'पुनःसंरचना'लाई गृहकार्यको रूपमा छोडेर कोरोना ढिला-चाँडो हामीबाट बिदा हुनेछ। कोरोना कहरले प्रायजसो सबै क्षेत्रमा गहिरो प्रभाव पारेको हुनाले त्यसपछिको केही समय पनि त्यति सहज नहुने देखिन्छ।
सबै क्षेत्र प्रभावित भएपछि शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहने कुरा भएन र छैन पनि। माहामारीको लामो प्रभाव शिक्षा क्षेत्रमै पर्ने निश्चित प्रायः छ।
बढी प्रभावित देशहरुमा त झन् सेप्टेम्बरसम्म नै स्कुल कलेजहरु सुचारु नहुने कुरा सुन्नमा आएको छ र त्यहाँको अवस्था हेर्दा यो स्वभाविक पनि हो। दोस्रो विश्व युद्ध पछाडि एकैपटक, एउटै कारणले यति लामो समयसम्म शिक्षण संस्था बन्द भएको यो नै पहिलो पटक हो।
यो अवस्थाले वर्तमान र भावी शिक्षा प्रणालि, पद्धति र विषयवस्तुको बारेमा विश्वव्यापी बहस सिर्जना गरिदिएको छ। जानकारहरुले अहिलेको परिस्थितिलाई विद्यमान पुरातनवादी सोचलाई प्रतिस्थापन गरेर शिक्षामा नयाँ आयाम भित्र्याउन उपयुक्त समय र अवसरको रुपमा चित्रण गरेका छन्।
कोरोना माहामारीको फैलावटले अब विश्वमा देखिएका वा देखिने कुनै पनि अवसर र चुनौतीहरु निश्चित ठाउँ वा भुगोलमा मात्र सिमित नहुने स्पष्ट पारिदिएको छ। यस्ता अवसरको सदुपयोग र चुनोतिको सामना गर्न अबको शिक्षा प्रणालि, विधि तथा पाठ्यक्रम विश्वव्यापी रुपमा अन्तर-सम्बन्धित हुन जरुरी छ। यसको लागि शिक्षाको विश्वव्यापीकरणमा जोड दिनुको विकल्प छैन।
कोरोना त्रासको सम्भावित मध्य भागमा आइपुग्दा बहस स्वास्थ्यबाट अर्थ तथा शैक्षिक व्यवस्थापन तर्फ मोडिएको छ।शैक्षिक बहसमा मुख्यत: दुई वटा कुरामा जोड दिइएको छ। पहिलो कुरा शिक्षण सिकाईमा प्रविधिको प्रयोग (अनलाइन सिकाई)लाई बैकल्पिक बिधिको रुपमा नभएर समानान्तर पद्धतिको रूपमा स्विकार्दै अगाडि बढ्नु पर्दछ भन्ने हो।
यसका लागि सरोकारवालाको सोच, पाठ्यक्रम, शिक्षक-विद्यार्थीको क्षमता, लगानी तथा स्रोत र साधनको उपलब्धता आदिमा पनि आमूल परिवर्तन गर्नुपर्ने हुन्छ। के तत्काल तेस्रो विश्व का मुलुकहरुमा यो कुरा सम्भव छ त?
