आमालाई घुम्न जान मन छ। तर त्यो मनको वरपर उहाँ एक्लै हुनुहुन्न। कुनै अदृश्य हिसाबले उहाँलाई बाँधिरहन्छ। मनमनै धेरै ठाँउ घुमेर फर्किनुहुन्छ।
हामी छोराछोरी कतै जाने भनेर सुनाउँदा उहाँको मन पनि सँगसँगै पुग्छ। अरूको यात्रालाई आफ्नो यात्रा मान्नुहुन्छ। सन्तानले देखेका दृश्यलाई आफ्नो दृश्य भन्नुहुन्छ।
उहाँको अनुहारमा पोतो बढ्दै गएको छ। पोतोलाई बेला-बेला बढ्दै गरेको उमेर जस्तो देख्छु। उहाँले भर्खरै ५० वर्ष पुगेको उपलक्ष्यमा जन्मदिन मनाउनुभयो। अहिलेसम्म केक काट्नुभएको थिएन। यसपल्ट काट्दा म थिइनँ। उहाँले केटाकेटीले लगाएको जस्तो तिखो टोपी लगाउनुभएको थियो। खुसी अनुहारमा पोखिएको थियो।
उहाँलाई त्यसो गर्न पनि मनपर्दो रहेछ।
मैले यसपल्ट उहाँ काठमाडौं आएका बेला केही सोधेँ।
'मन छ,' जवाफ दिनुभयो।
'उसो भए पासपोर्ट बनाउनु न त।'
आमा अडिनु भयो। उहाँसँग पासपोर्ट छैन। जागिर खाएर हामीलाई हुर्काएर आधा शताब्दी हिँडिसकेपछि कसैले उहाँलाई पासपोर्ट बनाउनु भनेको हुनसक्छ।
पासपोर्टमा लाग्ने फोटो कस्तो हुन्छ उहाँलाई थाहा छैन। यो उहाँले सुनेको सबभन्दा अनौठो प्रस्ताव हो।
यो प्रश्न अनौठो लाग्ने नेपाली आमाहरू कति होलान्? र यदि पासपोर्टलाई हरियो रङ भएको एउटा हाते किताब मात्र नसम्झिने हो भने उहाँहरूको जीवनमा कति धेरै पासपोर्टहरू कारण बनेर उभिए होलान्?
रुपेश भट्टराईको कविता 'अ पासपोर्ट फर माई मदर' पहिलोपल्ट सुनेपछि मेरो सामुन्ने एकैपल्ट यति प्रश्न पोखिएका छन्।
म उत्तर लेख्न थालेँ। परीक्षामा उत्तर लेख्न बसेको जस्तै भएको छ यस बेला।
+++
'बटन पोयट्री' च्यानलमा गएर उनको कविता फेरि खोलेको छु। बटन पोयट्रीमा पहिलोपल्ट कोही नेपाली कविको अंग्रेजी कविता छापिएको हो। 'यहाँ नेपाली कविलाई देखेर पहिला त मैले पत्याइनँ' कसैले उक्त भिडियोको कमेन्टमा यस्तै लेखेको छ। तर यो कुरा धेरै नेपालीलाई थाहा छैन।
कविताको शीर्षकमा भएको 'पासपोर्ट' शब्दले मलाई आमाको सम्झनामा हुत्त्याइदिएको छ।
'जान पाउनुभयो भने कहाँ जानुहुन्छ त?' मैले फेरि प्रश्न सोधेको छु।
उहाँको आवाज रोकिएको छ। रोकिन्छ। केही ठाउँ आए तर ती भन्न खोजेका उत्तर थिएनन्। कुनै-कुनै त सम्भवनै छैन भनेर छुटे। आवाज नबनेर छुटेका नाम गह्रौं हुन्छन्। नभनेपछि भन्न खोजेका कुरा भनिँदैनन्। तर नभने पनि भन्न खोजेका कुरा बुझिन्छन्। शब्दहरू मात्र माध्यम हैनन्।
