एक कविको २० वर्ष लामो साधनको प्रतिफल रहेछ अग्नि। करिब २ घण्टामा पढेर भ्याउँदा-
मलाई तिमीले जस्तै
सबै कुरा बिर्संदै जाने छुट छैन
नसम्झीकन त कसरी गर्नु र
समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब?
यत्ति सम्झ कवि-
तिमी उभिने माटो तिमीलाई कसले दियो?
कसले बाल्यो त्यही माटोमा झरिलो अग्नि?
र यो पनि नबिर्स
तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर
खरानीमा छोपेर राखेका हुन्
तिम्रो भान्साको बिउ आगो
आरन बिटुलो छ भने
तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले
साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौ?
शासक र शोषितबीचको सम्बन्धलाई यही हरफले लेखिदिएको छ। आक्रोशका अग्नि हरफ-हरफमा लेखिएका छन्। समाजको यथार्थताको दर्पण बनेको छ अग्नि। 'अग्नि' महाकाव्यका रचयिता डा. नवराज लम्सालसँग मेरो न निकट सम्बन्ध छ न त गहिरो चिनजान नै।
एक रात भेट भएको थियो सुदूरपश्चिमको एक होटेलमा। जब मैले हाम्रो छोटो बसाइमा वर्तमान समाज र लेखनीबारे चिन्ता व्यक्त गरेँ तब कविले मलाई माथि उल्लेखित हरफहरू सुनाउनु भयो।
मैले सोधेँ- 'यी हरफहरू कसको कवितामा छन्?'
कविले भन्नुभयो, 'जीवनकालको २० वर्षे लामो यात्रामा 'अग्नि' नामक महाकाव्य लेखेको छु, त्यसैमा छ यो हरफ।'
यत्ति भनिसकेपछि कवि लम्साल निदाउनु भयो। मेरो मनमा हुटहुटी चल्यो। म कतिबेला काठमाडौँ पुगेर अग्नि पढ्न पाउँला भन्ने। काठमाडौँ पुगेपश्चात हेरेँ आफ्नै कोठाभरिमा। मलाई कुनै दिन कसैले 'अग्नि' दिएजस्तो लागेको थियो। कोठामा राति ११ बजे पुगेको थिएँ। कोठाभरि हेरेँ तर 'अग्नि' भेट्टिएन। रात जसोतसो कटाएँ।
मलाई किताब पढ्ने एक रोग लागेको छ। म प्राय:जसो पुस्तक एकै बसाइमा पढेर सिध्याउने गर्छु। दोस्रो दिन बिहानै हानिएँ पुतलीसडकतर्फ। खल्तीमा जम्मा पाँच सय रुपैयाँ थियो। पुतलीसडकको एक पसलमा भेटेँ 'अग्नि'। तर दुर्भाग्य, अग्निको मूल्य मसँग भएको पैसाभन्दा अलिक बढी रहेछ। पुस्तक नकिनी कोठा फर्किएँ।
दिउँसो कार्यालय गएँ। एक सहकर्मीबाट पाँच सय सापट मागेँ र अग्निसँगै १/२ वटा पुस्तक थप लिएर आएँ। दिनभरको थकानको महसुसले साँझ अग्नि खोल्न नै मनले मानेन। यो साँझ पनि गएराति झैँ निदाएँ।
बिहान ४:३० बजेको समय खोलेँ अग्नि र अग्नि प्रवेश, सँगै मैले पनि अग्नि प्रवेश गरेँ। अग्नि पढ्दापढ्दै कैयौँ पटक आँसुहरू झरेछन्। म अलिक भावुक मान्छे हुँ। अग्नि भित्रका इतिहासका दागहरू छन् भने विद्रोहका झिल्का पनि छन्।
उसो त मैले बुझेअनुसार अग्निमा वैदिक सनातन अर्थात् आदिगुरु शिव हुँदै बाबा विश्वकर्मा र वर्तमान समाजको जलन्त छुवाछुतको उदाहरणसम्मको इतिहासलाई टपक्कै टिपेको छ। ठूले कामीको जीवनगाथामा आधारित अग्नि हजारौँ लुप्त ठूले कामीको जीवनगाथा हुनसक्छ र हो पनि। अग्नि प्रवेश गर्दा कविले भावुक हुँदै भनेका छन्।
कसरी बिर्सन सक्छु पत्नीको प्रेम
र कसरी च्यात्न सक्छु
आशीर्वादको हत्केला हुर्किएको
आफ्नै छोरीको सपना?
