अभिनेता महेश त्रिपाठीले पछिल्लो समय आफूलाई धेरै फिल्मबाट अफर आएको बताएका छन्।
फिल्म 'लाज शरणम्' र 'फेरि रेशम फिलिली' रिलिजपछि आफूलाई ३० हाराहारी फिल्मबाट प्रस्ताव आएको उनले बताए।
सेतोपाटीसँगको कुराकानीमा उनले भने, 'पछिल्लो चार महिनामा २८/३० वटा फिल्मबाट कुरा आयो। कुनैको कथा सुन्ने, कुनैको पढ्ने काम गरेँ। अफर आएका सबैमा काम गर्न सम्भव पनि हुँदैन। छायांकन सेड्यूल पनि मिल्दैन। त्यसैले आएकामध्ये ६ वटा फिल्म छनोट गरेँ।'
कथा, निर्माता तथा निर्देशक हेरेर फिल्म छनोट गरेको उनले बताए। यी फिल्महरू सामाजिक, कमेडी, पारिवारिक र लभस्टोरी आदि विधाका रहेको उनले जनाए।
महेशले फिल्म 'परान' को केही समयअघि छायांकन सकेका छन्। उनी अनुबन्धित भएकामध्ये कमेडी दरबार टिमको फिल्म 'ककाकिकी' को घोषणासँगै फर्स्टलुक समेत सार्वजनिक भइसकेको छ। 'अन्य फिल्म पनि साउन/भदौंभित्रमा घोषणा हुने तयारी छ', महेशले भने।

महेशका फिल्म बक्स अफिसमा सफल होस्/नहोस्, उनको अभिनयको भने तारिफ हुँदै आएको छ। यसअघि पनि उनले 'हल्कारा', 'चपली हाइट ३' लगायतका फिल्मबाट प्रशंसा पाएका थिए। पछिल्लो समय भने 'लाज शरणम्’ र 'फेरि रेशम फिलिली' बाट चर्चा पाए। विशेषगरी 'लाज शरणम्' मा उनले कर्णालीको पात्रमा गरेको जीवन्त अभिनयको निकै चर्चा भएको थियो।
यी दुवै फिल्म गत फागुनमा रिलिज भएका थिए।