक सय रूपैयाँमा देखाइरहेका छन्।