आधुनिक युगमा सबभन्दा पहिले आतंकवाद शब्दको प्रयोग स्पेन र आयरल्याण्डमा सामान्य जनतामाथि भएको ज्यादतिलाई जनाउन गरिएको थियो।
त्यतिबेलासम्म अहिले भनिने मुस्लिम आतंकवादको अत्तोपत्तो पनि थिएन। हुन त १९४० को दशकको अन्तदेखि नै इजरायलले आफ्नो भूभागमाथि कब्जा जमाएपछि त्यहाँका मुस्लिमहरूले विरोध गरेका थिए र त्यसपछि त्यहाँ युद्ध पनि भएका थिए र अझै पनि हुँदैछन् तर ती युद्ध आतंकवादसँग जोडिएका थिएनन्।
१९७० को दशक सकिनै लाग्दा सोभियत संघलाई अफगानिस्तानबाट भगाउनको लागि त्यहाँका सरकार विरोधी नेताहरूले मुस्लिम धार्मिक नेताहरूलाई उचालेर उनीहरूसँगै विद्रोह गरे। सोभियत संघसँगको दुश्मनीले गर्दा त्यो विद्रोहलाई अमेरिकाले नैतिक र आर्थिक सहयोग मात्र गरेन, कतिपय मुस्लिम विद्रोहीहरूलाई तालिम पनि दियो।
त्यसमा निकै ठूलो सहयोगी भूमिका निभायो-पाकिस्तानले।
लगभग एक दशक जति चलेको त्यो युद्धमा सोभियत संघले हार बेहोर्नु पर्यो अनि उनीहरू अफगानिस्तान छोडेर गए। तर त्यसले अर्को जटिल समस्या उब्जायो- नयाँ राजनीतिक र धार्मिक शक्तिको उदय।
अमेरिकाको सहयोगमा जन्मेका तिनै शक्तिहरू पछि विभिन्न आतंकवादी समूहको रूपमा संगठित भए। त्यति बलियो सोभियत संघलाई हराएर अफगानिस्तानबाट लखेट्न सफल भएपछि अफगानिस्तानमा लडाइँ लडेका केही मुस्लिम नेताहरूमा राजनीतिक आकांक्षाले जन्म लियो र त्यो आकांक्षालाई पूरा गर्न उनीहरूले धर्मको प्रयोगलाई सजिलो बाटो देखे।
आफ्नो धर्म र संस्कृतिलाई गैर मुस्लिम विश्वबाट निकै ठूलो खतरा छ र त्यसलाई लडाइँले मात्र जोगाउन सकिन्छ भन्ने गलत सन्देश उनीहरूले फैलाए र उनीहरूले युद्धलाई आफ्नो उद्धेश्य पूरा गर्ने माध्यम बनाए।
धर्मको नाम जोडेको हुनाले उनीहरूले खडा गरेको संगठनमा कैयौं समर्थकहरूले साथ दिए। कुरानमा लेखिएका महान विचारहरूलाई जानेर या नजानेर तोडमोड गरेर आफू अनुकूल व्याख्या गर्दै युवाहरूलाई दिग्भ्रमित गराएर मुस्लिम आतंकवादको सुरूआत गरे।
त्यसपछि त तिनै अफगानिस्तानबाट आतंकवाद सुरू गरेकाहरूले अन्य मुस्लिम देशहरूमा पनि आफ्नो संगठन विस्तार गरेर अधिकांश मुस्लिम बाहुल्य भएका देशहरूमा जनताहरूलाई आतंकित पार्न थाले। त्यसमा घिउ थप्ने काम गर्यो- गल्फ युद्धले।
जसको कारण अमेरिकाले उत्पादन गरेका तिनै आतंकवादी समूहले अमेरिकालाई नै शत्रु देख्न थाले र योजनावद्ध रूपमा अमेरिकामाथि आक्रमण गर्न थाले।
त्यसपछि विभिन्न देशमा छरिएका तिनै आतंकवादी संगठनले आफ्नो संगठन विस्तार गर्दै मुस्लिम बाहुल्य देशमा मात्र होइन, संसारका विभिन्न देशहरूमा आतंक मचाउन थाले। त्यसैको पराकाष्ठा थियो सन् २००१ सेप्टेम्बर ११ को सम्झँदै कहाली लाग्ने आतंकवादी हमला।
आफैंले खनेको खाल्डोमा आफैं परेको अमेरिकाले त्यो हमलापछि मुस्लिमविरूद्ध गरेको प्रचारबाजीले त्यतिबेलादेखि नै आतंकवाद भनेकै इस्लाम हो भन्ने सबैलाई भ्रम हुन थाल्यो र अझै पनि त्यो भ्रम घटेको छैन बरु बढ्दै छ।
