लक्ष्मी न्यौपाने फोटोग्राफर र कानुनको विद्यार्थी हुन्।
उनी वातावरणीय अभियन्ता र एम्नेस्टी इन्टरनेसनलमा मानव अधिकार वकालतकर्ताको रूपमा स्वयंसेवी पनि हुन्।
केही समयअघि लक्ष्मीले 'वः पसः' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
लक्ष्मीको भक्तपुरमा रहेको आमाको बारा पसल भनेर चिनिने 'वः पसः' को फोटो-कथा तयार गरेकी हुन्।
व्यस्त सडक र प्राचीन गल्लीबीच प्रचलित यो सानो खाजा घरकी सञ्चालक हुन् ८१ वर्षीया विकुमाया बज्रचार्य।
पाँच दशकदेखि विकुमायाको मन यही पसलमा छ।
दिउँसो १ बजे आमाको बारा पसल खुल्छ। हरेक दिन विकुमाया भान्सामा आफ्नो निर्धारित समय र स्थानमा बस्छिन्। नजिक र टाढाका ग्राहकको निरन्तर भिड, हिसाबकिताब र सबै व्यवस्थापनको जिम्मा उनकी बुहारीले लिएकी छन्। दुई दशकदेखि उनकी बुहारीले साथ दिइरहेकी छन्।
विकुमाया भने हरेक दिन बारा बनाउँछिन्। प्रत्येक बारा पस्किँदा विकुमायाको विरासत अझ बलियो बन्दै जान्छ। उनको दृढता र समर्पणले धेरै महिलाहरूलाई प्रेरणा दिन्छ।
उनी भन्छिन्, 'म घरै बसिरहेकी भए मैले यो माया, पहिचान र सम्बन्धहरू पाउँदिनँ थिएँ। त्यसैले म सधैं यहाँ आउँछु र पकाउँछु।'
हेर्नुहोस् लक्ष्मी न्यौपानेले तयार गरेको फोटो-कथाः
यी पनि हेर्नुहोस्ः