इटालियन रंगकर्मी रोबर्टो सिली भन्छन्, ‘थिएटरले जहिल्यै पनि भावनात्मक पुलको काम गर्नुपर्छ। त्यस्तो पुल हुनुपर्छ जसले स्टेजको सहायताले दर्शकसम्म पात्रको मनस्थितिलाई पुर्याओस्।’
सशस्त्र द्वन्द्व समयमा बेपत्ता पारिएका मानिसहरूको कथामा बनेको नाटक ‘खबर हराएको चिठी’ ले त्यही भावनात्मक पुल बन्न खोजेको छ। यो नाटकले केवल त्यो समयको पात्रको कथा मात्र भन्दैन, त्यसमा अहिलेको अवस्था पनि खोज्छ।
तपाईं नाटक घर छिर्ने आसपास समय पारेर जानुभयो भने त्यहाँ एक मानिस भेटिन्छन्। उनले ढाडमा पत्र मञ्जुषा बोकेका छन्। हातमा चिठी नै चिठी छ।
‘चिठी आएको छ’ भन्दै उनी त्यसमध्येको एक चिठी तपाईंलाई थमाउँछन्। तपाईं खोल्नुहुन्छ। त्यसमा नाटकको बारेमा बताइएको हुन्छ।
यो नाटक बनाउन १३ जना निर्देशकको टोली पोखरा नजिकैको कालाबाङ घडेरीमा बसेकोदेखि तयार गर्दासम्मको कुरा त्यही चिठीमा लेखिएको छ। सँगै लेखिएको छ, उनीहरूले बेपत्ता पारेका नागरिकहरूको कथा भन्न पोखरा थिएटरमा बेपत्ता पारिएका नागरिकका परिवारसँग भेटेको कुरा।
ब्रोसरले नै भन्छ यो नाटक ‘दुरुस्त उहाँहरूको कथा हैन। द्वन्द्व समयमा राज्यभरबाटै बेपत्ता पारिएका नागरिक तथा तिनका परिवारले भोगेका अनुभूति हो।’
म पनि त्यो समूहमा ११ दिनसम्म सहभागी भएँ। निर्देशकहरूले नाटकको पहिलो विषय टिपेदेखि पोखरा थिएटरमा १३ वटा प्रस्तुति बनाउँदासम्म हेरेर काठमाडौं फर्किएँ। त्यसपछि थप १५ दिन यो नाटक पोखरा थिएटरमा तयार भयो। म त्यसमा सहभागी हुन सकिनँ। तर यति गहन विषयमा बन्ने एउटा नाटकको तयारी कसरी हुने वा हुनुपर्ने रहेछ भन्ने प्रक्रियागत विषयमा जानकार भएको छु।
मेरो लागि यो नाटक विशेष छ किनकि मैले यसमा बनेका हरेक दृश्य चिनेको छु। ती दृश्य सानो कथाबाट सुरु भएर कसरी फैलिएका छन् भन्ने जानेको छु। नाटकको मुख्य मर्म ‘प्रक्रिया’ हुने रहेछ।
***
कालाबाङ घडेरीको सामुदायिक भवनमा सहभागी निर्देशकहरूले बेपत्ता पारिएका नागरिकका विषयमा आधारित भएर कथा सुनाउन थाले। कथामा छलफल भयो। अरू सहभागीले प्रतिक्रिया दिए। १३ जना निर्देशकले फरक फरक व्यक्तिको कथा उठाउँथे। बेपत्ता पारिएका नागरिकका आमा, बुबा, छोरी, छोरी तथा परिवार। यीमध्ये कसैको दृष्टिकोणमा कथा भनिन्थ्यो।
पछि त्यसलाई स्थान केन्द्रित प्रस्तुतिमा ढालियो। निर्देशकहरूले गाउँकै विभिन्न ठाउँलाई लोकेसन छाने। ती फरक फरक स्थानलाई सेटिङ बनाएर आफ्नो कथा देखाउने प्रयत्न गरे। त्यसलाई ध्वनीको माध्यमबाट पनि देखाइयो।
कुनै घटना हुँदा त्यसको प्रभाव पात्रसम्म कसरी फैलन्छ र ध्वनी तथा प्रकाशले त्यसको मनोभावना देखाउन कस्तो भूमिका खेल्छन् भन्नेमा केन्द्रित भए त्यसपछिका छलफल। सँगै एउटा संवेदनशील विषयमा कलाकार कहाँ उभिनुपर्छ र कसको आवाज बन्नुपर्छ भन्ने विषयमा पनि लामो कुराकानी भयो।
नाटकको खेस्रा त्यसैबाट उठ्यो।
त्यही कुरा सहजकर्ता रहेका विमल सुवेदी र कार्यक्रम संयोजन गरिरहेका राजन खतिवडाले पछि पोखरा थिएटरमा आएका बेपत्ता पारिएका नागरिकका परिवारसँगको छलफलमा बताए।
