टेलिसिरियलका चर्चित कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले फिल्म 'झरीपछिको इन्द्रेणी' को छायांकन सुरू गरेका छन्।
बिहीबार साउन १५ को अवसर पारेर ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा मुहूर्त पूजा गर्दै छायांकन थालिएको हो।
पशुपति शिवजी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अर्जुन घिमिरेको निर्देशनमा बन्नेछ। काठमाडौं, ललितपुर र भक्तपुरमा यसको छायांकन हुने निर्माणपक्षले जनाएको छ। डेढ महिनाको सेडयूलसहित छायांकन थालिएको हो।
फिल्ममा दीपाश्री निरौला, रमेश उप्रेती, गणेश उप्रेती, अर्जुन घिमिरे (पाँडे), निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारहरूको मुख्य अभिनय रहनेछ। फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले झन्डै एक दशकपछि कमब्याक गर्दैछन्।
फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन) को कथा तथा गणेश कार्की, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा तथा संवाद, विशाल घिमिरेको सहायक निर्देशन रहनेछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको यसमा एउटा गीत रहने जनाइएको छ।
काठमाडौंभित्रकै परिवेरमा रहेर बाबुछोराको कथामा पारिवारिक फिल्म निर्माण हुन लागेको जनाइएको छ। फिल्म बुद्ध थापाले खिच्दैछन्।
चर्चित सिरियल 'सक्किगोनि' गर्दागर्दै सिरियलको टिमले फिल्म 'लाज शरणम्' बनाएको थियो। यसमा अर्जुन घिमिरे कार्यकारी निर्माता र कलाकार थिए। उक्त फिल्म कुमार कट्टेलले निर्देशन गरेका थिए।
'झरीपछिको इन्द्रेणी' अर्जुन घिमिरेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म हो।
तस्बिरहरू:-