अर्को कुरा विद्यार्थी विषयगत ज्ञानको लागि मात्र विद्यालय वा कलेजमा उपस्थिति हुँदैनन्। के अनलाइन सिकाईले सामाजिक, व्यवहारिक, साँस्कृतिक लगायतका पक्षमा विद्यालयको भूमिकालाई प्रतिस्थापन गर्न सक्ला? यी पनि बहसभित्रका महत्त्वपूर्ण मुद्दा र प्रश्नहरु हुन्।
दोस्रो कुरा अबको शिक्षाले कस्तो जनशक्ति उत्पादन गर्ने वा विषयगत रूपमा केलाई महत्त्व दिने भन्ने हो। पहिलाका विषय वस्तुहरु सबै परिवर्तन गर्नुपर्छ भन्ने त होइन तर केही परिवर्तन गर्न जरुरी छ। विश्वव्यापी रूपमा महत्त्व दिइएको जलबायु परिवर्तन, मानसिक स्वास्थ्यसगैँ जन-स्वास्थ्य र इमोशनल इन्टिलिजेन्सलाई पनि अबको शिक्षाले आफ्नो मुख्य विषय बनाउन जरुरी छ।
कार्यान्वयन कति र कुन ठाउँमा होला त्यो फरक कुरा हो। तर अब शैक्षिक क्षेत्रमा केही परिवर्तन अवश्य नै हुनेछ। माउसको एक किल्कले ज्ञानको प्रवाहा हुने समयमा कमजोरी र अभावका बाबजुद जति सकिन्छ हामी पनि यसमा लाग्नुको विकल्प छैन।
प्रविधिमैत्री शिक्षाको मार्गमा प्रवेश गर्दा इन्टरनेटको पहुँच नभएका र आवश्यक पूर्वाधार नभएका विद्यालय/विद्यार्थीलाई विभेद र तनावको स्थिति सिर्जना नहुने गरी अगाडि बढ्नु पर्दछ। यसको लागि सुविधा भएकाले प्रयोग गर्न मिल्ने र नभएको ठाँउमा पहुँचको विस्तार गर्न सक्ने गरी सम्बन्धित निकायले नीति निर्माण गर्न जरुरी छ।
डिजिटल पेल्टफर्महरुले पनि शिक्षाभित्र व्यावसायिक अवसर देख्न थालेका छन्। जसको फलस्वरूप शिक्षाको दायरा झन् फराकिलो हुने निश्चित छ। शिक्षा क्षेत्रमा सृजित नयाँ आयमहरुले यसभित्र तपशिलका आधारहरु स्थापित हुने देखिन्छः
१) अबको पुस्ताको सिकाई प्रक्रियामा सबैभन्दा मुख्य र प्रभावकारी भूमिका प्रविधिको हुनेछ।
२) विद्यालय, शिक्षकको भूमिका परिवर्तन हुनेछ भने विद्यार्थीको सक्रियता बढ्नेछ।
३) विश्वविद्यालय, कलेज तथा विद्यालयले भौतिक संरचनामा भन्दा प्रविधिको विकास र उपयोगमा बढी लगानी गर्ने छन्।
४) टेलिकम कम्पनी, इन्टरनेट सेवा प्रदायकहरु, प्रविधिजन्य वस्तु उत्पादन गर्ने उत्पादकहरु पनि शिक्षा क्षेत्रका मुख्य सरोकारवाला हुनेछन्। यसले शिक्षामा सार्वजनिक-निजि साँझेधारीको महत्त्वलाई झन् बढाउनेछ।
५) आधुनिक शिक्षामा जन-स्वास्थ्य, सहानुभूति, नैतिकता, संवेगात्मक वौद्धिकता जस्ता विषयवस्तुले बढी महत्त्व पाउनेछन्।
६) प्रविधिको प्रयोगले शिक्षण पेशालाई ग्ल्यामरस बनाउने छ। यो पेसामा आकर्षण पनि बढ्नेछ।
७) अनप्रिडिक्टेबल संसारमा कम्तिमा पनि शिक्षक, शिक्षा प्रदायक र विद्यार्थीको इन्टरनेट र प्रविधिमा पहुँच हुनुपर्ने मान्यता स्थापित हुनेछ।
८) प्रविधिको प्रयोगले सिकाइलाई रुचिकर र अन्तर्क्रियात्मक बनाउने भएकोले ड्र्प-आउट (बिचमै पढाइ छोड्ने) दरमा कमि आउने छ।
९) प्रविधिको प्रयोगले विषयवस्तुलाई सरलीकरण गरि मूर्तरुप दिन सहयोग गर्ने भएकोले सिकाई तुलनात्मक रूपमा कम झन्झटिलो तर उपलब्धिमूलक हुनेछ।
१०) तत्कालै पूर्ण-परिवर्तन नभए पनि तेस्रो विश्वको शिक्षा पद्धतिले पनि विस्तारै प्राविधिक धारलाई आत्मसाथ गर्नेछ।
विपत्तिको निरन्तरता नियमित प्रकृया हो। हाम्रो जीवनकाल मै योभन्दा विकराल समस्या नआउला भन्न सकिँदैन। त्यसकारण। अहिलेको बहस र यसबाट निस्केको निष्कर्षले शिक्षा क्षेत्रलाई यसरी पुन:संरचना गर्न जरुरी छ कि कठिन परिस्थितिमा पनि सिकाईमा बाधा नपुगोस्।
(लेखक एक निजि विद्यालयका प्रिन्सिपल हुन्।)