अहिले विश्वमा कोरोनाको कहर नामक नयाँ चलचित्र रिलिज भएको छ। धेरैले त्यो चलचित्र चाइनिज हो र छायांकन चाइनाको वुहान सहरमा भएको भन्छन्। चलचित्र हाल विश्वभरी प्रदर्शन भईरहेको छ।
नेपालमा पनि केही दिन अगाडि प्रदर्शनी भईसकेको छ र अझ केही दिन चल्न सक्ने आम नेपाली दर्शकहरुले अनुमान गरेका छन्। सरकारले उक्त चलचित्रलाई फ्लप गराउन अथक प्रयासहरु गरिरहेको छ। उक्त चलचित्रमा थुप्रै नायकहरु छन्।
ती मध्ये मुख्य नायकको भूमिकामा स्वास्थ्यकर्मीहरु छन् भने खलनायकको भूमिकामा नोभल कोरोना भन्ने विषाणु रहेको छ। आशा गरौं उक्त चलचित्रले आम नेपाली दर्शकहरुलाई हल (अस्पताल)सम्म तान्न असफल होस्।
हिरो भन्ने बितिक्कै गोरो, चिटिक्क परेको, खाईलाग्दो जीउडाल, चकलेटी अनुहार, लामो कपाल, स्टाईलिष्ट पहिरन, बोलीमा दम हुने व्यक्ति आउँछ होला सायद हामी सबैको मस्तिष्कमा।
हुन पनि हो, हामीलाई बचपनदेखि नै हिरो भन्या यस्तो हुन्छ, उस्तो हुन्छ भनेर हाम्रो समाज र संचार माध्यमहरुले खोपडीमा फिट गरिदिएको छ। तर कोरोनाको कहर चलचित्रमा हिरोका विशेषताहरु अल्लि फरक छन्।
नेपालमा नयाँ द्वन्द र संघर्ष कोरोनाले सुरु गरिदिएको छ। सामान्य हिसाबमा भन्ने हो भने कठिन परिस्थितिमा जसले बचाउँछ त्यही हिरो हो। जसले विषम् परिस्थितिको सफल तरिकाले सामना गर्छ, त्यो हिरो हो। जसले चुनौतीलाई अवसरमा र असहजतालाई सहजतामा परिणत गर्न सक्छ, त्यही हिरो हो।
सहजतापुर्वक परिस्थितिलाई सामना गर्न सक्छ, त्यहि हिरो हो। अहिले कोभिड-१९ ले विश्वभरी कठिन अवस्था सिर्जना गरिदिएको छ। अस्पताल र अन्य स्वास्थ्य संस्थाहरु अहिले कुनै युद्ध स्थलभन्दा कम छैनन्। अहिलेको अवस्थामा नागरिकलाई सुरक्षित राख्न महत्वपुर्ण जिम्मेवारी काँधमा राखी युद्दस्थलमा हिरोहरु होमिएका छन्।
घर, परिवार, माया, मोह, सबै त्यागेर कोरोना भाइरसलाई परास्त गर्न भूमिगत भएका छन्। यतिसम्म कि उनीहरु ढुक्कका साथ सकुशल फर्किन्छन् वा फर्किदैनन्, सजिलै भन्न सकिँदैन। राज्य र नागरिकलाई सकेसम्म स्वस्थ राख्नको लागि रणभूमिमा अग्रपंक्तिमा लडिरहेका छन्।
हो, तिनी त्यही स्वास्थ्यकर्मी हुन जो जनयुद्दको बेलामा पनि ज्यानको बाजी लगाएर दिनरात राज्यलाई सहयोग गरिरहेका थिए। हरेक संकट विपदमा अग्रपंतिमा गएर स्वास्थ्य सेवा प्रवाह गरिरहेका थिए।
स्वास्थ्यकर्मी भन्ने बितिक्कै राज्यबाट दोस्रो दर्जाको कर्मचारीको व्यवहार महशुस गर्न बाध्य भएका थिए, समायोजनको क्रममा सबैभन्दा धेरै पीडित थिए। काखमा बच्चा च्यापेर घन्टौँ मन्त्रालयको लाइनमा उभिन बाध्य भएका थिएर। नागरिकको दुखपीडा घाउमा मलहम पट्टि लगाउन सधै नागरिकसँगै भई रहन्थे।
