जन्मदेखि मृत्युसम्म मान्छेका विभिन्न संस्कार छन्। आफ्ना चालचलन छ। रितिरिवाज लवाइखवाइ र मूल्य मान्यता छन्।
सदियौंदेखि यिनै चालचलन मूल्यमान्यता र संस्कारले सजिएको आँगनमा जिन्दगीको घाम तापिरहेको छ मान्छे। हामीले अवलम्बन गर्दै आएका संस्कारका पाटाले स्वाभिमानपूर्वक बाँच्न सिकाउँछन्।
नैतिकताको पाठ सिकाउँछन्। आपसमा सहयोगी भावना र भाइचाराको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्। जुन एक पिढीबाट अर्को पिढीमा सर्दै जान्छन्।
पुस १९ गते अमृत भाद्गाउँको सुझाव थियो– पुसे औंसीका दिन बेत्रावतीमा लाग्ने मेला हेर्न जानू। दोस्रो दिन ११ बजेसम्म खबर नआएपछि कवि अभय श्रेष्ठसँग भेट्ने कुरा गरेर गोजीमा फोन के राखेको थिएँ, लगत्तै पत्रकार छत्र कार्कीको फोन आयो– ए गुरु, तयार हो?
एकछिनमा लक्ष्मण डङ्गोलले फोन गर्नू हुन्छ है। म अलमलमा परेँ। मैले धेरै बेर सोच्न नपाउँदै डङ्गोलजीको फोन आयो। १ बजे बागबजारमा भेटौं। बागबजारबाट एउटा प्राइभेट गाडी हुइकिन्छ, आठ जना यात्रु बोकेर।
शिवपुरीको बाटो खाल्डाखुल्डी र जाम। वेत्रावतीको किनारमा नपुग्दै फिजाइसकेको थियो रातले पखेटा। त्यो साँझ खाना खाएर सुतियो डंगोलजीको घरमा।
बिहान क्यामेरा बोकेर निस्किएँ। इतिहासका पानामा कहीँ कतै पढेको जस्तो लाग्छ वेत्रावती। यस क्षेत्रको यात्रा भने पहिलो। नदी किनारमा जम्मा हुँदै थिए, मान्छेहरू।
बिहानीका सूर्यका किरणले थपिरहेको थियो रंग। उज्यालिदै थिए किनार। बढ्दै थियो मान्छेको भीड। हिजै आएर बास बसेका फर्किदै थिए। बिहान घरबाट निस्केका पुग्दै थिए। टाढाटाढाबाट आउने क्रम जारी थियो। चितवन, बुटवलतिरदेखि समेत आएका थिए, श्राद्ध गर्नलाई।
रिभरभ्यू हाटेलको तल्लो पट्टी एकसुरमा घुमिरहेको थियो घट्ट। जहाँ आगो तापिरहेका थिए, ८५ वर्षीय मोहन बहादुर थापा मगर र ७५ वर्षीय हिरालाल थिङ।
मलाई रामरमिताभन्दा नि बढी छुन्छन् यस्ता पात्रले। वर्षौ अघिको गाउँघरतिरको याद दिलाउँछ त्यस्तो खाले परिवेशले। सम्झनामा घुम्न थाल्छ गहुँ, कोदोको भारी बोकेर घट्टको दैलोमा पुगेको त्यो समय।
थिङ १५ वर्षदेखि घट्टमा काम गरिरहेका छन्। रोगले उनको कम्मर कुप्रो भइसकेको छ। जवानीमा बिहेको कुरा नचलेको हैन। मान्दै मानेनछन्। लजाउथे रे केटीहरूसँग बोल्न। किन बिहे नगरेको भनेर सोध्दा मुस्कुराएरै सुनाए– केटी देख्दा लाज पनि लाग्थ्यो। गहना हाल्नु पर्छ, लुगा हाल्नु पर्छ भनेर डर पनि लाग्यो। खै के के भयो।
खोला किनारमा घुमिरहन्छ घट्ट।