भने, ‘तपाईंहरूले भोगिरहेको यो अवस्थामा हामीले यही गर्न सक्ने वा नाटकले यस्तै नतिजा दिनसक्ने भन्ने केही छैन। तर हामी कलाकार तपाईंको मुद्दाप्रति संवेदनशील छौं र तपाईंको आवाजमा साथ दिन चाहन्छौं भन्ने सन्देश दिन उपस्थित भएका हौं।’
बेपत्ता पारिएका नागरिकका परिवारलाई प्रत्यक्ष भेटेपछि र समूहसमूह भएर लामो समय कुराकानी गरेपछि गाँठो बनेका धेरै कुरा खुल्दै गए। कसैको पर्खाइमा एउटा परिवारले बिताएका क्षणप्रति निर्देशकहरू साक्षात्कार भए।
छिनमै हाँस्ने ओठ र छिनमै पग्लिने मन बोकेर कसरी बाँचिरहेका छन् परिवार भन्ने नजिकबाट महशुस भयो।
दोस्रो माध्यमबाट सुनिएको, पढिएको, वा बुझिएको विषय आफैंले महशुस गर्न पाउनु ठूलो कुरा थियो। त्यसपछि १३५० भन्दा धेरै बेपत्ता पारिएका भनेर भनिएका सङ्ख्या केवल नम्बर हैन रहेछन्। र बेपत्ता पारिएका परिवारले दुस्ख मात्र नपाएर सङ्घर्षको ठूलो लँडाइमा आफूलाई साबित गरिसकेछन्।
यो कुराको ठूलो प्रभाव नाटकमा छ।
विषयको गहिराइमा जति गइयो त्यति नै स्पष्ट दृश्य बन्न थाले। दृश्यमा नयाँ कोण थपिए। थिएटरमा देखाइएको दोस्रो प्रस्तुतिमा त्यो थाहा हुन्थ्यो। नाटक ‘खबर हराएको चिठी’ मा देखिएका धेरै दृश्य त्यसैले पनि मौलिक लाग्छन्। कतिपय बेला त अभिनय भएको हो कि हैन भन्ने पनि थाहा हुँदैन।
***
नाटकमा सबै पात्रले कसै न कसैलाई पर्खिएका छन्। चार वटा कथामै त्यो पर्खाइ साझा छ। तर पर्खिनेहरू फरक फरक छन्।
यो नाटक फरक फरक पर्खिनेहरूको साझा पर्खाइको प्रतिबिम्ब हो। १३५० भन्दा धेरै बेपत्ता नागरिकलाई पर्खिरहेका घरका सदस्य र आफन्तको साझा कथा हो।
उनीहरूलाई थाहा छैन कहिलेसम्म पर्खिनुपर्ने हो।
नाटकको विषय भोग्नेको अत्यन्तै नजिकबाट टिपिएको छ। त्यसलाई बृहत रूप दिन सेटिङ, भाषा, ध्वनी आदि मिसाइएको छ।
‘श्रीमान् हराएपछि नै म पहिलोपल्ट एक्लै पोखरा आइपुगेँ,’ भन्ने एक दिदीको कथा सरिता दिदी बनेर नाटकमा उभिएको छ।
नाटकमा पात्रलाई कमजोर र बलियो दुवै देखाइएको छ। बलिया किन भने, बेपत्ता पारेर पनि यत्तिका वर्ष आफूलाई सम्हालेर र सरकारलाई खबरदारी गर्न उनीहरूले जुन साहस गरिरहेका छन् त्यो चानचुने कुरा हैन। कमजोर यसअर्थमा, त्यो घाउ निको भइहाल्ने हैन। सरकारले जवाफ दिन अझै पुगेको छैन।
उनीहरूको पर्खाइ अझै सकिएको छैन। घाउ निको भएको छैन।
जवाफ जरुरी छ।
***
नाटकमा चार कथा छन्। जुन चिठी बाँड्न हिँडेको सूत्रधारको माध्यमबाट एकैठाँउ जोडिन्छ।
सूत्रधार किन जोडिए भन्ने कुरा पनि भनिहाल्छु। भर्खरै सरकारले बेपत्ता पारिएका नागरिकका परिवारलाई चिठी पठाएको छ। त्यसमा ‘नभेटिएको’ ‘मरेको’ सँगै ‘बेपत्ताको सूचीबाट नाम हटाउनुहोला’ भन्नेसम्म लेखिएको छ। त्यो चिठी पढ्दा हामीलाई बिरक्त लाग्छ। कुनै संवेदना नभएको चिठी। जवाफ नभएको चिठी। खबर नभएको चिठी।
त्यो चिठी जसकोमा पुग्छ, उसलाई कस्तो लाग्दो हो?
