आमालाई पढ्न एकदमै मन पर्छ । म एउटा कुरामा विश्वस्त हुन सक्छु कि जीवनमा मैले भन्दा बढी पत्रिका आमाले पढ्नुभएको छ।
सानोमा मलाई आमाले खुब पढ् पढ् भनेर गाली गर्नुहुन्थ्यो। पढेर हात्ती ठूलो र मुसो सानो भएको हो र? ,मन लागेपछि पढिहाल्छु किन कर गर्नुपर्यो भनेर म उल्टै आमासँग जोरी खोज्थें।
आमा मबाट आजित भएर भन्न थाल्नु हुन्थ्यो– यदि तैले जसरी पढ्ने सुविधा मैले पाएको भए र मलाई पनि पढ्न यसरी कसैले कर गरेको भए आज म पढेर कहाँ पुगिसक्थें होला।
मामाघरमा कसैले पनि पढ्न कर नलगाएकोमा आमालाई निकै पछुतो भएको जस्तो मलाई लाग्थ्यो। पढ्न नपाएकोमा सुखभन्दा पनि आमालाई किन यति धेरै तनाव र दुःख लागेको होला,एक मनले सोच्थें। तर समयसँगै बुझ्दै गएँ आमाको त्यो दुःखको सार। आफ्नो इच्छा नबुझिँदा, क्षमताले मौका नपाउँदा कति पीडा हुन्छ भन्ने कुराको ज्ञात मैले पछि जानें।
समयसँगै आमालाई मैले जति बुझेँ त्यति त्यति आमाप्रति नतमस्तक भएँ। मेरी आमा साहसकी प्रतिमूर्ति जस्तो लाग्यो। आमाको तुलनामा आफू एक कणमात्र रहेको महशुस भयो। आमाको अक्षर चिन्ने प्रवल इच्छा र अभिलाषाले अन्तत:औपचारिक शिक्षा लिन नपाए पनि स्वअध्ययन गरेर भए पनि अक्षर चिन्नुभएकोमा गर्व लागेर आयो। घर व्यवहार समालेर पनि अक्षर चिन्ने र त्यही अक्षरलाई कागजमा लेख्ने समय निकाल्नु भयो आमाले।
आमाले मेरो श्रृङ्खलाको नेपाली कथा, कविता खरर लय हालेर पढ्नुहुँदा म दंग परेर हेरिरहन्थें। दोकानमा बसेर मुखैबाट गणित गर्दै यति भयो उति भयो भनेर ग्राहकलाई हिसाब बुझाउँदा म आश्चर्यमा पर्थें।आमाले गरेको हिसाब मिल्यो कि मिलेन भनेर म क्यालकुलेटरमा थिच्थें, ठ्याक्कै मिल्दा मेरो उमंगको सीमा हुँदैनथ्यो। कहिलेकाहिँ म आमासँग गणितको खेल खेल्थें।
यति अंकलाई गुणा गरेर यति घटाउँदा कति हुन्छ भनेर कपीमा लेख्थ्यौं। आमा मभन्दा पहिले सकाउनुहुन्थ्यो हिसाब। अनि त्यही हिसाब क्यालकुलेट गर्दा मेरो उत्तर बरू तलमाथि हुन्थ्यो तर आमाको सही हुन्थ्यो।
आमा भन्नुहुन्छ, पढ्न अध्ययन गर्न छोड्नुहुन्न है। यो सबै अभ्यास हो। अभ्यास छुट्यो भने गाह्रो पर्छ। सायद त्यही अभ्यास छुटेर पनि होला मलाई क पुरी कदेखि ज्ञानी ज्ञसम्म भन्न अझ गाह्रै हुन्छ।
मेरो कृति पेरिस्कानोको विमोचनको दिन त्यो हलमा कसैको खुसीको आँसु निरन्तर खसिरहेको थियो भने त्यो मेरो आमा थियो। आमा हलमा छिर्दैमा एकदमै भावुक भइसक्नुभएको थियो। ममा भन्दा पनि आमामा बढी भावुकता थियो त्यो दिन। मैले मेरो नाङ्गो आँखाले आमाको त्यो भावुकता हेर्न सकिनँ।
आमाको समिपमा गएर त्यो खुसीको आँसुलाई थुमथुमाउन पनि हिम्मत आएन। यदि म आमाको समिपमा गएर आमाको आँखामा त्यो आँसु हेर्न थालें भने मैले आफूलाई समाल्न सक्दिनँ भन्ने थाहा थियो। त्यसैले आमा लगायत परिवारलाई अगाडि बस्न सुझाएर म भेटघाटमा व्यस्त हुन थाले।
विमोचनपछि आमालाई किताब हातमा राखेर पढ्नु है भनेर दिएँ। त्यही उपस्थित एक व्यक्तिले आमाले पढ्नुहुन्छ भनेर फ्याट्ट सोधिहाल्यो। आमा फ्याट्फुट् अंग्रेजी त पढ्नुहुन्छ अनि बोल्नु पनि हुन्छ नेपाली त के हो र!
