उमा सिंह अब यो मरूस्थलमा छैनन्। उनी यो मरुस्थलमा नभए पनि मधेशमा पत्रकारिता गर्न चाहने र गरिरहेका महिला पत्रकार मात्रै नभई सम्पूर्ण पत्रकारिता जगतलाई उत्प्रेरित गर्ने गर्छिन्।
‘उमा सिंह’ यस्तो नाम हो, जसलाई पत्रकारितामा जगतमा साहसको प्रतिमूर्तिको रुपमा चिनियो। उनको हत्या भएको आज १० वर्ष भईसकेको छ। तर, आज पनि उनको अटल साहस, पत्रकारितामा उनले दिएको योगदान मधेशमा पत्रकारिता पेशामा लाग्ने नवप्रवेशीको लागि एउटा उदाहरणको रूपमा रहेको छ र रहि रहनेछ।
२०६५ साल पुस २७ गतेको त्यो कालो साँझलाई अझैं पनि जनकपुरलगायत पत्रकारिता जगतसँग सम्बन्ध राख्ने कोहीले पनि बिर्सन सकेका छैनन्। त्यहीँ साँझ राक्षसी प्रवृत्तिका व्यक्तिले धनुषामा उदाउँदै गरेको महिला पत्रकारको साहस, विश्वास र आशा खोसेर लगेका थिए।
तत्कालिन १० वर्षे माओवादी जनयुद्व, त्यसपछिको मधेश आन्दोलनबाट आक्रान्त जनकपुरधाम शान्त र सुरक्षित हुनतर्फ ढल्किदै थियो। त्यतिकैमा पुनः जनकपुरले एक असल, होनहार पत्रकार गुमाउनु पर्यो।
अटल विश्वास र निडर छविकी सिंह जनकपुरमा क्रियाशील पत्रकारमध्ये एक थिईन्। सिंह रेडियो टुडे, हिमालीनी म्यागजीनमा महिला हिंसा, अन्यायमा परेकाको बारे प्रायः लेख्ने गर्थिन्।
‘अरू महिला सञ्चारकर्मी अफिस पुग्ने बित्तिकै कुराकानीमा लागे पनि उनी लेख, आलेखसहितका कुरामा मात्रै ध्यान केन्द्रीत गर्ने गर्थिन्,’ अन्नपूर्ण पत्रिकामा कार्यरत महिला पत्राकार मनिका झा उनलाई यसरी सम्झन्छिन्, ‘हामीहरू कामसँगै केही मनोरञ्जनात्मक कुरा गरे पनि उमा दिदी केही न केही नयाँ मुद्दा उठाउने सोच मात्र बनाई राख्नुहुन्थ्यो, उनका लागि पत्रकारिता पेशाभन्दा जुनुन थियो भन्दा गलत नहोला।’
पुस २७ गते चार बजे रेडियो टुडेमा समाचार वाचन गरिसके पछि लोडसेडिङका बेला सहकर्मीसँग केही बेर अन्ताक्षरी खेलेर मनोरञ्जनसमेत गरेकी उमालाई उनीसँगै काम गर्ने सञ्चारकर्मी रिंकु मिश्र गायत्री मिहेनती र अटल भनेर सम्झन्छिन्।
जनकपुरको रजौलमा डेरा लिएर बस्दै आएकी उनी अफिसबाट रूम पुगेर आफ्नै नित्यकर्ममा लागिन्। बेलुका करिब साढे सात बजेको थियो। खाना पकाइ सकेर चटनी बनाउँदै थिइन्। लोडसेडिङले बत्ति नभए पनि मैनबत्ती जलाएकी थिइन्। त्यत्तिकैमा हातहतियारसहित केही अपरिचित व्यक्ति उनको कोठामा प्रवेश गरे।
ती हतियारधारीले २४ वर्षीया पत्रकार सिंहको कपाल समातेर बायाँपट्टिबाट घाँटीमा खुकुरी प्रहार गरे, टाउकामा हानेर ढाले।
उमामाथि आक्रमण गर्नु अघि ती हतियारधारीले टोल छिमेकका व्यक्तिलाईसमेत धम्कि दिएका थिए। १५-२० जनाको समूहमा रहेका उनीहरुले सिंहलाई शरीरका विभिन्न भागमा करिब ३२/३३ स्थानमा धारिलो हतियारले प्रहार गरेका थिए।
त्यसपछि हतियारधारी निस्किएपछि स्थानीयले उमालाई केयर मेडिकल अस्पताल पुर्याएका थिए। तर, उनलाई अस्पताल पुर्याउँदा शरीरमा सय ग्राम जति पनि रगत बाँकी थिएन।
