कोरोना भाइरसको महामारीले विश्व आतंकित छ। यसको तीव्र संक्रमण रोक्नको लागि सबै देशहरूले आफ्नो क्षमताले धानेसम्मको पहल र प्रयास गरिरहेका छन्।
विश्व परिस्थितिलाई मूल्यांकन गर्दा अहिलेको अवस्थामा कोरोना रोकथामको मुख्य उपाय भनेको एक अर्का बीचको भौतिक दुरी कायम गर्नु नै हो जसलाई सामाजिक दुरी पनि भनिएको पाइन्छ।
बढीभन्दा बढी नमूना संकलन तथा परीक्षण गर्ने,लक्षणहरू देखिएकालाई आइसोलेसनमा राख्ने तथा भौतिक दुरी कायम राख्ने देशहरूले यसको तीव्र संक्रमणको रोकथाममा सफलता पनि पाइरहेका पनि छन्। एक अर्का बीचको भौतिक दुरी कायम गर्ने मुख्य आधार लकडाउन मानिएको छ।
विश्वको उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने भनेर दाबी गर्नेहरूले पनि आफ्नो सेवाभन्दा लकडाउनलाई नै विश्वास मानिरहेको अवस्थामा हामीसँग त झन् कुनै अर्कोतर्क र विकल्प नै रहेन।
अहिले हामी लकडाउनको दोस्रो हप्तामा छौं, लकडाउनको वास्तविक अर्थ जो जहाँ जसरी बसेको छ सोही रूपमा रहनु वा बस्नु हो। तत्काल भोग्न परेको विषम परिस्थितिबाट पार पाउनको लागि अधिकार प्राप्त निकायले लकडाउनको आदेश दिने गरेको पाइन्छ।
अहिले हामी यस्तै अवस्थाको कारणले लकडाउनमा छौं र यस्तो लकडाउनलाई प्रिभेन्टिभ लकडाउन भनिन्छ। व्यस्त जीवनशैलीबाट एकैपटक लकडाउनमा आउँदा हामीलाई समय बिताउन गाह्रो भएको छ र त्यो स्वभाविक पनि हो।
तर अहिले हामीसँग लकडाउनको कुनै विकल्प नभएको यथार्थलाई स्वीकार गर्दै सोहि अनुसार आफूलाई व्यवस्थापन गर्नु पर्ने गहन जिम्मेवारी आएको छ। जस्तोसुकै अवस्थालाई पनि आत्मसात गर्दै अगाडि बढ्नु मानव जातिको विशेषता नै हो तर अहिले सामाजिक सञ्जालका भित्ताहरू हेर्दा लाग्छ यो लकडाउनको समय बिताउन हामीहरूलाई धेरै नै गाह्रो भएको छ।
वर्तमान परिस्थितिलाई नियाल्दा यो लकडाउन कम्तीमा पनि नयाँ वर्ष (वैशाख १) सम्म लम्बिने देखिन्छ अब यो समयलाई एउटा अवसरको रूपमा उचित सदुपयोग गर्नु नै उत्तम र अन्तिम विकल्प हो र यसको सदुपयोग गर्ने केही आधारहरू तल उल्लेख गरिएको छ।यो समयमा योग,साधना,ध्यान,शारीरिक कसरत गरेर आफूलाई शारीरिक र मानसिक रूपमा तन्दुरूस्त राख्न सकिन्छ यसको लागि विभिन्न अनलाइन माध्यमको पनि सहयोग लिन सकिन्छ।
- सामान्य समयमा हामी विभिन्न काममा व्यस्त हुने भएकोले हामीसँग हामी आफैंले गरेको कामको मूल्यांकन गर्ने समय पनि हुँदैन त्यसकारण यो समयलाई आफ्नो स्व मूल्यांकनको लागि छुट्टयाएर अब आउने दिनहरूमा आफ्नो कार्यलाई थप व्यवस्थित र संगठित बनाउन यो समयलाई सदुपयोग गर्न सकिन्छ।
