केटी मान्छेहरू कुनै ‘जादू’ होइनन् जस्तो तिमीले चाह्यो त्यस्तै भइदिने ? गत महिना हामीसँग काम गर्ने एकजना साथीले नेपाल गएर मागी विवाह गरेको थियो। हामी कहाँ मागी विवाहको चलनबारे मैले पोर्चुगिस साथीलाई बताउँदा उसले भनेको कुरा हुन्।
एकले अर्कोलाई नबुझिकन नजानीकन दुवैबीच गफगाफ लामो सम्बन्ध नभइकन केही मिनेट हेरेर गफ गरेको भरमा अभिभावकको निर्णयलाई स्वीकारेर जिन्दगी बिताउँछन् भन्दा ऊ आश्चर्यमा परि । मैले भने ‘हामी विवाहपछि बल्ल प्रेम गर्छौं’ उसले यसलाई ठट्टा ठानी ।
भर्खरै तेइस वर्ष टेकेको डेनियल विल्सन एउटा मल्टीनेशनल कम्पनीका मेनेजर हुन्। उसकी गलफ्रेण्ड अर्थात् लिभिङ टुगेदर मार्लिन एक्काइस वर्षकी भइ। मार्लिनकी डेनियल दोस्रो हो भने डेनियलकी मार्लिन तेस्री हुन्। दुवै एउटै कम्पनीमा काम गर्दछन्। दुवै अफ्रिकीमुलका उनका बुवाहरू पोर्चुगल माइग्रेट भएपछि उनीहरू कलिलै उमेरमा पोर्चुगल पारिवारिक मिलनको भिसामा आएका ।
एकदिन डेनियलले मलाई भन्यो, उसको पहिलो गलफ्रेण्ड सेतो जातिको पोर्चुगिस थिइ। उसको बुवाले बारम्बार अफ्रिकीमूलका मानिसहरू लुटाहा फटाहा र चोर हुन्छन् भनेर हेपेको कारण उनीहरूमा फाटो आयो र दोस्री हुँदै तेस्रीसम्ममा पुग्दा डेनियल भावना बुझ्ने केटी पाएकोमा मख्ख छ।
दुई तीनवर्षसम्मको लिभिङ टुगेदरपछि मात्र उनीहरूले बच्चा र विवाह गर्ने योजना बुन्दै छन्। किन त ? मेरो प्रश्नमा उनीहरूले भने त्यतिबेला हामी परिपक्व हुन्छौं र बल्ल विवाह गर्दछौं। यो त पश्चिमाहरूको विवाह, प्रेम र जीवन जिउने तरिकाका केही कुरा मात्र हुन् यी ।
तर हाम्रोमा अलि फरक छ। हाम्रो समाजले केटी मान्छेलाई पराइ घर जाने सन्तानका रूपले हेर्दछ । उसलाई जन्मैदेखि कमजोर बनाइएको हुन्छ उसको मानसिकता। त्यो जात अर्काको निर्भरमा रहने जात हो भनेर दिमागमा घुसाइएको कारण उनीहरूले आडम्बरी इज्जतका नाममा आफ्नो इच्छालाई दबाएर राखेका हुन्छन्।
तर आजभोलिको खुला समाजले गर्दा केहीले मात्र आफ्नो इच्छाका कारण विद्रोही निर्णय गर्न थालेका छन्। फलस्वरूप विभिन्न जिल्लाको आँकडाले के देखाउँछ भने प्रत्येक जिल्लाहरूमा सम्बन्ध विच्छेदका संख्याहरू बढ्दै गइरहेका छन्। ८ महिनाको अवधिमा धरानमा करिब ४ सय जनाले सम्बन्ध विच्छेद गरिसकेका तथ्यांकले देखाउँछ । यसैगरी चितवन, नवलपरासी, म्याग्दी र बाग्लुङमा पनि बढेको देखाइएको छ ।
