सुमन निकै निराश देखिन्थे। वर्षभरीको मेहनत खेर जाने चिन्ताले होला सायद। तिनै निराश, जिज्ञासू अनुहार लिएर मेरै नजिक आए।
मैले प्रश्न गरेँ, ‘एसइई स्थगित हुँदा कस्तो महशुस गर्नुभएको छ?’
उनको उत्तर थियो, 'दिदी, मलाई यो त थाहा छैन। तर यो वर्षको एसइई परीक्षा दिन सक्षम हुन्न कि भन्ने लागेको छ। एसइई स्थगित हुँदा सबै मिहेनत खेर गएजस्तो लाग्यो। अब अर्को वर्ष दिन्छु।'
सुमनको निराश उत्तरले मलाई भावुक बनायो। एकपटक सोच्न बाध्य तुल्यायो। विशेषगरी ग्रामिण क्षेत्रका निम्न र मध्यम परिवारका विद्यार्थीमध्ये सुमन एक प्रतिनिधि हुन्।
हाम्रो देशको ८०.९६ प्रतिशत ग्रामिण क्षेत्रले ओगटेको छ। ग्रामिण भेगमा धेरैजसो परिवार आर्थिक रूपमा विपन्न छन्।
सुमन जस्तै मध्यम र विपन्न वर्गका परिवारको पृष्ठभूमिका विद्यार्थीले आर्थिक संकट, अपर्याप्त समयका बाबजुद परीक्षाको तयारी सामना गर्नुपर्छ। कारण, उनीहरूले बढीजसो समय घरको कामधन्धामा दिनुपर्छ।
घरायसी कामको बोझ ती विद्यार्थीको काँधमा थुपारिएको छ। थुप्रै समस्या झेलिरहेका विद्यार्थीमा अहिले परीक्षामा असफल हुने डर छ।
दुर्गममा घरदेखि परीक्षा केन्द्रको दुरी टाढा भएका कारण कोठा भाडा लिएर बसेका विद्यार्थी झनै मारमा छन्। परीक्षा दिनकै लागि आमाबुबाले गाउँमा साहुसँग ऋण लिएर पठाउँछन्। एकपटक लिएको ऋण तिर्न सकिएको छैन।
'अब फेरि छोराछोरीका लागि ऋण कहाँबाट लिने?' यसै भनिरहेका छन् ती विपन्न परिवार। यसले ती गरिब विद्यार्थीलाई झनै चिन्तित बनाएको छ। गरिब परिवारका विद्यार्थी शिक्षा पहुँचबाट विमूख हुने डर अर्कोतिर छ।
परीक्षा सुरू हुनु ११ घन्टाअघि मात्र स्थगित भयो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम मध्यनजर गरी अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित छ। यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जना एसइई दिने तयारीमा थिए।
परीक्षार्थीहरू परीक्षा केन्द्र नजिकका होटलमा भरिभराउ थिए। परीक्षा स्थगित भएपछि ती विद्यार्थी झोला बोकेर घर फर्कनुको विकल्प थिएन। भर्खरै लागू ग्रेडिङ प्रणालीले देशमा साक्षरता दर बढाउँछ भन्ने सरकारको दृढ संकल्प थियो।
नेपालमा पहिलोपटक बिक्रम सम्वत् १९९० मा एसएलसी स्थगित भएको थियो। त्यस बेला नेपाल भुइँचालोले ग्रस्त थियो।
दोस्रोपटक, २००३ सालमा स्थगित गरियो। तत्कालीन समयमा पुस १ मा तोकिएको परीक्षा विराटनगरका विद्यार्थीका कारण २४ पुससम्म स्थगित भयो।
तेस्रोपटक २००५ सालमा तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको जन्मदिन परेकाले तोकिएको मितिमा एसएलसी भएन।
२०२५ सालमा पनि एसएलसीका प्रश्न परीक्षाअगाडि नै बाहिरिएका कारण चौथोपटक रोकियो।
र, अहिले २०७६ को एसइई स्थगित छ। विश्वभर फैलिएको कोरोनाका कारण यो पुनः कहिले हुने भन्नेबारे अन्यौल छ।
आधाभन्दा बढी विद्यार्थी परीक्षाको तयारीका लागि निरुत्साहित छन्। लामो समय घरै बसिसकेको र अझै बस्नुपर्ने भएकाले उनीहरूमा मुख्य विषय अंग्रेजी, गणित र विज्ञानमा फेल हुने डर छ।
यो अवस्थामा परीक्षा तयारी र पर्याप्त मार्गदर्शनको अभाव देखिन्छ। लामो समय स्कुल वा कुनै शिक्षक बिना परीक्षा कसरी देलान्, यो विषय अहिले खड्किएको छ।
कर्णाली प्रदेशका धेरै विद्यार्थीले आफ्ना अभिभावकलाई घर खर्च चलाउन सहयोग गर्नुपर्छ। साविकमा धेरै विद्यार्थी एसइई दिएपछि मौसमी रोजगार खोजीमा भारत धाउँछन्। अधिकांश विद्यार्थीले परीक्षा अवधिको खाना र बास व्यवस्था आफैं गर्नुपर्छ। उनीहरू परीक्षा आउनुअगावै केन्द्रनजिकै कोठा भाडा लिएर बस्छन्।
राम्रै परिवारका लागि यसले खासै फरक पर्दैन। तर, गरिब अभिभावकले ऋण लिएर सन्तानलाई परीक्षा दिन पठाउँछन्। हो, अहिले तिनै परिवार चिन्तित छन्, 'अब फेरि छोराछोरीलाई परीक्षा दिन कसरी पठाउने? बस्नेखाने प्रवन्ध कसरी गर्ने?'