उनको बी नेगेटिभ रगतका लागि स्थानीय ६ वटै एफएम स्टेशनबाट तत्काल सूचना प्रसारण गरियो र केहीबेरमा केही व्यक्ति रगत दिन जम्मा भए।
चिकित्सकले रगत धेरै गईसकेको भन्दै यहाँ उपचार हुन असम्भव भन्दै उनलाई काठमाडौं रिफर गरे। उनको अवस्था अत्यान्त चिन्ताजनक भएकाले गाडीबाट लैजान सहज नहुने देखिएपछि तत्कालै सैनिक हेलिकप्टर मगाइयो। तर, हुस्सु बाधक बन्यो। त्यसपछि गाडीबाटै राजधानी लैजाने र जहाँ अनुकूल हुन्छ, त्यहींबाट हेलिकप्टरले टिप्ने योजनानुसार महोत्तरीको बर्दिबास पुगेपछि उमाको आँखा सदाका लागि निदाए।
अस्पतालको बेडमा मैले के गरेकी थिएँ? भन्ने उनको बर्बराहट सुन्ने जो कोही मर्माहत थिए।
उनको लाम्चो र हँसिलो अनुहारभित्र आफूमाथि परेको अन्याय पत्रकारितामार्फत उदाङ्ग गर्ने अठोट लुकेको उनी निकट साथीभाइलाई थाहा थियो।
उनले आफ्नो ज्यानको खतरा रहेको भने पनि को बाट खतरा छ भन्ने उनले सायदै भनेकी थिइन्। तर, उनका सहकर्मीका अनुसार, केही दिनअघि मात्र उनले केही घनिष्ट साथीलाई इमेल गरी आफ्नो असुरक्षा केही व्यक्तिका कारण बढेको लेखेकी थिइन्।
दुई वर्षदेखि पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने उमाले जनकपुरमा आफूलाई स्थापित गरिसकेकी थिइन्।
पूर्वी तराईमा त्यसै पनि पत्रकारितामा महिला दुर्लभ हुँदा उनको साहसी छवि बन्दै थियो।
राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा टिप्पणी गर्ने सम्मको क्षमता बोकेकी उमाले दुई वटा पुरस्कार पाएकी थिइन्। राष्ट्रिय महिला पत्रकारिता पुरस्कार, २०६५ (महिला तथा समाज कल्याण मन्त्रालय) र महिला सशक्तिकरण पुरस्कार, २०६४ ।
उमाले आफ्नो जीवन प्रायः संघर्षको परीक्षा दिनमै बिताईन्। माओवादीले सशस्त्र द्वन्द्वकालमा उनको जग्गा कब्जा गरेको थियो (जुन अझै कायम छ)। सिराहाको महेशपुर निवासी उमाका पिता रञ्जित सिंह जमिन्दार थिए। उमा सानैदेखि साहसी स्वभावकी भएकाले आफ्नो परिवारको जग्गा माओवादी कब्जामा परेको रिपोर्ट उनले जिल्ला प्रशासनमा गरिदिइन्।
माओवादी त्रासका कारण कतिपय परिवारजन उनले रिपोर्ट गरेको कुरालाई गलत भनेका थिए। त्यसैपछि उनका पिता रञ्जित र दाजु सञ्जयको एकै दिन उनीहरू बसिरहेको मिर्चैयास्थित आफ्नै होटलबाट साढे तीन वर्षअघि अपहरण भयो। उनीहरूको स्थिति अझै अज्ञात छ। सिरहाकै कमलदहको जंगलमा तिनको लुगा र जुत्ता भेटिएकाले दुबैको हत्या भइसकेको अनुमान गरिएको छ जसको पुष्टि भने भइसकेको छैन।
त्यस घटनापछि परिवारमा कलह बढेको र विशेषगरी भाउजूसँग सम्बन्ध बिग्रेको उनले सुनाउँदै आएकी थिइन्।
तीन वर्षअघि लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरू गरेकी उनी सिरहाकै पहिलो महिला पत्रकारसमेत हुन्।
मिर्चैयामा उनको शाखासन्तानै सिध्याइदिने धम्की दिएपछि उनी त्यहाँ आफूलाई असुरक्षा भएको भन्दै जनकपुर आएकी थिइन्।
