मभन्दा पहिला ऊ क्याफेमा आइसकेको थियो।
आफ्नो नाडीमा भन्दा पनि मैले क्याफेको भित्तामा हेरें। पाँच बज्न अझ दस मिनेट बाँकी थियो।
म ढिलो भएकी थिइनँ तर उसलाई हेर्दा लाग्यो ऊ अवश्य पनि चाँडो आएको हुनुपर्छ।
क्याफेको ढोकाबाट दाहिने मोडिँदै सबभन्दा कुनाको टेबलतिर पाइला बढाएँ। ऊ त्यहीँ कुनाको टेबलमा ल्यापटप र हट लेमन विथ हनीसँग थियो।
म उसको नजिक पुग्दा पनि ऊ एकोहोरो ल्यापटपमा केही लेखिरहेको थियो। ऊ यसरी ल्यापटपको किबोर्डमा आफ्ना औंला चलाइरहेको थियो कि मानौं उसका औंला घोडा हुन् र प्रथम हुन रेसमा दौडिरहेका छन्।
यो रेसमा गुन्जेको घड्घडाहक घड्क खड्क खड्क......आवाजलाई हट लेमन विथ हनी’ले बाहेक अरू कसैलाई झेल्ने फुर्सद छैन।
सायद त्यही भएर होला हट लेमनमा हनी अहिलेसम्म घुलिन नपाएको।
ग्लासको पिंधमा हनी एक ढिक्का भएर बसेको थियो। एकदमै चोखिएर। कागतीको अमिलोले पनि कुँढ्याउन नसकेर। यही दृश्य हेर्दै उसको अगाडिको कुर्सी सुस्त तानें अनि केही नबोली सुस्तै बसें।
ऊ झस्यांग भयो अनि स्वाट्ट ल्यापटप बन्द गर्यो।
‘यू क्यान कन्टिन्यू वाटएभर यू आर डुइङ, पाँच बज्न अझ पाँच मिनेट बाँकी छ।’ भेट्न निर्धारित गरेको समय अझै बाँकी छ भनेर मैले इंगित गरें।
‘तिमी आयौ, अब यो काम जरूरी हुन सक्दैन।’ उसले मेरो उपस्थितिको मान राख्यो।
‘बाइ द वे के लेख्दै थियौ एकसुरमा?’ मैले जिज्ञासा पोखें।
‘तिम्रो मौनता अनि मेरो बेचैनी।’ ब्लगको लागि नयाँ कथा।
‘वाह ! अद्भूत।’ यति मात्रै जवाफ दिएँ अनि पर उभिरहेको वेटरलाई इशाराले बोलाएँ। हातमा सानो चिट र पेन लिएर वेटर रेडी भयो।
मैले मसरुम सुप र ग्रीन टि मगाएँ। उसले साल्मन पास्ता मगायो।
अर्डर गरेपछि एकछिन हामी दुवै शान्त भयौं। के बोल्ने, को बोल्ने र कुरा कसरी सुरू गर्ने भन्नेमा हामी दुवै दोधारमा परेका थियौं।
कुराको खाता मैले नै खोलिदिएँ छेउको रहेको बेवारिसे हट लेमन विथ हनीलाई इशारा गर्दै–‘समयमा नै पिऊ, नत्र हट कोल्ड हुन्छ।’
‘हाम्रो सम्बन्ध जस्तै?’ उसले प्याच्च भन्यो।
‘कोल्ड पो हुन्छ भनेको आइस हुन्छ भनेको होइन।’ मैले पनि प्याच्चै जवाफ फर्काएँ।
यति भनेर मैले यो प्रसंग मोड्न खोजें। उसको परिवारको हालखबर सोधेर।
‘राम्रै छ। छोरी दिनदिनै ठूली हुँदैछिन्। अरू त त्यस्तै हो।’ लामो श्वास फेर्दै उसले उत्तर दियो।
उसको लामो सुस्केराले दिनदिनै ऊ जिम्मेवारी पिता बन्दै गएको देखाउँथ्यो।
‘अनि तिमीलाई चाहिँ कस्तो छ नि?’ मैले सोधें।
‘विचलित छु।’ मलाई एकटक हेरेर उसले उत्तर दियो।
मैले पनि उसको आँखामा आँखा जुधाएर भने,‘तिमी विचलित हुनु के नौलो कुरा हो र ? बरू भन न कहिल्यै चाहिँ विचलित थिएनौ र?’