राती उनी त्यतै निदाउँछन्। घट्ट मालिक मोहन बहादुरले उनकै जिम्मा छोडेका छन्। १२ माना अन्न पिस्दा १ माना (पिठो नभै दाना नै) लिन्छन्। यसरी जम्मा भएको अन्न घट्ट मालिक र हिरालाल दुबैले बराबरी भाग लगाउछन्।
साबिकको ६ वटा गा.बि.स.का मान्छे आउँछन घट्टमा मकै, गहुँ, चामल, कोदो फापर आदि पिस्नलाई। पोखरा लमामचौरबाट आएका हुन मोहनबहादुरका पिता त्यस ठाउँमा। मोहनबहादुर यतै जन्मेका हुन्। उनलाई थाहा छैन लामाचौरका बारेमा।
सात छोरीका पिता मोहनले १८ सालदेखि नै सुरु गरेका हुन घट्ट। हरेक साल वेत्रावतीमा मेला लाग्दाका साक्षी हुन उनी। उनी सुनाउछन् –‘उहिले उहिले रातभरि किर्तन भजन गरेर बस्थे टाढाटाढाबाट आएका मान्छेहरू।
अहिले गाडी मोटरको सुबिधा हुँदा बिहानै निस्कन्छन् घरबाट र श्राध्द गरेर फर्किन्छन्। निकै टाढाबाट आउनेहरू अहिले पनि अघिल्लै दिन आएर बास बस्छन्।“ मोहन बहादुरको घट्टबाट करिव ३ सय मिटरको दूरीमा छ त्रिवेणी धाम।
त्रिशूली, रुद्रगंगा र वेत्रावतीको संगमस्थल हो यो। किनारमा छाल फाल्दै दौडिएकी हुन्छिन् त्रिशुली र रुद्रगंगा। वेत्रावती भने गुप्त नै छन्। स्थानीयवासी ओमप्रकास घिमिरे र उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार २०४८ सालमा योगी नरहरि नाथले किनारमा डोजर लगाएर उत्खनन् गर्न लगाएपछि वेत्र गंगा अर्थात वेत्रावती नदी देखिएकी थिइन।
सारा मान्छे आश्चर्यचकित भएका थिए रे। स्थानीय कृष्ण प्रसाद आचार्यका अनुसार झण्डै एक घट्ट घुम्ने पानी निस्केको थियो। त्यसपछि नै यो क्षेत्रको बढी प्रचार हुन गएको कुरा सुनाउँछन् लम्साल।
नरहरि नाथको नारा नै थियो– आमा, मामा र लामा। उनले महिलाहरूलाई पनि गायत्री मन्त्र सुनाएका थिए। ९ जना कन्या कुमारीलाई कुशको जनै धारण गर्न लगाएर ब्रतवन्ध कार्य सम्पन्न गराएका थिए।
महिलाले पनि श्राद्ध गर्न हुन्छ, किरिया गर्न हुन्छ भनेर उद्घोष गरे। मामा भनेका ब्राह्मणहरू थिए। ती मामाहरू केही होम गर्न खटाइए भने केही श्राद्ध कर्म गराउन। लामा भनेका बौद्ध गुरु थिए।
उनीहरूले पनि आआफ्नो संस्कार अनुसार यो क्षेत्रमा पुसे औसीका दिन श्राद्ध गराउँदै आएका छन्। नरहरिनाथले यहाँ एक महिनासम्म बसेर कोटी होम लगाएका थिए। सबै जातजातीका मानिसलाई गायत्री मन्त्र सुनाए।
नेपाली सेनाले उनलाई दाउरा त्रिपाल जस्ता सामग्री उपलब्ध गराएको कुरा घट्ट सञ्चालक मोहन बताउँछन्।
पौराणिक मान्यता अनुसार वेत्रावतीलाई चार धाम मध्येको एक धामका रुपमा हेरिएको छ।
