दसैं नै हो कि यो मेरो दशा फर्की आएको
वर्ष मै पिच्छे किन यो मेरो टाउको खाएको ......
जब जब दसैं आउँछ तब/तब यो गीत रेडियो, टिभी लगायतको सञ्चार माध्यमहरूमा घन्किन थाल्छ।
धेरै वर्ष अगाडिदेखि सुन्दै आएको गीत हो यो तर पहिला पहिला सुन्दा मनोरञ्जनको हिसाबले मात्रै सुनिन्थ्यो, सुन्यो रमाइलो गर्यो सकियो तर आज/यसपटक यो गीत सुन्दा सोच्न बाध्य भएँ, यो गीतले भन्या जस्तै दसैं साँच्चिकै दशा नै हो त?
असत्यमाथि सत्यको विजयको उत्सवको रूपमा मनाइने यो चाडलाई धार्मिकभन्दा पनि आत्मिकभन्दा बेस होला।
कामको सिलसिलामा, पढाइको सिलसिलामा घरबाट टाढा टाढा जानेहरू हरेक वर्ष दसैंमा आ-आफ्नो घर फर्किन्छन्, हाँस्छन्, गाउँछन्, रमाइलो गर्छन्, वर्षभरिको थकित शरीरलाई आराम दिन्छन्, वर्षभरिसम्म भेटघाट नभएका आफन्त, साथीभाइ, नातागोता एक ठाउँ भेला हुन्छन्। दु:ख सुखका कुरा गर्छन्, हाँस्छन् एक अर्काको भावना साटासाट गर्छन्।
वर्षमा एकपटक आउने यस महान चाडमा मीठो मसिनो खानै पर्यो, एक सरो नयाँ लुगा लगाउनै पर्यो, आफन्तकोमा जाँदा कोसेली लानै पर्यो, आफ्नामा आएकालाई टीको लगाएर दक्षिणा दिनै पर्यो, यस्तै यस्तै आवश्यकता एकै पटक हाम्रोसामू आइपर्दा र यी आवश्यकताहरूलाई पूरा गर्नको लागि चाहिने आवश्यक पैसाको जोहो गर्न नसक्दा साँच्चिकै दशा नै आए जस्तो हुन्छ र यिनै र यस्तै कुराहरूले गर्दा गीतमा दसैंलाई दशा भनिएको होला जस्तो लाग्छ।
तर समय फेरिएको छ, आवश्यकता फेरिएको छ र दसैंमा आउने दशाको स्वरूप पनि फेरिएको छ।
खाने लगाउने र रमाइलोको पर्यावाचीको रूपमा लिइन्थ्यो दसैंलाई तर अब खान लगाउन र रमाइलो गर्नको लागि दसैंलाई नै पर्खनु पर्ने समय रहेन।
गाउँ गाउँ तथा सहरहरूमा खुलेका होटल, रेस्टुरेन्ट, पार्क, घरघरमा भएको टिभी, घरको छानामा जोडिएको डिस, यातायातको विस्तार, हातहातमा रहेको स्मार्ट मोबाइल , इन्टरनेटले आजकल दसैंको आवश्यकताहरूलाई परिपूर्ति गरिरहेको छ।
यस हिसाबले आजकल दसैंले ल्याउने दशाको परिभाषा पनि बदलिएको छ।
आजकल दसैंमा देखिने दशाहरू भिन्न हुँदै गैरहेको छ।
महिना दिन अगाडिदेखि बुक गर्नुपर्ने बसको टिकटको दशा, महिनै पिच्छे नयाँ लुगा लगाइरहने छोराछोरीलाई दसैंको लुगाले मात्र खुसी दिन नसक्दा नयाँ मोबाइल किन्नुको दशा, श्रीमतीको लागि नयाँ गहना बनाइदिनुको दशा , १२ घन्टाको दूरी जाम र अस्तव्यस्त सडकको कारण २४ घन्टामा पनि यात्रा पूरा गर्न नसक्नुको दशा, गाउँघरमा पुगेपछि त्यहाँ घटेका विभिन्न घटनाहरूको पीडा सुन्नुको दशा, सरकारले दसैंको छुट्टी खुम्चाएको कारण हतार हतार फर्कनुको दशा ....आजकल दसैंमा यस्तै यस्तै दशाहरू झेल्नु परिरहेको छ र सायद यही कारणले योगेश्वर आमात्यको गीत ‘दसैं नै हो कि यो मेरो दशा ...’ आज पनि उत्तिकै सार्थक बनेको छ