जनकपुरस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा बरोबर आफूलाई प्रस्तुत गरिरहिन्। छोटै समयमा मधेशकी एक मुख्य महिला पत्रकारको पहिचानसमेत बनाउन सफल भइन्।
जनकपुरमा पनि असुरक्षा महसुस गरेकी उमाले १ महिनापछि काठमाडौं बस्ने प्रेमीसँग विवाह गर्ने र त्यसपछि राजधानीबाटै पत्रकारिता गर्ने सोच बनाएकी थिइन्।
सुरुसुरुमा आफ्नो परिवारमाथि परेको बज्रपातबाट उत्पन्न प्रतिक्रिया उनमा बढी देखिन्थ्यो, तर विस्तारै उनी व्यवसायिक पत्रकारका रुपमा आफूलाई स्थापित गरेकी थिईन् ।
धनी परिवारकी भए पनि जग्गा कब्जामा रहेको साथै बाबु र दाजु वेपत्ता भएपछि स्वाभाविक रूपमा आयस्रोत सीमित हुन पुगेको थियो। चिन्नेहरू उमामा मधेशका महिलामाथि हुने हिंसा उनको प्रमुख चासोको विषय रहेको सम्झिन्छन्।
पत्रकारिताको तालिमका प्रशिक्षार्थीका अनुसार, उनका प्रश्न अन्यायविरुद्ध राज्यका कानुनबारे हुन्थ्यो र अपराधीलाई कानुनले दण्ड दिने भए पनि पीडितलाई के क्षतिपूर्ति हुनसक्छ भन्नेजस्ता गम्भीर खालका हुने गर्थिन् ।
अदालतको ठहर
यता धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्यामा संलग्न भएको आरोपमा उनकै भाउजू ललिता सिंहलाई जन्मकैदको सजाय सुनाइसकेको छ।
न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले हत्या काण्डका योजनाकारको रुपमा रहेकी ललितालाई जन्मकैदको सजाय सुनाएको थियो।
धनुषा प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत् ज्यान सम्बन्धी महलको १३/४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो ।
सरकारी वकिलको तर्फबाट न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेपछि न्यायाधीश थापाले यादवलाई घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
उमा सिंह हत्याको अभियोगमा सुशिला सिंह समेतको जाहेरीले नेपाल सरकार वादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सितामढीको नरहा कटरहियाका बैद्यनाथ सिंह कुमर र उनको छोराहरु धनंजय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमल विरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
२६ जेष्ठ २०६८ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमल प्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्व सहित जन्म कैद सजायको फैसला गरेको थियो।
ती दुवै जना अहिले जलेश्वर कारागारमा छन्। त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेको थिए।
अन्य प्रतिवादीहरु धनन्जय सिंह, बैजनाथ सिंह र अजय सिंहको हकमा मुलतवीमा रहेकोले फेला परेका वखत कारवाही गर्ने आदेश गरेको थियो।
त्यसैगरी स्वामीजी यादव भनिने उमेश यादव, चन्देश्वर साह, धनेश्वर साह तेली, विजय यादव, विन्दु यादव, सुभाष यादव भन्ने सुभेश्वर यादवको हकमा मुलतवी रहेकोले अंश रोक्का गरी मिसिलमा राख्नु भनि आदेश दिइएको थियो।