यस्तै अगाडि बढ्दै जाँदा अग्नि प्रवेशमै कविले लेखेका छन्-
नेपाली परम्परामा वीरताको अर्थ के हो?
यसको अर्थ र उत्तर खोज्नुअघि
भन्नुस् दाजै को हुन् ठूले कामी?
र किन लेखिएन जेठी तरबार निर्माणको त्यो इतिहास?
हामीहरू नेपाली वीर हौँ त भन्दछौँ, र हाम्रा पुर्खाहरूले लडेका केही युद्ध कथाहरू पनि पढ्दछौँ। तर नेपाली परम्परामा वीरताको अर्थ नै धेरैले नबुझेका हुनसक्छन्। युद्ध लड्नु मात्र वीरता होइन, युद्ध लड्न साहस थप्ने ठूले कामीजस्तै लाखौँ लाख तरबार बनाउने कालीगडहरूको साहस पनि वीरता हो। तर आजसम्म किन लेखिएन ती कालीगडहरूको इतिहास, त्यस्तै जेठी तरबार निर्माणको इतिहास?
बडो चिन्ता व्यक्त गर्दै, आक्रोशित हुँदै लेखेका छन् कविले माथि उल्लेखित हरफमा। यसैबाट प्रस्ट हुन्छ कि अग्निभित्र पक्कै पनि इतिहासको समीक्षा छ, वर्णन छ। जब कवि अग्निभित्र हिँड्दैछन्, कविलाई छेलाङीले प्रश्न गरेको छ।
हेर्नु भो त? के देख्नुभो कविजी?
नियत कि नियति?
चिन्ता कि चिन्तन?
शरीर कि मन?
जात कि कर्म?
यो वर्तमान समय हो। हामी कहाँ छौँ? समाज खोज्नु पर्दैन। अग्नि महाकाव्यको सुरुआतमै छेलाङीले कविलाई गरेको प्रश्न पढे पुग्छ। हामी मन हेर्दैनौँ, शरीर हेर्छौं र थालिहाल्छौँ शरीरको वर्णन गर्न। हामी कर्म हेर्दैनौँ र कर्मको वर्णन गर्नुपूर्व नै थालिहाल्छौँ जातीयताको नारा लगाउन।
सेतो हुँदैमा चौलानी दूध हुँदैन-
वास्तविक कुरालाई यहाँ बिम्बित गरेको छ। सत्य यही हो, शाश्वत यही हो। मानिस दुई हात, खुट्टा, आँखा, नाक, कान र मुख हुँदैमा मान्छे बन्दैन्। मान्छे बन्नका लागि मानिसभित्र समवेदना हुनुपर्छ भन्ने कुरालाई दर्शाइएको यो एक हरफ मानव जीवनका लागि महत्वपूर्ण हरफ बन्न सक्छ।
स्कुल जान सकेका छैनन् नानीहरू
शिक्षाभन्दा बढी तिरस्कार छ
अपमान पिएर फर्कन्छन् स्कुल गएकाहरू पनि
वर्तमान समय र समाजको लागि यो हरफ ठ्याक्कै ऐना हो। अग्निमा छेलाङीले कविलाई यसरी नै भनेका छन्। हुन पनि शिक्षा सिक्न विद्यालय गएकाहरू आफ्नै कथा पढेर फर्किन्छन् र अबोध बालक/बालिकाको मनमा प्रत्येक दिन चिसो कथाका धारा वर्षिन्छन्। जसलाई म एक विद्यार्थी हुँ भन्ने ज्ञात थियो उसलाई विद्यालयले नै त दलित होस् भन्ने कुरा दिन प्रतिदिन सिकाइरहेको छ। छेलाङीले कविलाई यहाँ बडो भावुक हुँदै सोधेका छन्।
कविजी,
तपाईंको सन्तान
हतियार चलाउन सिक्छ, युद्ध सिक्छ
सेना बन्छ, प्रहरी बन्छ, विद्रोही बन्छ
तर आरनमा बसेर
हतियार बनाउन सक्दैन किन? लेख्नुस्।
वास्तविक कुरा यही हो। सेना, प्रहरी, विद्रोही मात्र हैन। आज हरेक मानिस हतियार चलाउन सिकिरहेको छ र चलाइरहेको छ तर आरनमा बसेर हतियार किन बनाइरहेको छैन? जसले हतियार बनायो उसैलाई थप संज्ञा दिइएको छ तर हतियार चलाउनेलाई स-सम्मान सम्मान गरिएको छ किन? यस्तो प्रश्न यहाँ उठेको छ र यो उठ्नु जरूरी पनि छ।
इतिहासमै सच्याउनु छ इतिहासको गल्ती
र नयाँ इतिहास लेख्नु छ समयको!
