कुनै ठाउँमा थिएटर हुनु र नहुनुले के फरक पार्छ?
यसपल्ट पोखराको ‘पोखरा थिएटर’ पुग्ने मौका पाएसँगै लामो समयदेखि दिमागमा रहेको यो प्रश्न फेरि ताजा भयो। हामी पुग्दा पानी पर्न खोजिरहेको थियो। खगेन्द्र लामिछानेको निर्देशनमा बनेको ‘अटलबहादुरको आतंक’ नाटक हेर्नको लागि छिटपुट मानिसहरू आउँदै थिए। थिएटरमा एकछिन बसेर रिजर्भ बस पर्खिने र नजिकैको कालाबाङ घरेडी होमस्टेमा एक हप्ता बस्न जाने हाम्रो योजना।
सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकहरूको कथामा आधारित भएर नाटक तयार पार्ने भनेर १३ जना निर्देशकहरूको टोली ‘प्ले मेकिङ वर्कसप’को लागि निस्किएको यात्रा थियो।
मैले विराटनगरको आरोहण गुरुकुलमा पहिलोपल्ट नाटक हेरेँ, ‘खरीको घेरो’।
नाटक महोत्सव भएको थियो त्यसबेला। युवा अभियानमा सुनील पोखरेलसँग अन्तर्क्रिया गरिएको थियो। उनलाई त्यहाँ नसुनेको भए सायदै नाटक हेर्थें होला मैले। हेरे पनि एकाध हेरेर छोड्थेँ हुँला। कयौंपल्ट मञ्चन भइसकेका उत्कृष्ट नाटकहरू आफू बसिरहेको ठाउँमा हेर्न पाउनु पनि ठूलो कुरा हो।
विराटनगरमा त्यसबेला नाटकघर नभएको भए नाटक महोत्सव सम्भव थिएन। अहिले त्यहाँ पातलै भए पनि नाटक चलिरहेका छन्। बेलाबेला काठमाडौंबाट नाटकहरू पनि जान्छन्।
मैले सुरुवातमा काठमाडौंमा पाँच वटा नाटकघरमा नाटक हेरेँ। बिस्तारै थिएटर भिलेज र थिएटर मल बन्द भए। नयाँ कुञ्ज र कौसी थिएटरले नाटक हेराएका छन्। म काठमाडौं छिर्नुभन्दा केही वर्ष पहिला गुरुकुल बन्द भएको कथा पत्रिकामा पढेको थिएँ। अहिले नाटक नहेर्ने केहीलाई ‘नाटक हेर्नुभएको छ?’ भनी सोध्दा ‘पहिला बानेश्वरमा नाटकघर हुँदा हेरेको थिएँ’ जवाफ पाउँछु।
थिएटर बन्द हुनु र खुल्नुले के फरक पार्छ?
नयाँ खुलेको थिएटरले के/के काम गर्छ?
यी दुवै प्रश्नको स्पष्ट जवाफ मसँग छैन। तर भर्खरै खुलेको पोखरा थिएटरमा पुगेर त्यहाँको माहोल हेरेर, कलाकारसँग कुराकानी गरेर अनि त्यसकै स्पेशमा ‘प्ले मेकिङ वर्कसप’मा सहभागी भएर सोच्दा केही जवाफ भेटेजस्तो भएको छ।
++++++++++
गएको मार्चमा थिएटर ओलम्पिक्सको लागि नाटक ‘एन्टिगोनी’ भारत भ्रमणमा जानुभन्दा पहिला विराटनगरको गुरुकुलमा रोकिएका थियौं। त्यहाँ केही सो मञ्चन भएको थियो। स्कुलमा पढ्ने केही विद्यार्थीहरू जम्मा भएर निर्देशक राजन खतिवडासँग कुराकानी गरेका थिए। कहिल्यै नाटक नहेरेको त्यो पुस्तासँग खुसी भएर नाटकको बारेमा गफ गरिरहेका खतिवडालाई देखेपछि लाग्यो, ‘थिएटरले संवाद गराउँछ।’
त्यहाँ नाटक हेर्न आएको झोराहाट थिएटरको टोलीसँग नजिकै खुलेको ‘झोराहाट नाटक घर’ गएका थियौं। बाँसको सहायताले बनाइएको चौतारामा बसेर गफ गरेका थियौं। थिएटरमै काम गर्ने केही बहिनी र भाइहरू बसिरहेका थिए। उनीहरूले चिया पकाएर ख्वाए। चटपटे खायौं। गफ गर्यौं। खेत हेर्यौं। घाम हेर्यौं। जति बसियो त्यो समय सन्तोषमा बित्यो।