सोभियत संघसँग बदला लिन अमेरिकाले गरेको त्यही गल्तीले गर्दा हुन त अहिले संसारका अधिकांश आतंकवादी संगठनहरूका नेताहरू मुस्लिम नै छन् र त्यसैले गर्दा आतंकवाद भनेको मुस्लिम नै हो भनेर व्याख्या गर्न अमेरिका र यसका सहयोगीहरूलाई सजिलो भएको छ तर आतंकवादबाट सबभन्दा पीडित हुने जनतामा अमेरिकन होइन मुस्लिमहरू नै छन्। त्यसैले मुस्लिम धर्म र यसका सच्चा अनुयायीहरू अमेरिका र आतंकवादीहरू दुवैतिरबाट च्यापिएका छन् र सामान्य मुस्लिमले न त अमेरिकाको प्रोपोगान्डा मन पराउँछन् न त मुस्लिमको नाम दुरूपयोग गरेर फैलाइएको आतंकवाद नै।
मैले आफैंले पनि केही मुस्लिमहरूसँग संगत गर्दा त्यो कुरो अनुभव गरेको छु।
आइएससी पढ्दा मलाई गणितको ट्युसन पढाउने शिक्षक हुनुहुन्थ्यो- कपिलवस्तुका निशार अहम्मद।
मैले जीवनमा कहिले बिर्सन नसक्ने शिक्षकहरूमध्ये उहाँ पनि एक हुनुहुन्छ। उच्च शिक्षाको लागि पहिलो पटक विदेश जानुभन्दा अघिल्लो दिन म उहाँलाई भेट्न गएको थिएँ।
त्यो बेला उहाँले मलाई भनेको कुराले मेरो उहाँप्रतिको आदर झन् बढ्यो। उहाँले मलाइ ‘विदेश जानु भन्दा पहिले पशुपतिनाथको दर्शन गरेर जाऊ’ भन्नु भएको थियो।
दोस्रो दिन समयको अभावले गर्दा म पशुपतिनाथको दर्शन नगरी नै विदेश उडेँ, तर उहाँको त्यो भनाइ मैले आजसम्म पनि बिर्सन सकेको छैन। उच्च शिक्षा हासिल गर्न आधिकारिक रूपमा धर्म नमान्ने देशमा पुगे पनि संयोग नै मान्नु पर्छ मेरो पहिलो रात ताजिकिस्तानको एकजना मुस्लिम विद्यार्थीसँग बित्यो।
पहिलो रात मात्र होइन, त्यस पछिको एक वर्ष हरेक रात मैले त्यही साथीसँग छात्रावासको हामी दुई साझा कोठामा बिताएँ।
मैले पहिलो पटक आफ्नो कोठामा मुस्लिम मान्छे देख्दा नढाँटेर भन्नुपर्दा मलाई पनि त्यही कुराको याद आएको थियो जो अधिकांश आफूलाई जान्ने सुन्ने बताउने गैरमुस्लिमलाई आउँछ- मुसलमान अर्थात् आतंकवाद।
तर मसँगै बस्ने साथीसँग संगत गर्दै जाँदा मेरो ऊप्रतिको र समग्रमा मुस्लिमहरू प्रतिको त्यो पूर्वाग्रह बिस्तारै मेटिँदै गयो।
केही दिनपछि हाम्रो कक्षा सुरू भयो, कक्षामा पनि मेरा दुई जना साथीहरू मुस्लिम नै थिए, एक जना थियो पाकिस्तानको- अकिल अनि अर्को थियो अरबियन देशको- गरादी।
हामी तीन जना निकै मिल्थ्यौं। त्यसको छ महिना पछि हिउँदको बेला छ महिनाको तालिम कोर्सको लागि अर्को एकजना पाकिस्तानी विद्यार्थी आयो। नाम थियो तारिक।
त्यो वर्ष रमादान हिउँदमा परेको थियो।
ऊसँग मैले पनि रमाइलोको लागि रोजा राखेको थिएँ। हिउँदको समय, छोटा दिन, त्यसैले रोजा राख्न केही गाह्रो थिएन।
उसको लहलहैमा लागेर म शुक्रबार कहिलेकाहीँ मस्जिद पनि जान्थें अनि उनीहरूसँगै प्रार्थना गर्थें। मलाई न त त्यो प्रार्थनाको विधि थाहा थियो न त त्यसको अर्थ तर मैले उनीहरूले जे गर्थे त्यही नक्कल गर्थें। उनीहरूसँग मस्जिद जाँदा मलाई निकै रमाइलो लाग्नुको साथसाथै आनन्द पनि आउँथ्यो। तारिक छ महिना पछि पाकिस्तान फर्क्यो तर ऊसँग बिताएका ती छ महिनाहरू मेरो जिन्दगीका सबभन्दा रमाइला क्षणहरूमध्ये पर्छन्।
दोस्रो वर्षमा गएर मलाई आफूले पढेको विषय परिवर्तन गर्न मन लाग्यो म कम्युटर विज्ञान पढ्न लागें भने मेरो ती दुई जना मुस्लिम साथीहरूले विषय परिवर्तन गरेनन् र मेरो उनीहरूसँगको सम्बन्ध अलि टाढा भयो। केही समयपछि मैले पनि एक्लै बस्ने कोठा पाएँ।