यसरी बढ्नुमा केही कारणहरू यस्ता पनि हुनसक्छन। पहिलो, मानिसहरू सचेत हुँदै गइरहेका छन्। समाजमा कसैको ‘दमित’ भएर बस्ने चाहना नभएको हो भने अर्कोतिर यसको रूटमा जाँदा शारीरिक आकर्षण र आवश्यकतालाई प्रेम सम्झेर विवाह गर्दछन् र पछि पछुताउँछन् भन्ने अर्थ लगाउँदा फरक पर्दैन। अर्थात् आकर्षणमा प्रेम गर्छौं भावनामा पछुताउँछौं । त्यही भावना बुझ्ने नै प्रेमिका र जीवनसंगीनी हुन्छे, नबुझ्ने हुँदैन ।
अर्को प्रसंगमा भन्दा एकले अर्कोलाई उसको स्तरभन्दा बढी प्रेम गरियो र त्यो प्रेमलाई उसले नबुझेर बदलामा पीडा मिल्यो भने नैराश्यता उत्पन्न भै दुःख र पीडाबीच विकल्प खोज्दा आउने क्रम हो सम्बन्ध विच्छेद। जहाँ श्रीमान् श्रीमतीबीचका नराम्रा पक्षलाई राम्रो पक्षले कभर गर्न जानिएन र सम्बन्धलाई मुटुबाट नभइ मस्तिष्कबाट निभाउन थालियो भने सँगै बस्नुको अर्थ रहँदैन अनि बिच्छेद हुने हो ।
अर्को तरिकाले भन्दा युवापुस्तामा प्रेम हतारमा गर्छौं र पछि पछुताउँछौं। प्रेम गर्न जान्दैनौं। प्रेमको परिभाषालाई बुझ्दैनौं। जानेको भए यौनका विषयवस्तुहरूमा यतिधेरै चर्चा परिचर्चा गरिदैंनथ्यो। प्रेम हुँदैमा विवाह गर्नुपर्दछ भन्ने जरुरत पनि छैन यदि आवश्यकता भयो भने मात्र विवाह हुने हो। विवाह हुँदैमा प्रेम हुन्छ भन्ने जरुरत पनि छैन। यदि आवश्यकता भयो भने डिभोर्स पनि हुने हो।
समाजले यी कुराहरूलाई पचाउन सकेको हुँदैन । म मेरो मर्जीले विवाह गर्छु र मेरो मर्जीले सम्बन्ध बिच्छेद गर्छु भन्ने आत्मकेन्द्रीत निर्णय गर्न किन नपाउने? भन्ने प्रश्न छ। त्यसैले अधिकारका विषयहरू जोडिएका हुनाले सम्बन्ध विच्छेद क्रम बढ्दै गइरहेको हुनुपर्दछ ।
मानिस सफल हुँदैमा उसको पारिवारिक सम्बन्ध पनि सफल हुन्छ भन्ने छैन। पारिवारिक जीवन सफल हुनका लागि केवल प्रेममात्र मुख्य हो, केवल प्रेम । नत्र मनिषा कोइरालामा के कमी थियो र ? रूप,रंग र यौवन थियो। त्यो भन्दा पनि बढी नाम, दाम र काम थियो, अझ भन्नुपर्दा मानसम्मान र ज्ञान थियो। अनुभवले खारिएकी कोइरालाले सुझबुझका साथ सायद विवाह गरेकी हुन्। तर विवाह फापेन। त्यो उनकै आफ्नै पारिवारिक र परिवेश होला। अन्जु पन्त र मनोज शिवा पनि यसबाट अछुतो रहन सकेनन्। भर्खरै मात्र चर्चित कलाकार मनोज गजुरेलले पनि यस्तै भयो ।
