कथा के का लागि लेखिन्छ र किन लेखिन्छ? भन्ने प्रश्न आफैंमा एउटा प्रश्न नभई एक अनुत्तरित उत्तर हो जसको अभिभारा स्वयंम कुशल लेखकले दिन सक्छ र दिने सामर्थ्य राख्दछ।
फेरि यसको उत्तर प्रश्न आफैंमा निर्भर हुने कुरा पनि हो। म भन्छु मनका आरोह-अवरोह, आवेग-संवेग, आग्रह-पूर्वाग्रह, आदि व्यक्त गर्न प्रयोग हुने भाव र शिल्पको उचित भावानुबोध नै कथा हो।
कुनै पनि कथाले एउटा परम्परागत दर्शनलाई बोकेको हुनुपर्छ भन्ने कुनै अकाट्य नियम त छैन तर पनि सामान्य दैनिक व्यवहारको अभिव्यक्ति भने हुनैपर्छ।
कथाले पाठकको हृदयलाई उद्वेलित गर्दै त्यसैको समय र घटनाक्रमसँगै डोर्याउनुपर्छ अनि मात्र कथा लेखिनुको उद्देश्य पूरा हुन्छ र कथा, सही अर्थमा कथा भन्न योग्य ठहर्नेछ।
'मेटाफर' साहित्यकार विशाल दत्त भट्टद्वारा लिखित पछिल्लो कथासंग्रह हो। १५ वटा छोटाछरिता कथा संग्रहित यो पुस्तक हेर्दैमा आकर्षक छ।
नेपाली साहित्यमा प्रयोग हुने साधारण नामभन्दा भिन्न शीर्षकले नामाकरण यस पुस्तकको नाम सुन्दा आम पाठकलाई एकपटक पुस्तकको बारेमा सोच्न बाध्य बनाउँछ।
यस पुस्तकमा कथाकारले आफ्नो जीवनमा देखेका र भोगेका घटनावलीलाई जीवन दिएका छन्, शब्दहरूका माध्यमद्वारा।
यी कथाहरूमा हिमाल, पहाड र तराईको आवाज छ र मुख्यतः कथा सुदूरपश्चिमबाट सुरू भई सिंगो नेपाली समाजको प्रतिबिम्बन गर्न सफल भएको छ।
कथाको सुरूआतीसँगै लेखकले कथाको परिवेशलाई कति मजाले लेखिदिनुभएको छ, "पश्चिम नेपालको कुनै एक त्यस्तो ठाउँ जहाँका मानिसहरू कथाका लागि शक्तिशाली पात्र भएका छन् जस्तो कि विश्वमा पनि पश्चिमाहरू नै शक्तिशाली हुन्छन्।"
उक्त पंक्ति पढ्दा मात्रै पनि जोकोहीलाई गर्वान्वित तुल्याउँछ। कथाकै कुरा गर्नुपर्दा कतिपय कथा यसरी बुनिएका छन् कि जो पाठककै दैनिकीसँग पनि मेल खान सक्छन्।
कतिपय कथामा कथाकार आफैं पात्रको रूपमा समेत उभिन पुगेका छन्।
यो संग्रह आवाजविहीनहरूको आवाज हो। यसमा समाजबाट अपहेलित महिलाको व्यथा अनि समाजमै रहेका तर नहेरिएका र वास्ता नगरिएका पात्रहरूको कथा छन्।
कथाकै क्रममा जनताले चुनेर पठाएका नेताको प्रवृत्ति पनि उनिएको छ। कुनै कथामा माओवादी जनयुद्धका क्रममा भए–गरेका ज्यादतीको चर्चा चुलाइएको छ।
कलेज पढ्ने ठिटाठिटीको क्षणिक प्रेम र त्यसको व्यवधान कोरिएको छ। एकातिर सामाजिक हिंसाले पिल्सिएका महिलाको कारूणिक क्रन्दन छ भने अर्कोतिर विवशताले पिल्सिएकी वेश्याको कथा पनि छ।
सहरमा वर्षौंसम्म संघर्ष गरेर पढाइ सकी रुग्ण शरीरमात्र लिएर गाउँ फर्केको विद्यार्थीको प्रसंग हृदयविदारक छ। युवा अवस्थामा केटाकेटी प्रेममा परेर केसम्म गर्न पुग्छन् भन्ने कुरासमेत देख्न पाइन्छ।