सरकारले परीक्षा सुरू हुनु केहीअघि मात्रै गरेको निणर्य स्वास्थ्यका लागि राम्रो पक्ष हो। तर, विद्यार्थीलाई मानसिक असर परेको छ। उनीहरू अध्ययन र परीक्षाका लागि हतोत्साहित भएका छन्।
अहिले धेरैको एउटै आवाज छ, 'सरकारले केही साताअघि नै स्थगित गर्ने सूचना दिनुपर्थ्यो।'
विद्यार्थी केन्द्र नजिक पुगिसकेपछि मात्रै परीक्षा स्थगितको सूचना दिँदा आफूहरू मारमा परेको उनीहरूको भनाइ छ।
सुमन पनि यसै भन्छन्- मारमा परियो।
उनी फेरि परीक्षा दिन जानेमा ढुक्क छैनन्।
एक महिनाअघि परीक्षा केन्द्रनजिकै सरेका सुमनको परिवारले उनलाई पठाउन ठूलै चुनौती सामना गर्नु परेको थियो। सरसामान जोडजाम गर्न आमाले फाइनान्स अफिसबाट एक जोडी भाँडा, एक सिलिन्डर ग्यास, टेबल र खाद्यान्न किन्न ऋण लिएकी थिइन्।
परीक्षा नजिकिँदै थियो। सुमन मिहेनत गरिरहेका थिए। उत्कृष्ट नतिजा ल्याउने सपना थियो। परिवारको संघर्ष उस्तै।
सुमन र अभिभावक दुवै निकै उत्साहित भएर परीक्षाको तयारी गरेका थिए।
अन्तिम समयमा आएर सुमनका साथीले परीक्षा स्थगित भएको सुनाए। सुरूमा उनलाई पत्यार लागेन। एकाबिहानै उठेर ‘स्कुल युनिफर्म’ लगाएर परीक्षा केन्द्र पुगे। अनि मात्र उनलाई पत्यार लाग्यो, एसइई साँच्चै रोकिएको रहेछ।
सुमनको उत्साह निराशामा बदलियो। आमाबुबालाई के भन्ने, उहाँहरूको प्रतिक्रिया के आउँछ? कोरोनाको डर उनको परिवारको अवस्थाभन्दा सानो थियो। कोरोना, लकडाउन र परीक्षा स्थगितबारे मैले उनलाई सम्झाउने प्रयास गरेँ। आशावादी हुन भनेँ।
तर लकडाउन लम्बिँदै छ। विकल्प पनि थपिँदै छन्। जहाँ इन्टरनेट सुविधा छ त्यहाँका विद्यार्थीलाई पढ्ने र सिक्ने वातावरण मिलेको छ। कतिपय स्थानमा अनलाइन कक्षा हुन थालेका छन्। कतै तयारी थालिएको छ।
तर, ती कुनाकाप्चाका विद्यार्थीले कहाँ-के पढून्? के सिकून्? मोबाइलको नेटवर्कसम्म राम्रो नआउने विकट ठाउँका विद्यार्थीले पढाइ र सिकाइ कसरी निरन्तरता दिन्छन् होला?
यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान जानुपर्छ। हामी कामना गरौं, यो विषम परिस्थितिमा सुमन जस्ता हजारौं विद्यार्थीको भविष्य 'लकडाउन' नहोस्।