‘मान्छेका इच्छाहरूको परीक्षा लिन जिन्दगीसँग दुइटा तरिका हुन्छ– कहिल्यै केही नदिएर वा एकैपटक सबथोक दिएर।’यो बहुचर्चित उपन्यास ‘द विनर स्ट्यान्ड्स अलोन’ (विजेता एक्लै खडा हुन्छ) को हरफ हो, जसका लेखक पाउलो कोहेलो जिन्दगीका यी दुवै परीक्षा दिँदै आज ७० औं जन्मदिन मनाउँदै छन्।
सबभन्दा बढी भाषामा अनूदित र सर्वाधिक बिक्री भएको ‘दी आल्केमिस्ट’ लगायत दर्जनौं किताबका लेखक पाउलोको जीवन फर्केर हेर्ने हो भने माथिको हरफझैं जिन्दगीले पनि उनीसँग इच्छाहरूको परीक्षा लियो। त्यही इच्छाको रनाहाले उनलाई जिन्दगीको यस्तो मोडमा ल्यायो, जहाँबाट उनले आफ्नो गन्तव्यको धार समाते।
ब्राजिलको कट्टर क्याथोलिक परिवारमा जन्मेका पाउलो कोहेलो डि’सुजा मात्र १५ वर्षका थिए, जब उनले आफ्नी आमालाई सोधे, ‘मैले जिन्दगीको उद्देश्य पत्ता लगाएँ। म लेखक बन्न चाहन्छु।’
आमा तीनछक परिन्।
शब्दसँग खेल्न चाहने किशोर पाउलोका बुवालाई मेसिनसँग प्रेम थियो। उनी आफ्नो छोरा पनि मेसिनसँगै खेलोस् भन्ने चाहन्थे।
आमाले भनिन्, ‘तिम्रो बुवा इञ्जिनियर हुनुहुन्छ, तार्किक क्षमता र व्यवहारिक गुण छ उहाँसँग। यो संसारलाई हेर्ने प्रस्ट दृष्टिकोण छ। उहाँ चाहनुहुन्छ तिमी पनि मेसिनसँग खेल, आफूजस्तै इञ्जिनियर बन।’
पाउलोले हठ छाडेनन्।
छोरामा लेखक बन्ने ‘भूत’ सवार देखेर आमाले फेरि सोधिन्, ‘तिमीलाई लेखक हुनु भनेको के हो थाहा छ?’
‘त्यस्तो व्यक्ति जसले किताब लेख्छ,’ पाउलोले जवाफ दिए।
‘तिम्रो काका डाक्टर हुनुहुन्छ। उहाँ पनि किताब लेख्नुहुन्छ। केही किताब छापिएका छन्,’ आमाले भनिन्, ‘तिमी पनि इञ्जिनियर भयौ भने आफ्नो फुर्सदको समय किताब लेख्न सक्छौ।’
‘होइन आमा, म लेखक नै बन्न चाहन्छु,’ पाउलोले जवाफ दिए, ‘त्यस्तो इञ्जिनियर होइन, जो किताब लेख्छ।’
‘के तिमीले कुनै लेखक भेटेका छौ? कोही चिनेका छौ?’
‘छैन, तस्बिरमा मात्र देख्या छु।’
‘त्यसो भए तिमी कसरी लेखक बन्न चाहन्छौ त, जब तिमीले कुनै लेखक चिनेकै छैनौ, देखेकै छैनौ र लेखक हुनु भनेको के हो तिमीलाई थाहै छैन भने?’