तर हुनसक्छ यो प्रश्न मैले धेरै ढिलो सोधेँ। सायद सोध्न ढिलो भएका प्रश्नको जवाफ छिटो आउँदैन।
त्यसैले त रुपेश कवितामा भन्छन् 'आमाहरूलाई कहिल्यै सोधिएन।'
हाम्रो समाजले आमाहरूलाई जवाफ दिऊँ लाग्ने धेरै कम प्रश्न सोध्यो। जवाफ नदिऊँ लाग्ने प्रश्न थुपारिरह्यो। आरोप लगाइरह्यो।
म रोकिएँ। आमाका बारेमा सेतोपाटीमा पहिलोपल्ट लेखेको एउटा ब्लग याद आयो। शीर्षक थियो 'आमा र अनुहारका धर्सा'।
आफ्नो बारेमा मैले लेखेका ती कुरा उहाँले कसरी पढ्नुहोला भन्ने सोचेर औंलामा पसिना आएका थिए। उहाँले लेखको कुरा पढिरहँदा अनुहारमा कति वटा धर्सा आउलान् भन्ने प्रश्न सोधेको थिएँ अन्तिममा।
छापिएपछि उहाँलाई पठाएँ। कस्तो लाग्यो सोधिनँ। यस्तो लाग्यो भन्नुभएन।
आमाहरूलाई धेरै कुरा नसोधिँदो रहेछ। रुपेश भन्छन् 'बुवाले पनि उहाँलाई सोध्नुभएन।'
साँच्चै बुवाले आमालाई नसोधेका प्रश्न के-के होलान्? आमालाई सोधियोस् जस्तो लागेका तर नसोधिएका प्रश्न के-के होलान्? समाजले उहाँलाई नसोधेका प्रश्न के-के होलान्? हजुरबुवाले उहाँलाई नसोधेका प्रश्न के-के होलान्? हामीले उहाँलाई नसोधेका प्रश्न के-के होलान्?
ती के प्रश्न हुन् जुन उहाँलाई कसैले नसोधोस् जस्तो लागेका थिए?
त्यसैले कवितामा प्रयोग भएको 'सोध्नु' शब्द महत्त्वपूर्ण र गहन छ। नसोध्नु भनेको बेवास्ता गर्नु हो। वा सोध्न नखोजिनु हो। सोध्नु पर्ने आवश्यकता महशुस नगर्नु हो। नेपाली समाजले इतिहासदेखिनै आमाहरूलाई केही कुरा सोध्नु वा कस्तो महशुस हुन्छ भनेर सोध्नुपर्ने जरुरी ठानेन।
आमाहरूका लागि नियम बनाइए तर तिनलाई बनाउनुभन्दा पहिला केही सोधिएन। जसका लागि नियम बनाइएको हो ती उक्त नियमबाट खुसी छन् कि छैनन् भनेर सोध्ने काम पहिला पनि भएको थिएन। अहिले पनि भइरहेको छैन।
बिहे भएका कतिलाई 'बिहे गर्छेस् कि पढ्छेस्' भनेर सोधियो होला? अहिले भइरहेका कति परिवारमा यी प्रश्न सोधिएको थियो?
रजस्वला भएको बेला 'कति दुखेको छ' भन्ने प्रश्न आमाहरूले कतिपल्ट सुन्नुभयो होला?
शहीदका आमाहरूले के-के प्रश्न सुन्न पाएनन्?
निर्मला पन्तकी आमालाई नसोधिएका प्रश्न के-के होलान्? उनले नदिएका जवाफ के-के होलान्?
आमाहरूलाई उहाँको अवस्था कस्तो छ भनेर सोध्न नसक्ने बनेर हुर्किएको पुस्ताले भोलि कसैको अवस्था पनि सोध्ने छैन।
के हाम्रो समाज समानुभूति विमुख हुँदै छ?