उत्तर गयाको नामले प्रचलित यस क्षेत्रको विस्तृत वर्णन स्कन्द पुराणको हिमवत् खण्डमा गरिएको छ। यस पवित्र पुण्य क्षेत्रको बारेमा पद्म महापुराण,कुर्म पुराण, ब्रह्म पुराण, मत्स्य पुराण जस्ता कतिपय धार्मिकग्रन्थहरूमा उल्लेख भएको कुरा सुवास आचार्य आगमनले आफ्नो पुस्तक वेत्राततीमा लेखेका छन्।
कथा भन्छ– देवता र दानव मिलेर समुद्र मन्थन गर्दा बहुमूल्य एवम् महत्वपूर्ण बस्तु निस्केछन्। यसका साथसाथै कालकूट विष पनि निस्केछ। विष कसैले लिन मानेनछन्।
तब बह्मा, विष्णु र महेश्वर फन्दामा परे। निकै नै चिन्तित भएर बिष्णुले शिवसँग भने छन् – अब पृथ्वी भष्म हुने भो। तत्पश्चात् शिवले कालकूट विषलाई हातमा लिएर पान गरेछन्। विषको प्रभावले घाटी निलो भएछ। विषको दहन सहन नसकेर भौतारिदै आउने क्रममा भगवान् शिव हालको रसुवा जिल्लाको रुद्रगंगा र त्रिशूलीको संगमस्थलनेर आइपुगेछन्।
जहाँ वेतको लौरीले जमिनमा खोस्रेर वेत्रगंगा अर्थात वेत्रावती नदी निकाले। बर्खामा रुद्रगंगा र त्रिशुल गंगाले वेत्रगंगालाई छोपेको हुन्छ। हिउँदमा उत्खनन् गर्दा सजिलै देख्न सकिन्छ। तत्पश्चात शिवजी लौरो त्यतै फ्याकेर उकालो लागेछन्।
शुलाद्रीका पर्वतको फेदमा गएर त्रिशूलले ढुङ्गा छेडेर तीनधारा पानी निकालेछन्। त्यो पानी पनि वेत्रावतीमै मिसिए छ। गोसाइकुण्डबाट आएको ९ वटा कुण्डको पानी पनि वेत्रावतीमै मिसिएछ। र देवताहरूले वेत्रावतीमा पितृतर्पण गर्न थालेछन्। जुन क्षेत्र उत्तरगयाका नामले चिनिन थालेछ।
ओमप्रकाश घिमिरे भन्छन् – १४ पुस्ता भयो हाम्रा पिता पुर्खादेखि हालसम्म यस क्षेत्रमा श्राद्ध गर्न थालेका। यही त्रिवेणी हो त्यस क्षेत्रका मानिसको अन्तिम संस्कार गर्ने घाट पनि। धिमिरे यस पुण्य क्षेत्रलाई धर्मको मुटु भएको धारण व्यक्त गर्दै संस्कृतको श्लोक सुनाउछन्:
त्रिशूलगंगा वेत्रगंगा रुद्र गंगा संगवे
कालिका रामनगर क्षेत्रे धर्मधारा मध्यस्थते
वेत्रावती धामबाट करिव ३ सय मिटर माथि राम मन्दिर छ। राममन्दिर रहेको पर्वतलाई नै पुराणमा शुलाद्रिका पर्वत भनिएको छ। त्यसै पर्वतमा अवस्थित छन् कालिका माइको मन्दिर। वनदेवी अर्थात सरस्वतीको मन्दिर पनि।
कृष्णप्रसाद आचार्यका अनुसार काशीका पण्डाहरूले सुरुमै प्रश्न गर्छन् रे–उत्तरगयामा श्राद्ध गरियो कि गरिएन? पुराणमा अल्लेख भएअनुसार गोसाइकुण्डको दर्शन गरेपछि उत्तरगयामा श्राद्ध गर्नु पर्छ भन्ने मान्यता छ। उत्तरगयामा श्राद्ध गरिसकेपछि गोकर्णमा श्राद्ध गर्नु पर्छ। अनि मात्र काशी र प्रयागको महत्व हुन्छ। त्रेत्रायुगमा भगवान् रामले पनि यसै ठाउँमा आएर पितृतर्पण गरेको कथा सुनाउछन् धिमिरे।
