दौडिरहेको र एकतमासले हुत्तिरहेको जीवनमा अचानक ब्रेक लागेसँगै दिमाग अतिरंजित हुन नपाएर ठप्प भएको छ। स्थिर र कैद भएर बसिरहेको जीवन वैकल्पिक अध्यायका सम्भावनाहरूमा खोतल्न डराइरहेको छ भने कोरोना मानिसका लागि लगातार खाल्टो खनिरहेको छ।
यमदूत समेत निस्सासिने गरी मानिसको नजिकैबाट मृत्यु ओहोरदोहोर गरिरहेको छ। अरू त पछिका कुरा भएका छन् अहिलको परिस्थितिमा मानिस केबल ‘बाँच्न’ मात्र खोजिरहेको छ।
मानिसका उत्कण्ठित तर कैद भएका इच्छाहरू ट्वाल्ल परेर चराहरूको आवाजाहीमात्र हेर्न सकिरहेका छन्। आज उसलाई आकाशले जिस्काइरहे जस्तो गरिरहेको छ। रूखका हाँगा झुमिरहेका देख्दा मन विश्वस्त भएको छ कि उनीहरूभन्दा आनन्दित पृथ्वीमा अरू कोही छँदै छैन।
पृथ्वी निकै लामो अनुलोम विलोम गर्नमा मस्त छ।कोरोना मज्जाले हाँस्यासन गरिहेको छ। आफ्नै परिवारसँग छोइन्छ कि भन्नेमा तर्केर बसेको छ मानव समुदाय।
सामाजिक संरचनाहरूले निर्माण गरेको जातीय छुवाछूतको मान्यताका निम्ति यो भन्दा ठूलो प्रकृतिले सृजना गरेको छुवाछूतको अवस्था अरू के नै होला र! “अतिथि देवो भव ”को राग अलाप्ने हाम्रो धर्मसंस्कृतिले आज “कृपया मेरो घरमा नआइदिनु हामी पनि तपाईंको घरमा आउँदैनौं” भनेर मानिसको सम्बन्धहरूको भरपर्दो र सशक्त माध्यम सामाजिक संजालमार्फत् ब्यानर लटकाउनु परेको छ।
यो दिन पनि आउला भन्ने कल्पना गरिएको थियो र ? संसारमा दृश्य र अदृश्य कुनै पनि कुरा अर्थहीन नहुँदो रहेछ प्रष्ट छ।
मानव सभ्यताको क्रमहरूमा मानिसको विवेक प्रकृतिमाथि सधैं हावी हुँदै आइरह्यो । प्रकृतिलाई मासेर प्रकृतिकै विकल्पहरू कृत्रिमता खोज्न सधैं आतुरताले आत्मसमीक्षा गर्न चाहेन। अनि आफ्नो विवेक सधैं प्रकृतिमाथि रजाइँ गरिरहेको कुराले मानिसलाई अभिमानमा डुबाइरह्यो।
धार्मिक ग्रन्थहरूमा पढ्न पाइने राक्षसको टाउको जस्तो भएको छ ‘कोरोना भाइरस’ , जसलाई जति पटक काट्यो उसको टाउको उत्ति धेरै संख्यामा विकसित हुने। प्रकृतिले निम्त्याएको जीवनको नाकाबन्दीमा मानिस आफैं चुपचाप गुप्तबास बसेको छ। ऊ जप्दै छ, सराप्दै छ। तर कोलाई ? सराप्नैका लागि पनि एउटा ठोस तत्वकै अभाव छ।
राजनीति, अर्थनीति , समाजनीति सबैलाई एउटै गुन्टामा थन्काउन लाएर विश्वभ्रमण गर्न निस्केको कोरोनाले समग्र मानव समुदायलाई आफ्नो तालमा नचाइरहेको छ। कस्तो अजब र गजबको रहेछ कोरोना कोही सामान्य औषधिबाट पनि निको भइरहेका छन् भने कोहीलाई चीन र अमेरिकाको सुविधासम्पन्न देशको भेन्टिलेटरले समेत थेग्न सकिरहेको छैन।
वर्तमान समयमा प्रकृतिले मानिसका लागि आफ्नो अदभूत पासा फालेको छ जहाँ मुख्यरूपमा दुई /दुईटा तत्वहरू वारपार भएर उभिएका छन्। आत्म र बाह्य , प्रकृति र मानिस , सूक्ष्मता र विशालता।
अमेरिका जस्तो सबै कुरामा सम्पन्न राष्ट्र ज्यान जोगाउनमै व्यस्त छ। तर पनि कहिले इरानलाई त कहिले चीनतर्फ बोलीकै भए पनि क्षेप्यास्त्र ताकेकै छ।
