सधैं झैं यस पटकको दसैं जमघटमा पनि धेरै नेपालीहरूसँग भेटघाट भयो।
नेपालीको जमघटमा दुइटा कुरा छुटेको हुँदैन-पहिलो कुरो रक्सी र दोस्रो कुरो राजनीतिक गफ।
यदि कसैको घरमा पारिवारिक सानो जमघट भयो भने त्यसमा अर्को कुरा पनि थपिन्छ- त्यो हो तास। तासमा पनि म्यारिज नै।
सानो जमघट होस् या ठूलो,नेपालको राजनीतिको कुरा जहिले पनि गफको केन्द्रमा हुन्छ।
नेपालको अहिलेको राजनीतिको विषयमा विदेशमा बस्ने मसहित प्राय: सबैको तर्क एउटै हुन्छ- अहिलेका नेताहरू निकै भ्रष्ट र अनैतिक भए? यिनीहरूबाट देश विकास हुने सम्भव छैन।
ओलीले केही गर्लान् कि जस्तो लागेको थियो तर उनी पनि अरु जस्तै कान चिरेको जोगी निस्के। भ्रष्टाचारीहरूलाई कारबाही नहुनुमा यिनै नेताहरू आफैं मुछिएकाले हो। त्यसैले सबै नेताहरूलाई फाँसी दिनुपर्छ। अनि मात्रै देश बन्छ।
‘सिस्टम नै छैन कसरी हुन्छ?’ एकजनाले सिसाको गिलासको रक्सी सिनित्त पारेर आफ्नो धारणा व्यक्त गरे।
‘किन छैन सिस्टम? कसैले माने पो? जसले सिस्टम बनाउँछ उसैले मान्दैन अनि जनताले कसरी मानुन्?’अर्का एक जनाले टिप्पणी गरे।
म सुनिरहेको मात्र थिएँ। बोल्नुमा भन्दा मलाई रक्सी मै दिलचस्पी थियो। अनि तास खेल्न नपाएर मन खिन्न पनि थियो। उनीहरूको गफभन्दा पनि म अल्टर टनेला र भुइँ म्यारिज परेको सपनामा भुल्दै थिएँ।
उनीहरूले देश विकासका मोडेलहरू प्रस्तुत गर्दै थिए। कसैले चीनको उदाहरण दिन्थे भने कसैले सिंगापुरको अनि कसैले भारतले गर्दै गरेको विकास। गफ अन्तमा गएर नेताहरूमा टुंगिन्थ्यो- नेताहरू बदमास भएकोले देशको यो दुर्दशा भएको हो।
त्यहाँ जमघटमा भएका नेपालीहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो कि त्यहाँ जम्मा भएका उनीहरू नै नेपालका सबभन्दा देशभक्त नागरिक हुन् अनि उनीहरूलाई नै नेपालको विकास र सुशासनको सबभन्दा बढी चिन्ता छ। नेपालको अविकास र कुशासनले सबभन्दा धेरै उनीहरूलाई नै पिरोलेको छ।
मैले त्यहाँ भेला भएका धेरैलाई नियालें।
धेरैजसोले विदेशी नागरिकता लिइसकेकाथिए। अरु बाँकी जसरी भए पनि विदेशको नागरिकता या ग्रीन कार्ड लिने चक्करमा थिए। विदेशी नागरिकता लिइसक्दा पनि उनीहरूले नेपालप्रति लिएको चिन्ता देख्दा त्यहाँ उनीहरूको देशभक्ति प्रष्टिन्थ्यो।
उनीहरूले गरेको कुरो एकदम ठीक थियो र म पनि त्यसमा सहमत थिएँ। भ्रष्ट र अनैतिक नेताले देश बिगारेका थिए। तर देश सपार्नेहरू कहाँ छन् त?