मैले छुट्टै एउटा कोठा पाएर एक्लै बस्न थाले पछि साथीहरूको लहलहैमा लागेर गर्ने गरेका मेरा ती मेरा ‘धार्मिक’ क्रियाकलापहरूमा पुरै विश्राम लाग्यो। पढाइको पनि चाप बढ्दै गयो अनि त्यतातिर मेरो ध्यान लगाउनको लागि साथीहरू पनि भएनन्।
तर मैले स्नातकोत्तर पढ्न लाग्दा फेरि एउटा अरबियन मेरो ‘क्लासमेट’ भएर आयो। उसको नाम थियो- सैफ।
निकै रमाइलो साथी थियो ऊ। अति मिलनसार र सहयोगी पनि। साथीको लागि भने पछि ज्यान पनि फाल्न तम्सने। त्यत्तिकै मिजासिलो र हँसिलो पनि।
उसको र मेरो संगत हाम्रो कक्षा सुरू भएको पहिलो दिनदेखि नै सुरू भयो अनि पुरै स्नातकोत्तर पूरा नगर्दासम्म अटुट रह्यो ।
उसको साथ लागेर मेरो मस्जिद जाने काम फेरि सुरू भयो, पहिले भन्दा झनै बढी । उनीहरूका हरेक साना ठूला पर्व र जमघटहरूमा म ऊसँगै रमाइलो गर्न जान्थें। यस्तो लाग्थ्यो म उनीहरूकै जमातको भैसकेको थिए, उनीहरू सबैले मलाई चिनिसकेका थिए।
तर उनीहरू कसैले पनि मसँग धर्मको बारेमा कुरा गरेनन्, आफ्नो धर्मको बारेमा बढाई चढाई गर्ने कुरो त परै जाओस्। उनीहरू सबैलाई थाहा थियो म को हुँ, कहाँबाट आएको हुँ, मेरो धार्मिक आस्था के हो भन्ने तर कसैले पनि झुक्किएर पनि मलाई अनादर गर्ने काम गरेनन्। उनीहरूको र मेरो सम्बन्ध शुद्ध मित्रताको थियो, मानवता, सम्मान र सद्भावको थियो।
मलाइ थाहा थियो मैले उनीहरूका देवता र देवदूतको बारेमा केही नराम्रो भनेमा उनीहरू रिसाउँछन्। त्यो बाहेक अरु सबै कुरा मैले उनीहरूसँग गर्न सक्थे। तर उनीहरूको धर्मको बारेमा कुरा गर्नु मेरो सरोकारको विषय पनि थिएन। हाम्रो मित्रता एकअर्काप्रतिको आदरमा अडेको थियो त्यसैले पनि होला मेरो उनीहरूसँगको मित्रता निकै नै सहज र रमाइलो रह्यो।
२००१ मा अमेरिकामा सेप्टेम्बर ११ को आतंकवादी हमला भयो।
मुस्लिमहरूमाथि लगाइएको आतंकवादको धब्बा अझ कालो र ठूलो भयो, मुस्लिम र आतंकवादलाई पर्यायवाची बनाएर प्रचार गर्न झन् सजिलो भयो। तर सेप्टेम्बर ११ को घटनापछि पनि मेरो उनीहरूसँगको सम्बन्धमा कुनै आँच आएन। वास्तवमा उनीहरू आफैं आतंकवादबाट सबभन्दा पीडित थिए, आतंकवादको कारण अन्य देशका र अन्य धर्मका भन्दा धेरै मान्छे उनीहरूकै देशका र उनीहरूकै धर्मका मान्छे थिए। उनीहरूलाई पनि आतंकवाद स्वीकार्य थिएन।
हुन त म मुस्लिम देशमा बसेको छैन अनि मैले संगत गरेका सबैजसो मुसलमानहरू शिक्षित थिए, सबै मुसलमान मैले भेटेका जस्ता नहुन पनि सक्छन् तर तरकारी मीठो छ कि छैन भन्नलाई पुरै तरकारी खानु पर्दैन, अलिकति चाखे पुग्छ भन्ने कथनलाई सही मानेर मेरो व्यक्तिगत अनुभवको आधारमा म भन्न सक्छु कि यदि तपाईले उनीहरूको धर्म र संस्कृतिलाई आँच पुर्याउने कुनै काम गर्नु भएन भने मुस्लिमहरू साँच्चै नै मिलनसार र मित्रवत् हुन्छन्।
त्यति बेला मुस्लिम अतिवादीहरूलाई प्रयोग गरेर अमेरिकाले सोभियत संघसँग बदला लिएर आफ्नो अभिष्ट चाहना पूरा त गर्यो तर अहिले त्यही कार्य उसको टाउको दुखाइ भएको छ। अहिले सेप्टेम्बर ११ को घटनाको १८ औं वर्ष पूरा हुँदा मुस्लिम या अन्य कुनै पनि धर्म अथवा कुनै पनि जाति, भाषा, समुदायलाई प्रयोग गरेर आफ्नो राजनीतिक, धार्मिक र सांस्कृतिक स्वार्थ पूरा गर्न चाहनेहरूले यो पनि जान्न जरुरी छ कि आफूले खनेको खाल्डोमा अन्तमा गएर आफैं खसिँदो रहेछ ।