चर्चित कमेडी शो ल्याइरहेको थ्री प्रोडक्सन प्रालिभित्रको आर्थिक झमेलाको विवाद यति बेला सतहमा छ।
दर्शकमाझ लोकप्रिय रियालिटी शो 'कमेडी च्याम्पियन' र हास्य कार्यक्रम 'कमेडी नाइट विथ च्याम्पियन्स' का निर्माताबीचको आर्थिक विवाद उत्कर्षमा पुगेको हो।
यसका संस्थापक सेयरधनी विशाल भण्डारीले जब केही दिनअघि फेसबुकमा लामो पोस्ट लेखे, तब उनी र उनका व्यापारिक साझेदार हरिप्रसाद भट्टराईबीचको विवाद छताछुल्ल भयो।
यी दुईबीचको आर्थिक विवाद सुरू भएको महिनौं भइसकेको छ। यो विषयलाई लिएर अदालतमा मुद्दा दायर भयो। यसको मुद्दा अहिले अदालतमा विचाराधीन रहँदा विवाद सतहमा आएको हो।
विशालले फेसबुक पोस्टमा हरि भट्टराईले आफूलाई सम्झौता विपरीत पैसा मागेको आरोप लगाएका छन्।
विशालका अनुसार हरि १८/१९ महिनाअघि ३० प्रतिशत सेयर किन्ने भन्दै शो बनाउँदै आएको कम्पनी थ्री प्रोडक्सन प्रालिमा प्रवेश गरेका थिए। कमेडी च्याम्पियन तेस्रो सिजन चलाउन आवश्यक एक करोड ५० लाख रूपैयाँ तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर तीन करोड ५० लाख रूपैयाँ पुर्याउनेका साथै २४ महिना लगानी ननिकाल्ने सहमति रहेको विशालको दाबी छ।
'तर सिजन–३ सकिनासाथ पैसा कहिले आउँछ, म निस्किन्छु भन्ने बहाना बनाएर सम्झौता विपरीत पैसा माग्न थालियो,' विशालले फेसबुक पोस्टमा दाबी गर्दै लेखेका छन्, 'आफै सञ्चालक रहेको कम्पनीको चेक लगेर बैंकिङ कसुरमा मेराविरूद्ध मुद्दा दायर गरेर दिनुसम्म दुःख दिए र दबाबमा राखेर दुई करोड ४० लाख रूपैयाँ असुले।'
कम्पनीका बाँकी सेयरधनीले पनि हरिविरूद्ध दुई करोड ४० लाख रूपैयाँ अपचलनको र अरू विभिन्न मुद्दा हालेर हिसाब मागेको विशालले बताएका छन्। यी मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा चलिरहेको उनले उल्लेख गरेका छन्।
चेकवापत् दाबी गरेको रकम लगेर पनि मिलापत्र गर्न नआएपछि आफूले पनि उनीविरूद्ध दिएको आपराधिक लाभको मुद्दा प्रहरी परिसर काठमाडौंमा रहेको विशालले जनाएका छन्।
त्यस्तै हरिले हालेको बैंकिङ कसुरको मुद्दा भने पैसा लिइसकेर पनि मिलापत्र गर्न उपस्थित नहुँदा जिल्ला अदालत पुगेको विशालले उल्लेख गरेका छन्।
यो विषयले आफूहरूको दैनिकी लामो समयदेखि अस्तव्यस्त बनिरहेको विशालको गुनासो छ। हरिकै कारण कमेडी च्याम्पियन सिजन–३ का विजेतालाई पुरस्कार समेत दिन नसकेको उनले बताएका छन्।
यता हरिले भने विशालसहित टिमले आफूलाई बारम्बार भेटेर कमेडी च्याम्पियन सिजन–३ र कमेडी नाइट्स विथ च्याम्पियन्समा लगानीको प्रस्ताव गरेपछि आफू जोडिएको बताएका छन्।
उनका अनुसार विशालले गाडी दुर्घटनाको खर्च कम्पनीबाट गराएपछि विवाद सुरू भएको हो। विशाल मादक पदार्थ सेवन गरेर गाडी दुर्घटना गराएको र त्यसको सम्पूर्ण खर्च एकलौटि ढंगले थ्री प्रोडक्सन प्रालिबाट गराएको उनको दाबी छ। यसमा आफूले असहमति जनाउँदै लगानी फिर्ता मागेको हरिले बताएका छन्।
हरिले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'त्यसपछि मैले आफू अब सहकार्य गर्ने पक्षमा नरहेको र कानुनी रूपमा लगानी फिर्ता गर्न चाहेको बताएँ। थ्री प्रोडक्सनबाट मैले सम्पूर्ण लगानी फिर्ता लिने सहमति समेत भयो। तर भुक्तानीका लागि विशालले जारी गरेको चेकको खातामा रकम अभावका कारण पटक पटक बाउन्स भयो। अनि मैले चेक अनादर प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएँ।'
