मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक फिल्म 'सुम्निमा' मा अभिनेता कुन्साङ बमजन अनुबन्धित भएका छन्।
योसँगै फिल्ममा कुन्साङ र उपासना सिंह ठकुरीले जोडी बाँध्ने पक्का भएको छ। निर्माण टिमले यसअघि उपासनालाई अनुबन्ध गरेकोमा कुन्साङसँग हालसालै अभिनयका लागि सम्झौता गरेको हो।
कुन्साङले थुप्रै म्युजिक भिडिओमा अभिनय गरेका छन्। 'दान्भी' बाट उनले फिल्म करिअर थालेका थिए, जुन गतवर्ष हलमा रिलिज भएको थियो।
'सुम्निमा' मा जोडिएसँगै कुन्साङले मिलन चाम्सको फिल्ममा काम गर्न पाउनु आफ्नो लागी गर्वको कुरा भएको बताउँदै भरपूर मेहनत गर्ने बताए।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्मको नाम सुन्दा नारीको कथा लाग्ने भए पनि 'सुम्निमा' प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए। उनका अनुसार युनिसर्भल कथा र अन्तर्राष्ट्रिय बजारलाई ध्यान राख्दै यो फिल्म तयार पारिनेछ। फिल्मको अन्य कलाकार र प्राविधिक टिम छनोटको क्रममा छ।
राजीव थापाको लेखनमा बन्न लागेको फिल्मको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ। मिलन चाम्सद्वारा निर्देशित पछिल्लो फिल्म 'अञ्जिला' ले नेपालमा १० करोडमाथिको व्यापार गरेको थियो। यसले बायोपिकमा सबभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड पनि बनाएको छ।