उत्तर गयाको धार्मिक मात्रै नभएर ऐतिहासिक महत्व पनि छ। त्यही त्रिवेणी धाम नजिकै हो बि.सं. १८४९मा ऐतिहासिक नेपाल तिब्बत सन्धी भएको। जसलाई वेत्रावती सन्धी भनिन्छ।
कालिकाथानमा भोटेहरू अर्थात तिब्बती सेना बसेका थिए भने दुधे लामा थानमा नेपाली सेना। नेपाली सेना कम भएको कारण रणनीतिक योजना अनुसार रुखरुखमा नेपाली सेनाको पोशाक झुण्ड्याइएको थियो।
चाइनिजले हानेको पहरामा लाग्ने। नेपालीले हानेको छातीमा लाग्ने। लडाइ गर्दै जादा माथिबाट तल वेत्रावती किनारमा पुगेछन्। आमनेसामने लडाइ चलेछ। तिब्बती सेनाको हार भएछ। र कैयौं जवानले नदीमा हाम फालेछन्। जुनकुरा भोटको सवाइका रुपमा सुन्न सकिन्छ। जस्तै
उभो जाउँ थक्लासी। उधोजाउ मार्लासी। माझै गंगा सोलोलो ..............
अर्थात माथि डाडाँतिर फर्केर तिब्ब फिर्ता होऔं त युद्ध हारिएको छ। तल बेत्रावतीको फाँटतिर जाऔं त नेपाली सेनाले मार्ला भन्ने डर अब बीच नदीमा फाल हानेर सलल बग्नु शिवाय काम रहेन।
नुवाकोट र रसुवाको सीमानामा पर्ने उत्तरगया ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको क्षेत्रको रुपमा चिनिन्छ।
जहाँ हरेक वर्ष पुसे औसीका दिन हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू आआफ्ना पूर्खाको सस्मरण गर्दै श्राद्ध तथा तर्पण गर्न टाढाटाढाबाट आइपुग्छन्। बिसौं हजार मान्छेहरूको भीड देखिन्छ नदी किनारमा अर्थात उत्तरगया धाममा। माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ। त्यतिबेला पनि मान्छेको ठूलै भीड लाग्छ।
भौगोलिक हिसावले यो ठाउँ निकै नै सुन्दर छ। वरिपरि ठुलाठुला डाँडा बीचमा सागुरो बेशी। उब्जनीयोग्य जमिन। बीचैबीचबाट छालहान्दै बगिरहेकी नदीको सुन्दरता। हाल चर्चामा रहेको केरुङ नाका जाने बाटो यही नै हो। यही बाटो भएरै २००८ सालमा डा. के.आइ.सिंह राजनीतिक शरण लिन चाइना गएका थिए।
उत्तरगया घाम भएर बग्ने त्रिशुलीको पानी प्रयोग गर्ने गरी १९.४१ मेगावाट बिजुली निकाल्ने हिसाबले पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिको नाम सुनिन थालेपछि विगत सात वर्षदेखि यो क्षेत्र तनावग्रस्त छ।
उक्त हाइड्रोपावर बनेपछि उत्तरगया धाम सुख्खा हुने निश्चित छ। त्रिवेणी अर्थात उत्तरगया धामभन्दा दुइ कि.मि. माथि अक्करेमा नदी थुनेर पानी अर्कैतिर लगिने भनिएपछि यहाँका स्थानीय वासिन्दाले उक्त जलविधुत आयोजनाको बिरोध गर्दै आएका छन्।
प्रदेश सभा सांसद मोहन आचार्यका अनुसार प्रदेश सरकारले उत्तरगया धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउन यस क्षेत्रको बिकासका लागि १ करोड रुपैयाँ छुट्याइसकेको छ।