उनीहरूको कुरोको सार थियो- देश सपार्न सक्नेहरू जति सबै त्यही जमघटमा रक्सीका गिलास समातेर गफ चुट्दै भुलेका थिए। मानौं उनीहरूले सत्ता हातमा लिएमा जादूको छडीको असर जस्तै एक रातमै देशले विकासको कायापलट गर्छ।
त्यसैबीच दसैं मान्न र छोरा बुहारी भेट्न नेपालबाट आएका एकजना साथीका बुवाले भने,‘तपाईंहरू यहाँ बसेर देश विकासको कुरो गर्नुहुन्छ, नेता र कर्मचारीहरूलाई गाली गर्नुहुन्छ तर तपाईंहरूले आफ्नो तर्फबाट चाहिँ देशको लागि के गर्नुभएको छ त? तपाईंहरू जस्तो पढेलेखेको, जाने बुझेको मान्छे त यसरी अरुलाई गाली गरेर बस्नु भन्दा देशमा केही न केही नयाँ काम गरेर देखाउनुस् न। उद्योग कलकारखाना खोल्नुस्। अरुलाई रोजगारी दिनुस्। त्यसैगरी हुने त हो नि देशको विकास। यसरी कुरा मात्रै गरेर बसेपछि तपाईंहरू पनि नेपालका नेता भन्दा कति फरक हुनुभयो त?’
उनको त्यो टिप्पणीले सबैमा एकाएक सन्नाटा छायो। सबै मुखामुख गर्न थाले।
उनको टिप्पणीले मलाई मनमनै रिस उठ्यो। म धेरै बोल्ने मान्छे होइन त्यसैले पनि तुरुन्तै आफ्ना विचार व्यक्त गर्ने हिम्मत आएन। मलाई स्पष्ट थाहा छ नेपालमा बस्ने ‘ठूला’ भनाउँदाहरू सबै भ्रष्ट र स्वार्थी हुन्। कुरा चाहिँ ठूला गर्छन् काम चाहिँ शून्य।
देशभक्ति भनेको उनीहरूलाई के थाहा! देशभक्ति भनेको त भित्र हृदयदेखि नै आउनुपर्छ। गफ गरेर, भाषण गरेर, जनतालाई उल्लु बनाएर आउने हो र? उनले आफूले चाहिँ के गरे देशको लागि? मैले उनलाई चिनेको त थिएन तर पक्कै पनि कुनै ठूलो पदको भ्रष्टाचारले गन्हाएको कर्मचारी भन्दा के होलान् र भन्ने मलाई लाग्यो। म आफू निकै देशभक्त भएकोमा गर्व छ। म देशप्रेमले ओतप्रोत छु जुन कुरो म कुनै पनि नेताहरूमार उनीजस्ता भ्रष्ट कर्मचारीहरूको मुहारमा देख्न र अनुभव गर्न सक्दिनँ।
म नेपालमा बसेका अधिकांश नेपालीहरू भन्दा पढे/लेखेकोछु, मैले सायद नेपालको भन्दा राम्रै कमाइ गरेको हुँला, राम्रोसँग परिवार पालेको छु, बच्चाहरूलाई राम्रो शिक्षा दिएको छु, भविष्यमा नेपाल फर्किने भनेर सबै पैसा नेपालमा जग्गामा लगानी गरेको छु। अझै कुनै देशको नागरिकता या ग्रीन कार्ड लिएको छैन। बुवा आमालाई पटक पटक विदेश ल्याइरहन्छु। यदि सबैले मैले जस्तै आफ्नो पौरखमा बाँचेर, भ्रष्टाचार नगरेर, नैतिकता नबेचेर काम गर्यो भने देश बन्न कति नै लाग्छ र?
त्यही सोच्दासोच्दै रक्सीको झोंकमा मेरो मुखबाट फुत्त निस्किहाल्यो- ‘गफ नछाँट्नुस् तपाईं पनि। देश बिगार्ने भनेका तपाईंहरू जस्तै देशमा बसेर केही काम नगर्ने अनि अरुलाई पनि काम गर्न नदिने कर्मचारी र नेताहरूले हो। यदि तपाईंहरूले देशमा राम्रो वातावरण बनाइदिएको भए हामी जस्ता दक्ष जनशक्ति विदेशिनु पर्थ्यो?’