यस्तै थिएटर अन्य स्थानमा पनि खुलेका छन्। म पुग्न नपाए पनि अनुमान लगाउन सक्छु, ती सबैको कथा यस्तै हुनुपर्छ।
झोराहाटमा थिएटर थिएन भने हामी पुग्ने थिएनौं। नयाँ मानिसहरू जोडिने थिएनन्। ‘थिएटरले कसैलाई कुनै ठाउँसम्म पुग्ने बहाना दिन्छ।’
तर पनि खुलेका थिएटर बन्द हुन्छन्। मानिसहरू जोडिनु र कला फस्टाउने अवसर पाउनुभन्दा पनि ठूलो कुरा अरू नै केही छ जसले थिएटरलाई ढुक्क बस्न दिँदैन।
थिएटर बन्द हुनुले के गर्छ? त्यो पनि मलाई थाहा छैन।
विराटनगरमा गुरुकुल खुलेपछि हामीले पहिलोपल्ट नाटक हेर्न मात्र पाएनौं। त्यो नाटकले फरक सम्बन्ध पनि जोड्यो। हामीले सुरू गरेको युथ फर ब्लड अभियानलाई गुरुकुलले नियमित बैठक गर्ने आँगन दियो। हामी नाटक भएको बेला स्वयंसेवा गर्न थाल्यौं। थिएटरले नाटक बाहिर पनि सम्बन्ध बढायो। धेरै कार्यक्रम सँगै गरियो। भएका धेरै कार्यक्रममा सहभागी गरायो। चिनजान थपियो। आफू जस्तै काम गर्न खोज्नेहरूलाई भेटायो।
कुनै ठाउँमा ‘पब्लिक स्पेश’ हुनु र मानिस भेटिनु एकदमै राम्रो कुरा हो। अझ सहरमा झनै नभइ नहुने। किनकी यहाँ भेटिन बहाना चाहिन्छ। थिएटरले नाटक मात्र नभइ छलफल कार्यक्रम, पुस्तक विमोचन, कविता वाचन, जस्ता धेरै कार्यक्रममार्फत् त्यो बहाना दिन्छ ।
नेपालका थिएटरमा हुने केही कुरा ‘कमन’ लाग्छन् मलाई। थिएटरको पर्खाल बलियो हुँदैन। कङ्क्रिटको घर पनि सबैतिर हुँदैन। सामान्यतया पक्की पिलर पनि हुँदैन। अनि टिनको छानो। बनाउँदै पछि फुकाल्नुपरेमा फुकाल्न मिल्ने गरी बनाइएको जस्तो लाग्छ। आँगन अक्सर ढलाइ गरिएको हुँदैन। सर्वनाम थिएटर र विराटनगरको गुरुकुलमात्र मैले देखेका थिएटर हुन् जसको पिलर छ।
त्यसका धेरै कारण हुन सक्छन् तर मैले भन्न संकेत गर्न खोजेको अस्थिरताको बिम्बप्रति हो।
थिएटरले बिम्ब बनाउँछ। थिएटर बिम्ब हुन्छ।
म पोखरा थिएटरको सूचना बोर्ड हेर्छु। त्यसको फ्रेम सामान्य प्लाइले बनाइएको छ। त्यहाँ नाटक बारेमा केही लेखिएको छ। समाचार छन्। कसैको फिचर पनि छ। नयाँ कलाकारको बारेमा लेखिएको छोटो फिचर। बबिता मल्ल ठकुरी नामकी कलाकारको फोटो देख्छु।
‘पुराना र नयाँ कलाकार सँगसँगै’ लेखिएका समाचार पनि छन्। तर त्यो नजिकै भएको एउटा ठूलो शीर्षक हेरेर अडिन्छु। लेखिएको छ ‘नाटक हेर्छ पोखरा’।
थिएटर खुलेपछि सहरले नाटक हेर्छ। सहरका भित्ता र पर्खालहरूमा नाटकका पोस्टर पनि थपिन्छन्। आवतजावत बढ्छ।
++++++++++