'हजुरआमाको चिठी' शीर्षकको कथाले पाठकको मन चसक्क हुन्छ। आफ्नो एकमात्र छोराको मायाबाट बञ्चित आमाको कथाको हो हजुरआमाको चिठी । हजुरआमाले नातिको वात्सल्य प्रेम सम्झेर लामो चिठी लेख्छिन् जसमा नातिप्रति अगाध माया झल्किन्छ। जीवनको अन्तिम घडीमा उनको नातिप्रतिको ममता चिठीमार्फत् पोख्छिन् तर छोरालाई भने इन्कार गर्छिन् किनकी ऊ आमालाई छोडेर श्रीमतीसँग सहर पसेको हुन्छ।
यस कथामा पीडा छ, व्यथा छ र मुख्य कुरा आशा छ जुन कुरानै कथाको सकारात्मक पक्ष हो। यही पक्षले पाठकलाई सोच्न बाध्य पार्छ र बेलाबेलामा झस्काउँछ।
'ह्याण्ड ब्याग' मा काठमाडौंको रत्नपार्क र बसपार्क आसपास देह व्यापार गर्दै बस्ने महिलाको कथा समेटिएको छ। कसरी एउटा सामान्य जीवन निर्वाह गरिरहेकी महिला देह व्यापारमा लाग्न पुग्छिन् भन्ने यस कथामा व्याख्या गरिएको छ। कथा सकिन्छ तर पाठकको मनमा लागेका जिज्ञासा कहिल्यै सकिँदैन।
आम पाठकको मस्तिष्कमा विभिन्न प्रश्न उब्जिन्छन्। जीवनको हरेक गोरेटोमा पाएको यातनाबाट आफूलाई मुक्त पार्न नसकेकी कथाकी पात्र अन्ततः देह व्यापारमा होमिन्छिन्।
तिनै घटना परिघटनाले नेपाली समाजमा महिलाको चित्रणमात्र गर्दैन, तत्कालीन समाजको ऐनाको काम गर्छ। नेपाली समाज र महिलाको संघर्षको द्वन्द्वात्मक पद्धतिलाई यस कथाले हदैसम्म चिरफार गर्ने कोशिस गरेको छ। महिला कतिसम्म साहसिक हुन्छन् र कहिलै हरेस खाँदैनन् भन्ने कुरा यो कथाले सूक्ष्म ढंगले प्रस्तुत गर्छ।
'चियाको राजनीति' कथा समसामयिक छ।
विद्यार्थी जीवन, क्याम्पसको राजनीति र त्यसको विद्यार्थीमा परेको प्रत्यक्ष असर नै कथाको सार तत्व हो। सबभन्दा प्रभावशाली र लगनशील विद्यार्थी नेताले नै स्ववियु चुनावमा टिकट नपाउने कुरा ज्यादै रोचक र घोचक छ।
त्यस्तै, क्याम्पस राजनीतिमा एक सामान्य विद्यार्थीलाई कसरी फगत आफ्नो स्वार्थको लागि प्रयोग गर्छन् र फालिदिन्छन् भन्ने वास्तविकता देखाइएको छ कथामा।
'होस्टेल' तुलनात्मक रूपमा लामो कथा हो। यो एकै विषयमा मात्र केन्द्रित छैन। घरायसी वातावरण र विद्यार्थी जीवनमा आउने आरोह अवरोहका यथार्थ चित्रण गरेको छ यो कथाले।
होस्टेलको परिधिमा घट्ने घटनाको सेरोफेरोमा घुमेको साधारण कथा हो जसको अन्त्य यति असाधारण छ कि हरेक पठकलाई नमज्जासँग पीडा दिएर जान्छ।
कथाको उत्कर्ष यति दमदार छ कि यसले पाठकको मन र मस्तिष्क दुवैमा छाप छोड्ने गरी कथा भन्छ।
शीर्ष कथा 'मेटाफर' एकदमै सुन्दर कथा हो जसले पुस्तकको शीर्षकलाई थप न्यायोचित बनाएको छ।
सहरमा नाम र दाम कमाएका एक दम्पत्तिको कथा हो मेटाफर।
