बिहानै दैलो उघारेर यसो बाहिर हेर्दै मात्रै थिएँ, यत्रतत्र छरिएर खेल्दै गरेका केटाकेटी। उनीहरूको हातमा कागजका दर्जनौं टुक्रा। अनि त्यो कागजमा जानी-नजानी कोरिएका नागका चित्र।
समयसन्दर्भ यसै सालको नागपञ्चमीको हो।
हाम्रोतिर बालबालिकाहरू त्यो दिनमा जानी-नजानी विभिन्न रङ प्रयोग गरी नागको चित्र कोर्छन्। प्रत्येकको घरदैलोमा पुग्छन्, मूलढोकामा चित्र टाँसेर पूजा गर्दै नागपञ्चमी मनाउँछन्। चित्र गोबरले टाँसेर गाईको दूध र दुबो चढाई पूजाअर्चना गर्ने परम्पराअनुसार उनीहरू दक्षिणा पनि लिन्छन्। बालबालिका यसैमा रमाउँछन्।
त्यो दिन पनि यस्तै चलिरहेको थियो। अर्कोतर्फ पूजा गरी बाहुनको हातबाट टीका लगाई आर्शीवाद लिने पनि चलिरहेकै थियो।
हुन त नाग पञ्चमीमा सदाझैं दलित समुदायकै पुजारी बाजे आएर मूलढोकामा पूजा गरी सबैलाई टीका नलगाईदिएका होइनन्।
तर छिमेकी टोलबाट बाहुन बाजे नागको तस्वीर, टीका, दूबोपाती लिएर दलित समुदायका मूलढोकामा पूजा गरी हिँडेको यो पहिलो पटकको दृष्य हो।
साँच्चिकै चर्किँदो घाम थियो। एक जना बाहुन बाजे हातमा सेतो प्लाष्टिकभित्र केही सामग्री लिएर हिँडेको देख्दा मलाई लाग्यो, गाउँतिर केही काम परेर छिरे होलान्।
तर उनी हाम्रै घरको दैलोतिर सोझिए। यसअघि कहिल्यै हाम्रो घर नटेकेका बाहुन बाजे देख्दा म र बहिनी अचम्मै पर्यौं।
सोच्यौं, आमाबुबासँग केही काम होला।
बहिनीलाई सिकाउँदै भनेँ, 'आमाबुबा घरमा हुनुहुन्न भन्देऊ है।'
तर ती बाहुन बाजेले मूलढोकामा पूजा गरी नागको तस्वीर टाँस्न थाले। बहिनी र म हेरिरह्यौं। अप्ठ्यारो पनि लाग्यो। पहिलोपटक देख्दै थियौं हामी यो दृश्य।
यसअघि जनैपूर्णिमा होस् या नागपञ्चमी, दलित समुदायकै पूजारी घर आउँथे।
बाहुन बाजे देखेर मनमा एक किसिमको हर्षले बास गरिरहेको थियो। जुन परिवर्तन हामीले चाहेका थियौं, त्यसको संकेत देखिएको थियो।
त्यति बेलै झलक्क याद आयो, गत वर्ष दैलेखमा भएको घटना।
त्यहाँ दलित समुदायलाई रक्षाबन्धन बाँध्दैनौं भनेर ब्राह्मणहरूले घोषणै गरेका थिए। रेडियोबाट सूचना समेत बजाए। त्यो कुराले खुबै चर्चा पायो। सडकदेखि संसदसम्म पुग्यो, जुन एकदमै लज्जास्पद थियो। ती दैलेखका ब्राह्मणहरूलाई हाम्रो घरमा आएका यी बाहुन बाजेको उदाहरण भन्न मन लागिरहेको छ।
बाहुन बाजेले पूजा गर्दा बहिनीले फ्याट्ट भनिहालिन् 'आमा घरमा हुनुहुन्न'।
सायद उनले बुझेछन्।
'मैले दिने आर्शीवाद दिएको छु। छ भने चामल र केही दक्षिणा देऊ, छैन भने परेन,' उनले भने।
यसरी बाहुन बाजेले भनेको सुन्दा मेरो छाती गर्वले फुलिरहेको थियो। मनमा अनौठा कुरा खेलिरहे। अनौठो प्रशन्नता र शान्ति छाइरहेको थियो। कौतुहलता पनि धरै थियो।
बहिनी घरभित्र पसिन्। थालीमा चालम लिएर निस्किइन्। मैले खल्तीबाट केही दक्षिणा निकाले र बाजेलाई दियौं। बाजे हँसिलो अनुहार लगाएर सहर्ष चामल र दक्षिणा स्वीकारेर जाँदा औधी खुसी लाग्यो।
मनमा अनेकौं कुरा खेलिरहेकै थियो। त्यतिकैमा बाहुन बाजेसँग सेल्फी खिच्न मन लाग्यो। दलित समुदायप्रति घृणित स्वभाव र फरक व्यवहार देखाउने र फरक सोच राख्ने ब्राह्मणहरूलाई सम्बोधन गर्दै फेसबुकमै स्टाटस लेखूँ कि भन्ने भयो। तर यो उचित ठानिनँ।
बरू अर्को कुरा नियाल्न मन लाग्यो।
उनी हाम्रो घरबाट फर्किए। उनी क–कसको घरमा पस्छन् भनेर हेरिरहेँ। दलित बस्तीका स–साना झुपडीमा पनि पुग्छन् की ढलानवाला घरमा मात्रै? मेरा नजरले भ्याएसम्म दलित समुदायका झुपडीमा पुग्न भ्याएका ती बाहुन बाजेलाई म हृदयदेखि सम्मानसहित धन्यवाद दिन चाहन्छु।