हामी सात दिन पोखराबाट १३ किलोमिटर टाढाको कालाबाङ घरेडी होमस्टेमा बस्यौं। बेपत्ता पारिएका नागरिकहरूको विषयमा नाटक तयार गर्नको लागि छुट्ट्याइएको समय। हरेक निर्देशकले त्यो विषय नजिक भएर आफूले गर्न खोजेको नाटकको कथा सुनाउने, त्यसको छोटो प्रस्तुति बनाउने, प्रस्तुति अनुसारको स्पेश छानेर त्यसलाई दृश्य र ध्वनिको सहायताले देखाउने जस्ता कामहरू मुख्य थिए। बीचबीचमा हुने छलफलबाट कुनै पनि मुद्दामा बोल्दा एउटा कलाकार कहाँ उभिएर बोल्छ वा बोल्नुपर्छ भन्ने कुरामा छलफल हुन्थ्यो। देखाइएका दृश्यहरूलाई विभिन्न कोण र पक्षबाट केलाइन्थ्यो। एउटा विषयलाई हेर्ने दृष्टिकोण कति फरक। सबै निर्देशकहरूले तयार गरेका छोटा प्रस्तुतिहरू अलग थिए तर मूल विषयमा कुनै न कुनै रूपमा जोडिएका थिए।
कालाबाङ घरेडीमा त्यसरी १ हप्ता समय बिताएपछि बल्ल पोखरा थिएटरमा ओर्लियौं। अब निर्देशकहरूलाई त्यहाँ खुला स्थानमा गरेका ‘साइट स्पेसिफिक पर्फर्मेन्स’ को स्वरूप बदलेर थिएटरमा लैजानु थियो
र बेपत्ता नागरिकहरूको कुरा बोलिरहँदा विषयप्रतिको गहनता पक्कै पनि चाहिन्छ। त्यसैले पोखरा झरेको भोलिपल्ट बेपत्ता पारिएका नागरिकहरूको परिवारसँग भेट्ने कार्यक्रम राखिएको थियो। हामीले पोखरा थिएटरमै बेपत्ता नागरिकका परिवारलाई भेट्यौं। उहाँहरूको कुरा सुन्यौं। दु:ख सुन्यौं।
त्यो सबै कुरा पोखरा थिएटर थिएन भने सम्भव थिएन। थिएटरले एक अर्काको कुरा सुन्ने बनाउँछ। अरू कुनै सन्दर्भमा कहिल्यै भेट नहुने मानिसहरूलाई बोल्न लगाउँछ। थिएटरले एक्लो हुन दिँदैन। बेपत्ता नागरिकका परिवारसँगको त्यो भेटले तयार भइरहेको नाटकमा नयाँ/ नयाँ असर देखाउन थालेको छ।
नाटकका हरेक दृश्य परिवर्तन हुँदैछन्। साइटमा देखाएको भन्दा फरक के छ भने नाटक मञ्चमा आइपुगेको छ। देखाउने स्वरूप, ठाउँ सबै परिवर्तन भएका छन्। सहजकर्ता बिमल सुवेदी ती सबै चिजहरूको अन्तर बताउँछन्। निर्देशकहरू नाटकको तयारी गर्छन्। आफैं खेल्छन्। अरूको कथामा पनि खेलिदिन्छन्। विषयप्रतिको गहिराइ यति बढिसकेको छ कि उनीहरू थोरै कथासार सुनेको भरमा इम्प्रोभाइज गर्न थालेका छन्। हरेकपल्ट नयाँ/नयाँ विषय र नयाँ/नयाँ बिम्ब बनिरहेका छन्।
थिएटरले कसैको दु:खलाई हेर्ने र महशुस गर्ने तरिका बदलिदिन्छ। सहानुभूतिलाई समानुभूतिमा बदल्न खोज्छ।
+++++++++
एउटा निर्देशकको दृश्य मञ्चन भएर अर्को मञ्चन नहुन्जेल बीचमा खाली समय निस्किन्छ। हामीलाई बाहिर जान भनिन्छ। त्यहीबेला म पोखरा थिएटरसँग नजिक भएका मानिसहरूसँग कुराकानी गर्न थाल्छु।
नजिकै छिन् अञ्जु दाहाल। उनले थिएटर आएपछि साइन्स पढ्ने सोचाइलाई त्यागेर मानविकी पढिन्। नाटकघर आएपछि ‘सामाजिक र साँस्कृतिक कुराहरूप्रतिको अवलोकन र हेर्ने तरिका फरक भएको छ।’ जस्तो लाग्छ उनलाई। पहिला हिँडेकै बाटोमा हिँड्ने आफू फरक मान्छे हुँ जस्तो हुन्छ।
थिएटरले आँखा खोल्छ। आफूले आफूलाई चिन्ने नयाँ कोण थपिन्छ।
प्रकृति अधिकारी छेउमै छिन्। उनी त्यहाँ रिसेप्सनिष्टको काम गर्छिन्। थिएटरमा सबैले समान व्यवहार गरेको उनलाई खुब मनपर्छ। सबैजना सबै काम गरिरहेका हुन्छन्। म सोध्छु ‘यहाँ गरिरहेको काम र बाहिर बैंकमा कतै यही काम गर्नुपरेको भए कसरी फरक पर्थ्यो होला?’