कविले यहाँ एक चिन्तन तथा विचार व्यक्त गरेका छन्। यो निकै राम्रो कुरा हो। इतिहासमा एकपटक गरिएको एक गल्तीले भविष्यमा समेत त्यसको प्रभाव पर्दछ र व्यक्तिको इतिहास लेखे त्यो त्यही महान कार्य होइन तर समयको इतिहास लेख्नु आफैमा चुनौतीपूर्ण कार्य हो, साथै समयको इतिहास लेख्दा वर्तमान भविष्यलाई समयको इतिहासले राम्रोसँग दिशा निर्देष गर्ने गर्दछ।
संसारको के कुरा
तिम्रो आफ्नै गाउँ एउटा कुटुम्बजस्तो छ त?
हाम्रो आजको परिवेश यस्तै छ। यस पङ्क्तिमा गहिरो चिन्ता व्यक्त गर्दै गरेको प्रश्न हो यो। यो कुरा साँचो समेत छ हामी संसार र लोकको चिन्ता लिएर मनमा अनेकौँ कुरा खेलाइरहेका हुन्छौँ, अनेकौँ भाषण छाँटिरहेका हुन्छौँ तर वास्तवमा आज गाउँ-गाउँमा झगडा छ, मनमुटाव छ। गाउँ गाउँजस्तो छैन र अब रहेन पनि।
बेहिसाब यस जिन्दगीको पनि
खास हिसाब छ
तर म कुन मस्तिष्कको क्यालकुलेट दाबूँ
र खास गणितको योगफलमा
कुन वियोगको गणना पढूँ?
यस पङ्क्तिमा कवि अलिक बढी भावुक भएको देख्छु र आफैमा खिन्न भएको देख्छु। इतिहासको ज्वारभाटा र अग्निको ज्वाला लेख्ने कविले यत्ति सानो कुरामा भावुक नहुनुपर्ने हो तर जिन्दगीको खास हिसाब गहिरो छ। यसर्थ गणितको योगफलबाट जिन्दगीको हिसाबकिताब गर्न सकिँदैन। जिन्दगीको हिसाबकिताब गर्न मस्तिष्कको प्रयोग गर्नै पर्दछ।
समय फुट्दैन घडी फुटेझैँ-
कविताको यस वाक्यले युद्धमा मर्नै लागेको लडाकुलाई पनि आफ्नो कर्म गर्ने कुरामा हौसला दिनसक्छ। घडी फुट्ला समयको आँखा छोप्न सकिएला तर समयको दृष्टि रोक्न सकिँदैन। दु:खहरू, सुखहरू आउने जाने प्रकिया चलिरहन्छ तर जिन्दगीको प्रकृति आफैमा समय हो घडी होइन।
पराजयको पीडाले पोलेपछि
झुपडी झर्दा रहेछन् शासकहरू
यही बेला हो जनताले जित्ने क्षण।
यो कुरा हाम्रो समाजमा आज पनि जीवित छ। विश्व मानव समुदायको जुनसुकै पनि युगमा हेर्ने हो भने शासकहरू पराजयको पीडाले पोलेपछि मात्र आफ्नो धरातल सम्झन्छन् र झुपडीतर्फ फर्कन्छन्। यसको साटो विजयको हर्षले विभोर भएमा शासकहरू झुपडीमाथि बन्दुक समेत चलाउन तम्तयार हुने गर्दछन्।
सत्ताको न कान हुन्छ न आँखा-
हामी अब धेरै वर्ष यसै धरतीमा रहँदैनौँ तर यो काव्य युगौँयुगसम्म रहिरहनेछ। यो पङ्क्तिको समालोचना युगले गर्नेछ। सत्ताले न कान सुन्छ न आँखा नै देख्दछ। सत्ताले देख्ने केबल शक्ति मात्र हो। त्यो पनि भौतिक बलको राजकीय सत्ता। यसमा एउटा कुरा थप्छु, हरेक शासकलाई कयौँ पटक पराजयपछि मात्र विजयको शिखरमा चढ्ने अवसर आओस्, त्यो पनि जीवन भरमा मात्र एकपटक।
