मेरी आमाले खाना पकाउँदै गर्दा ओदानको छेउमा जुटको बोरा ओछ्याई दिनु हुन्थ्यो। तराई तिरबाट आएर पसल गरेका एक जना निकट अंकलको दुकानबाट एक बोरा धान किन्दासँगै आउने त्यस बोरामाथि म पढ्ने सरकारी विद्यालयको एउटा किताब पनि राखिदिनु हुन्थ्यो।
म मेरी आमा मुस्कुराईरहेको हेर्न चाहन्थे अनि नचाहेर पनि किताब खरर पढ्थे। मेरो मनमा किताबको विषयवस्तुभन्दा खाना कतिबेला खान पाइन्छ भन्नेमा हुन्थ्यो। अनि बाबाको हात समाएर सिन्धुलीको भलुवाही गाउँमा घुम्न निस्कँदा बाबाले मलाई ज्ञानगुणका कुरा सिकाई राख्नु हुन्थ्यो।
बाबाको मनमा ठेस नपुगोस् भनेर म सुन्दिए जस्तै गरेर बीचबीचमा प्रश्न सोधी हाल्थेँ। हुन त म कतिबेला बाबाले मेरो हात छोड्नु होला र साथीहरुसँग खेल्न जाउँ भन्ने हुन्थ्यो। विद्यालयमा पनि शिक्षहरुसँग शैक्षित कुराहरु नै हुन्थे।
तर जे होस्, तिनै आधारभूत घरायसी र सरकारी विद्यालयको शिक्षाको बलमा मैले सरकारी कलेजमा प्रवीणता प्रमाणपत्र तह र सरकारी प्रतिष्ठान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने मौका पाएँ र त्यहाँ करिब आधा दशकभन्दा बढी बिताए।
त्यहीँको शैक्षिक योग्यताको बलमा फेरि पनि सरकारी प्रतिष्ठानमा एमडी अध्ययनरत छु। पछिल्लो समयमा सरकारी विद्यालय भन्दा नाफामा ओतप्रोत निजी विद्यालय तथा कलेजहरु फस्टाईरहेका छन्। हुनत मैले निजी विद्यालय वा कलेजमा गरिने अध्ययनको स्वाद चाखेको छैन्, त्यसैले बढी कुरा राख्नु गलत हुन सक्छ।
म वीपी प्रतिष्ठानमा रहँदा प्रतिष्ठानलाई भित्रैबाट बुझ्ने मौका पाए, आमन्त्रित सिनेट सदस्यकोरुपमा पनि प्रतिष्ठानलाई चियाउने प्रयत्न गरे। मेरो अध्ययन पूरा हुँदासम्म प्रतिष्ठान सबल नै थियो। मैले थप एक वर्ष त्यँही काम गर्दा पनि प्रतिष्ठान समग्रमा नभए पनि एकान्तमा मुस्कुराई रहेको भान हुन्थ्यो।
तर पछिल्ला केही वर्षहरुमा प्रतिष्ठानले अवोगति मार्ग बाहेक अन्य सफलताको मार्ग नै पाउन सकेन। किनकी मार्गदर्शकहरु नै भ्रष्टचारमा लिप्त भई दिए। विडम्बना! देशभरका समग्र चिकित्सा शिक्षा क्षेत्रमा पनि त्यही हविगत स्थापित छ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि धेरै विचारहरु उत्कृष्ट रहेको प्रा.डा.गोविन्द केसीको विचारलाई फस्टाउन दिइएन राजनैतिक आधारमा उनको राम्रा विचारहरुलाई मरेतुल्य बनाईनु देशको चिकित्सा शिक्षा विकासको लागि विडम्बना हो। तर जे होस्, अबका दिनमा सरकारी शिक्षा प्रदायक केन्द्रहरुको गुणस्तरीय विकासको विकल्प छैन। सबै सरोकारवाला निकायलाई हेक्का रहोस्।
शिक्षा नै हो विकासको आधार
प्रसंग १
भारतको केरला राज्यमा वार्षिक ग्राहस्थ कम छ, तर शिक्षा प्रभावकारी भएकोले त्यहाँका मानिसको जीवनस्तर भारतको अन्य राज्यको तुलनामा निकै राम्रो मानिन्छ।
प्रसंग २
भौगोलिक रुपमा सानो देश श्रीलंकामा पनि शिक्षाले निकै फड्को मारेको छ। त्यहाँ शिक्षाको दर करिब ९७ प्रतिशत छ र त्यहाँको जीवनस्तर पनि राम्रो नै छ।