सुरक्षित जीउ ज्यानको असुनिश्चितता बाबजुत पनि बिरामीलाई सुरक्षित पार्ने प्रयासमा लागि रहन्थे, जसको सेवा गर्थे उसैको आफन्तबाट भौतिक आक्रमणको सिकार हुन्थे। कहिल्यै कसैको राजनैतिक लाभको सिकार हुन्थे त कहिल्यै व्यवसायको।
हो हामी त्यही स्वास्थ्यकर्मी हौँ, जो अहिलेको युद्दस्थलको अग्रपंक्त्तिमा सबै कुरा बिर्सेर हिरो झैँ उभिएर युद्द लडिरहेका छौँ।
अहिलेसम्म स्वास्थ्यको इतिहास रट्या थियौँ, अब इतिहास रच्ने बेला आएको छ। प्रकृतिले नै समग्र स्वास्थ्यकर्मीहरुलाई एउटा सुनौलो अवसर दिएको छ। हिजोका दिनमा स्वास्थ्यकर्मीहरुमा जिम्मेवारी बोध भएन, संवेदनशीलता भएन, मानवता हरायो भन्नेहरुलाई गतिलो जवाफ दिन सक्ने अवसर प्राप्त भएको छ।
यति बेला पनि स्वास्थ्यकर्मीहरुले आफूलाई प्रमाणित गर्न सकेन भने यस्तो अवसर प्राप्त गर्न दशकौ कुर्नु पर्ने हुनसक्छ। भावी आउने स्वास्थ्यकर्मीको पीडितलाई प्रेरणाको पाठको विषयवस्तु बन्न सक्नुपर्छ। आफू संकटमा परेर पनि राज्यलाई संकटमुक्त पार्न प्रयास गर्ने कर्मी नै स्वास्थ्यकर्मी हो भन्ने नयाँ परिभाषा स्थापना गर्न सक्नु पर्छ।
हालको कालखण्डमा स्वर्णिम अक्षरले इतिहास लेख्न सक्नुपर्छ। भविष्यमा फर्केर हेर्दा खल्लो महशुस नहुनेगरी भूमिका निर्वाह गर्न सक्नुपर्छ। अहिलेसम्म प्रतिशतमा गिन्ती हुन्थ्यौँ भने अब नम्बरमा गिन्ती हुन सक्नुपर्छ। यो समय स्वास्थ्यकर्मीको परिचयमा मान सम्मान थपी नयाँ पहिचान कायम गर्न सक्ने समय पनि हो।
अर्थात, पुरानो अस्तित्वबाट ओझेल भई नयाँ पहिचान बनाउने बेला। स्मरण रहोस्, अहिलेसम्म स्वास्थ्य क्षेत्रका अग्रज र दिग्गजहरुले त्याग बलिदान गरी कमाएको पेशागत प्रतिष्ठा क्षणभरमै सखाप भई जिरोको ट्याग लाग्न सक्ने जोखिम पनि उत्तिकै छ।
अन्त्यमा, स्वास्थ्य क्षेत्रमा रहेका र स्वास्थ्यकर्मीहरुले भोग्नु परेका समस्याहरुको बारेमा उचित समयमा चोटिलो, कसिलो र गतिलो समीक्षा एवं बहस गरौँला, तर अहिलेको परिस्थितिमा नडगमगाईकन, विवेकपूर्ण तरिकाले युद्दमा होमिनु बाहेकको अन्य विकल्प छैन। जस्तोसुकै परिस्थिति आएपनि सामना गर्छौँ भनि आफूलाई तयार पार्नुको पनि विकल्प छैन।
माहुरी बन्ने वा झिँगा बन्ने भविष्य निर्धारण गर्ने बेला पनि यहिँ हो। यतिखेर चुक्यौँ भने आफूलाई साबित गर्नसक्ने अवसर यो कालखण्डमा नपाउँन सक्छ। अहिलेको यो अत्यास लाग्दो एवं चित्कारपूर्ण वातावरणको समाप्ति विशेषगरी स्वास्थ्यकर्मीले नै गर्नसक्छ।
स्वास्थ्यकर्मी भन्नाले स्वास्थ्यसँग सम्बन्धित विशिष्टदेखि सामान्य पेशाकर्मीहरु भन्ने बुझ्न पर्छ। भविष्यमा स्मरणयोग्य इतिहास बनाउँन सफल भई हिरो बनौँ, शुभकामना।
(लेखक सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत हुन्। )