आजभोली फेसबुक खोल्दा कि कोरोनाकै कहर बारे पोस्ट तथा स्ट्याटसहरु देख्छु, कि त लकडाउन। कोरोनाको त्रास झल्कने कुराहरु, महत्वपूर्ण काम तथा योजनाहरु छुटेका पीडादेखि घरबाट निस्किन नपाएको आक्रोश, यस्तै यस्तै कुराहरु नै प्रायः देखिन्छ।
यस्ता असन्तुष्टि र दिक्क लागेर लेखिएको पोस्टहरु देख्दा मलाई नै दिक्क लाग्छ। तर यस्तो अवस्थामा पनि मेरी माँ (आमा)लाई भने सन्तुष्ट नै देख्छु। उहाँको अनुहारमा वर्षौपछि प्राप्त खुसी झल्किएको महशुस गरेकी छु।
यसको कारण के होला भनेर केही दिन अघिदेखि नै सोध्छु भन्ने मनमा थियो। बल्ल आज सोधेँ- 'माँ तपाईलाई यति धेरै दिन भईसक्यो घरमै बन्द भएको, दिक्क लाग्दैन?'
उहाँले मेरो जिज्ञासाको उत्तर केही समय पनि नलगाई दिनुभयो- 'अहँ छैन्, किन हुनु? म त ४१ वर्ष अघिदेखि नै त लकडाउनमा छु। मेरो लागि हिजो पनि तिमीहरुको लकडाउन जस्तै दिन र रात बित्ने गर्थ्यो र आज पनि यसैगरी बित्दैछ।'
माँको यस्तो प्रतिक्रिया आउँछ भन्ने सोचेकी थिइनँ।
'मलाई त झन् पारिवारिक जमघट गर्ने अवसर लागेको छ। म यसको भरपूर उपयोग गर्दैछु,' उहाँले मुस्कुराउँदै भन्नुभयो, 'मेरो लागि त योभन्दा दोब्बर कडा लकडाउन हुँदै आएको थियो। न कोही बोल्ने साथी थियो, न त सहयोग गर्ने सहयोगी हातहरु नै।'
वर्षौँपछि अहिले कमसेकम परिवारका सबै सदस्यसहित लकडाउन जस्तो संकट टार्दै बसेकोमा उहाँ खुसी हुनुहुँदो रहेछ। काममै व्यस्त रहने हामीसँग बात मार्ने अवसर पाएकोमा माँको अनुहार खुलेको रहेछ।
उहाँले भनेको यो कुरा म जस्ता युवाहरुको लागि लगभग नयाँ जस्तो नै लाग्न सक्छ। अहिलेका युवाहरु घरभन्दा बाहिर नै समय बिताएर रमाईरहेका हुन्छन् र भाग्यवस घरमै पनि रह्यो भने बिना मोबाइल वा ल्यापट, उनीहरुको हलचल नै गायब हुन्छ जस्तो मलाई लाग्छ। किनभने त्यसमध्ये म पनि एक हुँ।
म बाहिर कुनै काम नभएनि एकछिनको लागि भएपनि निस्किने गर्छु। तर मेरी माँलाई हेर्छु, उहाँको २४ घण्टा कति बेला बित्छ उहाँ स्वयंलाई थाहा हुँदैन। यतिसम्म कि उहाँको कामको अगाडि त्यो २४ घण्टा पनि सायद कम समय होला।
त्यसैले त सायद उहाँ अहिले पनि अन्य दिन जस्तै सृजनशील, र बिना कुनै मानसिक दबाबमा काम गरिराख्नु भएको छ। १० बज्नु अगाडि नै घरका सबै सदस्यहरु एक/एक गरी बाहिरिन्छन्। तर उहाँ भने घरमा एक श्रीमती, एक माँ र एक हजुरआमाको भूमिका निर्वाह गर्दै त्यसमै रमाएर समयलाई मात दिँदै अगाडी बढ्नुहुन्छ।
अहिले माँलाई म बाहेक घरमा कुनै न कुनै काममा बहिनी, भाउजुको सहयोग मिलेको छ। र उहाँ यसमै यति धेरै सन्तुष्ट हुनुहुन्छकी जस्तो संसारका सारा खुसी आज उहाँसँगै रहेको छ।
माँको अनुहारमा रहेको खुसी देखेर मलाई पनि केही न केही सन्तुष्टी भने अवश्य मिल्छ। कमसे कम उहाँलाई कुरा गर्ने, काममा हात बाड्ने कोही साथी त मिलेको छ। बरु यस्तो समयमा घरमा बसेर लकडाउनलाई लिएर मानसिक दबाबमा आफैँलाई राख्नुभन्दा पनि माँबाट धेरै कुरा सिक्न सकिदो रहेछ।
भविष्यमा कहीँ यस्तै परिस्थिति आईपर्यो भने कमसे कम उहाँजस्तै दबाब र तनाव नलिई खुसी र सन्तुष्ट भएर बस्नेछु भन्ने कुराको ज्ञान ममा आएको छ।