- हरेक व्यक्ति र उसका उपलब्धिहरू निजका विगतका कार्यको प्रतिफलको रूपमा रहेका हुन्छन्। तपाईं पनि यो समयमा आफ्नो विगत सम्झिने,रमाउने विगतबाट सिक्ने र विगतबाट सिकेको पाठलाई वर्तमानमा सामान्यीकरण गर्न सक्नुहुन्छ।
- घरको दराजमा थन्किएर बसेका किताब पढ्ने,कोठाको भित्तामा झुण्डिएका वाद्यवादनका साधन बजाउने, घरको आन्तरिक सजावट परिवर्तन गर्ने वा मिलाउने,घरमा सम्भव हुने तथा मनपर्ने परिकार तयार पार्ने,साहित्य लेखन तथा लेख रचना सिर्जना गर्ने आदि क्रियाकलाप गरी यो समयलाई सदुपयोग गर्न सकिन्छ।
- विपत्ति जहिले र जसरी पनि आउन सक्दछ अब आउने विपत्तिलाई कसरी सामना गर्ने र विपत्तिमा पनि दैनिकीलाई कसरी सहज भन्ने विषयमा पूर्वतयारी गर्नको लागि यो समय सदुपयोग गर्न सकिन्छ।
- आफूलाई रुची भएका विषयको अध्ययन गर्ने,समान रुची भएका साथीहरूको अनलाइन बुक क्लबको सदस्य बन्ने तथा गुगल आदिको प्रयोग गरी विभिन्न युनिभर्सिटीका छोटो समयमा पूरा गर्न सकिने अनलाईन कोर्स अध्ययन गर्न यो समयलाई सदुपयोग गर्न सकिन्छ।
- आफ्नो पेशा वा व्यवसायसँग सम्बन्धित विभिन्न अनुसन्धान प्रतिवेदनहरूको खोजी र अध्ययन गरी आफ्नो पेशालाई झन् परिस्कृत रूपमा अगाडि बढाउन यो समय सदुपयोग गर्न सकिन्छ।
- आफूसँग भएका महत्वपूर्ण कागजपत्र,शैक्षिक प्रमाणपत्र,पुराना तस्विरहरूलाई एक-एक गरी हेर्ने,मिलाउने र त्यसको डिजिटल प्रति बनाएर सुरक्षित राख्न यो समय सदुपयोग गर्न सकिन्छ।
- वर्ष २०७६ कसरी बित्यो मूल्यांकन गरी २०७६ मा आफ्ना सबल र सुधार्नु पर्ने पक्षहरू के-के रहे केलाउने र सोहीअनुसार आफूलाई परिमार्जित गरी अर्को वर्षको सुन्दर र पूरा गर्न सक्ने योजना बनाउन सकिन्छ।
- लकडाउनले हामीलाई सीमित पहुँचमा राखिदिएको छ यसबाट निराश हुनेभन्दा पनि यसलाई आफ्ना खराब बानी (भएको खण्डमा ) हटाउने अवसरको रूपमा प्रयोग गर्न सकिन्छ।
- वर्तमान समय सूचना र प्रविधिको समय हो। यदि तपाईं प्रविधिसँग अभ्यस्त हुनुहुन्न भने तपाईंको दैनिकी सहज नहुन सक्दछ। त्यसकारण परिवारका सदस्यको सहयोग लिएर आफूलाई प्रविधिमैत्री बनाउन यो समयलाई सदुपयोग गर्न सकिन्छ।
- परिवारका सदस्यबीच केही असमझदारी भएमा छलफल गरी सहज बनाउने,तथा पारिवारिक एकतालाई थप मजबुत बनाउने कार्य गर्न सकिन्छ।
यसका अतिरिक्त घरायसी काममा परिवारका सदस्यलाई सहयोग गर्ने, बालबालिकासँग अन्तर्क्रिया गर्ने उनीहरूका भविष्यका लक्ष्य तथा उद्धेश्यहरू भन्न लगाउने,आवश्यक सुझाव तथा सल्लाह गर्ने,सबै सदस्यको धारणा बुझेर पारिवारिक योजना बनाउने,आफन्तजनसँग फोन तथा सामाजिक सञ्जालमार्फत् कुरा गर्ने, खुसी रहने र बनाउने प्रयत्न गरी लकडाउनलाई समस्याबाट अवसरमा बदल्न सकिन्छ।