वास्तवमा भन्दा जीवन जिउने कला मान्छेका आ–आफ्नै हुन्छ। आफू कुन अर्थले जिउने भन्ने कुरा आफ्ना नितान्त व्यक्तिगत हुन्। त्यसैले विवाहपश्चात कथंकदाचित दुई फरक प्रकृतिका मानिसहरूमा असमझदारी उत्पन्न भै कुनै पनि हालतमा समझदारीमा पुग्न नसकेपछि अपनाउने बाटो हो सम्बन्ध विच्छेद। अहिले फराकिलो बन्दै गइरहेको हाम्रो सोचमा केहीले समाज र परिवारमा विद्रोह गरेर सम्बन्ध बिच्छेदसम्म पुगेका छन्। थोरैले मात्र विद्रोह गर्दछ। प्रेम विद्रोहको अर्को रूप हो। जसले समाजमा प्रेमका लागि विद्रोह गर्न सक्छ उसले आफ्नो अमूल्य जीवन हार्दिकता र रोमान्टिकमा बिताउन सक्छ। हामीहरू देखावटी जीवन बिताइरहेका हुन्छौं । घर कस्तो बनाउने? कस्तो जग्गा किन्ने? कस्तो सुन लगाउने? यी हाम्रा प्राथमिकतामा पर्दछन्। तर घरभित्रको यिनै प्राथमिकताभित्र मान्छेका भित्री चाहनाहरू जुन प्रकृतिको अनुपम उपहार हो मानवका जीवनका लागि त्यसलाई खुम्च्याएर बसिरहेका हुन्छौं ।
यदि कसैले स्वतन्त्र जिउनका लागि सम्बन्ध बिच्छेद गरिहालेमा उसप्रति यस समाजले नकरात्मक टिकाटिप्पणी गर्दछ। दृष्टिकोण संकिर्ण हुन्छ जस्तै कि श्रीमानको केही कमजोरी थियो र सम्बन्ध विच्छेद भएको हो कि ? वा श्रीमतीको केही कमजोरी थियो र सम्बन्ध विच्छेद भएको हो कि ? प्रत्येकले यो संसारमा खुशीसाथ बाँच्न पाउने अधिकार छ भन्ने हेक्का नराखी कथा बुन्छौं ।
एउटा युवती विवाह गरेपछि ऊ कसैको श्रीमती, भाउजु, देउरानी, बुहारी आदि इत्यादी हुन्छ। कालान्तरमा ऊ आमा बन्छे। तर ऊभित्रको दमित इच्छा यदि उसकै पुरुषले बुझिदिएन भने उसले विकसित मुलुकमा झै आफ्ना इच्छाहरू उजागर गर्न नसकेर दमित बनाएर बस्छे । ताकि समाजले दिएको विभिन्न उपनाममा बाँच्छे। यदि उसले यसमा विद्रोह गरेर आफ्नो इच्छा अनुसारको जीवन जीउन खोजी भने यो समाजले उसलाई चरित्रहीनको विल्ला भिराउँदछ। यही रूप पुरुषमा पनि हुन्छ । पुरुषले महिला, समाज र नातेदारसँगको सम्बन्ध त्यागेर फरक जीवनयापन गर्न चाह्यो भने उसलाई अनैतिक वा चरित्रहीन आदि विल्ला भिराइन्छ र जिम्मेवारविहीन ठहराइन्छ । अनि हाम्रो समाजले एउटाको घर जलेको हुन्छ अरुहरू जलेको घरको आगो तापेर बजार तताउँदै मनोरञ्जन लिइरहेका हुन्छौं।
यो हाम्रो समाज हो । कसैको पारिवारिक जीवनमा जाने नजानेकाले पनि टिकाटिप्पणी गर्छन्। उसको नितान्त र व्यक्तिगत कुरालाई कोट्याएर मनोरन्जन लिने हाम्रो संकिर्ण सोचका कारण हामी सदैव पछाडि छौं। र सम्बन्ध विच्छेदलाई ठूलो समस्याको रूपमा ठान्छौं।
एकले अर्कोसँग रोमान्टिक, उच्छृखंल र हार्दिकता मिसिएको प्रेम गर्न जानिएन भने जिम्मेवारी मिलाएर सम्बन्ध विच्छेद गर्नु उपयुक्त बाटो हो।