माथिका प्रसंगहरुले शिक्षित व्यक्ति भएको ठाउँ विकसित हुन्छ, जहाँ शिक्षाले फड्को मार्यो, त्यो क्षेत्र विश्वमा नै जीवन स्तरको मामिलामा अग्रिम स्थानमा छ भन्ने दर्शाउँछ। शिक्षालाई नै विकासको आधारकोरुपमा लिइने गरिन्छ, त्यसैले शिक्षामा उल्लेखनीय विकास हुनु जरूरी छ।
शिक्षा क्षेत्रको समयानुकुल विकासबिना एक विकसित राष्ट्रको परिकल्पना गर्न निरर्थक छ। सोचे अनुरूपको विकास हुन नसके पनि २०४६ साल पछि भएको प्रजातन्त्रको स्थापना पछि नेपालको शिक्षा प्रणलीमा तुलनात्मकरूपमा निकै सुधार आएको छ र नेपालको शैक्षिक दरमा पनि उल्लेखनीय वृद्धि भएको छ।
शिक्षामा भएको निजी लगानी, जनचेतनाको विकास, विद्यालय तथा विश्वविद्यालयहरूको स्थापना तथा केही लगनशील व्यक्तिहरूको शिक्षा प्रतिको समर्पणले, यो उपलब्धि हासिल भएको हो। शिक्षाको विकासको लागि ठोस् नीति ल्याइनु पर्ने हो। तर बारम्बार सरकार परिवर्तन भए पनि कुनै पनि सरकारले शिक्षा विकासको लगि ठोस् नीति ल्याउन नसकेको छरपस्ट छ।
विश्वविद्यालयहरु स्वयम्ले पनि प्रभावकारी ढंगले शिक्षा विकासका लागि तार्किक काम गरेको देखिदैन्। अझ देशमा मेडिकल शिक्षाले अहम भूमिका खेल्छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी उत्पादन गर्ने शैक्षिक संस्थाहरु धेरै नै प्रभावकारी हुनुपर्छ भन्ने मान्यता स्थापित छ तर नेपालमा त्यस्तो छैन्।
विश्वविद्यालय वा प्रतिष्ठानको बागडोर सम्हाल्ने व्यक्तिहरु कि त पैसाको आडमा कि त राजनैतिक पृष्ठभूमीको आडमा नियुक्त गरिने परिपाटी छ, जुन विडम्बना हो। यस्तो अवस्थामा राष्ट्रसेवक केही व्यक्तिहरूले आफ्नो विकेक, सीप र लगनशीलताको पूर्ण प्रयोग गरी राष्ट्रिय शिक्षा विकासमा अग्रसर भएको उदाहरण पनि छन् र त्यस्ता व्यक्तिले आफ्नो जीवन नै शिक्षा विकासमा समर्पित गरेका हुन्छन्।
म कुनै खास व्यक्तिको नाम यस लेखमा उल्लेख गर्न चाहन्न। शिक्षाको तल्लो स्तरमा काम गर्नेदेखि माथिल्लो तहसम्म पूर्णरूपमा समर्पित भई काम गर्ने व्यक्तिहरु पनि छन्। प्राथमिक विद्यालयदेखि विश्वविद्यालय विकासमा कार्य गर्ने व्यक्ति पनि छन् हाम्रो देशमा। यस्तै व्यक्तिको आडमा नेपालको शिक्षाको वर्तमान आधार तय भएको भन्दा अतिशायुक्ति न होला।
तर पनि त्यस्ता व्यक्तिहरूको कदर हुँदैन हाम्रो देशमा, जवकी विकसित मुलुकमा शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिलाई उच्च सम्मान गर्ने गरिन्छ। जुन ठीक कुरा हो, फलस्वारुप अमेरिका, बेलायत लगायत अन्य युरोपियन मुलुक तथा छिमेकी मुलुक भारतमा जस्तै मानिसको जीवनको गुणस्तर पनि शिक्षामा निहित हुने भएकोले हाम्रो देशामा प्रभावकारी शिक्षा आजको आवश्यकता हो। त्यसमा पनि व्यक्तिको जीवनसँग सोझै सम्बन्ध राख्ने चिकित्सा शिक्षाको।
समस्या समाधानका लागि कुशल नेतृत्व आवश्यक
विगतका केही वर्षमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोचे अनुरुपको कुशल उपकुलपति नपाउँदा शिक्षाको प्रणाली प्रभावकारीरुपमा अगाडि बढ्न सकेको छैन भने अस्पतालको विकास समेत सोचे अनुरुप हुन सकेको छैन्। नेपालमा चिकित्सा शिक्षा विकासका लागि राष्ट्रिय स्तरबाट नै केही नीतिगत सुधारको खाँचो देखिएको छ।
