सरकारले प्लास्टिकको प्रयोग बन्द गर्न कडा कदम चाल्यो, प्लास्टिकलाई पसलहरुमा निषेध गरिए। केही समय यसको प्रभाव देखिए, किनमेल गर्न निस्कदाँ घरबाटै कपडा वा जुटका ब्याग बोकेर लिएर आउने पनि बढे।
केही समयमा लुकाएर प्लास्टिकमा सामान हालिदिने पसलेहरुले बाहिर नै खुल्लमखुल्ला राखेर पुरानै पारामा बेच्न सुरु गरिहाले । पसलेलाई प्लास्टिक कै निहुँ गरेर सामान नकिन्ने ग्राहक गुमाउनु थिएन अनि किन्नेलाई घरबाट झन्झट गरी सम्झी सम्झी ब्याग बोकेर कसरी आउन नपरे हुन्थ्यो भन्ने थियो। दुवै हामी मज्जाले मिलेका थियौं। यही बीच अनुगमन पनि नगरिदिँदा यो प्लास्टिक निषेध अभियान सफल हुन सकेन ।
यो सिक्वेन्स निषेध–प्रयोगमा कमी–फेरि प्रयोग सुरुमा मुख्य रुपमा बानी नै जिम्मेवार रहे । जबसम्म घरबाट निस्कदा हातमा झोला हुँदैन प्लास्टिकको निषेध दिवास्वप्न मात्र हुन्छ । निश्चय रुपमा केही संख्यामा वातावरणविद्, वातावरण अभियन्ताका साथमा अन्य केहीले प्लास्टिक प्रयोग नगर्ने अठोट लियौ र आफ्नो बानीमा परिवर्तन ल्याउन कटिबद्द पनि भयौं तर यो संख्या सदा झैं अभियान नै सफल बनाउन पर्याप्त थिएन ।
भाटभटेनी जस्ता केही सुपरमार्केटहरुले प्लास्टिकको प्रयोग सम्पूर्ण रुपमा बन्द गरे पनि । यसको नतिजा ग्राहक कि त घरबाट झोला लिएर आए अथवा तेहीँ कपडाका ब्याग किन्न बाध्य भए । जसको सकरात्मक प्रभाव भनेको सितैमा उपलब्ध हुने प्लास्टिकको ठाउँमा मूल्य तिरेर अन्य झोला किन्न वाध्य भएपछि अर्कोपटक किनमेलमा निस्कँदा ब्याग साथमा लिन सम्झिने भए ।
सुन्दा सामान्य लाग्ने यी कुराहरु हाम्रा दैनिकीलाई नकारात्मक प्रभाव पार्ने प्रमुख कारकहरु हून् । घर प्रदूषित हुने त छदैँछ, बाटाका ढल जाम गराएर रोगहरु बिना निम्तो भित्रिने वातावरण पनि बनिरहेका छन् । अनि हरेक वातावरण दिवशमा सरकारलाई, स्थानिय सरकारलाई, वातावरण अभियन्तालाई गाली मात्र गरेर जिम्मेवार नागरिकको आफ्नो हिस्साको दायित्व कदापी सकिदैन । नितान्त रुपमा ब्यक्तिगत बानीबाट धेरै परिवर्तन संभव छ कम्तिमा प्लास्टिक हटाउने कुरामा भए पनि ।
अर्को प्रसङ्ग फेरि वातावरण दिवश कै । एक दिवसिय कार्यक्रमको आयोजना जुन विशेषत कार्यक्रमका लागि गरिने मात्र हुन्छन् यिनका प्रभावकारिता र सहभागीताको विषयमा धेरै अवस्थामा विचार नै गरिएको हुँदैन तेस्ता कार्यक्रमले आयोजकको धनको र सहभागीका समयको मात्र नास गरिरहेका हुन्छन् । स्वयम्भूमा सरसफाइ भनेर विद्यार्थीलाई सहभागी गराइएको कार्यक्रमको प्रतिकात्मक विरोधका लागि हुनपर्छ प्रकृतिले दिलखोलेर पानी पारिदिइन्, सबै संकलन गर्नुपर्ने फोहर बगे । आज कै दिन मात्र गरिने र धेरै संघसंस्थाले तछाडमछाड गर्दै आयोजना गर्ने सरसफाइ अन्य ३६४ दिन कतै नामोनिसान हुँदैन ।
कार्यक्रममा सहभागीका मुस्कान सहितको फोटो, र असारका नजिक जसरी पनि कार्यक्रम गर्नैपनर्,े बजेट सक्नैपर्ने रन्कोका बीच दीगो वातावरणीय ब्यवस्थापनका विषय गौढ हुन्छन् र यसको स्थान लिन्छन् ती कार्यक्रमका बारेमा छापिने÷प्रकाशन हुने समाचारले, प्रमुख अतिथिका बेतुकका बिना तयारीका घोषणाका खबरहरुले । अनि साँच्चैको गरिनुपर्ने अभियानहरुलाई विस्थापन गर्छन् समाचार बन्ने कार्यक्रमहरुले । आयोजकलाई पनि मन्त्री वा ठूला मान्छेलाई जसरी हुन्छ कार्यक्रममा सहभागी गराई अन्यबाट कार्यक्रमको मूल्याङ्कन ठूलो गराउने लोभ । यी सबै पात्रहरु, प्रवृतिका बीच रुख रोप्ने, सरसफाइ गर्ने, साइकल गुडाउने कार्यक्रम धेरै स्थानमा भइरहेका छन् आजको दिनको छेको पारेर ।
कुरो अब साइकलको । यसलाई राष्ट्रियतासँग जोडियो नाकाबन्दीका समयमा र आजको दिनमा वातावरण जोगाउने द्योतक बनाइरह्यौं । प्रसिद्ध साइकलयात्री पुष्कर शाह भन्नुहुन्थ्यो साइकल धेरै अर्थमा गलत बुझियो÷बुझाइयो । साइकल चढ्ने मान्छे मोटरसाइकल चढ्न चाहन्छ र बाइकवाला चाहिँ गाडी । जब गाडीको यात्रा अनि ब्यायामको कमीले बोसो जिउमा बाक्लिन्छ अनि पुरानो साइकल पुछ्दै, नभएकाले किन्दै फेरि साइकल चढ्न खोज्छन् । यसपटकको साइकल चढाई राष्ट्रियताका लागि वा वातावरण जोगाउन नभएर जिउलाई ठीक बनाउनका लागि केन्द्रित छ र यही उर्जाले साइकल चढ्ने बढ्छन् जसले तेलको निर्भरतामा केही भए पनि कमी ल्याउनेछ अनि वातारणमा सकारात्मक प्रभाव पार्ने नै छन् । चुरो कुरो भनेको वातावरण जोगाउने नाराले आममानिसलाई त्यो समयसम्म आकर्षण गर्नेछैन जबसम्म त्यो नगर्दाका हानी आँखा अगाडि नाँच्न सक्दैन ।
अन्तिमा एक मित्रको ट्वीट स्मरण गर्न चाहेँ । २ आना जग्गामा ३ तल्ले घर बनाउन अनुमति दिने अनि आज वातावरण दिवशको सन्देश अनुसारको एक नेपाली एक फलफुलको विरुवा कहाँ रोप्ने सरकाररु नारा बनाउन च्याम्पियन हामी ब्यवहारमा उतार्न, दीगो असर गर्ने अभियान चलाउन तिर उर्जा खर्च गरौं, साथ सबैका अवश्य मिल्नेछ ।