कोरोनाले निम्त्याएको क्षतिहरूपछि आफू सर्वोत्कृष्टताको लाममा पछाडि पर्ने हो कि भन्ने भित्रभित्रै त्रसित भएकोले होला, ऊ आफू सर्वोत्कृष्ट रहिरहने हुतिलाई नष्ट गर्न चाहँदैन।
अचेल सबै कुराहरू अचानक भइरहेका छन्। अहिले संसारले बेहोरिरहेको क्षति एउटा एउटा खराब स्वप्न जस्तो लागिरहन्छ बेलाबेला र लाग्दैछ यो स्वप्न सकिएसँगै वा बीचमै म ब्युँझिने छु। अनि बिहानदेखि मेरा क्रियाकलाप र दैनिकी उस्तै हुनेछन्। तर दिन र बारलाई क्यालेण्डरहरूले कुनै फरकपनाको अनुभव नदिलाइरहेको बन्दाबन्दीका दिनहरूमा म भने एउटा दिवा स्वप्न देखिरहेछु। जहाँ नेपालको नक्सामा दीपहरू बल्न खोजिरहेका हुन्छन्, मुलुक समृद्धिका निम्ति छट्पटाइरहेको छ यो छटपटी लगभग प्रसव पीडा जस्तै छ।
नेपाल बाहिर रहेका नेपाली मनुवाहरू लस्करका लस्कर एयरपोर्टबाट नेपाल भित्रिरहेका छन्। उनीहरू अन्ततः नेपालमै केही गर्न पर्यो भनेर परिवारसहित पुनरागमन भइरहेको छ। खाडीमा पसिना चुहाइरहेकाहरूको जमात पनि सँगै छ। अमेरिका र अष्ट्रेलिया जस्ता सम्पन्न देशहरूमा दिमाग र श्रम खियाइरहेकाहरूलाई देशको चौखटमा उभिन व्यग्रता छ।
नेपालको समग्र शासन प्रणालीबाट दिक्क भएर आफ्नो र बच्चाहरूको भविष्य सुरक्षित पार्न निराश भएर मौन रूपमै बिदा भएका फेरि आफ्नै देशबाहेक विकल्प नदेखेर नेपालमै विवेकलाई उपयोग गर्न बाध्य र आतुर छन्।
म यो दिवा स्वप्नलाई अलिकति उदार बनाउँछु यसमा मैले देख्न चाहेका सबै कुराहरूलाई फुत्तफुत्त झर्न छुट दिइरहन्छु। किनभने मलाई मैले आफैंले बुनिरहेको सपनालाई सबै वर्ग र उमेरकालाई मनपर्ने चलचित्रझैं दौडाउन मन छ ।
के यो सम्भव छ ? म आफैंलाई प्रतिप्रश्न गर्छु र एकछिन अल्मलिन्छु मेरो दिवा स्वप्न यति जादुगरीपूर्ण कसरी हुनसक्छ! नेपालमा पुनरागमन भएका जमातहरू संघर्षका चरणमा असमन्जस्यताको स्थितिमा छटपटीमा गाँजिएकाहरू केही समय ओहोरदोहोर गरिरहेका हुन्छन्, उनीहरूलाई सास फेर्न समेत अप्ठ्यारो परिरहेको छ। यो दृश्यलाई म हेर्न नसक्ने अवस्थामा हुन्छु त्यसैले छिटो छिटो “फरवार्ड” बटन थिचौं कि जस्तो लाग्छ। तर म पूरै दृश्य हेर्ने आँट गर्छु।
टाउकोमा हात लाएर घोसेमुन्टो लाएका दृश्यहरू छन्। एकैछिनपछि जब घोसेमुन्टो लाएकाहरू शिर ठड्याउँछन् तब उनीहरूका आँखाहरूमा ज्वाला दन्केको देख्छु। “करो या मरो” भन्ने सूरमा उनीहरू उठिरहेका हुन्छन्।
हातहातमा कर्मठताको मशाल बोक्दै निकै पुरानो हिन्दी फिल्म उपकारको “मेरे देशकी धर्ती सोना उगले , उगले हिरे मोती जस्तो गीत बजिरहेको छ”। अचानक चट्याङहरूको डरलाग्दो आवाजसँगै पानी दर्कन्छ।
हावाहुरीले उनीहरूलाई सोत्तर बनाउन खोज्छ। तर उनीहरू जिउबाट खस्नै लागेको लुगाहरू पुनः सम्हाल्छन्। केही समयपछि बाँसुरीको धून बज्दछ, बिहानको चराहरूको चिरबिराहटसँगै डाँडाकाँडाहरूमा हरियाली भइरहेको, हिमालहरू टाढैबाट हिराजस्तै टल्किरहेका छन्। किसानहरू खेती गर्ने मेसिन लिएर गीत गाउँदै किसानी गरिरहेका छन्। अन्नबाली लटरम्म फलेको छ, ठाउँठाउँका खानीहरू उत्खनन् भइरहेका छन्।