त्यसपछि विशालले आफूलाई ५० लाख रूपैयाँ गत मंसिर ९ सम्म र ७० लाख रूपैयाँ मंसिर अन्तिमसम्म भुक्तानी गर्ने सहमति गरेको उनले बताएका छन्। यो रकम भुक्तानी नभए चेक बाउन्समा मुद्दा दायर गर्नेसम्मको सहमति समेत त्यस बेला भएको हरिले दाबी गरेका छन्।
भुक्तानी नपाएपछि आफूले पहिलेको सहमति अनुसार नै जिल्ला प्रहरी परिसरमा चेक बाउन्सको मुद्दा दायर गरेको उनले बताए। त्यसपछि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि विशाल केही समय प्रहरी हिरासतमा बसेको समेत हरिले दाबी गरेका छन्।
विशालका अनुसार कम्पनीको ११ करोड 'भ्यालुएसन' राखेर त्यसको ३० प्रतिशत सेयरमा हरि जोडिएका थिए। तर कमेडी च्याम्पियनको तेस्रो सिजन सकिएपछि हरिले आफ्नो नाममा ३० प्रतिशत सेयर दाबी गरेको, लगानी गरेभन्दा ९० लाख रूपैयाँ बढी लगिसकेको, धेरै महिना हुँदा पनि कम्पनी छाड्ने कुरा नगरेको र विगतदेखि नै मिलापत्र गर्नेतर्फ ध्यान नदिएका कारण आफू बाध्य भएर स्टाटस लेखेको विशालले बताए।
उनले सेतोपाटीसँग भने, 'महिनौं हुँदा पनि उहाँले कम्पनी छाड्ने कुरा गर्नुभएन। नयाँ आर्थिक वर्ष लागिसक्यो। तर उहाँ मिलापत्रमा नआउँदा सेयर कायम रहिरहने अवस्था भयो। त्यसपछि हामी टिममा सल्लाह गरेरै सार्वजनिक रूपमा आएका हौं।'
हरिले भने आफूले पूरा पैसा लिन बाँकी रहेको दाबी गरे।
सेतोपाटीसँगको ह्वाट्सएप कुराकानीमा उनले भने, 'सेयरको ३० प्रतिशत र नाफाको ३० प्रतिशत सम्झौता हो। त्यो अनुसार त मैले पाउनुपर्यो नि! लगानी गरेकै पैसा त कानुनी प्रक्रियामा गएपछि पाएँ। पूरा पाउन बाँकी नै छ।'
उनले विदेशमा कमाएको दुई/चार पैसा नेपालमै लगानी सोचले थ्री प्रोडक्सनसँग जोडिएको तर सम्झौता अनुसार नभएपछि सौहार्दपूर्ण तरिकाले बाहिरिन खोजेको बताए।
'विदेशमा दुःख गरेर कमाएको पैसा लगानी गरेको केही आउला भनेरै हो। उहाँ (विशाल) लाई बैंकले नपत्याएको समयमा मैले लगानी गरेको थिएँ। तर कम्पनीको गाडीमा मापसे गरेर हिँड्ने, दुर्घटना गराउने र त्यसको खर्च कम्पनीबाट भराउने गर्न त भएन नि,' उनले अगाडि भने, 'सम्झौता अनुसार नभएपछि लगानी फिर्ता माग्ने त मेरो अधिकार हो। उहाँले चेक पनि दिनुभयो। तर साटिएन। चेक साटिएको भए यसरी विवाद नै हुने थिएन।'
विशाल भने हरिले दुई करोड ४० लाख रूपैयाँ लगेको दाबी गरेका छन्।
'उहाँले ९० लाख रूपैयाँभन्दा धेरै पैसा बढी लैजानुभएको छ। त्यसैले उहाँलाई आफ्नो दाबी पुष्टि गर्न गाह्रो छ,' विशालले भने।
यसमा हरि भन्छन्, 'उहाँले जे पनि भन्न सक्नुभयो। तर केही चेक अझै साटिन बाँकी छ। सबै आएको भए खातामा देखिन्छ होला नि!'
विशालले हरिले आफ्नो टिमलाई अलपत्र पारेर भागेको आरोप समेत लगाएका छन्।
उनले फेसबुक पोस्टमै हरिलाई सम्बोधन गर्दै लेखेका थिए, 'तपाईंले वर्ष दिन टर्चर दिँदा म नेपाल नै बसेँ। समस्याको सामना गरेँ। कानुनी लडाइँ सुरू गरेँ। म भागिरहँदा तपाईंले लखेटको लखेट्यै गर्नुभयो। एक पटक फर्केर पलटवार गरेको तपाईं त मलेसिया कुदिसक्नुभएछ।'
भागेर समस्या समाधान नहुने उल्लेख गर्दै विशालले प्रश्न गरेका छन्, 'हाम्रो टिमलाई यसरी अलपत्र पारेर हिँड्न, भाग्न सुहाउँछ? व्यवहार मिलाउनु पर्दैन?'
यता हरिले भने आफू कामको सिलसिलामा बाहिर रहे पनि अदालतले पेसी तोकेको बेला उपस्थित भइरहेको बताए।
'मेरो व्यवसाय बाहिर छ। परिवार बाहिर छ। तर उहाँले स्टाटस लेख्दै अदालती प्रक्रियामा गएको कुरालाई पनि यातना दियो, भागेर हिँड्यो भनेर आरोप लगाउनुभयो। त्यसो भन्न मिल्छ र,' हरिले प्रश्न गर्दै भने, 'उहाँ राम्रो मान्छे हो। गरिखाने मान्छे हो। तर अदालती प्रक्रियामा गएका कुरामा फैसला पर्खिनुपर्यो। कानुनको सम्मान गर्नुपर्यो।'