हो,पढेलेखेको भनेर विदेशमा बस्ने हामी अरुभन्दा उच्च छौं भन्ने अहम र भ्रम म जस्तै धेरैमा छ। म या मजस्तै अरु पढे लेखेकाले सत्ता पाएमा देश विकास हुन्छ, सुशासन आउँछ भन्ने मलाई विश्वास छ।
‘ए उसो भए देश बिगार्ने नेता र कर्मचारीहरू मात्र हुन् हैन त ?’उनले मलाई चुनौती दिँदै सोधे।
मलाई आफूप्रति निकै विश्वास थियो, मैले पनि कुनै संकोच नमानी भने,‘हो,नेताहरू र कर्मचारीहरू स्वार्थी भएर, देशको माया नभएर, सबैले आफ्नो मात्रै पोल्टो भर्न खोजेर नै देशमा अहिलेको स्थिति आएको हो।’
‘त्यसको मतलब तपाईंहरू मात्रै निस्वार्थी र देशभक्त हैन त?’ उनले खिसी गरेको पारामा सोधे।
अरुहरू सबै चुप थिए। उनको र मेरो वादविवाद ठूलै होला जस्तो देखिन थालेको थियो। मलाई उनको मुखमा बुझो लाग्ने गरी ‘हो’ भनेर जवाफ दिन मन लागेको थियो तर आफ्नो बढी नबोल्ने बानीले मलाई रोक्यो। मैले उनको प्रश्नको उत्तर नदिएर ‘तपाईं जसरी बुझ्न चाहनुहुन्छ त्यसै बुझ्नुस्’ भनेर पन्छिएँ।
तर उनको त्यो प्रश्नले रक्सीको नशामा पनि मलाई गम्भीर भएर सोच्न बाध्य बनायो-के साँच्चै म निस्वार्थी र देशभक्त छु त?
किन छैन? अवश्य छु। मेरो रगतको थोपा थोपामा नेपाल बगेको छ। म हरेक दिन नेपालको बारेमा सोचेर चिन्तित हुन्छु। हरेक दिन नेपाली समाचार पढ्छु र तिनमा टिप्पणी पनि गर्छु। नेपाली गीत सुन्छु, घरमा धेरैजसो नेपाली खाना खान्छु। नेपालमा मान्ने हरेक पर्वमा पूजा गर्न नसके पनि तिनलाई मनले सम्झिन्छु।
एक दुई वर्ष बिराएर नेपाल पुगेकै हुन्छु। नारायण गोपालका आधुनिक गीत र गोपाल योन्जनका राष्ट्र भक्तिका गीत सुन्छु। कहिलेकाहीँ देशमा कसरी विकास गर्नुपर्छ भनेर आफ्ना विचारहरू पनि राख्छु। विदेशमा बसेर त्यो भन्दा बढी के गर्नु?
‘तर के त्यति मात्र हो त देशभक्ति?’ म फेरि सोच्न थालें।
मलाई देशले पढायो, ज्ञान दियो, आफ्नो खुट्टामा उभिन सक्ने बनायो तर देशको लागि केही गर्नुपर्ने बेलामा म चाहिँ विदेशमा बसेर आफ्नो र परिवारको मात्र स्वार्थ हेरेर आरामदायी जीवन बिताउँदै छु।
न त ममा नेपालमा पसिना बगाएर जीवन गुजार्न सक्ने हिम्मत छ न त नेपालको विकासप्रति वास्ता। डुब्न लागेको डुंगाबाट मुसाहरू भागे जस्तै म पनि नेपालमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भएको हुँ। त्यही हो मेरो अहिलेको वास्तविकता।
के मेरो देशभक्तिको परिभाषा त्यही हो त?
के म नेपालको स्वार्थभन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर विदेशिएको हैन र?
के म विदेशमा छोराछोरी पढाएपछि उनीहरूको भविष्य राम्रो होला भनेर यहाँ बसेका हैन र?
के नेपाली बोल्दा मलाई अलि अप्ठ्यारो लाग्ने भैसकेको कुरो सत्य होइन र?
के छोराछोरीको अंग्रेजी बिग्रन्छ भनेर श्रीमती र म पनि घरमा अंग्रेजी नै बोल्न थालेको सत्य हैन र?
के विदेशमा नाकमा डोरी लगाएर नियम पालना गर्ने म नेपाल जाँदा चाहिँ नियम तोड्नुमा आफूलाई महान् ठान्दै अध्यागमनमा कर्मचारीले आवश्यक कागजात खोज्दा होस् या ट्राफिक प्रहरीले लाइसेन्स हेर्दा होस् उल्टै आफ्नो फूर्ति देखाएर उनीहरूलाई सत्तो सराप गर्ने म नै हैन र?
के विदेशमा निकै सभ्य र इमान्दार भएर काम गर्ने तर नेपालमा आफ्नै दाजुभाइ र साथीहरूको प्रगतिमा इर्ष्या लागेर कसरी उनीहरूलाई खुट्टा तानेर तल झार्न सकिन्छ भनेर सोच्ने म नै हैन र?