पाउलोसँग आमाको प्रश्नको जवाफ थिएन, मात्र मनभरि एउटा रनाहाले घर बनाएको थियो– लेखक बन्ने रनाहा।
आमाको प्रश्नले उनलाई घोत्लिन बाध्य भने पार्यो। साँच्चै लेखक हुनु के रहेछ भनेर खोजीमा लागे।
सन् १९६० दशक सुरुतिरको यो घटनापछि पाउलो जे नतिजामा पुगे, उनको विचारमा लेखक हुनु भनेको यस्तो थियो- जो सधैं चस्मा लगाउँछ र कहिल्यै कपाल कोर्दैन। आधाजसो समय अरूसँग रिसाइरहेको हुन्छ र बाँकी आधा समय आफैंसँग निराश हुन्छ। ऊ जिन्दगीको धेरै समय भट्टीमा बिताउँछ, आफूजस्तै चस्मा लगाएका लेखकहरूसँग तर्क–बितर्क गर्दै। ऊ सधैं ‘गहिरो’ कुरा गर्छ। उसको दिमागमा अर्को उपन्यासको निम्ति सधैं 'आइडिया' फुरिरहेको हुन्छ, तर भर्खरै आफ्नो प्रकाशित उपन्यास ऊ घृणा गर्छ।
पाउलोले लेखक हुनुको अर्को पनि तस्बिरमा मनमा कोरे– त्यस्तो व्यक्ति, जो वरपरका मान्छेलाई औसत ठान्छ र आफू गलत समयमा जन्मिएको राग अलाप्दै हिँड्छ। आफ्नो प्रतिभाको कदर अर्को पुस्ताले मात्र गर्न सक्छ भन्ने भ्रम उसको मनमा भित्रसम्म गडेको हुन्छ। ऊ सकेसम्म जटिल बन्न खोज्छ, किनकि उसलाई लाग्छ जसलाई सबैले सजिलै बुझ्छन्, उसलाई कसैले बुद्धिमान ठान्दैनन्। ऊ आफूले लेखेको हरेक वाक्य र हरेक अनुच्छेद कयौंपटक दोहोर्याइ–तेहर्याइ पढ्छ। एक औसत मान्छेसँग तीन हजार शब्दको ज्ञान हुन्छ, जसलाई लेखक कहिल्यै प्रयोग गर्दैन। किनकि, शब्दकोषमा १ लाख ८९ हजार अरू शब्द छन् र ऊ आफूलाई औसत मान्छेभन्दा माथिल्लो दर्जाको ठान्छ।
पाउलोले यो पनि बुझे– एक लेखकको आसय के हो भन्ने अर्को लेखकले मात्र बुझ्न सक्छ। तैपनि, ऊ आफूबाहेक अरू सबै लेखकलाई घृणा गर्छ। कुनै केटीसँग प्रेम प्रस्ताव राख्नुपरे, सानसँग भन्छ, ‘म लेखक हुँ’ र न्याप्किनमा कविता कोरेर केटीको हातमा थमाउँछ। कसैले ‘तपाईं अहिले के पढ्दै हुनुहुन्छ’ भनेर सोधे, ऊ सधैं यस्तो किताबको नाम लिन्छ, जसलाई प्रायःले सुनेकै हुँदैनन्।
एउटा मात्र किताब यस्तो छ, जसलाई सबै लेखक मुक्तकण्ठले तारिफ गर्छन्– जेम्स जोयसको ‘युलेसिस’। कोही पनि यो किताबबारे नराम्रो भन्दैनन्। तर, कसैले ‘यसमा खास के छ’ भनेर सोधे कोही जवाफ दिन सक्दैनन्। त्यसैले, शंका हुन्छ, यी लेखकहरूले वास्तवमा त्यो किताब पढेका त छन्?