+++
आमा बिहेपछि घर छोडेर मोरङको मङ्गलबारेमा 'अहेब' पढ्न झर्नुभएको थियो। त्यति झर्नु पनि उ बेलाको समयमा ठूलो कुरा थियो। उहाँलाई त्यहाँबाट अन्त कहाँ-कहाँ पुग्न मन थियो?
यो प्रश्न पनि सोधिएन। उहाँले आफूले आफैंलाई सोध्न मन गर्नुभयो भने पनि सायद यसको जवाफ छैन।
रुपेश चाहन्छन् त्यस्तै प्रश्न आमालाई सोधूँ। म चाहन्छु त्यही प्रश्न आमालाई सोधूँ। तर प्रश्न सोधिसकेपछिको शून्यताले थिच्न खोज्छ।
त्यो शून्यता महशुस गर्ने हामी कति होलाउँ?
जे होस् रुपेशको आमाको जस्तै मेरो आमाको पनि पासपोर्ट छैन। उहाँसँग छैन, किनकि पासपोर्ट हुनुपर्ने कारण छैन। पासपोर्टले पुर्याउनुपर्ने ठाउँ छैन।
पासपोर्टले पुर्याउनुपर्ने ठाउँमा धेरैको बाध्यता पनि सँगै यात्रा गरेको छ। तर समाजले जवाफ दिनुपर्ने प्रश्न हो यो। राष्ट्रले जवाफ दिनुपर्ने विषय हो यो। समाजमा आमाहरूको पासपोर्ट कम किन छ? होला बुवाहरूको पनि छैन। तर बुवाहरूको हुने परिवारमा आमाहरूको झन् कम किन छ?
किन घरको दैलोले पासपोर्टको लागि फोटो खिचाउनुपर्ने ठाउँमा उहाँहरूलाई पुर्याएन?
रुपेश भन्छन् उसको आमा सिन्धुपाल्चोकबाट काठमाडौं आउनेबाहेक अन्त जानुभएको छैन। मेरो आमा पनि काठमाडौं आउनेबाहेक अन्त जानुभएको छैन। उहाँहरू दुवै जना पोखरा पुग्नुभएको छैन। उहाँहरूको यात्रालाई केले रोक्यो? आमाले अहिलेसम्म गरेको सबभन्दा लामो यात्रा कति हो? उहाँ सबै जिम्मेवारी छोडेर हिँडेको लामो यात्रा कति लामो हो?
विविध आमाहरूको यात्रा घरभित्र वा दायित्वभित्र पुगेर किन टुङ्गियो?
सँगै विविध बुवाहरूको यात्रा दायित्वभित्र पुगेर किन टुङ्गियो? यो पनि एउटा जटिल संरचनागत प्रश्न हो।
म त्यो प्रश्नको वरपर खडा छु। मलाई यो कठघरा स्वीकार्य छ।
+++
आमाले म ९ मा पढ्न थालेपछि ११ कक्षा पढ्न थाल्नुभएको हो। काम गर्दै मास्टर्स सक्नुभयो। भर्खरै एमफिल गर्न भनेर एउटा परीक्षा दिनुभयो। उत्तिर्ण हुन सक्नुभएन। प्रश्न अप्ठ्यारा थिएनन्। उहाँलाई आउँथे। तर उत्तर अंग्रेजीमा लेख्नुपर्थ्यो। उहाँलाई अंग्रेजी धेरै आउँदैन।
नेपाली भाषा बोलिने देशमा पढ्नका लागि अंग्रेजी पासपोर्ट माग्यो। उहाँले उड्न पाउनुभएन।
पासपोर्टलाई यात्रा गर्न अनुमति दिने साधन मात्रै मान्दा पनि धेरै आमाहरूलाई धेरै चिजले 'इमिग्रेसन'मा अल्झाएका रहेछन्। ती पासपोर्ट विविध स्वर, संरचना र दायित्व बनेर आइरहने रहेछन्।
कसैको लागि दाइजो। कसैको लागि धर्म। कसैको लागि परिवार। कसैको लागि सन्तान र छोराछोरी। कसैको लागि समाज। कसैको लागि इर्ष्या। कसैको लागि बाध्यता। नेपाली आमाहरूको अगिल्तिर पासपोर्टका चुली छन्। तिनले पटकपटक 'तैंले सक्दिनस्', 'तैंले हुँदैन', 'तैंले गरिस् भने' इत्यादि भनिरहन्छन्। कतिलाई नभने पनि ती हावा भएर कानमा गुन्जिरहन्छन्। समाजमा यो हावा पहिला देखिनै व्याप्त छ।
रुपेशले कवितामा भनेका छन् हाम्रा आमाहरू जहिल्यै पनि चुप राखिए। चुप राख्नलाई कस-कसले ठूलो हल्ला गरे?