नीतिगतरुपमै चिकित्सा शिक्षाको विकासको आधार जबसम्म राष्ट्रिय स्तरबाट गरिदैन, नेपालमा सोचे अनुरुपको चिकित्सा शिक्षाको विकास हुन सक्दैन। दुरगामी सोचका साथ नेपालको शैक्षिक प्रणालीमै केही परिवर्तन आवश्यक छ भने खस्कदै गएको गुणस्तरलाई माथि उठाएर थप स्तरीय बनाउनु आजको आवश्यकता हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा पनि यही आवश्यक छ।
यस किसिमको सोच भएका व्यक्ति प्रतिष्ठानको उपकुलपति पदमा भविष्यमा नियुक्त गरिनु वा नियुक्त भएका उपकुलपतिले यस्तो सोच बनाउनु निकै जरुरी छ। प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार भष्ट्राचार काण्डमा निलम्बित भए पछि प्रा.डा. गुरुप्रसाद खनाललाई प्रतिष्ठानले कार्यबाहक उपकुलपतिको रुपमा पाएको थियो।
विगत केही महिनादेखि रिक्त रहेको प्रतिष्ठानको उपकुलपति पदलाई राजनैतिक आधारमा गरिनु नेपालको शिक्षाको विकासलाई एक कदम पछाडि धकेल्नु सरह नै हो। प्रतिष्ठानमा भर्खरै नियुक्त भएका उपकुलपति प्र.डा. ज्ञानेन्द्र गिरीले आफू पैसा दिएर नियुक्त नभएको अभिव्यक्ति दिए पनि राजनैतिक आधारमा नभएको भन्न नसक्नुले नै उनले राजनैतिक आधारमा नियुक्ति पाएका हुन् भनेर सम्झदा हुन्छ।
हुन त उनी कुशल र क्षमतावान व्यक्ति नै हुन् तर राजनैतिक अस्थायुक्त नियुक्तिको मनोभावले सायद उनलाई सधैं पिरोली रहने छ। हुन त कुनै पनि व्यक्ति कुनै एक राजनैतिक विचारप्रति झुकाव राख्ने भएकोले त्यसलाई नकारात्मकरुपमा विश्लेषण गरिनु पनि गलत होला। तर हाम्रो समाजमा विद्वता, क्षमता, व्यक्तित्व, नेतृत्व तथा इमान्दारिता भन्दा पनि राजनैतिक नातावाद बढी हाबी हुने गरेको छ।
जकारकारण प्रतिष्ठानको विकासको आवश्यकताअनुसार उपकुलपति चयन गर्न सकिएको थिएन। बरु राजनैतिक पार्टीको कार्यकर्ताका रुपमा तथा पैसाको आधारमा धेरै उपकुलपतिहरु चयन भएको इतिहासा साक्षी छ। म निर्धक्क भएर भन्न सक्छु, यो विषय नेपालको शिक्षाको विकासको लागि कालो धब्बा नै हो।
तसर्थ नेपालको शैक्षिक प्रगतिका लागि प्रतिष्ठान वा विश्वविद्यालयमा कुशल नेतृत्व चयनको विकल्प हुन सक्दैन। यसमा उपकुलपति छनौटमा संलग्न सबैले राष्ट्रप्रति समर्पित हुँदै गम्भीर भएर सोच्नु जरुरी छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चयन भएका उपकुलपतिले कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्दै शैक्षिक विकासमा अग्रसरता देखाउनु जरुरी छ।
उपकुलपति गिरीका चुनौती र अबको बाटो
विश्व नै कोरोना कहरबाट पिरोली रहेको बेला धेरैको मनमा बेमौसमी बाजा लागे पनि धारासायी बन्दै गएको प्रतिष्ठानको शैक्षिक तथा अन्य समसामयिक विकासका लागि नेतृत्व चैन निकै आवश्यक थियो। कोरोना कहरले सबै रोईरहेको बेला प्रतिष्ठानको बागडोर सम्हाल्न पाउने विषयले नवनियुक्त उपकुलपतिको मनमा पक्कै लड्डु फुटी रहेको छ होला।