सहरिया दम्पत्तिबीच एक समारोहमा रमाएर फर्कंदा सामान्य संवादभित्र उनिएको यस कथाले श्रीमान-श्रीमतीबिचको सम्मान, हार्दिकता र श्रद्धा छर्लंग पारिदिएको छ जुन पढ्दा लाग्छ लेखकले आफ्नो वैवाहिक जीवनलाई कथामा हुबहु उतारेका छन्। विवाहको चौथो वसन्त पार गरिसक्दा पनि एकाअर्काप्रति उत्तिकै सम्मान र माया छ जुन कुरा कथाको सुन्दर पाटो हो।
कथाको अन्त्य एउटा रोमान्चक मोडमा गएर हुन्छ जसले पाठकलाई आफ्नो प्रेमबारे सोच्न बाध्य पारिदिन्छ। लेखकमा मनविनोद चाहहरू प्रसस्त छन् यद्यपी कथा निकै यथार्थमा अडिग रहेर अगाडि बढेको छ।
कथाकारले आफूलाई संसारकै भाग्यमानी मानिसको रूपमा प्रस्तुत गर्दै आफ्नी श्रीमती उर्फ दिप्तीलाई स्वर्गकी परीको संज्ञा दिएका छन् जुननै दार्शनिक अर्थमा मेटाफर हो।
यो आफैंमा एक पृथक शैलीको कथा पनि हो। नेपाली साहित्यमा यो प्रकारका कथा लेखिएको पाइँदैन। उसो त यस्तो कथा बुन्दा निकै संयमता अपनाउनुपर्ने हुन्छ नत्र कथा एकतर्फी रूपमा अगाडि बढ्छ फलस्वरूप कथालाई न्याय गर्न सकिन्न।
"भात खाने बाटो: जनयुद्धको उपज" माओवादी जनयुद्धको सेरोफेरोमा घुम्ने बडो यथार्थपरक कथा हो।
यसमा माओवादी जनयुद्धको बेला क्रान्तिको नामबाट भएका कुकृत्यको चर्चा छ। बालश्रम र महिला हिंसा यसमा देखाइएको छ। ग्रामीण संघर्षशील जीवनको चित्रण छ। कलिलो उमेरको किशोरीले द्वन्द्वका नामबाट भोग्नुपरेको पीडा, मातृ वियोग, मातृवात्सल्यबाट वञ्चित पारिएको प्रसंग, जीविकोपार्जनका बालश्रम शोषण मर्मस्पर्शी छन्।
किताबको उत्तरार्द्धमा रहेको कथामा लेखकले दाबी गरेजस्तो 'जनयुद्वलाई फगत भात खानेबाटो भन्दा धेरैलाई अलिक अपाच्य लाग्न पनि सक्ला तर उक्त कुरा दुई ढंगबाट विश्लेषण गरेर चिरफार गर्न सकिन्छ।
पहिलो, जनयुद्धले गर्दा नै आम जनतालाई भात खाने बाटो पहिलाउन सहज भयो।
दोस्रो, ‘जनयुद्ध’को उपलब्धि भनेकै नेताहरूको लागि भात खाने बाटो शिवाय केही भएन। यावत कुराहरू भनेको कथाले उब्जाउने प्रश्नहरू र तिनीहरूले दिने उत्तरहरूनै हुन्।
पुस्तकमा भएका अन्य कथाहरू फगत कथाकारको भावाव्यक्ति मात्र नभएर एउटा सिंगो समाजको लागि आधार सूचक तथा मार्गनिर्देशन हुने सामर्थ्य राख्छन्।
यस पुस्तकले आधुनिक नेपाली कथाको क्षेत्रमा एक इँट्टा थपेर योगदान पुर्याउनेछ भन्नेमा विश्वस्त छु। लेखकले पात्र चयन र त्यसलाई उपयुक्त परिवेशमा सन्तुलन मिलाएर प्रस्तुत गर्ने कौशलता एक असाधारण कला हो।
उनले परिवेश यसरी बुनेका छन् कि त्यसलाई हरेक पाठकले सजिलै मनन गर्दै त्यसैमा आफूलाई ढाल्न सक्छन्।
