एकभाग मासु छ भने त्यसको दुई भाग प्याज हाल्ने। यसरी पाक्छ, चिकेन दोपियाजा।
म कुनै तालिमप्राप्त कुक होइन। जसोतसो केही खानेकुरा पकाउँछु। जीवनमा सबैभन्दा बढी पकाएको परिकारको नाम यही ‘चिकेन दोपियाजा’ हो। किनभने, सबैले यसैलाई मिठो मान्छन् र पकाउन लगाइरहन्छन्।
जसरी म कुक होइन, त्यसैगरी म कुन खानेकुरा कसरी पकाउने भनेर अरूलाई सिकाउँदै हिँड्ने हैसियत पनि राख्दिनँ। तर, कहिलेकाहीँ विचित्रको परिस्थिति आइलाग्दो रहेछ।
फूलपातीको दिन सहकर्मी मित्र सुदीप श्रेष्ठबाट मैले एउटा अनौठो जानकारी र झन् अनौठो प्रस्ताव एकसाथ पाएँ।
‘तपाईंलाई थाहा छ, यतिबेला सेतोपाटीका सर्वाधिक पाठकले मासुका परिकार पकाउन सिकाउने लेख मन पराइरहेका छन्,’ उनको भनाइ थियो, ‘तपाईंजस्तो पकाउन जान्ने पत्रकारले यतिबेला केही लेख्नुस् न।’
मलाई यो नजानेको विधामा कलम चलाउन हौसला दिँदै सुदीपले हाल काठमाडौं पोस्टका सम्पादक अनुप काफ्लेले केही समयअघि अमेरिका हुँदा लेखेको खसीको मासु पकाउने तरिका कति हिट भएको थियो भनेर जानकारी पनि दिए।
भयो अब, लौ! म रनभुल्ल परेँ।
फूलपातीकै बेलुकी काँचका गिलास ठोक्ने बेला पनि सुदीपले ‘चियर्स’ नभनी ‘त्यसो भए भोलि दोपियाजाको लेख आउँछ त?’ भनेपछि दबाब झनै बढ्यो।
खानेकुरा पकाउने मामलामा केही समयअघिको एउटा घटना पनि उल्लेखनीय थियो। सेतोपाटीमा पोहोर दसैं पार्टी चलिरहेका बेला अग्रज पत्रकार विजयकुमार मैले पकाएको परिकार चपाइरहेका थिए।
‘पत्रकारिताभन्दा अझ राम्रो सम्भावना यता पो देखेँ,’ विजय दाइको भनाइ थियो, ‘के छ विचार? रेस्टुरेन्ट खोल्ने हो?’
विजय दाइको ठट्टालाई मैले पनि हाँसेरै जवाफ फर्काएँ।
अर्का अग्रज पत्रकार नारायण वाग्लेबाट त दर्जनौंपटक काठमाडौंमा गतिलो होटल खोल्ने प्रस्ताव आइसकेको छ। यी सबै क्षण म हाँसेरै टार्ने गर्छु। ती ठट्टा नहुन पनि सक्लान्। तर, अग्रज पत्रकारले भनेका यस्ता कुरालाई म ठट्टा नै मान्न चाहन्छु।
अब आयो कुरो मैले यो खानेकुरा पकाउन सिकेँ कसरी?
आम मध्यमवर्गीय परिवारजस्तै म पनि ‘छोराले खाने बेलाबाहेक भान्छामा पस्न हुँदैन’ भन्ने मान्यतामै हुर्किएको हुँ।
जे जस्तो भए पनि परिस्थितिले मानिसलाई सबथोक सिकाइदिँदो रहेछ। म केही वर्ष अस्ट्रेलिया बसेको थिएँ। त्यहाँ भान्छामा पकाएर खाइएन भने कमाएको पैसा सबै रेस्टुरेन्टलाई तिरेर सक्नुपथ्र्यो। यस्तोमा मैले सबैभन्दा पहिले भात पकाउन सिकेँ। त्यसपछि दाल उमाल्न। गोलभेँडा पोलपाल पारेर नुन हालेपछि अचार बनाउन पनि समय लागेन।
तरकारीमा चाहिँ अझै पोख्त भइसकेकै थिइनँ, नेपाल फर्किएँ।
भान्छाको बानी लागिसकेकाले यसो बेलाबेला पस्न मन लागिरह्यो। यस्तो बेला मलाई अस्ट्रेलियामा सँगै बस्ने वीरगन्जकै भाइ शमीम अनवरले पकाएजस्तै गरेर कुखुराको मासु तयार पार्ने रहर हुन्थ्यो।
शमीम ‘खडा मसलाको मजै अर्को हुन्छ’ भन्दै रनक्क तातेको तोरीको तेलमा सिंगो रातो खोर्सानी र तेजपात पड्काउँथे। टन्नै प्याज हालेर निकै मेहनतसाथ त्यसलाई लामै समय लगाएर भुट्थे। त्यसरी भुटुन्जेल उनमा एक किसिमको एकाग्रता देखिन्थ्यो। त्यसपछि मात्रा मिलाएर बीचबीचमा मसला हाल्थे। यसरी मासु हाल्नुभन्दा निकै अगाडि नै खाउँ खाउँ लाग्ने बास्ना भान्छाभर फैलिसकेको हुन्थ्यो।