के विदेश जाँदा भिसाको झन्झट नहोस् अनि कसैले नेपाल जस्तो अविकसित देशको नागरिक भनेर हेपेर कुरा गर्ने हिम्मत नगरोस् भनेर नेपालको पासपोर्ट त्याग्ने उद्धेश्यले हरेक वर्ष सुटुक्क डिभी भर्ने म नै हैन र?
त्यति मात्र हैन, मेरी श्रीमती तीजमा अंग्रेजी गीत लगाएर डान्स गर्छिन्।
उनले नेपाली साथीहरू भेट्दा समेत नमस्ते नगरेर गाला जोडेर म्वाइ खान्छिन्।
म पनि साथीहरू भेट्दा आधाभन्दा बढी अंग्रेजी शब्दहरू नै प्रयोग गर्छु। त्यसो गरेपछि मात्रै मेरो महानता स्पष्ट हुन्छ। नेपाली मात्र बोलें भने त्यहाँ म पाखे र असभ्य ठहरिन्छु भन्ने डर भित्रैदेखि छ।
छोराछोरीले नमस्ते बाहेक बढी नेपाली बोल्न सक्दैनन्। उनीहरूलाई दाल भातभन्दा बर्गर र बिफ स्टेक मीठो लाग्छ र दसैंभन्दा क्रिसमस रमाइलो लाग्छ।
नेपालमा बसेकाहरूले कसमेकम देशमा बसेर त कोशिस गरेका छन् तर म चाहिँ एउटा भगौडा सिपाही या भाडाको सिपाही जस्तो अर्काको देशमा आफ्नो पसिना बगाएर आफूलाई महान ठान्दै बसेको छु।
अहिलेको विश्वव्यापीकरण, व्यक्तिगत स्वतन्त्रता र व्यक्तिवाद हावी भएको यो समयमा जसले जसरी जीवन व्यतित गर्न चाहन्छ, जसले जहाँ जीवन व्यतित गर्न चाहन्छ उसको स्वतन्त्रताको कुरो हो।
देशको लागि सिन्का पनि नभाँचेर देशभक्तिको राग अलाप्नु पाखण्ड हो। गफ छाँट्नु र गफको विषयलाई आफ्नो दैनिकीमा चरितार्थ गर्नु धेरै भिन्न कुरो हो। भन्न जति सजिलो हुन्छ गर्न त्यत्तिकै गाह्रो।
जब कहिलेकाहीँ देशभक्तिको भावनाले छोपेर म भावुक बन्छु, त्यतिबेला मेरो व्यक्तिगत स्वार्थले तुरुन्त त्यो भावुकतालाई विस्थापित गर्छ।
अहिले कमाइरहेको पैसा, आरामदायक जीवन, छोराछोरीको पढाइ र भविष्य, नेपालको अस्तव्यस्तता सबै सोच्छु अनि मेरो स्वार्थले जहिले पनि मेरो देशभक्तिमाथि विजय हासिल गर्छ। त्यही पराजयलाई नै मैले आफ्नो देशभक्ति ठानेर बसेको छु।
तर म एक्लै चाहिँ छैन,म त एउटा प्रतिनिधि पात्र मात्र हुँ। विदेशमा बसेर देशभक्तिको भाषण गर्ने र त्यही अनुरूप आफूले पनि देशको सामाजिक र आर्थिक विकासको लागि दत्तचित्त भएर काम गर्ने नेपालीहरू एकाध होलान्, अरु सबै म जस्तै स्वार्थी हुन्।
उनीहरूले जानेर या अन्जानमा देशभक्तिको नाम बेचेका मात्रै हुन्। आफ्नो व्यक्तिगत स्वार्थलाई सबभन्दा माथि राखेर विदेशमा आफ्नो स्वार्थ पूरा गर्न बसेका हुन्।
यदि मैले र म जस्ता विदेशमा बस्ने नेपालीहरूले आफूलाई देशभक्त भन्न रुचाउँछन् भने फत्तेमान र पुष्प नेपालीले गाएको गीत ‘नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ, नेपाललाई के गरें मैले सोच्न थालिदेऊ’ मा भने जस्तै सोच्ने बेला आएको छ हैन भने बलेको आगो मात्रै ताप्ने मेरोजस्तो स्वार्थी देशभक्तिको कुनै अर्थ छैन।