बबिता मल्ल ठकुरी आइपुगेकी छन्। प्रकृतिले जवाफ दिनै नपाइ उनै भन्छिन्, ‘घाँस काट्नु पर्दैन थियो भन् न।’
म बबितालाई सोध्छु, कसरी आयौ तिमी यहाँसम्म?
‘उ त्यो गेटबाट।’
‘कसरी आयौ त?’
‘ती दुई दैलोको ब्रेकअप भएको रहेछ। यता र उता फर्किएर बसेका थिए अनि म बीचबाटै आएँ। यहाँ त गेटलाई पनि माया लगाउने समय नहुने रहेछ।’
हामी हाँस्छौं।
‘अभिनय किन गर्छौ?’
‘किनकि मलाई रमाइलो लाग्छ।’
‘थिएटर आएर आफूमा कुनै परिवर्तन भएको जस्तो लाग्छ?’
‘लाग्छ तर म भन्दिन . . . ’
अनि उनी लामो हाँस्छिन्। मैले सोधेको प्रश्नको जवाफै नआउने गरी रमाइलो सुरू भएपछि म उनलाई कुरा गर्नुको कारण सुनाउँछु। उनी भन्छिन् ‘त्यसो भए त मैले अघि भनेको कुनै कुरा नलेख्नू नी।’
उनले सिरुमा रानी नाटक खेलिन् पहिलोपल्ट। काठमाडौंमा मञ्चन भएको त्यो नाटक मैले हेरेको थिएँ। मण्डलाले त्यसलाई पोखराकै कलाकारलाई प्रशिक्षण दिएर खेलाएको थियो। उनले त्यहाँ दृष्टिविहीन महिलाको भूमिका निभाएकी रहिछन्। सोमनाथ खनालले निर्देशन गरेको त्यो नाटक पोखरा थिएटरमा चलेको थियो।
सबै साथीहरू धमाधम बिहे गर्दै थिए। उनलाई बेहुली हुन मन थिएन। तर अर्को एक नाटकमा बेहुली भएर खेलिन्। कस्तो अनुभव भयो त? ‘जब बेहुली भएँ, कुनै शक्तिनै नभएको जस्तो लाग्ने। लुगैले पनि कमजोर पारिदिने रहेछ हामीलाई त। छोरीनै हुन रमाइलो।’
थिएटर आएर किताब पढ्न थालेकी छन्। पहिला स्कुलले पढ्नको लागि किताब दिने गर्थ्यो। उनी नपढी बुझाउने गर्थिन्।
थिएटरले समाज सिकाउँछ। जीवन सिकाउँछ। भिन्दा भिन्दै पात्र अभिनय गर्ने तयारी गर्दा गर्दै कलाकारहरू समाजका विभिन्न पक्षहरूलाई साक्षात्कार गर्छन्। त्यो साक्षात्कार कलाकार हुँदै दर्शकसम्म पनि पुग्छ।
‘प्रशंसा गरेको मनपर्छ कि गाली गरेको?’ म बबितालाई अन्तिम प्रश्न सोध्छु।
‘मलाई दुइटै मनपर्छ। मलाई दुइटै चाहिन्छ। पहिलोले मोटिभेसन गर्छ। मनपरेन भनिदिएमा सुधार्ने ठाँउ हुन्छ। म त नाटक सकिएपछि चिनेको दाइ दिदीहरूलाई भेटेर सोध्छु। सबैले राम्रो छ मात्र भनिदिन्छ। दर्शकहरू नराम्रो भन्न डराउँछ। तर झूट बोलिदिनु हुँदैन जस्तो लाग्छ मलाई।’
सूर्य सुवेदी लबडाँडा पोखराका हुन्। उनलाई अभिनय सिक्न मन थियो। आफ्नो पसल नजिकैको बिजुलीको खम्बामा उनले एउटा फोटो देखे। अभिनय सिकाउने सूचना लेखिएको थियो। त्यहाँ ‘राजन खतिवडा’को फोटो छापिएको थियो। उनी पोखरा थिएटर पुगे र जोडिए।