कथा पढ्दै जाँदा पाठकले आफूलाई त्यसमा डुबाएर लेखाजोखा गर्नु लेखकको अन्तिम सफलता हो। त्यही बिन्दुमा लेखक विशाल दत्त भट्ट दत्तचित्त भएर पुगेका छन् भन्ने कुराको कथाहरू नै ठोस प्रमाण हुन्। यसले लेखकको उज्वल भविष्यको संकेत पनि गर्छ।
नारीवादी दृष्टिकोणबाट हेर्नुपर्दा अधिकांश कथा कुनै नारी लेखकले लेखेजस्तो लाग्छ। नारीवादी दृष्टिकोणबाट हेर्दा कथाहरू बेजोड छन्। नारी सशक्तीकरणको वकालत धेरैभन्दा धेरै कथाले गर्ने प्रयत्न गरेका छन्।
भट्टको अधिकांश कथाहरूमा नारी पात्रहरू नै हावी छन् जसले कथाहरूलाई सार्थकता दिँदै पुस्तकलाई पूर्णता प्रदान गरिरहेको छ।
नारी संवेदनाको उचित कदर गर्दै लेखकले आम पुरूष पाठकको मनमा महिलाका विषयमा रहेका कैयौं जिज्ञासा मेटाउने प्रयत्न गरेका छन्। पुरूष भएर महिलाले भोग्ने पीडा र संघर्षका विषयमा आत्मविश्वासपूर्वक लेख्नु जस्तो साहसिक कार्य भट्टले गरेका छन् जुन आफैंमा सराहनीय पनि छ।
भट्टको भाषा गज्जबको छ। उनी शब्दलाई वाक्यमा बुन्न ज्यादै सिपालु छन्। धेरै ठाउँमा डोटेली संवाद र शब्दहरूको प्रयोगले कथाहरूलाई स्तरीय मात्र बनाएका छैनन्, त्यसलाई थप सुन्दर र अर्थपूर्ण बनाउन मद्दत गरेका छन्।
तर पनि कतिपय वाक्य एकदमै लामा भइदिनाले पाठकलाई पट्यार लाग्न सक्छ। भाषाका सिकारूलाई त झन् यसले प्रभाव पार्न सक्ने कुरै भएन।
कथामा विविधता निकै नै भेटिन्छ। यस्तो लाग्छ, उनी एक विषयको कथामार्फत् अन्य धेरै कुरा भन्न असाध्यै हतार गर्छन्।
उनको लेखनीको यो शैलीले कथाका पात्रहरू असरल्ल छाडिन पुगेका छन्, तिनलाई आवश्यक गन्तव्य भेट्न मुश्किल परेको छ।
किताबमा १० वर्षे ‘जनयुद्ध’को बेलामा सरकार पक्षबाट भएका कर्तुतको सामान्य चर्चा गरिएको छ, तर त्यो अत्यन्तै सतही लाग्छ अथवा अझ धेरै कुरा भन्नुपर्ने बाँकी थियो। यस्तो लाग्छ, उनले माओवादी जनयुद्धबारे प्रशस्त अध्ययन,अनुसन्धान गरेता पनि थोरै हेल्चेक्राईं गरेर कथा बुनिदिएका छन्।
यसकारण त्यो एक दशक लामो द्वन्द्वमाथि भट्टको कथाले पूर्णरूपमा न्याय गर्न सक्दैन। त्यसबखत राज्यपक्षबाट जनतामाथि भएका अन्याय र अत्याचार खै किन हो लेखेका छैनन् कथाकारले।
माओवादीबाट भएका सामान्य गल्ती उधिन्दै पूर्ण जनयुद्धलाई फगत एक भात खाने बाटोको रूपमा व्याख्या गरेर वाहवाही कमाएका कथाकारले राज्य पक्षबाट भएका भीषण अन्याय सतही मात्रै उल्लेख गर्नु सुहाउने कुरा होइन।
उनका कथा पढेर भावी पुस्ताले इतिहासको त्यो कालो समयबारे अझै धेरै बुझ्थे जुन कौशलता उनको लेखनीमा झल्किन्छ।
पुस्तैपुस्तासम्म उनको लेखनी अमर रहनेछ भन्नेमा म विश्वस्त छु। भट्टका कथाहरू भावी पुस्तालाई अतीत बुझ्न मद्दत गर्ने गहन सामग्री हुनेछ भन्नेमा दुईमत छैन। लेखकलाई उज्वल भविष्यको शुभकामना।