त्यसैले त पहिलो कथाका पात्र मनराजसँग चिठी बाँड्दै आएको सूत्रधार भन्छ ‘तिमी कन एउटा चिठी आएको छ। तलबाट बाँड्दै आएँ, जति नजिक नजिक आउँछु, त्यति भारी भारी हुँदै जान्छ।’
कथा १
मनराज, जो कटवाल गराउँछन्। सबैको खबर दमाहा बजाएर गाउँलाई सुनाउँछन्। तर उनको छोरा हराएको खबर ल्याइदिने कसले?
उनलाई हेलिकप्टरको आवाजसँग डर लाग्छ। डोकोले छोपेका चल्ला उडिजान्छन् कि भनेर हत्तपत्त उठेर दगुर्छन्। उनी किन ती चल्लालाई त्यस्तरी माया गर्छन्?
किनकि उनीसँग बोल्ने कोही साथी छैनन्। घर एक्लो छ। हराएको छोरो फर्किएला भन्ने आशा झिनो छ। मन मरिसकेको छैन।
उनी साँच्चै एक्ला छन्। एक्लो भएर पर्खिनु कति पीडादायी होलारु उनको मनोदशालाई हुरी चलेको आवाज मार्फत देखाउन खोजिएको छ।
कथा २
चण्डी नाच्न गएका बेला श्रीमान् हराएकी एक महिला। श्रीमानले बजाउने ढोलक उनीबाट छुट्यो। बजाउने मान्छे नभएपछि ढोलक एक्लो भयो।
उनी त्यो ढोलक बजाउने मान्छे पर्खिरहेकी छन्। सँगै चण्डी नाच्दा श्रीमानलाई टाउकोमा लगाइदिने सेतो फेटा छ।
त्यहाँ दुईवटा जुत्ता ठटाएर आवाजको सहायताले युद्ध देखाएको दृश्य कलात्मक छ। प्रकाश पनि जुत्ता भएकै तिरबाट देखाइएको छ। त्यसले लँडाईका बेला सिपाहीहरूले प्रयोग गर्ने 'लाइट' प्रतिबिम्बित गर्छ।
यो कथामा पनि ध्वनीलाई प्रमुख प्राथमिकतामा राखिएको छ। पछाडि बाख्रा कराएको, हतारमा दौडिएको, स्याँस्याँ भएको आवाजले युद्ध समय प्रतिबिम्बित गर्छन्। ध्वनी पक्ष नाटकमा एकदमै सबल छ।
कथा ३
बुढाबुढी छोरा हराएको पीडामा खोज्न निस्किएको जुग भइसक्यो। भेटिने सुरसार छैन। खोज्ने ठाउँमा सुन्ने मान्छे कोही छैन।
बुढा श्रीमतीलाई जिस्काउँछन्। उनको 'सेन्स अफ ह्युमर' राम्रो छ। उनी छोरा यस्तो भयो होला भनेर फोटो बनाउँछन् र देखाउँछन्। कल्पनामा खेल्छन्।
हराएका मानिसहरू कति सजिलै विस्मृतिबाट हराउन खोज्छन्रु
दृश्यको अन्तिममा श्रीमती भक्कानिएर रोएपछि उनको पनि धैर्य टुट्छ। पीडाको पहाड दुवैलाई उत्तिकै त हो नि। सम्झाउन सक्ने मान्छेले सम्झाउन लागि पर्छ। उसलाई पीडाले नछुने हैन, उसले पीडा लुकाएको हो।
सरकारले बेपत्ता पारिएका नागरिकका परिवारको आवाज सुन्न कसरी बेवास्ता गरिरहेको छ भन्ने यो कथाले भन्छ।
कथा ४
सरिता दिदी, उनले कत्रो युद्ध जितेका हुन्। उनी हरेकपल्ट बेपत्ता पारिएका नागरिकको समाचार आउनासाथ ध्यान दिएर सुन्छिन्।
उनलाई अझै पनि श्रीमान् फर्किन्छन् भन्ने विश्वास छ। उनको लुगासँग पतिको प्रेम खोज्छिन्। सिरान नजिकै बालेको दियो निभ्न दिएकी छैनन्। साहस गरेर छोरी हुर्काउँदै छिन्।
***
यी कथा तपाईंलाई कता कता सुनेको जस्तो लाग्यो कि लागेन? लाग्यो भने कसरी लाग्यो? लागेन भने किन लागेन?
युद्ध भएको त हामी सबैलाई थाहा छ नि हैन र? कि बिर्सिसक्यौं?