नाटकमा फरक/फरक पात्र बाँच्न पाइन्छ भन्ने कुरा उनलाई सबैभन्दा धेरै मनपर्छ। यहाँ पैसा छैन भन्ने जान्दा जान्दै पनि उनी जागिर छोडेर भए पनि पछि आउने सोचेका छन्। बीचमा नाटक महोत्सव हुँदा उनले थप नाटक हेरे। सिक्ने मौका पाए।
थिएटर आफूमात्र आउँदैन । धेरैथोक लिएर आउँछ। अवसर, चुनौती, जोखिम सबै लिएर आउँछ।
थिएटर नजिकै एउटा क्यान्टिन खुलेको छ। त्यसलाई ध्रुब पौडेल, रमेश तिमल्सिना, सम्झना सिर्पाली र शरद भण्डारी मिलेर खोलेका हुन्। त्यहाँ मिठो खाना पाइन्छ। हाम्रो टिम त्यहाँ नै खाना/खाजा खान्छ। उनीहरू सबै नाटककै माध्यमबाट जोडिए। सँगै क्लास लिए र नाटक घरसँग नजिक भइरहने उपाय खोज्दा छेउमै क्यान्टिन खोल्ने निर्णयमा पुगे। हुनत उनीहरूको क्यान्टिन बाटो छेउमै छ तर क्यान्टिन छिर्ने ढोका बाटोतिर छैन। थिएटरतिर फर्किएको छ।
म सोध्छु ‘किन बाटोतिर नफर्किएको नि यो? अरू मान्छेले पनि देख्थे नि उता भए?’
भन्छन् ‘थिएटरमा आएका मानिसहरूलाई कुराकानी गर्ने स्पेश बनाउन चाहन्छौं हामी। छलफल पनि होस्, व्यापार पनि होस्।’
थिएटरले नयाँ सोच पनि भित्र्याउँछ।
क्यान्टिनमा काम गरेको समय बचाएर थिएटरमा नियमित लागिरहने उनीहरूको योजना छ।
थिएटरको बारेमा कुराकानी गरिरहँदा यी सबैले लिएको एउटा नाम हो ‘परिवर्तन दाई’। पोखरा थिएटरको जग बसाउनेदेखि अहिले व्यवस्थापनको जिम्मा हेरिरहेका व्यक्ति।
अनि म परिवर्तन जीसँग कुरा गर्न अघि बढ्छु।
+++++++++
धेरै थिएटरहरू बन्द हुँदै गरेको अवस्थामा उनलाई के कुराले खोल्न कुत्कुत्यायो?
पोखरा थिएटर खुल्नुभन्दा पहिलानै पन्चाम्रित नाट्य समूहमार्फत् नाटक देखाउने गर्थे उनीहरू। ३ वटा नाटकहरू त्यसरी नै देखाइसकेका थिए। पोखरामा एउटै समस्या थियो, नाटकघर थिएन।
रंगमञ्चकै अनुप बराल तथा खगेन्द्र लामिछानेले खोल्ने प्रयास नगरेका होइनन्। तर बनेको थिए। नियमित रंगकर्मको लागि जाने हो र व्यवसायिक रूपमै जाने हो भने स्पेश चाहिन्छ भन्ने महशुस भएपछि आफूसहित दिल गुरूङ, अरू दुई साथीहरू तथा नाटकघर उभिएको जग्गाधनी शंकरनाथ कोइरालाले थिएटर बनाउन सुरू गरे। हातेमालो गर्नको लागि थुप्रै जोडिए। कोही बीचमै छुटे पनि।
२०७३ को चैत १३ गते विश्व रंगमञ्च दिवसको दिन पोखरा थिएटरको जग बस्यो।
त्यसपछि पोखरा थिएटरकै प्रस्तुतिको रूपमा ३ वटा नाटक मञ्चन भइसके। सबै नाटक गर्दा मञ्चन भएको संख्या १८ पुगिसक्यो।
नाटकघर भएपछि नाटक हुन थाल्छन्। पोखरा अहिले काठमाडौंका नाटकहरूलाई बोलाउन सक्ने गरी बलियो भएको छ।
एउटा नाटकघर हुनु र नहुनुले के फरक पार्छ?