त्यो ‘ग्रेभी’ले हेर्दै लोभलाग्दो रूप र बास्ना ग्रहण गरिसकेपछि बल्ल उनी मासु हाल्थे। फेरि एकछिन् भुट्थे र गोलभेँडा हाल्थे। ‘बासी कुराबाट सही बास्ना निस्कँदैन’ भन्दै उनी सिसीको लसुन र अदुवा कहिल्यै प्रयोग गर्दैन थिए। ताजा छोडाएर पिस्थे।
अस्ट्रेलियामा शमीमलाई चुनौती दिनसक्ने मसँग दम थिएन। नेपाल आएपछि भने देखेको सीपअनुसार भान्छामा त्यसलाई उतार्न खोजेँ।
सुरु–सुरुमा म धेरैपटक चुकेँ। यसरी जान्ने पल्टिएकैले भएभरको महँगो मासु बिग्रँदा बढो अप्ठ्यारो लाग्थ्यो। सबैका सामु लज्जित हुनबाट बच्न मैले तरिका निकालेको थिएँ।
‘तिमीहरू कहिल्यै बाहिर गएर त्यताको स्वाद थाहा पाए पो जान्दथ्यौ,’ मेरो भनाइ हुन्थ्यो, ‘यो अस्ट्रेलियन स्वाद हो।’
यस्तो बेला मुख बिगारेरै भए पनि कतिपय आफन्त ‘मिठो छ’ भन्थे। यसो भन्नेमध्ये मेरो मामाको छोरा भुपेन्द्र कालान्तरमा खुदै अस्ट्रेलियाबासी बन्न पुग्यो। उसले पक्कै पनि त्यो ‘अस्ट्रेलियन स्वाद’ को हेराफेरी थाहा पाएर मलाई सरापिसकेको होला।
जे होस्, यसरी हेराफेरीले नै मलाई शमीम अनवरले जस्तै चिकेन दोपियाजा पकाउन पोख्त बनाउँदै लग्यो।
मैले घरैमा पकाएको चिकेन दोपियाजा।
तपाईं कुनै पनि कुरा तयार पार्न पोख्त हुनुभयो भने त्यसलाई आफूभित्रै लुकाएर राख्छु भन्नै सक्नुहुन्न। सबैभन्दा पहिले त फरक वातावरणमा हुर्किएका मेरा छोराहरूले नै दिँदैनन्।
विदा अर्थात् लामो समय लगाएर पकाउन मिल्ने दिन उनीहरू भनिरहन्छन्, ‘आज बुबाले पकाएको खाने।’ त्यस्ता दिन हाम्रो सानो परिवारमा उत्सवजस्तै हुन्छ। चिकेन दोपियाजा पकाउँदा पकाउँदा हत्तु भएपछि म बेलाबेला नौलो तरिकाले नयाँ परिकार पकाउने प्रयास पनि गरिरहन्छु। नुन मसलाको अन्दाज भइसकेपछि हत्तपत्त यसरी गरिएका प्रयोग असफल हुँदैन रहेछ। त्यसैले आजभोलि मैले पकाउने परिकारको घेरा बाक्लिँदै गइरहेको छ।
चिकेन दोपियाजा भने ब्रान्ड नै भइसकेको छ।
साथीहरू जमघटमा पकाउन लगाइरहन्छन्। मलाई पनि पकाएर खुवाउनमा आनन्द लाग्छ। एक किसिमको सन्तुष्टि मिल्छ।
पकाउन जान्नु आफैंमा ठूलो कला हो। यसले प्रियता पनि आर्जन गर्दो रहेछ।
निकै वर्षअघि एउटा होटल व्यवस्थापन पढाउने कलेज (सायद सिल्भर माउन्टेन हो) ले राजकुमारी डायनाका सेफलाई काठमाडौं ल्याएको थियो। म कुदेर उनलाई भेट्न पुगेँ। उनले पास्ता बनाउन गरेको मेहनत देखेर म दंगदास परेँ।
‘पसलमा प्याकेटभित्र पाइने पास्ता त के हो र?’ यस्तो पो लाग्थ्यो उनले प्रत्येक टुक्रा पास्ताका निम्ति गरेको कालिगढी देख्दा। हामी खाने बेला चम्चाले मुठ्याएर निल्दा खानेकुराको मिहिन विश्लेषण गर्दैनौं। अझ पास्ताका हकमा त हामीलाई ससको स्वाद मात्र भए पुग्छ। पास्ता तयार पार्दाको सीप र शिल्पतिर जाँदै जाँदैनौं।
मलाई लाग्छ ती सेफले बनाएका पास्ता खाने बेला प्रत्येक टुक्रा मुखमा हालेर विश्लेषण गर्न र त्यसको स्तर मापन गर्न पनि पारखी नै चाहिन्छ।
मलाई ती सेफको अर्को गजब लागेको पक्ष थियो, उनीसँगै आएकी फियोन्सी (बिहे तय भएकी युवती)। उनी कति राम्री भने, हेरेपछि आँखै अन्त लैजान मुश्किल पर्ने। उता सेफ भने भद्दा किसिमका मोटा थिए। जे पर्ला पर्ला भनेर मैले प्रश्न सोधेको थिएँ, ‘तपाईं कसरी यी सेफप्रति आकर्षित हुनुभयो?’
