‘निस्सिम, स्कुल जान पर्दैन भन्या? छिटो रेडी हौ,’ भान्सा कोठाबाट आवाज आउँछ।
अँध्यारो मुख बनाउँदै निस्सिम आफ्नो कोठाबाट निस्केर थचक्क सोफामा बस्छिन्।
फेरि आवाज आउँछ, ‘स्कुल जान ढिलो भइसक्यो, के गरेर बसेकी यो केटी।’
‘के भयो हँ तँलाईं?’
स्तब्ध निस्सिम केही बोल्न सक्दिनन्। यसबीच घरका अन्य सदस्य पनि त्यहाँ उपस्थित हुन्छन्। कोठामा एकाएक शून्यता छाउँछ।
अघिसम्म निस्सिमलाई गाली गरिरहेकी आमा एक्कासि भुइँमा ढल्छिन्। स्टेजको बत्ती झ्याप्प निभ्छ।
यो बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटकको दृश्य हो।
नाटककार घिमिरे युवराज र अमजद प्रवेजद्वारा निर्देशित नाटक ‘आँधीको मनोरम नृत्य’ ले किशोरावस्था र त्यो समयमा गुज्रिँदाको मनोविज्ञान चित्रण गरेको छ।
बाल्यकालदेखि युवा अवस्थासम्म आइपुग्दाको शारीरिक र मानसिक परिवर्तन र त्यसबीच आउने समस्या र बाधा घिमिरेले नाटकमा उतारेका छन्।
बढ्दो आधुनिकीकरण र त्यसले निम्त्याएको व्यस्त जीवनको असर बालबालिकामा पर्छ। पैसाको निम्ति गरिएको भागदौडमा अभिभावकहरू आफ्नो बच्चाको हेरचाहमा पछि परिरहेका छन्। बोली फुट्न नपाउँदै स्कुल पठाउने चलनले अभिभावक र केटाकेटीबीच दूरी ल्याएको नाटकमा देख्न सकिन्छ।
धेरै पैसा तिरेर महँगो स्कुल भर्ना गरिदिएपछि अभिभावकलाई आफ्नो जिम्मेवारी पूरा भएको लाग्छ। तर, कलिलै उमेरमा व्यस्त जीवन महशुस गरेका बालबालिकाको मस्तिष्कमा कस्तो असर परिरहेको हुन्छ? परिवारले बुझ्न सक्दैनन्।
उनीहरूले न घरको माया महशुस गर्न पाउँछन्, न त साथीहरूसँग नजिक हुन सक्छन्। केवल आफ्नै संसारमा हराइरहेका हुन्छन्। त्यसैले त सानै उमेरमा पनि मानसिक रोगको शिकार बन्न पुग्छन्।
के सही र के गलत भनेर छुट्टाउनु उनीहरूको मस्तिष्कभन्दा बाहिर छ। जानी-नजानी अनेकौं गल्ती गरिरहेका हुन्छन्। र यहीबेला अभिभावकले पनि आफ्नो बालबच्चाको मनोविज्ञान बुझ्दै-नबुझी उनीहरूमाथि आक्रोश पोख्छन्। सम्झाइ-बुझाइ गर्नुको सट्टा यातना दिने काम हुन्छ।
यही कुरा नाटककार घिमिरेले विभिन्न पात्रमार्फत नाटकमा प्रस्तुत गरेका छन्।
नाटकमा बाल पात्र निस्सिम र गोविन्दबीचको प्रेम सम्बन्धलाई विकृतिका रूपमा लिइएको छ। केटा र केटी साथी हुन नसक्ने मानसिकतामा अडिएको समाजले गर्दा उनीहरू माथि अप्ठ्यारा परिस्थिति आइलाग्छन्।
‘आज साथी मात्र भन्यो, भोलि हात समात्यो, पर्सि डेटिङ गयो, निपर्सि थुतुनो जोड्यो, अनि कानेपर्सि चाहिने नचाहिने गर्यो। अनि प्रेग्नेन्ट।’