नहुनु र हुनुले धेरै फरक पार्छ। अहिले देशभरका निर्देशकहरू यहाँ आएर यसरी काम गर्ने अवसर मिल्यो। नाटकघर नभएको भए संभव हुने थिएन। रंगकर्ममा लाग्न चाहनेहरूलाई नियमित रंगकर्म सुरू भएको छ। नियमितता हुनासाथ त्यसका सबै पाटोहरू जुट्न सुरू हुन्छन्। नहुनुभन्दा हुनुले धेरै फरक पार्छ।
‘पुरानो पुस्ता र नयाँ पुस्तामा के कस्तो संवाद गराइरहेको छ थिएटरले?’
स्पेश नहुँदा ग्याप हुन्छ। स्पेशले सुनाउने र सुन्ने अवसर दिनेरहेछ। पहिलो नाटक ‘सिरुमा रानी’ गर्दा पनि अग्रज रगकर्मी र नयाँ रंगकर्मीको बीचमा कुराकानी हुने अवसर सिर्जना भयो। नयाँ पुस्ताले पुरानो पुस्ताको सीप लिन पायो।
अर्को कुरा काठमाडौंको रंगकर्म यहाँ आइपुगेको छ। त्यसले पनि सिकाउने अवसर पाएको छ। नयाँ दर्शकसम्म पुग्ने बाटो खुलेको छ। बाटो बनेपछि यात्रा बनिहाल्छ।
थिएटर गर्छु भनेर ठोक्किने मान्छेलाई के कुरा सचेत गराउनुहुन्छ?
अनुभव सेयरिङ गर्छौं। तर हिँड्ने भनेको आफैं हो। हामीले हातेमालो त हिँड्ने मान्छेसँग गर्ने हो। त्यो क्रममा धेरै मानिसहरूमा प्यासन देखिएको छ।
यसलाई बचाइराख्न चाँहि के गर्ने योजना छ? काठमाडौंले भोगिरहेको समस्या यहाँ आउन नदिन के सोच्नुभएको छ?
यो मुख्य चुनौती हो। नाटकघर बन्नु ठूलो कुरा हैन तर नियमित संचालन हुनु ठूलो कुरा रहेछ। हामी त्यो चुनौती मोलिरहेका छौं। आर्थिक पक्षलाई कसरी जुटाउने, फुलटाइम काम गर्नेहरूलाई स्रोतको कमी कसरी हुन नदिने तथा थिएटरलाई कला मर्न नदिइ व्यवसायिक कसरी बनाउने भन्ने कुरामा ध्यान दिइरहेका छौं। नियमित नाटक मञ्चन हुनु त्यसको पहिलो सर्त होला। हामी हललाई खाली नराख्ने पहल गरिरहेका छौं।
++++++++++
नाटकघर खुलेपछि के हुन्छ र बन्द भयो भने के हुन्छ? यसको बारेमा थप सोच्ने जिम्मा म तपाईंहरूलाई नै दिन्छु।
पोखरामा नाटक निर्माण चलिरहँदै म काठमाडौं फर्किएँ। बाँकी प्रक्रिया हेर्न पाइनँ। त्यसपछि विभिन्न प्रक्रिया पार गरेर अहिले नाटक तयार भएको थाहा पाएको छु। फेसबुकको ग्रुप च्याटमा त्यसको पोष्टर र नाटकका केही फोटा आएका थिए। पोष्टरमा लेखिएको थियो ‘खबर हराएको चिठी’।
पोष्टर हेरेर सम्झिएँ एउटा नाटक कति लामो प्रक्रिया भएर तयार हुने रहेछ। पोष्टर केवल पोष्टर हैन रहेछ। सँगै आएका फोटा मैले काठमाडौं फर्किने बेलामा हेरेका दृश्यभन्दा फरक/ फरक हुँदै गएका छन्। मलाई उत्सुक बनाइरहेका छन्।
म त्यो कथा सुन्न हतारमा छु। पोखराले २४ अगस्टबाट २६ अगस्टसम्म तीन दिनसम्म त्यही नाटकको मञ्चन हेर्दैछ। काठमाडौंले ३० अगस्ट (वेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस)को दिनबाट १५ दिनसम्म मण्डला थिएटरमा मञ्चन गर्दैछ। म हेर्न आतुर छु।