साच्चिँकै समाज बदल्न व्यवहार र सोच बदल्नु जरुरी छ। नतिजा, हामीले चाहेको सभ्य समाज प्राप्त गर्न सक्छौं।
जातीय असमानताको जरो उखेल्न हरेक दलित र गैरदलित व्यक्तिको सोच र व्यवहार परिवर्तन हुन जरुरी छ। कसले जबर्जस्ती गरेको थियो र ती बाहुन बाजेलाई दलितका घरघरमा गई पूजा गर्न? दलित र गैरदलितबीच भिन्नता मेटाउन अघि बढेका उनका पाइला उनको सभ्य सोच र परिवर्तित विचारधाराको ऐना हो।
हुनत यसअघि ब्राह्मणहरू दलित समुदायमा नआएकै भने होइनन्। मलाई याद छ, घरमा धेरै अशुभ क्रियाकलाप भएको भन्दै आमाले एक जना 'अक्षता हेर्ने बाहुन'लाई बोलाउनु भएको थियो।
गर्मीको समय, छिनछिनमा प्यास लाग्थ्यो। त्यो बेला अक्षता हेर्न आएका बाहुन पानी समेत नपिई दक्षिणा (पैसा) खल्तीमा राखेर फर्किएका थिए।
उसो त हामीले केही खान अनुरोध नगरेका होइनौं, उनैले केही नखाने भने।
भन्न त मन थियो, 'तपाईंले दलितको घर भनेर पानी खान समेत अस्वीकार गर्नुभएको हो?'
भनिनँ। व्यक्तिको इच्छा छैन भने उसको स्वतन्त्रता हो। तर उनको स्वतन्त्रताले म र मेरी आमालाई अपमान महशुस गराएको थियो।
यसरी एकै समुदायका दुई बाहुनको फरक विचारधाराले हाम्रो समाज प्रतिनिधित्व गरिरहेको छ। अहिले पनि जातीय विभेदका घटना भइरहेका छन्। सार्वजनिक धारामा गाग्री छोएकै नाउँमा दलित नागरिक कुटिइरहेका छन्।
अस्ति भर्खरै दैलेखमा एक दलित महिलामाथि धारामा पानी छोएको निहुँमा हँसिया प्रहार भयो। अहिले पनि उनलाई निको भएको छैन। जुन गैरदलित महिलाले उनीमाथि प्रहार गरेकी थिइन्, उनीहरू जस्ताले मेरा घरमा आएका बाहुन बाजेबाट पाठ सिक्नुपर्छ।
अहिले दलित समुदायको संघर्ष भनेको सँगै धारामा गाग्री ठोकेर भर्नु होइन, मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनी आन्दोलन गर्नु होइन, विद्यालयमा गैरदलित विद्यार्थीसरह बेन्चमा बस्न पाउनुपर्छ भन्ने होइन, किनकि यस्ता सवाल न्यून भइसकेका छन्।
अबको दलित समुदाय सचेत बन्दै गएको छ, परिवर्तनको संघारमा छ। तर जातीय विभेदका घटनामा कमी आएको छैन।
अबको जातीय विभेद सम्बोधन गर्ने शैली, अवसर प्राप्ती र दलित समुदायका छोराछोरीप्रति गरिने विश्वासमा पनि देख्न सकिन्छ।
हुन त शैलीमात्र फेरिएको हो, अवस्था उस्तै। जातीय विभेदका भिन्न स्वरुप अझै पनि देखा परिरहन्छन् जुन महशुस गर्न सकिन्छ, शब्दमा उतार्न सकिँदैन।
केही घटना प्रत्यक्ष देखा परिरहेका छन्।
फेरि तिनै बाहुन बाजेलाई जोड्न मन लाग्यो जो हाम्रो घर आएर पूजा गरेका थिए। यदि हरेक गैरदलितले कसैको दबावमा नआई स्वस्फूर्त परिवर्तनका पाइला अगाडि बढाउने हो भने एक दिन यस्तो समय आउने छ जब नेपालभर जातीय विभेदका घटना कथा मात्र हुनेछन्।
तर पुरातन जातीय सोच परिवर्तन भइसकेको छैन। दलित समानता सुनिश्चित गर्न गैरदलित समुदायको महत्वपूर्ण भूमिका रहन्छ। राज्यका संवैधानिक निकायले जिम्मेवारीपूर्वक भूमिका खेल्न जरुरी छ।
पीडितलाई न्याय र पीडकलाई सजाय हुने भए मात्र पीडितले न्यायको ढोका ढकढक्याउन सक्छन्। अनि मात्र समाजमा जातीय भेदभाव तथा छुवाछुत जस्ता अपराधिक गतिविधि कम हुनसक्ला। दलित समुदायले पनि म सानो जातको हुँ भन्ने सोचलाई हटाउनु जरुरी छ। परिवर्तन र समाज रुपान्तरणका लागि दलित र गैरदलित दुवैले स्वस्फुर्त सोच र विचारमा परिवर्तन ल्याउनुपर्छ।
परिवर्तनका पाइला आफैंबाट सुरू गर्नु उत्तिकै महत्वपूर्ण छ। परितर्वनका एक पात्र बाहुन बाजेलाई मुरी मुरी धन्यवाद।