आमा लजाएर के आउनु जे पनि बोल्छे यो भन्नुभयो।
आमाले यसो भन्नुको कारण थियो आमा आफूलाई पढ्न लेख्न आउँछ भन्न लाज मान्नुहुन्छ।
विमोचन सकेको पर्सिपल्ट म अस्ट्रेलिया आइपुगें। आमालाई म आइपुगें भनेर फोन गर्दा त्योसँगै पेरिस्कानो पढिरहेको सूचना पनि दिनुभयो। आमाले पेरिस्कानो पढ्न सुरू गर्नुभएछ।
आमा किताब कस्तो लाग्दै ?छ भनेर सोध्दा, पढ्दै छु सकेपछि भनौंला भन्नुभयो।
बीचबीचमा फोन गर्दा आमाले सुनाउनुहुन्थ्यो आज यो पृष्ठ पुगें, अहिले यो पृष्ठ।
एकमहिनापछि आमाले किताबको बारेमा बल्ल भन्नुभयो।
किताबको बारेमा भन्नुभन्दा पहिला आमाले सोध्नुभयो - कति कुरा आएको? कहाँबाट आए यस्ता कुराहरू? के के लेख्न सकेको हो त्यो दिमागले पनि?आदि इत्यादि…
मलाई आमाको यो कुराभन्दा पनि प्रतिक्रिया सुन्न हतार थियो।
किताब त मेल्वर्नमा बसेकी एउटी नेपाली केटीको सङ्घर्षको बारेमा रहेछ है! आमाले एक वाक्यमा यति सरल र यति मीठोसँग भन्नुभयो कि लाग्यो किताबको पूरै समीक्षा यही वाक्यमा नै सकियो।
आमा मेल्वर्न आएर बसिसक्नुभएकोले पनि यहाँको दुःख, विद्यार्थीहरूको सकस र अन्य थुप्रै सङ्घर्षहरू देखेर जानुभएकोले पनि कथाका पात्र र ठाउँ चिरपरिचित लाग्यो भन्नुभयो।
किताबमा अंग्रेजी मिसिएर पढ्न र बुझ्न अलि गाह्रो भयो पनि भन्नुभयो। तर यो भन्न खोजेको होला भनेर अनुमान चाहिँ लगाएँ। अनि अंग्रेजीको चिठ्ठी नेपालीमा पनि उल्था रहेछ अलि सजिलो भयो त्यो बुझ्न भन्नुभयो।
टिनएजर्स मनु र समिरको प्रेम, सामिप्यता, शारीरिक सम्पर्कको बयान र पोखराको यात्रा अलि पढ्न लाज लागेको यसले किन यस्तो लेखी होला भन्ने पनि भयो। बरू यस्तो नलेखेर अरू केही लेखेको भए पनि हुने जस्तो लाग्यो भन्नुभयो। यो पृष्ठ पढ्न अलि असजिलो भयो, आमाले भन्नुभयो।
अर्को किताब लेख्दा चाहिँ अब यस्तो कुरा नलेख्नू ल फेरि मान्छेहरूले के के यस्तो यस्तो लेख्दी रहिछ भनेर के के सोच्लान्!
आमालाई चिन्ताले सताएको रहेछ। त्यो पृष्ठले दिन खोजेको सन्देशभन्दा पनि आमालाई छोरीलाई अरूले नराम्रो तरिकाले लेलान् भन्ने चिन्ता थियो। आमाको विचार थियो त्यो प्रतिप्रश्न गरिनँ। विवाद गर्नु थिएन। आमाको स्वच्छ मनले दिएको निर्दोष सुझाव थियो।
कथाको पात्र समिरलाई गाली गर्नुभयो कस्तो मोरो रहेछ कसैको बालक छोरीको जीन्दगी पनि त्यसरी बिगार्छन् त। त्यही भएर त्यसको भलो नभएको।उच्छृङ्खल केटो। पाप, धर्म, प्रेम, स्नेह भनेको त केही रहेनछ। दुःख पाइस् मंगले आफ्नै ढंगले भन्नुभयो।
‘अनि मनु कस्तो लाग्यो?’ मेरो प्रश्न।
‘ए त्यो कफी कुमारी?’
