झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीती संग्रह सुनिल बिमोचन भएको छ। टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक भिडियो निर्देशक भूषण दाहालले सुनिलको बिमोचन गरेका हुन्।
पुस्तकको विमोचन गर्दै दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको भएको बताए। ‘प्रविधिले साथ नदिए पनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा ती गीतहरु सरल छन्,’ सञ्चारकर्मी दाहालले भने, ‘सुनिलमा संग्रहीत कतिपय रेकर्ड नभएका गीत अत्यधिक सरल र कालजयी हुने गीतहरु छन्।’
कार्यक्रममा फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतना स्तरलाई मध्यमवर्गिय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताए।
लामो समय पत्रकारिता क्षेत्रमा सम्लग्न रहेका सुशील अर्यालले सुनिल पहिल्यैदेखि सृजनशील भएकोले लामो समयदेखि स्थिर रहेको साहित्यिक यात्रा अब सुरु भएको भन्दै यो यात्रामा निरन्तर दौडन आग्रह गरे।
म सृजनशील मान्छे मनपराउँछु
मलाई सक्रिय मान्छे पनि औधी मनपर्छ
पत्रकारितामा सृजनशीलता र साहित्यमा सरलताको
अभ्यास गर्दै म सबैमा सुनिल बन्न चाहान्छु ।
पुस्तकको भूमिकामा यी पंक्तीबाहेक केही लेख्न नचाहेका सुनिल कोइरालाले आफ्नो साहित्य यात्राका विषयमा बताउँदै पुस्तक प्रकाशनमा अग्रज कबि स्व. रत्न शमसेर थापा, राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरे, संगीतकार अम्बर गुरुङ्ग, गीतकार कृष्णहरी बराल, गायक योगेश बैद्यका साथै थुप्रै अग्रज र अनुजहरुबाट सउत्प्रेरणा प्राप्त गरी पुस्तक प्रकाशन सम्भव भएको बताए।
‘मलाई यहाँसम्म आउन धेरैको उत्प्रेरणा छ र आजको यो क्षणले मलाई निरन्तर कलम चलाउन थप उत्प्रेरित गरेको छ’,, गीतकार कोइरालाले भने।
९९ गीतहरुको संग्रह रहेको गीति संग्रह स्कुल अफ लिडर्स प्रा.लि.ले प्रकाशन गरेको हो।