राजा भएर मात्रै राजपाठ छ जस्तो नहुने रैछ
शासक भएर मात्र देश देश बन्दैन।
शासले न संस्कृतिको संरक्षण गर्न सक्छ न पहिचानको नै। पहिचान र संस्कृतिको संरक्षणका लागि प्रजा सदैव खटिरहनु पर्छ भन्ने कुरा यही पङ्क्तिले दर्शाएको छ। यसैले आफ्नो राजपाठ बारे नागरिक कटिबद्ध रहनै पर्छ। शासकको भरमा आफ्नो संस्कृति पहिचान प्रचलन छोडे, शासकले आफू अनुकूलको संस्कृति थाल्नेछ र संस्कार संस्कृति हराउने छ।
संसार प्रश्नहरूको घर हो
र जीवन उत्तरहरूको खोजी हो
जीवनसँग पनि कवि निकै चिन्तित हुनुहुन्छ। साथै कवि जीवन र जगतसँग जानकार पनि हुन्छ। यसरी नै लेखिएको छ किस्सा किस्सामा अग्निको महाकाव्य। क्रुर निरङ्कुश शासनको मात्र होइन लोकतन्त्रमा आउने क्रुर शासक र क्रुर प्रवृत्तिको निकै मिठो भाषा प्रयोग गरेर लेखेका छन् कविले अग्नि महाकाव्य।
मलाई लाग्छ अग्नि महाकाव्य मात्र होइन, अग्नि त जीवन हो, जगत हो र दुई युगका पूरा इतिहास छन् अग्निमा। उसो त अग्नि ऋषि, महर्षि, विश्वामित्र वेदव्यास राम-कृष्ण सबैको बारेमा वर्णन छ। सत्य त्रेता द्वापर र कलीयुग सबै समेटिएका छन् तर आधुनिक नेपाल निर्माणको एक अभियान र आजको वर्तमान समयलाई कविले अग्निमा विशेष भाग बनाएकाले युद्ध तथा निरङ्कुश शासन र लोकतन्त्र तथा लोकतन्त्रबाट पिएको अपमानलाई दुई खण्डीकरण तरिकाले लेखेको हुनाले। अग्नि इतिहासको एक पुल हो।
महाकाव्यको अन्तिम भागतिर पुग्दा कविले जीवन दर्शनको एक दर्शन महाकाव्यको पङ्क्तिमा भनेका छन्।
सुख पनि छ
तर दुखीहरू देख्दैनन्
दु:ख पनि छ
तर सुखीहरू अनुभूत गर्दैनन्।
यो हरफ केबल कविताको हरफ मात्र नभएर जीवन दर्शनको हरफ हो। साँचो कुरा यही हो, हिमालको तिखो चुचुरोले तराईको समथर फाँट अनुभूत गर्न सक्दैनन्। तराईको समथर फाँटले हिमालको तिखो चुचुरोलाई अनुभूत गर्न सक्दैनन्। चुचुरो र फाँट एकै ठाउँमा हुन सक्दैनन्। जीवन पनि यही हो, दु:ख र सुख दुवै हुन्छन् तर दुखी र सुखी एकसाथ सबै हुँदैनन्।
कविले यस्तै अर्को हरफमा भनेका छन्
शासन आफैमा उत्तराधिकार हो
बोल उत्तराधिकारीहरू
विजयको अर्थ हत्याउनु हो कि
युद्धको सुरक्षा र योद्धाको संरक्षण पनि हो।
फूल नचिन्ने मौरीले
के मह खोज्ला?