स्कुलमा अभिभावकसहित सबै शिक्षकका अगाडि भनिएको यो संवादले उनीहरूलाई नगरेको गल्तीमा पनि बोध गराउन बाध्य बनाइन्छ।
यसले हाम्रो समाजमा रहेको पुरानो सोच अझै पनि जीवित रहेको देखाउँछ। बिहेपछि मात्र प्रेम सम्बन्धलाई स्वीकार गर्ने समाजले विद्यार्थी उमेरमा नै भएको यो हर्कत स्वीकार्ने कुरै भएन। बालविवाहको समस्या र सानै उमेरमा बच्चा पाएको खबर जोडेर निस्सिम र गोविन्दको सम्बन्धलाई अपराध जसरी औंल्याइन्छ।
स्कुलमा नाटक देखाउन प्रस्ताव लिएर आएका नाटककारलाई पनि यौन सम्बन्धी नभई नैतिकता सिकाउने नाटक बनाउन गाली गरिएको छ। यसैकारण आज निस्सिम र गोविन्द जस्ता थुप्रै बालबालिका घरपरिवार र समाजको डरले आफ्नो कुरा कसैलाई भन्न सक्दैनन्।
उनीहरूका दमित भावना कुनै ठाँउमा गल्तीका रूपमा पोखिन्छ। अन्जानमा कयौं गलत निर्णय लिएका हुन्छन् र यो प्रेम सम्बन्धमा मात्र नभई अन्य स्थितिमा पनि उत्तिकै देखिन्छ।
नाटककी अर्की पात्र संगीता अरू विद्यार्थीभन्दा फरक भएकोमा हाँसोको पात्र बन्छिन्। उनको कपाल र छालाको रङलाई लिएर व्यंग्य गरिन्छ। घरमा पनि आफ्नो पीडा सुनाउन सक्दिनन्। यही दमित भावनाकाबीचमा उनी कुलतमा फस्छिन्। आफ्नो मनभित्र कुण्ठित भावना उनी चुरोट सल्काएर बाहिर निकाल्छिन्।
किशोरावस्थामा आउने अनेकौं परिवर्तन र त्यसलाई व्यक्त गर्न नसक्दा उत्पन्न भएका दमित भावनाले पछि ठूलो समस्या ल्याउन सक्ने कुरा नाटकले बुझाएको छ।
यसैगरी, पितृसत्तात्मक समाजको दृश्य पनि नाटकमा देखिन्छ।
‘केटी भएर जन्मेपछि केटीजस्तो व्यवहार देखाउनु पर्छ’ भन्ने संवादले महिलालाई होच्याएको सुनिन्छ।
कक्षामा शिक्षकले केटीलाई सीता र भृकुटी जस्तो आदर्श नारी बन्नुपर्छ भनिरहँदा संगीता पात्रले अनुराधा कोइराला, सुशीला कार्की, पुष्पा बस्नेतको नाम लिएपछि शिक्षक चुप लाग्छन्। यसले आज पनि महिलालाई सामाजिक क्षेत्रबाट दबाएर ‘आदर्श’ बन्न सिकाइरहेको पुष्टि हुन्छ।
यस्तै हाम्रा दिदीबहिनी-छोरीहरू आफ्नै घरभित्र पनि सुरक्षित छैनन् भनेर नाटकमा देखाइएको छ। अफिसको कर्मचारीलाई रिझाउने क्रममा घरमा बोलाउँदा रक्सीको मातले देखाएको दुर्व्यवहारले महिलाको सुरुक्षाप्रति औंला उठाएको छ।
अन्तत; बाल मनोविज्ञान, युवा अवस्थाका जटिल क्षण र सामाजिक समस्यालाई चित्रण गर्दै निर्देशन गरिएको ‘आंधीको मनोरम नृत्य’ बालबालिका र अभिभावकले र्हेनै पर्ने नाटक हो।