रुपेशले 'आमाको पासपोर्ट होस्' भनेर गरेको कामना केवल सरकारले दिने भनेको कागज मात्र हैन। उनले चाहेका छन् आमा अरूले बुझाएको समाजबाट बाहिर निस्किएर आफ्नै भाषामा संसारलाई बुझेर फर्किनुहोस्।
त्यो कामना मेरो पनि हो।
आमाको पासपोर्ट कस्तो होला भनेर कल्पना गर्छु। 'मिटर रिडेबल' पासपोर्टको लागि फोटो खिचाउँदा उहाँको अनुहारमा खुसी आउला कि पसिना? मैले पासपोर्ट बनाउँदा फोटो खिच्न लाइन बसेको बेला एक जना मधेसी दाइले पासपोर्टको लागि 'फिङ्गर प्रिन्ट' दिँदा पसिना आएको थियो। फोटो खिच्ने दिदीले उनलाई हकार्दै हात पुछ्न लगाएकी थिइन्। त्यही गाली उहाँले पनि खानुपर्यो भने?
अनि पासपोर्ट लिन जाने लाइनमा पनि उस्तै खाले गाली खानुपरेको थियो एक जना दाइले।
त्यसरी बनाएको पासपोर्टले उहाँलाई कहाँ-कहाँ पुर्याउला? कहाँ-कहाँ पठाउला?
+++
यहाँ धेरै आमाहरू छन् जसको नागरिकता पनि छैन। यहाँ त धेरै छोराछोरी पनि छन् जसको बुवाको पहिचान नभएको कारण नागरिकता पनि छैन।
तिनको लागि पासपोर्ट बनाउनु कति गाह्रो होला? त्यसको लागि उनीहरूले अझै कति 'इमिग्रेसन' काटेर आउनु पर्ला?
रुपेशलाई लाग्छ उनको आमा त्यहाँ सम्म नजानुहोस् जहाँबाट उहाँ फर्किनै नसक्नुहोस्। तर त्यहाँसम्म जानुहोस् जहाँ पुगेर आफूसँग हराउन पर्याप्त छ। उहाँले त्यहाँबाट पहाडमा उदाएको घाम समुद्र पुगेर डुबेको देख्नुहोस्। उहाँले आफ्नो विश्वको परिधि आफैंले छाम्नुहोस्।
त्यो कल्पना यथार्थभन्दा कति नजिक छ, कति टाढा छ?
यसको उत्तर खोज्नलाई धेरै वर्ष लाग्नेछन्।
म आमालाई सम्झिरहेको छु। अहिलेलाई मिठो कल्पना गरेको छु। उहाँ समुद्र पहिलोपल्ट देख्दा कसरी हाँस्नुहोला?
+++
अब रुपेश चुप लागेका छन्। उनले कविताको अन्त्यलाई खुला नै छोडिदिए। केही गहिरा प्रश्न आफैंसँग सोधे र मलाई पनि सोधिदिए। ती प्रश्नले मलाई यति लेखाए।
म कविताको लिंक तपाईंलाई छोडिदिन्छु। हेर्नुहुन्छ?
ट्विटर: @SurajWritesNP