आफ्नो अनुसन्धानबाट यति सूचना एकत्रित गरेपछि पाउलो आफ्नी आमाकहाँ गए। लेखक हुनुको अर्थ बताए।
आमा फेरि छक्क परिन्।
‘यति सबै गर्नुभन्दा त बरु इञ्जिनियर हुनु नै सजिलो नि,’ आमाले भनिन्, ‘त्यसमाथि तिमी चस्मा पनि लगाउँदैनौ।’
यसो भन्दा आमाले ध्यान दिइनन्, पाउलोले त्यतिबेलासम्म कपाल कोर्न छाडिसकेका थिए। नस्याहारिएको अस्तव्यस्त कपाल लिएर घरबाट निस्कँदा सधैं एउटा किताब च्यापेर हिँड्न थालेका थिए। हातमा आधाउधि लेखेको उपन्यासको पाण्डुलिपि पनि हुन्थ्यो। उनी हेगेलका रचना पढिरहेका थिए र जेम्स जोयसको ‘युलेसिस’ पढ्ने निश्चय गरेका थिए।
हुँदाहुँदा यस्तो अवस्था आयो, जब पाउलोको लेखक बन्ने रनाहालाई वरिपरिकाले ‘मानसिक असन्तुलन’ को संज्ञा दिए। उनका आमाबाबुले समेत जिद्दी बन्दै गएका पाउलोलाई तह लगाउन मानसिक अस्पतालको मद्दत मागे, उनको छरिएका विचार सोझ्याउन।
मनका रहरहरूको उपचार गराउन अस्पताल भर्ना गरिएका पाउलो तीनपटकसम्म भागे। तर, जतिचोटि भागे पनि उनी अस्पतालकै ढोकामा ठोक्किन्थे।
तीन वर्ष मानसिक अस्पतालको हन्डर खाएपछि २० वर्षको उमेरमा बल्ल उनले मुक्ति पाए। यसका लागि उनले आफू मानसिक रूपमा तन्दरुस्त रहेको र विचारहरू नछरिएको प्रमाण दिनुपर्यो। उनले लेखक बन्ने सपना अस्पतालमै छाडे र आमाबुवाका इच्छा पूरा गर्दै कानुन पढ्न भर्ना भए।
मान्छे आफ्ना इच्छाहरूको दास हुन्छ। मनमा हुटहुटी जागेपछि दिमाग पूरै सोहोरिएर त्यही हासिल गर्न तछाडमछाड गर्न थाल्छ। त्यतिबेला न मन आफ्नो हुन्छ, न दिमाग।
पाउलोलाई त्यस्तै भयो, सायद।
उनी आफ्ना आमाबाबुको इच्छामा रमाउन सकेनन्। कानुन पढाइले मन बाँध्न सकेन, न दिमागलाई नै एकत्रित पार्न सक्यो।
एक वर्ष नपुग्दै उनी यस्तरी आत्तिए, वकिल बन्नुभन्दा ‘हिप्पी’ बनेर भौंतारिँदै हिँड्नु निको लाग्यो। उनी सुस्तरी बगिरहेको समयलाई आफ्नो ‘हिप्पी’ पाइलाले भेट्न र उछिन्न चाहन्थे, सायद।
आखिर उनले जस्ता व्यक्तिलाई लेखकको दर्जामा राखेका थिए, तिनको जिन्दगी पनि त हिप्पी बराबरै थियो, जो स्वतन्त्र थिए, घुम्थे, पढ्थे र आफ्नै दुनियाँमा मस्त रमाउँथे।
हिप्पी बन्ने यही मेलोमा उनले अफ्रिका, अमेरिका, मेक्सिको र युरोपका थुप्रै सहर घुमे, लेखकको अनुभूति लिएर। दिमागमा आएका भावना र सोच छरपस्ट हुन्थे। ती भावना र सोच सम्हाल्न उनी बेलाबेला लागुऔषधको सहारा लिन्थे।
यही पारामा वर्षौं बिताएपछि उनी आफ्नै देश फर्किए।
उनी अब पूर्णकालीन लेखक भएर बाँच्न चाहन्थे। गीतबाट यात्रा सुरु गरे। शब्दसँग खेल्ने रहरले घरि पत्रकार घरि अभिनेता त कहिले नाट्य निर्देशकसम्म भए।
यो उनी आफैंले भनेझैं जिन्दगीका इच्छाहरूको पहिलो परीक्षा थियो, कहिल्यै केही नपाउने। उनी जिन्दगीबाट जे चाहिरहेका थिए, त्यो कोशौं टाढा थियो। उनी जुन गन्तव्य पुग्न दौडिरहेका थिए, त्यो मृगतृष्णा मात्र हो या साँच्चिकै त्यहाँ सगरमाथा शिखरझैं यथार्थ गन्तव्य छ भन्ने भेउ उनलाई नै थिएन।