कथाका सबै पात्र पर्खाइमा छन्। आउने मान्छे बाँचेको वा मरेको थाहा छैन। थाहा हुनेले भनेका छैनन्।
कार्यशाला भइरहेको बेला कलाकार सुदाम सिकेले भनेका थिए, ‘बेपत्ता पारिएका बारेमा कसैलाई न कसैलाई केही न केही थाहा छ। तर कोही पनि सत्य बोल्न सकिरहेको छैन।’
यी कथाले एउटा परिवारको लागि सत्य र असत्यको द्विविधामा बस्न कति गाह्रो छ भन्ने देखाएका छन्।
र यी कथा केवल कथा हैनन्। १३५० भन्दा धेरै परिवारको यथार्थ हो।
***
नाटकका हरेक दृश्यमा रातको समय हावी छ। किनकि रातले युद्धकाल प्रतिबिम्बित गर्छ। त्यही रात चिर्न हिँडेका भन्नेहरू अहिले उज्यालोको पहुँचमा छन्। पछाडि छुट्नेले भने अझै रातमै बसिराख्नु परेको छ।
यो नाटकका केही विम्ब महत्त्वपूर्ण छन्। पहिलो विम्ब नाटक सुरु हुँदा बाहिर गेटमा ढुंगाले छोपेर राखिएका चिठीहरू। चिठी स्वयम् यसको शक्तिशाली विम्ब हो।
सरकारले चिठी पठाएको कुरा त भनिहालेँ।
नाटकको सूत्रधार महत्त्वपूर्ण छ। त्यसले सबै कथाहरूलाई जोड्छ। पूर्वदेखि पश्चिमसम्म। ऊ समय हो भन्दा पनि हुन्छ। ऊ लाचार छ।
चिठी लिएर जानु उसको बाध्यता हो। जसरी हराएकालाई पर्खिनु आफन्तहरूको बाध्यता।
तर त्यो बाध्यता, बाध्यता मात्र रहेन भने?
नाटकको एक दृश्यमा छोरो खोज्दा खोज्दा हताश भएकी कमलकी आमाले चिच्याएको सुन्नुभयो होला। बेपत्ता पारिएका नागरिकका सबै परिवार त्यसरी नै चिच्याए भने के हुन्छ?
चार वटा कथा एकैठाँउमा जोड्नु र फरक भूगोलको सहायताले देखाउन खोज्नु नाटकको सबभन्दा ठूलो सफलता मान्न सकिन्छ। यसले ती कथाहरू पृथक् भए पनि साझा छन् भन्ने भाव दिन सफल भएको छ। भनेको छ ‘यो कथा नेपालको कुनै एकठाँउमा मात्र भएको कथा हैन।’
नाटकको प्रकाश संयोजन भने तुलनात्मक रूपमा कमजोर छ। सांस्कृतिक विम्ब टिपिएको ठाउँमा उक्त लोकेसनको रंग टिप्ने ठाउँ अझै देखिन्छ।
यस्तै कतिपय स्थानमा पात्रबीच गहन कुराकानी पनि आवश्यक थिएन। नाटक र पात्र आफैंमा विम्ब भइसकेको बेलामा त्यस्ता वाक्यले नाटकलाई सपाट बनाएका छन्। मनकुमार र सूत्रधारका बीचमा भएका केही संवाद गहन छन्। तर स्टेजको लागि अलि उपयुक्त छैनन्।
***
नाटक सकिएपछि बाहिर निस्किने सबैका आँखा ओसिला देखिन्थे। बाहिर त्यसपछि रौनक कमै फर्कियो। देशमा यति धेरै खराब अवस्था भइरहँदा फेरि अर्को भावुक कथा हेर्न किन जाने भन्ने पनि हुन सक्छ।
तर यही बीच प्रश्न आउँछ- हाम्रै आँखा अगाडि आए-गएको युद्धले दिएका चोट अहिले भुल्यौं भने भोलि कुनै न कुनै स्वरूपमा ती हामीसँग फर्किएर आउन सक्नेछन्। बेपत्ता पारिएको विषयमा पुस्तौंपछि पनि फर्किएको हामीले विश्व इतिहासमा देखेका छौं।
हाम्रै वरपर त्यसरी पीडा लिएर बसिरहेका मानिसहरूको कुरा सुन्न नसके पनि उनीहरूको दुःख बुझ्न र महशुस गर्न सक्ने हुनु भनेको पक्कै पनि नराम्रो हैन।
त्यसैले पनि एकपल्ट यो नाटक हेर्नुपर्छ।
अनि सोध्नुपर्छ, ‘सरकार, मान्छे हराएको थाहा छ नि हैन?’