आख्यान होस् या गैर-आख्यान, कुनै पनि कृति समय लिएर आरामसित पढ्ने बानी यथावतनै छ। कहिले हतारो भएन।
कोरोनाभाइरस संक्रमणको बिदालाई सदुपयोग गर्दै किताब पढ्ने क्रममा उषा शेरचनको पहिलो उपन्यास आधि सकाएँ। योभन्दा अघि मैले उहाँका कुनै पनि कृति नपढे पनि उहाँको कविता वाचन यदा-कदा सुन्ने अवसर भने पाएको थिएँ।
उपन्यास पढ्न सुरू गर्दा मैले यो न एकै सिटिङमा सकाउँछु भन्ने सोचेको थिएँ, न यसबारे केही लेखौंला भन्ने। त्यसो हुँदो हो त म सधैंझैं हातमा कलम र हाइलाइटर लिएर बस्दी हुँ।
उहाँले पनि विमोचनका दिन "खासै केही छैन, बिस्तारै पढ्दा हुन्छ," भन्नुभएको थियो। विमोचनका दिन समिक्षक तथा गीतकार चेतन कार्की उपन्यासबारे प्रमुख वक्ता हुनुहुन्थ्यो।
तर उहाँ यति बहकिनु भयो कि उहाँलाई आफ्नै बोलीको समेत हेक्का रहेन। उपन्यासले उठाएको विषयवस्तुमाथि एक किसिमको ‘ब्याकफायर’ नै भयो।
विमोचनको दिन उहाँका कुराहरूको एकछिन उहाँभन्दा अगाडि मात्र बोलेका मञ्चमा आसिन साहित्यकार, समालोचक मात्र नभई दर्शकमा रहेका महिला लेखकहरूबाट पनि घोर विरोध भएको थियो।
यहीँबाट स्पष्ट हुन्छ, पितृसत्तात्मक सोचले गाडेको दह्रो जरा।
महिला विषयवस्तुको बारम्बार उठान गरी घच्घचाउन यसकारणले पनि अपरिहार्य छ, किनकी पितृसत्ताको संरचनाको जकड नै बलियो छ।
उपन्यास सुरू गर्नुअघि यही घटनामात्र थियो मेरो मानसपटलमा।अरू कुनै पूर्वाग्रह राखिनँ।
आधिमा उठान गरिएको विषय कुनै नयाँ नौलो लाग्दैन। आएदिन हामीले बालबालिका, महिलामाथिको शोषण हिंसाका घटनाव्यापक रूपमा पढ्छौं, सुन्छौं।
यी घटनाहरू प्राय: घरबाटै, आफन्तबाटै सुरू हुन्छ। समाज, इज्जत, मर्यादा र मायाका नाममा हामी चुप रहन बाध्य हुन्छौं र यसले शारीरिक मात्र नभई गहिरो मानसिक आघात पुर्याउॅछ।
अहिले पनि समाजमा आएको परिवर्तन अनि फराकिलो मानसिकताको भ्रम पाल्दै गर्दा, हामीभित्रको आन्तरिक द्वन्द्व उत्तिकै चलिरहेको छ। यस्तोमा परिस्थिति, लाचारी र संघर्षले मानिसलाई यस्तो कठोर बनाइदिँदो रहेछ कि त्यसबाहेक अरू विकल्प नै नरहने रहेछ।
कवि तथा गीतकार विप्लव प्रतीकबाट सुनेको केही पंक्ति उद्गार गर्न चाहें-
झिलमें मारी डुबकी जब बारिशकी दो बूँदोने
तब हमें एहसास हुआ मिट्ना कितना अच्छा होता है
आधिकी मुख्य पात्र चाँदनीको जीवन पनि त्यस्तै छ। नाम चाँदनी भएर पनि जीवन अँध्यारो छ। आधि अँध्यारो चाँदनीको कथा हो।
सौम्य, सुन्दर गहिरो ताल झैं छे चाँदनी। रित्तो र मौन। आफ्नै काकाबाट बाल्यावस्थादेखि शोषित भई लोग्ने मानिसदेखि भयभित पात्र हो ऊ।
चाँदनीको जीवनमा एउटा झिनो आश, मीठो सपना बनेर सार्थक नामको पात्र आउँछ।
आफूमाथि बारम्बार भइरहने हिंसाको डरले गाउँबाट भागेर आएकी चाँदनीले एकदमै थोरैमात्र चिनेको सार्थकको साथ पाउँदा कस्तो जीवन अँगाल्न पुग्छ?
सार्थक जो भिन्न छ अरू पुरूषहरू भन्दा,तर उसको साथले चाँदनीका लागि कत्तिको सार्थक हुन्छ त? उपन्यासको कथा अघि बढ्दै जाँदा पाठकमा यो जिज्ञासा पनि थपिँदै जान्छ।
उपन्यास यसैको सेरोफेरोमा बुनिएको छ। मुख्य पात्र बाहेक अन्य, काठमाडौंसहरमा भएकी घरबेटी आमा, आफ्नो छोरालाई भन्दा पनि बढी माया गर्ने सासू-ससूरा प्रेरणादायी छन्। घर-घरमा भाँडा माझ्न हिँड्ने कान्छीमार्फत् उपन्यासकारले समयले ल्याएको परिवर्तन साथै समाज यावत कारणवश कुन दिशातर्फ उन्मुख भइरहेको देखाउन उपन्यासकार सफल भएकी छिन्।
यो उपन्यास चाँदनी जस्ता पात्रको संघर्षको कथा हो।
एकातिर यस उपन्यासले पुरूषहरूको यौन मनोविज्ञानलाई उदांग पारेको छ भने, महिला नै महिलाको दुश्मन भन्ने चलिआएको विश्वासलाई उनीहरूबीचको सौहार्दपूर्ण सम्बन्धले बारबार भत्काएको छ।
यति मात्र नभई यस उपन्यासले मानसिक उत्पीडनबाट विचलित मानिसले आफ्नो मनको भार बिसाउने र बुझिदिने वातावरण पाएमा हुने परिवर्तनलाई सूक्ष्म रूपले देखाएको छ।
सरल भाषामा लेखिएको कथावस्तु कतै कतै झिजो लाग्दो नभएको भने हैन। तर जसरी उपन्यासको सुरूआत हुन्छ, र फ्ल्यास ब्याक हुँदै पुनः चाँदनीको अन्तसँग जोडिन्छ, त्यसले पाठकलाई बाधिराख्नसक्छ।
सबै पाटोलाई केलाउँदा आधिलाई अहिलेको समाजको ऐना मान्न सकिन्छ। चाँदनीको भोगाइ हाम्रो समाजका धेरै चाँदनीहरूको अँध्यारो जीवन र संघर्षको वास्तविकता हो। आधिको सुरूआत ढिलै गरे पनि समय भने खेर नगएको अनुभूति भयो।
माया ठकुरी, भागीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठका कथा संग्रह पढ्न रूचाउने म अब उषा शेरचनको कथा संग्रह "तेस्रो रङ्ग"को खोजीमा छु।