ऊ केही बोलेन तर वेटर बोल्यो –‘म्याम, योरर्स मसरुम सुप एण्ड ग्रीन टि।’
त्यही आवाजमा वेटरले उसलाई पनि साल्मन पास्ता टक्रायो अनि एउटा मीठो मुस्कान दिएर बिदा भयो।
म सुप पिउन थालें र उसलाई पनि पास्ता खान आग्रह गरें।
पास्ता खाँदै उसले सोध्यो, ‘मन विचलित नहुन के गर्नुपर्छ?’
‘भगवान बुद्घलाई जस्तो प्रश्न नगर न, पास्ता खाऊ , लुक्स् एम्मी’
‘खान्छौ?’ऊ प्लेट मतिर सार्छ।
साल्मनको एक दुई टुक्रा प्लेटबाट उठाएर सुपमा मिसाउँछु र प्लेट उतिरै सारिदिन्छु।
तिमीलाई के कुराले मसँग भेट्न मन लाग्यो यतिका वर्षपछि? उसले फ्याट् सोधिहाल्यो।
ऊ आफ्नो अगाडि भएको साल्मन पास्ताको भन्दा मेरो उत्तरको भोको छ जस्तो लाग्थ्यो।
‘खासै त्यस्तो कारण होइन । मेरो बिहेको कार्ड दिन बोलाएकी।’ मैले मजाक गरें।
तर मेरो मजाकमा पनि उसको अनुहार रातोपिरो भयो र नपत्याएको जसरी सोध्यो–साँच्चै हो?
‘हो भन्या, तिमीले उहिल्यै बिहे गरेर छोरी पनि हुर्काइ सक्यौ। म चाहिँ बिहे गर्नु परेन त?’ मेरो जवाफले ऊ भुतुक्क भयो।
त्यो भुतुक्क सहन नसकेर उसले छेउको गिलासमा रहेको सादा पानी पियो तर हट लेमन विथ हनीलाई हेर्दा पनि हेरेन।
‘नआत्तिऊ, मजाक गरेको हो। बिहेको कार्ड दिने दिन पनि त एकदिन आउँला। तर तिमीलाई भेट्न खोज्नुको कारण चाहिँ चार वर्षपछि तिमी बस्ने सहर आएकी थिएँ। सोचें फर्किनुभन्दा अगाडि तिमीलाई भेटौं।’
यति भनेर म कपमा ग्रीन टि खनाउन थालें।
मेरो कपमा झर्दै गरेको ग्रीन टिलाई निहाल्दै उसले सोध्यो–‘ग्रीन टिको पारखी अझै छौ?’
‘हतपत मेरो स्वाद फेरिँदैन।’
‘तिमीले भन्न खोजेको के मेरो स्वाद चाहिँ फेरिरहन्छ?’
‘पहिला कडा मसलेदार चिया, त्यसपछि दूध हालेको कफी, फेरि त्यसपछि चिनीबिनाको कालो कफी, अनि अहिले हट लेमन विथ हनी। सिजनल छौ तिमी, पो भन्न खोजेको।’
‘ओके, तिमीलाई मसँग अझै झगडा गर्न मन छ?’
‘तिमीसँग झगडा गरेर मेरो के प्राप्ति गर्नु छ र अब? त्यहीमाथि एकअर्कासँग झगडा गर्ने, सताउने अधिकार त हामीले चार वर्ष अगाडि नै गुमाइसक्यौ हैन र?’ ग्रीन टिको अलि कडा स्वाद भएछ तर खाँदा मज्जा नै आयो।
‘अनि सुनाऊ जीवन कस्तो चल्दै छ तिम्रो? फेसबुकमा त एकदमै खुसी देखिन्छौ।’
उसले कस्तो छ भनेर प्रश्न पनि सोध्यो अनि खुसी देखिन्छौ भनेर उत्तर पनि दियो।
‘फेसबुकमा मात्रै होइन रियलमा पनि अत्यन्त खुसी छु।’ जवाफसँगै कडा ग्रीन टि खान मज्जा नै आइरहेको थियो।
‘त्यो त हो। तिम्रो यी जवाफले पनि देखाइरहेको छ कि तिमी कति खुसी र आनन्दित छौ भनेर।’
‘अनि तिमी मेरो खुसीमा खुसी हुन नसकेको चाहिँ तिम्रो प्रश्न र अहिलेको भावले बताइरहेको छ।’
‘बुलसिट, तिम्रो खुसीमा म किन डाहा गर्ने?’