नेपालको उत्पादन बाहिर जाँदैछ। नेपालले व्यापारमा नाफा गरिरहेको छ। पहाडका कान्ला कन्दराहरू हरिया देखिरहेकी छु। जलस्रोतको भरपूर प्रयोग भइरहेको छ।
प्रकृति संरक्षणमा विदेशमा आर्जेको ज्ञानलाई आफ्नै शैलीमा फैलाउँदै गइरहेको छ। विकास र सम्पन्नताका हिसाबले पहाड तराईमा कुनै भेद छैन। नेपाल मुस्कुराइरहेको छ। नैनीताल र मसुरी हेर्न जाने पर्यटकहरू नेपालमै आइरहेका छन्।
विभिन्न स्थानमा रहेका जडीबुटीहरूले आयुर्वेदका उद्योगहरूमा औषधिहरू बनिरहेका छन्। विदेशबाट आर्जेको ज्ञानले नेपालको शिक्षा पद्धतिमा आमूल परिवर्तन गर्न सघाइरहेको छ। बालबालिकाहरूको दिमाग स्वतन्त्ररूपले चलिरहेको छ। डिग्री बढाउन, ज्ञान बढाउन विदेश जाने तर्कनाहरू थरथराइरहेका छन्। केही समयपछि विश्वमानचित्रमा नेपाल “स्मल बट प्रोस्पोरस कन्ट्री” भनेर चिनिनेछ।
यो आर्थिक समृद्धि कसरी सम्भव भयो भन्ने प्रश्नमा केही वर्ष पश्चात नेपालको इतिहास पनि सिंगापुर र मलेसियाको जस्तै कोरिनेछ जहाँ मुलुकमा सबैको प्रयासले भ्रष्टाचार, बेरोजगारी र गरिब नागरिक नै नहुने अवस्था रहनेछ । जसको कारण कोरोना र यसको विश्वव्यापी भयावहका कारणले नेपालले आफूलाई समृद्ध बनाउन सकेको भनेर पहिले र अहिलेको नेपालको तुलना गरिनेछ।
अहिले कोरोनाले आक्रान्त बनाएको हाँस्नै बिर्सेको समयमा यो दिवा स्वप्नले मेरो अन्तरंगलाई रोमाञ्चकता थपिरहेको हुन्छ। मेरो अगाडि कोरोना पश्चातको नयाँ नेपाल उभिएको छ। जसलाई पुरानो नेपालको सबै कुराहरूमा सफाइ गर्नु छ।
बन्द कोठामा म मुस्कुराइरहेकी छु। तर यो चलचित्रहरूको “नायक” भने फेला परिरहेको छैन। स्वार्थ पूरा गर्नैपर्छ, भ्रष्टाचार गर्नैपर्छ भनेर बसेको नैतिकताको तख्ता कसरी पल्टिन सक्ला? मेरो दिवा स्वप्नमा त्यो छडीको आवश्यकता देखिरहेकी छु जसले यो कुराको तख्ता पल्टाइदियोस्।
त्यसैले मलाई मेरो चलचित्र अर्थात् दिवा स्वप्न पूरा गर्न समस्या परिरहेको छ। तर होइन् म पुनः आशातित हुन चाहन्छु किनभने मैले धेरै नकारात्मक सोचेर दिन बिताउनु छैन।
त्यसैले मैले यिनै लस्करहरूका बीचबाट एउटा नायक पनि प्रस्फुटन हुन्छ जो इमान्दारी र मिहिनेतको बिउ छर्नेछ। सबै उसैका पछि लाग्नेछन्। एउटा नयाँ व्यवस्थाको जन्म हुनका लागि बाध्य हुनेछ।
त्यसैले मेरो आत्मसन्तुष्टिका लागि भए पनि नयाँ नेताहरूको अनुहार देख्छु। पुराना सबैलाई छु मन्तर गराउँछु। केहि वर्षपछि मेरो देशको कायापलट हुन्छ। खुसी र समृद्धिमा मुलुक अग्रपंक्तिमा देखिरहेछु।
भविश्यका सन्तानहरूका मुहारहरूमा प्रसन्नता दौडिरहेको छ। अन्तमा एउटा सुन्दर गीत बजेसँगै मेरो दिवा स्वप्न समाप्त हुन्छ।
व्यंग्यात्मक मुस्कानसहित म मुस्कुराउँछु।