सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना एउटा डरलाग्दो भाइरस हो। पहिलो पटक चीनको वुहान प्रान्तबाट फैलिन सुरू भएको हो। अहिले विश्वमा महामारीको रूप लिएको छ। यो भाइरस धेरैजसो स्पेन, फ्रान्स, ब्राजिल, लगायतका युरोपियन देश र अमेरिकामा व्यापक रूपमा फैलिएको छ। दक्षिण एसियामा पनि बिस्तारै फैलिदो छ। जसकारण हजारौं मानिसको मृत्यु भइरहेको छ।
कोरोनाका लक्षणहरू:
ज्वरो आउने,
सुख्खा खोकी लाग्ने,
रूघा लाग्ने,
श्वास फेर्न गाह्रो हुने,
टाउको दुख्ने, आदि।
यसको लक्षण चौध दिनभित्र देखिन्छ। कसैमा रोग लागेको लक्षण नदेखिन पनि सक्छ।
अब के गर्ने?
यदि तपाईंलाई यी लक्षण देखिएमा नजिकको स्वास्थ्य चौकी अथवा अस्पताल जानुपर्छ। सामान्य रूघा खोकी हो भनेर हेलचेक्रयाईं गर्नु हुँदैन।
पूर्व सावधानी कसरी अपनाउने?
हाम्रो घर वरिपरि फोहोर गर्नु हुँदैन। घरपालुवा वा अन्य पशुपंक्षीको सम्पर्कबाट टाढा रहनुपर्छ। साथै, भिडभाडमा नजाने, मास्क लगाएर हिँड्ने, मान्छे बीच तीन मीटरको दुरी कायम गरी हिंडनुपर्छ। नियमित रूपमा साबुनपानीले हात धुने, केही सामान लिँदा वा दिंँदा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ। साथै, पोषिलो र सफा खानेकुरा खाने र शरीरको भाइरससँग लडन सक्ने क्षमताको विकास गर्नुपर्छ।
हाम्रो देशमा के भइरहेको छ ?
नेपाल सरकारले कोरानाबाट बच्नको लागि लकडाउन गरेको छ। काेराेनाजस्ताे प्राणघातक सरूवा रोग भाइरस रोक्न सरकारले राम्रो उपाय लिएको हाे। नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरू भयो। लकडाउन आगामी बैशाख ३ गतेसम्म लागू गरिएको छ। यदि यो भाइरस नियन्त्रणमा नआए लकडाउन थप्न सक्ने कुरा सुनिएको छ। कोरानाबाट हालसम्म १२ जना संक्रमित पाइएको छ। एक जना सन्चो भएर घर फर्किसको।
लकडाउनका असर:
लकडाउनबाट सकारात्मक र नकारात्मक दुवै असर हुन्छ। सकारात्मक असरमा हामीलाई भाइरस संक्रमण हुन बचाउने, मान्छे बीच भौतिक दुरी कायम गर्न सहयोग गर्ने, आदि। नकारात्मक असरमा घरभित्र बस्दा मानसिक दबाब हुने, खानेकुराको अभाव हुने, समाजमा प्रत्यक्ष अन्तरक्रिया गर्न नपाउने, परिवारमा हिंसाको संभावना बढने र एकैचोटी घोषणा गरिएकाले मान्छेहरू जहाँ छन् त्यही बस्नुपर्ने। जसले गर्दा काम गरी खाने मान्छेलाई अप्ठयारो परेकाे छ।
कोरोना भाइरस विरुद्ध हाम्रो प्रयास:
नेपाल कोरोना भाइरसबाट बच्न हाल लकडाउन छ। यस भाइरसको बारेमा थाहा पाउन सञ्चारमाध्यम जस्तै: रेडियो, टेलिभिजन, एफएम रेडियो, इन्टरनेट लगायतका विद्युतीय माध्यमद्वारा चेतनामुलक श्रव्यदृश्य सामाग्री प्रचार प्रसार गरिएको छ। साथै, विदेशबाट आएका कोरोना संभाव्य नेपालीलाई क्वारेन्टाइनमा राखिएकाे छ। कोरानासँग मिल्दो जुल्दो लक्षण देखिएमा परिक्षण गर्ने र संक्रमण पाइएमा आइसोलेसनमा राख्ने र उपचार गर्ने गरिएको छ। नेपालमा अहिले भाइरस परिक्षण गर्न विभिन्न प्रदेशमा मेशिन लगेर परिक्षण गर्न थालिएको छ।
निचोड:
कोरोना भाइरस विश्वमा एउटा खतरनाक महामारीको रूपमा फैलिएको छ। यसबाट बच्नको लागि हामी सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्न आवश्यक छ। वैज्ञानिकहरूले अध्ययन गर्ने, सञ्चार माध्यमले जनचेतना जगाउने र समाजका विभिन्न मान्छेले आफूले सकेको एकआपसमा सहयोग गर्ने, सुरक्षित तरिकाले घरमै बस्ने र अत्यावश्यक सामान किन्न जाँदा भाइरसबाट सुरक्षाका सबै उपाय अपनाउनु नै आजको मुख्य आवश्यकता हो।
(आज्ञा शर्मा पोख्रेल शिशु निकेतन अंग्रेजी माध्यामिक विद्यालय, विरौटा, पोखरामा कक्षा ४ मा अध्ययनरत छिन्। )
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)