‘हजुर’
‘माया पनि लाग्यो, गर्व पनि भयो अनि रिस पनि उठ्यो।’
’रिस चाहिँ किन नि?’
‘उसको जिद्दीपन देखेर नि। त्यो उमेरमा के सही के गलत भनेर विचार त गर्न सकिन्छ नि। आमा बुबाले त्यत्रो पढाएर हुर्काए अनि लास्टमा रूवाएर, मेरो गोरूको बाह्रै टक्का भनेर विदेशै गइन्। त्यही पनि त्यही मोरोलाई भेट्न। घर परिवार रूवाएर, कसैको कुरा नसुनेर आफ्नो ज्यादा मनमानी गर्दा आखिर त्यस्तो हालत हुनुपर्यो। त्यत्रो दुःख पाइन्। केटीको मन स्थिर नहुँदा, अनावश्यक हठ लिँदा यो सब भयो। तर केटी साहसी रहिछ। अटल रहिछ। यदि त्यसरी गएर पनि दत्तचित्त भइ एकोहोरो आफ्नो खुट्टामा नउभिदिएको भए सबैले थुक्थे। समाज, घरपरिवार सबैको आँखाको कसिङ्गर हुन्थ्यो होला। कसैले मानमनितो दिँदैनथे। उसलाई इन्द्रले पनि धेरै सहयोग गरेछ। दुइटाको बिहे भएको भए हुने। तर के गर्नु विचरीको भाग्यमा कुइरे रहेछ।’
‘अनि त आमा पेरिस कस्तो लाग्यो?’
‘त्यसरी नहराएको भए हुने केटो।’
आमाले यो एउटा कल्पना हो भन्ने थाहा हुँदाहुँदै पनि सोध्नुभयो- विचरा कहाँ हरायो होला है, अब त मरिसक्यो होला हगि? यतिखेर चाहिँ म मज्जाले हाँसें।
‘आमा कथा हो खै के गर्यो गर्यो।’
आमालाई यो कुराले उत्सुकता बनाएछ। गोराहरूले पनि त्यति साह्रो माया गर्दो रहेछ है?- आमाको प्रश्न।
‘अनि त्योसँग पनि सुतेको कुरा नलेखेको भए हुने,’ आमाको अर्को चिन्ता।
‘त्यत्रो पन्ध्र वर्षपछि नेपाल आएकी जानेबेलामा आमाबुबालाई पनि घुमाउन लगेको भए हुने नि मनुले। मेल्वर्नमा त्यत्रो क्याफे खोलेको छु। त्यत्रो कमाएकी छु भनेर भनेपछि त्यो प्रगती हेर्न आमाबुबालाई लगेको भए कति खुसी हुन्थे होला। खाली त्यही कुकुर र त्यही गोरेको छोरीलाई मात्रै सम्झेकी छ। आमाबुबालाई त जाने हो भनेर सोध्नु त कहाँ छ कहाँ सोच्न पनि सोचिन। म भने एकचोटि भए पनि मेरो सङ्घर्षको सहर हेर्न जाऔं आमाबुबा भनेर सोधिन गाठेँ।’
आमाको यो कुराले चाहिँ मलाई छोयो। जति पनि पाठकहरूले मलाई प्रतिक्रिया दिनुभयो कसैले पनि यस्तो कुराको उजागर गर्नुभएको थिएन।
मलाई एकछिन सोचमग्न पनि बनायो आखिर किन मैले यो बारेमा केही सोचिनँ। जाबो एउटा लाइन त थियो थप्नुपर्ने। मनुले कहीँकतै आमाबुबालाई जानुहुन्छ भनेर सोधेको एउटा अनुच्छेद नै तयार गरेको भए पनि हुन्थ्यो नि जस्तो लाग्यो।
आमासँगको एकघण्टासम्मको संवादपछि भविष्यमा अरू पनि धेरै राम्रा किताब निस्कियोस्। लोकको मन जित्न सफल होस् भनेर आशिर्वाद दिनुभयो।
फोन राखेपछि मलाई लाग्यो यो किताब मेरो आमाको मनले होइन पेरिस्कानोकी नायिका मनुकी आमाले पढिरहेकी थिइन्।
यो पनि :
'पिआर र प्रेमको कथाः पेरिस्कानो'