तर विगत केही वर्षदेखि धारासायी भएर रोई रहेको प्रतिष्ठानको नेतृत्व सम्हाल्न पुग्नु चानचुने विषय अवश्य पनि होइन। प्रतिष्ठानको विकासको लागि सबै पक्षलाई समेटेर लेजानु उनको लागि चुनौतीको विषय हुनेछ। हुन त उनले विगतमा प्रतिष्ठानको सिनेट सदस्यको रुपमा चार वर्ष काम गरिसकेकाले उनले प्रतिष्ठानलाई जाने बुझेका छन्।
तर पछिल्ला वर्षहरुमा उनी निजी मेडिकल कलेजका प्रध्यापककोरुपमा कार्य गरिरहेकोले पछिल्ल केही वर्षहरुमा प्रतिष्ठानसाँग अनविज्ञ नै छन् होला। प्रतिष्ठामा राजनैतिक तथा वैचारिकरुपमा विभाजित कर्मचारी, नर्स, चिकित्सकलाई आफू अनुकुल बनाउन उनी कत्तिको सक्षम होलान समयले नै बताउला, तर उनको ध्येय यसै विषयमा केन्द्रित हुनु पर्छ। अनि मात्र सबैको सहयोगको आधारमा प्रतिष्ठानको सर्वपक्षीय विकास सम्भव छ।
विभिन्न राजनैतिक कारणले अधुरा कामहरु पुरा गर्नु, कर्मचारीहरुको समयानुकूल तलबवृद्धि गर्नु, प्रतिष्ठानको स्पेसियालिटी सेन्टरहरुको स्थापना गर्नु, अधुरो भवनहरुको निर्माण पूरा गर्नु केही आधारभूत कामहरु फलामको चिउरा चपाउनु सरह नै हुनेछ। अझ प्रतिष्ठानको शैक्षिक विकास तथा स्वास्थ्य सेवा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा गर्नु।
अन्तमा कोरोना कहरले नेपालको स्वास्थ्य क्षेत्रको हविगत स्पष्ट पारिसकेको छ। साथै विश्वभर स्वास्थ्यकर्मी लगायत अन्य अस्पतालकर्मीहरुको महत्व दर्शाई सकेको छ। अबका दिनमा सेलेब्रेटी खेलाडी, रंगकर्मी वा कलाकार हैन बरु स्वास्थ्य सेवामार्फत जीवन रक्षा गर्ने स्वास्थ्यकर्मी, अस्पतालकर्मी, सुरक्षाकर्मी, जीवनका लागि आवश्यक सामान आपूर्तिकर्ता वा अन्न उत्पादन गर्ने किसान नै हुनुपर्छ भन्ने केही मनोभाव समेत विश्वभर बनी सकेको छ।
त्यसैले अबका दिनमा उत्कृष्ट क्षमतावान चिकित्सकलगायतका स्वास्थ्यकर्मी उत्पादन गर्नु, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्नु, प्रतिष्ठानलाई भ्रष्टाचार मुक्त बनाउन र पुर्वमै मेडिकल क्षेत्रको केन्द्रविन्दूको रुपमा प्रतिष्ठानलाई स्थापित गर्न सक्नु पर्छ। उनले आफूलाई इमान्दार व्यक्तिकोरुपमा स्थापित गर्न सक्नु पर्छ।
नव नियुक्त उपकुलपति प्रा.डा. गिरी कुन राजनैतिक अस्थाका साथ आए म अब कोट्याउन चाहन्न, म केबल मुस्कुराई रहेको वीपी प्रतिष्ठान देख्न चाहन्छु। म मलाई शिक्षा दिने मेरी आमा, बाबा, शिक्षक, विद्यालय, कलेज, प्रतिष्ठान सबै मुस्कुराई रहेको हेर्न चाहन्छु। नव नियुक्त उपकुलपतिले पनि यसको लागि सबै पक्षलाई समेटेर लैजान आजैबाट पहल सुरु गर्नु पर्छ।
विभिन्न राजनैतिक वा वैचारिक ध्येय भएका कर्मचारीहरु वा प्रतिष्ठानसँग सम्बन्ध राख्ने, राजनैतिक तथा समाजिक व्यक्तिहरुले प्रतिष्ठान विकासको लागि सक्दो सहयोग गर्नु आवश्यक छ। नभए समय घर्किदै जादा धेरै ढिला भईसक्ने छ।
प्रतिष्ठानको विकासमा नै सबैको भलो छ, सबैले बुझ्नु जरुरी छ। अन्य प्रतिष्ठान तथा सरकारी शैक्षिक संस्थाहरुले पनि यिनै बाटो रोज्नु पर्छ।
(लेखक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व विद्यार्थी हुन्।)