जब स्वामीजी यादव भनिने उमेश यादवलाई धनुषा प्रहरीले पक्राउ गरी अदालतमा प्रस्तुत गर्यो, तब स्वामीजी भनिने उमेश यादवले आफ्नो संलग्नतामा इन्कारी गरेको भए पनि २८ चैत्र २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्ण बहादुर थापाको इजलासले प्रतिवादी आरोपित कसुरका कसुरदार होइनन् भन्ने अवस्था नहुँदा पछि प्रमाण बुझँदै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दाको पुर्पक्षको लागि जलेश्वर कारागार कार्यालयमा थुनुवा पुर्जी दिई पठाइदिने भनि आदेश गरेका थिए ।
हत्याको कारण
उमा सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढ वर्ष अगाडिदेखि जनकपुर आई रेडियो टुडेमा रिपोर्टरबाट काम सुरू गरी समाचार बाचन गर्दै आएकी थिईन्।
उमाको आमा सुशिला सिंहले केही जग्गा उमाकै नाउँ गरिदिने र विहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले उमाको नाउँमा जग्गा नगर्न विरोध गर्न थालिन्।
ललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउ श्रवण कुमार यादव, स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलोमतोमा उमाको हत्या गरिएको तत्कालिन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
श्रवण यादवको समूहले उमा सिंहलाई १ महिना अगाडि अपहरण गर्ने प्रयाससमेत गरेको थियो। स्वामीजी यादव भन्ने उमेश यादव, श्रवण कुमार यादव मिली उमालाई सम्पूर्ण जग्गा ललिता सिंहको नाउँमा जग्गा दर्ता गरिदिनको लागि धम्की समेत दिँदै आएका थिए।
१५ भदौ २०६३ मा सिरहाको रामनगर मिर्चैया वार्ड नं. ३ स्थित आफ्नै होटेलबाट तत्कालिन माओवादीको समूहले उमाको बुवा रञ्जित सिंह र दाई संजय सिंहलाई अपहरण गरि बेपत्ता पारेको थियो।
१० कठ्ठा जग्गा उमाको बुवाले उमाको नाउँमा पास गरेका थिए। त्यसपछि उमाको आमाले धुरमी बजारको दुई कठ्ठाजग्गा समेत उमाकै नाउँमा पास गरेकी थिइन्।
जग्गा जमिन सम्बन्धि विवाद चल्दै आएको अवस्थामा उमाको हत्या गर्न श्रवण कुमार यादव र तत्कालिन माओवादीको कमाण्डर सुभासमार्फत स्वामीजी भन्ने उमेश यादवसँग कुरा गरी योजना बनाई उमालाई हत्या गरेबापत २५ हजार रुपैयाँ तत्काल दिने र अरु रकम पछि दिने उमाकी भाउजू ललिता सिंहले बताएकी थिइन्।
उमेश यादव तराई एकता परिषदको केन्द्रीय अध्यक्ष थिए। उनले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रशान्त भनिने नेमलाल पासमानलाई उमाको हत्या हुनु भन्दा १५ दिन अगाडि उमेशले भेटेर उमालाई हत्या गर्न १ लाख ५० हजारको सुपारी लिएको बताएका थिए।
उक्त हत्या गर्न प्रशान्तलाई उमेश यादवले निर्देशन दिई जिम्मासमेत दिएका थिए। हत्या भएपछि बिमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति फ्याक्स गरेको थियो।
उमाको पार्थिव शरीर यो संसारमा नरहे पनि उनी प्रत्येक महिला पत्रकारहरुको साहसमा जिउँदै छिन्। पत्रकारिता जगतमा जब जब सत्य तथ्य पत्रकारिताको चर्चा हुनेछ वा पत्रकारिता जगतमा साहस र आँटको विषयमा कुरो उठ्नेछ उमा सिंहको नाउँ अग्रपंक्तिमा रहि रहनेछ।