उनी त बस् लेखक बन्ने हुटहुटीमा बाँचिरहेका थिए। र, जसरी हुन्छ, जे हुन्छ लेखिरहेका थिए।
यही क्रममा पहिलो किताब छापियो, ‘हेल आर्काइभ्स’। ३५ वर्षको उमेरमा लेखेको यो किताबले खासै प्रभाव पारेन। दोस्रो किताब उनैलाई गुणस्तरहीन लाग्यो।
त्यसपछि सन् १९८६ मा उनी एउटा यात्रामा निस्किए, जसको संस्मरणले अर्को वर्ष उनको आत्मानुभव जन्मायो, ‘द पिलग्रिमेज’। उनले आफ्नो जीवनभरको यात्रा र लक्ष्य खोजलाई यो एउटा किताबमा सीमित गर्न सकेनन्।
अनि आयो कोशेढुंगा, ‘दी आल्केमिस्ट’– जसले लेखक बन्ने रनाहा पालेर संघर्षको आरनमा लगातार पिटिइरहेका पाउलोलाई सुन बनायो।
आल्केमिस्टले जन्माएको यो सुन चिन्न पनि संसारलाई पाँच वर्ष लाग्यो।
आल्केमिस्टको जन्म १९८८ मा भएको थियो, पोर्चुगिज भाषामा। पहिलोपटक नौ सय प्रति छापिएको यो उपन्यास कहीँ थन्कियो, फेरि नछाप्ने गरी।
पाँच वर्षपछि जब अमेरिकी प्रकाशक हार्पर कोलिन्सले यसलाई अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गर्यो, त्यसपछि यो हिउँदको कुहिरोझैं फैलियो। र, पाउलोको सुनौलो खुबी बोकेर संसारभरि उडिरह्यो।
आज त्यही कुहिरोले पाउलोको आल्केमिस्टलाई ७० भाषाका पाठकसम्म पुर्याएको छ। र, सबभन्दा बढी भाषामा अनूदित र सर्वाधिक बिक्री भएको उपन्यासको खिताब कमाएको छ।
यो उनी आफैंले भनेझैं जिन्दगीका इच्छाहरूको दोस्रो परीक्षा थियो, एकैचोटि सबथोक पाउने। आल्केमिस्टले पाउलोलाई एकैपटक सबथोक दियो– नाम, दाम, इज्जत, प्रतिष्ठा।
पन्ध्र वर्षको उमेरमा पाउलोले जुन दृढका साथ ‘आमा, म लेखक बन्छु’ भनेका थिए’, आखिरमा त्यो गन्तव्य उनले चुमेरै छाडे। तर, कहिलेकाहीँ अनायसै कस्तो हुन्छ भने मान्छे आफ्नो गन्तव्यमा त हुन्छ, तर उसलाई त्यहाँ पुगेको अनुभूति हुँदैन। ऊ गन्तव्यको उत्कर्षभन्दा यात्रामै रमाउँछ। कहीँ पुगेर थामिनुभन्दा अविराम यात्रा उसका लागि सुखद भइदिन्छ।
पाउलो त्यस्तै छन्।
‘म काम गरिरहेको छु, मसँग नाम छ, धन छ, मलाई माया गर्ने मान्छे छन्, तर म आफ्नो सपना पूरा गरिरहेको छैन,’ उनले भनेका छन्, ‘पन्ध्र वर्षको उमेरमा मैले आमालाई भनेको थिएँ, म लेखक बन्न चाहन्छु। अहिले पनि भन्छु, म लेखक बन्न चाहन्छु।’
आज पाउलो ७० वर्ष भए। सन् १९४७ अगस्ट २४ मा जन्मिएका पाउलोले आज संसारभरिका करोडौं पाठकलाई शब्दको जादूले लट्ठ्याएका छन्। तै उनलाई लेखक बन्ने रनाहाले छाडेको छैन।
यी ‘शब्दका जादुगर’ आज पनि त्यही सपना पछ्याउँदै हिँडिरहेका छन्। पाठकको निम्ति बर्सेनि नयाँ–नयाँ उम्दा कृति ल्याइरहेका छन्। र, भन्छन्, ‘मैले सबभन्दा राम्रो कृति त लेखेकै छैन। त्यो लेखेपछि बल्ल मेरो लेखक बन्ने धोको पूरा हुनेछ।’
उनलाई थाहा छ, एकदिन त्यो समय अवश्य आउनेछ।
त्यसैले त, आल्केमिस्टमा पाउलो लेख्छन्ः
‘यदि कुनै चिजलाई साँचो मनले चाह्यो भने, संसारका सबै तिमीलाई त्यो चिज हासिल गराउनमा जुट्नेछन्।’