जुनसुकै शासन होस्, जस्तो कै युग आओस्, उत्तराधिकारी मात्र सत्ताको मार्गमा हुनेछन्। उत्तराधिकारीहरूको सत्ताको मार्ग मात्र बुन्नेछन्। यसैले शासक र उत्तराधिकारीहरूलाई बेलाबेलामा घचघच्याई रहनुपर्छ। शासक र उत्तराधिकारीहरूलाई उनीहरूको कर्मको बारेमा बेलाबेलामा भनिरहनु पर्छ। नत्र शासक र उत्तराधिकारी स्वयम् शासक, स्वयम् राष्ट्र, स्वयम् नै प्रजा हुँ भन्न थाल्नेछन्।
शासक र शासकको उत्तराधिकारीलाई झुपडी त्यती राम्रोसँग ज्ञान हुँदैन पनि। यसकारण शासक र उत्तराधिकारीलाई नागरिकले हरबखत दबाब दिइरहनु पर्छ ताकी शासक निरङ्कुश बन्न नपाओस्। एकातिर यस्तो किसिमको लक्षण दर्शाएका कविले अर्कातिर उत्तराधिकारीहरू र शासकलाई फूल नै नचिन्ने मौरीको उपमा दिनुभएको छ। यो व्यङ्ग्यात्मक बिम्ब मलाई निके मन पर्यो।
कविले अन्तिममा भनेका छन्
दियो दियौँ धपधप बल्छ बत्ती
सियो दियौँ छोप्दछ लाज जत्ति
छिनो दियौँ टुक्टुक मूर्ति खोप्न
गाह्रो छ आफ्नै जीउज्यान छोप्न।
दोहोरो अर्थ लागि रहेको यो हरफमा कविले निकै चलाखी धुर्त्याई गरेका छन्, एकातिर कलीको बढ्दो युगीन समयमा मान्छे आधुनिकताको नाममा जीउ ज्यान नछोपी हिँडिरहेका छन् भने अर्कातिर आरनमा आगो बालेर बस्नेहरू र गिट्टीमा भाग्य र जीवन खोज्नेहरूले वास्तवमा जीउ छोप्न लुगा नपाएका पनि छन्।
वर्तमान समयमा दलित भनिने शब्दसँग यस पङ्क्तिको निकै गहिरो सम्बन्ध छ। वास्तविक कुरा त्यही सियो र छिनोबिना हाम्रा जीवनका अधिकांश कुराहरू अधुरा छन् र रहन्छन् पनि। यसै पङ्क्तिसँगै कविले अर्को पङ्क्तिमा भनेका छन्-
बिना मनुष्यत्व मनुष्य बाँचे
बाँच्दैन स्रष्टा सृजना नबाँचे
गोडा नचल्दै गति चल्न सक्छ
दन्केर यो आगो बल्न सक्छ
वर्तमान मनुष्यको चरित्रलाई टपक्क टिपेको यस हरफले शासकलाई चुनौती समेत दिएको छ।
पूर्वीय दर्शन र संस्कृत वाङ्मयसँग झुकाव रहेको अग्नि महाकाव्यमा प्रश्न त धेरै ठाउँहरूमा उठ्न सक्लान् र अवश्य नै उठ्नेछन्। उठ्नु स्वभाविक हुनेछ। तर दर्शन र इतिहासका साथै समाजका आला घाउहरू र विशेषत: जेठी तरबारको कथा समेटिएको यस महाकाव्यले नवयुगलाई पूरानो इतिहास पढाउनका लागि अग्निको महत्वपूर्ण भूमिका रहने छ भन्ने मेरो बुझाइ छ।