‘दिनरात यति मिठो पकवान पकाएर खुवाइरहने मानिस भेटेपछि कसले छाड्छ?’ उनले भनेकी थिइन्।
हो त! रुपले के गर्छ? हेरेको हेर्यै गरिरहेपछि जस्तै रूपको पनि एकदिन महत्व घट्छ। तर, दिनरातै मिठा कुरा पकाएर खुवाउने मानिस हत्तपत्त कहाँ पाउनु?
खानेकुरा र युवतीका सन्दर्भ आउँदा मेरो आफ्नै पनि एउटा रोचक अनुभव छ।
करिब दुई वर्षअघि अग्रज पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ को फ्रान्सेली संस्करण विमोचन हुँदै थियो। टेकुस्थित फ्रान्सेली साँस्कृतिक केन्द्रमा आयोजना भइरहेको कार्यक्रममा मैले ठूलो छोरालाई पनि साथै लिएर गएको थिएँ। भेटघाटकै क्षणमा मैले छोराको परिचय उक्त पुस्तकको भाषा सम्पादन गर्ने फ्रान्सेली युवती इसाबेलसँग गराएँ।
इसाबेल केही समयमै घनिष्ट बन्नपुगेकी साथी थिइन्। उनी ‘पल्पसा क्याफे’ मा काम गर्न प्रकाशन संस्था नेपालयमै बसोबास गर्दै आएकी थिइन्, जहाँ म काम गर्थें। हामी रमाइलो गर्न मन लागेको साँझ जहिल्यै त्यहाँको भान्छा प्रयोग गथ्र्यौं।
पास्ता कार्बोनेरा पकाएर पस्कने इसाबेल काँचै अन्डा फोडेर हामीलाई त्यो गजबको स्वाद चखाउँथिन्। फ्रान्सदेखि ल्याएका डिब्बाबन्द खानेकुराका अनेक परिकार उनी तयार पार्थिन्। म पनि के कम? चिकेन दोपियाजा तयार पारिदिन्थेँ। उनले चखाउने स्वाद जति अनौठो र गजब थियो, सायद हाम्रो स्वाद पनि उनलाई उस्तै लाग्थ्यो।
‘गिरी... चिकेन टुनाइट,’ उनी मुसुक्क हाँसेर भनिरहन्थिन्, ‘लेट्स सेलिब्रेट अगेन।’
म पनि पकाइरहन्थेँ। हामी धेरै गफिन्थ्यौं, खान्थ्यौं, पिउँथ्यौं, रमाउँथ्यौं। हाम्रा कुरा मिल्थे।
त्यो फ्रान्सेली साँस्कृतिक केन्द्रमा पुस्तक विमोचनका दिन भने एउटा गजबको घटना भइदियो। जसै मैले छोरालाई इसाबेलसँग परिचय गराएँ, उनी मख्ख परेर हेरिरहिन्।
‘डोन्ट टेल योर मदर (तिम्री आमालाई नभन्नु),’ इसाबेलले छोरालाई र मलाई पालैपालो हेर्दै भनिन्, ‘आइ लाइक योर फादर (म तिम्रो बुबालाई मन पराउँछु)।’
त्यहाँ हाँसोको फोहोरा छुट्यो। साथीहरूले पछिसम्म यो चर्चा गरिरहे। यद्यपि पश्चिमा समाजमा हुर्केकाहरूको ‘सेन्स अफ ह्युमर’को म पारखी नै थिएँ।
मेरो घनिष्ट मित्र इसाबेलका कुराले तै पनि मलाई अलिक असहज बनाएको थियो। मेरो छोरा भने अलिक समयसम्मै रनभुल्लमा परिरह्यो।
त्यसैले साँच्चै, पकाउन सिक्नुस्। बदलामा तपाईंले मनपराउने मानिस भेट्न थाल्नुहुन्छ।
अब यत्रो लेखिसकेपछि पकाउने तरिकै सिकाएन भन्नु होला। केही तरिका जान्नु पर्दैन। भान्छामा प्रयोग हुने बेग्लाबेग्लै मसला र जडिबुटीहरूको गुणबारे समझ विकास गर्नुस्। कसको स्वाद के हो? कसलाई कति समय पकाएपछि स्वाद खुल्छ? मात्रा कति? यति कुरा जानिसकेपछि तपाईं जे पनि पकाउन सक्नु हुन्छ। नौलो प्रयोग पनि गर्न सक्नुहुन्छ, जसले अझ बढी सन्तुष्टि दिन्छ।
अँ... बरू पकाउने बेला तपाईंलाई मनपर्ने मिठो संगीत छेउमा बजाइरहन नभुल्नु होला। कुनै न कुनै रूपमा त्यसको पनि स्वाद पकवानभित्र मिसिने गर्छ।
(आर्काइभबाट)