मीन भाम निर्देशित फिल्म 'शाम्बाला' ले उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ। 'राष्ट्रिय चलचित्र पुरस्कार २०८१' मा यसले उत्कृष्ट फिल्मको पुरस्कार जितेको हो।
चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति कार्यालय शिलत निवासमा भएको समारोहमा उत्कृष्ट निर्देशकको पुरस्कार पनि 'शाम्बाला' बाट मीन भामले पाएका छन्।
रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट अभिनेताको पुरस्कार फिल्म 'पूर्ण बहादुरको सारंगी' बाट विजय बरालले पाएका छन्।
उत्कृष्ट अभिनेत्रीको पुरस्कार फिल्म 'खुश्मा' बाट उपासना सिंह ठकुरीले पाएकी छन्।
उत्कृष्ट लेखनको अवार्ड 'छक्का पञ्जा ५' बाट दीपकराज गिरीले पाए। उत्कृष्ट छायांकारको पुरस्कार 'पिताम्बर' फिल्मबाट पुरूषोत्तम प्रधानले पाए भने उत्कृष्ट सम्पादनको पुरस्कार फिल्म 'पुजार सार्की' बाट भरत रेग्मीलाई दिइयो।
निर्णायक समिति प्रोत्साहन पुरस्कार फिल्म 'पुजार सार्की' बाट अभिनेता प्रदीप खड्काले पाए।
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र पुरस्कार गालय् वन (नेपाल भाषा) ले जित्यो।
२०८१ सालमा प्रदर्शनमा आएका फिल्मबाट पुरस्कार बाँडिएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको सभापतित्व र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङको विशेष अतित्थ्यमा समारोह भएको थियो।
कार्यक्रममा निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजारसहित दीर्घ साधना सम्मान प्रदान गरियो।