मास्टरप्लान बनाएर अघि बढ्ने र बढीभन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको कुरा बताउछन् सांसद आचार्य। यस क्षेत्रका मानिसको जीवनस्तर उकास्न धार्मिक पर्यटनमा जोड दिनु पर्ने र कुनै हालतमा पनि हाइड्रो पावर बन्न नदिने कुरा बताउछन् उत्तरगया क्षेत्र बिकास समितिका अध्यक्ष शिवशंङ्कर डङ्गोल।
विज्ञान पत्रकार लक्ष्मण डङ्गोलका अनुसार हाइड्रो बनाएर उत्तरगयाको पानी सुकाउने हो भने त्यो क्षेत्रको जनजीवन नै प्रभावित हुने देखिन्छ। धार्मिक पर्यटनको लागि निकै नै सम्भावना बोकेको क्षेत्र हो उत्तरगया।
पूर्वाधार निर्माणका साथै पौराणिक महत्व दर्शाएर प्रचारप्रसार गर्न सकेमा भारतीय पर्यटकको समेत घुइचो लाग्ने कुरामा दुइमत छैन।
पुसेऔंसीको बिहानैदेखि वेत्रावतीमा एकप्रकारको संगीत गुञ्जिरहेको थियो। आफ्ना पूर्खा सम्झेर तर्पण गर्नेहरूको अनुहारमा भावुकताले डेरा जमाएको थियो। पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले बनाउने भनेको हाइड्रो बिरोधमा हस्ताक्षर संकलन भैरहेको थियो। त्यहाँका राजनीतिकर्मी र स्थानीयवासीहरू बीचमा छलफल चलिरहेको थियो। उत्तरगयाको सवालमा सबैको एकमत थियो।
नदी किनारमा राता, पहेला, सेता वस्त्रधारीहरूको जमात एक सुन्दर फुलबारीझैं देखिन्थ्यो। बगरमा केही लाशहरू जलिरहेका थिए। अनवरत रुपले बग्नु हो नदीको नियति, बगिरहेकै थिइन्। निधारमा पहेलो टीका र सेता अक्षता टासेका कैयौं मनहरू बाटोमा पाइला चालिरहेकै थिए।
हाम्रा कैयौ चाडपर्व संस्कारका पाटाहरू समय अनुसार मन बुझाउने डोबहरू पनि हुन। क्षणभरको लागि मात्रै भए पनि मनमा शान्ति पैदा गर्ने पाटा पनि हुन्।
यस्ता धार्मिक क्षेत्रमा पुग्दा हरेकका गतिविधि नियालिरहन मन लाग्छ। धार्मिक क्षेत्र घुम्ने मौका मिलिरहेकै हुन्छ बेलाबखत। तर सकेन कहिल्यै कट्टर आस्तिक बन्न। न त सकेँ कहिल्यै कट्टर नास्तिक नै बन्न।
मात्र टोलाइरहेको हुन्छु जिन्दगीका मोडहरूमा। कतै पढेको थिएँ दार्शनिक रजनिसको भनाइ– मनुष्य स्वयम्मा एक बिमारी हो। रजनिसले भन्न खोजेको बिमारको उपचार परमात्मामा लीन हुनु हो। मजस्तो सामान्य मनुवासँग त्यो क्षमता कहाँ हुनु।
बेलाबखत सम्झिन्छु फिराक गोरखपुरीका यी पंक्ती पनि–मौतका भी इलाज हो शायद, जिन्दगीका कोइ इलाज नही। गोरखपुरीले भनेझैं कैयौं उपचारविहीन जिन्दगीहरूको भीडमा उत्तरगयाको त्यो दिनको दृश्य क्यामेरामा कैद गर्न वल्लो किनार र पल्लो किनार दौडिरहेँ। भौतारिरहें यौटा बिरामी यात्री बनेर आधिदिनसम्म। अनि सुनिरहें, खोजिरहें अफुजस्तै कैयौं बिरामी जिन्दगीको कथा।