‘त्यो त तिमीलाई थाहा होला नि! किन मेरो खुसीमा खुसी भइरहेको छैनौ भनेर?’
‘के भन्न खोजेको सिधै भन न,तिम्रो कुरा घुमाउने बानी मलाई कहिल्यै मन परेन।’ अलि भाउ खोजेर उसले बोल्यो।
मैले भाउ नदिइ भनिदिएँ–‘तिम्रो कुरा टार्ने बानी पनि त मलाई कहिल्यै मन परेन।’
(वेटर आएर खाली सुपको भाडा, ग्रीन टि पट र कप लिएर जान्छ । तर उसको पास्ता आधा पनि सकिएको थिएन। उसको पास्ता खानलाई होइन तर हट लेमन विथ हनीलाई सँगै बस्न साथी ल्याइदिएको जस्तो मात्रै भयो।)
‘पास्ता खाऊ न। खानेकुराको यसरी तिरस्कार गर्नुहुँदैन–टिस्यूले मुख पोच्दै भनें।’
‘मेरो केही मतलब छैन तर पास्ताको अवहेलना भएको चाहिँ चिन्ता छ है तिमीलाई?’
अब त झन् ऊ पास्ता खाने मूडमा देखिएन। तर मैले छेउको काँटा उठाएर उसको प्लेटबाट पास्ता बेरें र खाएँ।
‘सुपभन्दा पनि मीठो रहेछ पास्ता। तर राम्रो र मीठो चिजको परख गर्न नजान्ने कसैकसैको पुरानो बानी।’
‘तिमी आफूलाई सही र मलाई गलत ठहराउन चाहन्छौ?’
भगवान बुद्धले भन्नुभएको छ– ‘सूर्य, चन्द्रमा र सत्य लुकाएर पनि लुक्दैन। को सही, को गलत भन्ने कुरा लुकाएर लुकिन्छ र? तिमी र मेरो अगाडि छर्लंग छ।’
यति भनेर मैले नघुमाई बाँकी कुरा गर्न थालें।
‘हेर, जीवनमा तिमीले मन लागेको सबै गर्यौ। पाँच वर्षको हाम्रो रिलेसनलाई तिमीले सजिलै एक घण्टामा नै तिलान्जली दियौ। धेरै कारण पनि नखुलाई एउटा कारण मात्रै भनेर तिमी गयौ। त्यो भनिएको एउटै कारण थियो–तिमीलाई हाम्रो सम्बन्ध बन्धन हुन थाल्यो।’
ऊ बीचैमा बोल्यो –‘त्यो नै सत्य थियो। मलाई मैले भनेको यो कुरामा केही पश्चताप छैन।’
‘ठीकै छ। मैले कहाँ तिमीलाई पश्चताप छ भनेकी छु र? एउटासँग बन्धन मुक्त भएर केही समयमा नै अरूसँग बन्धनमा बाँधिने कस्तो सिद्धान्त रहेछ भनेर अचम्म मात्र लागेको हो।’
यति भनेर म फेरि बोल्न थालें।
‘तिमी नयाँ जीवनमा प्रवेश गरेको यथार्थलाई मैले ढिलोचाँडो स्वीकार गरें र जिन्दगीमा निरन्तर अगाडि बढिरहें। जति रोएँ आफूभित्रै रोएँ र आफूभित्रै समालिए पनि। तर गत वर्ष अर्थात् तीन वर्षपछि तिमी मलाई अचानक फोन गर्छौ। मैले फोन उठाउन भ्याउदिनँ अनि फेरि तिमी तुरून्त म्यासेज गछौ “मिस्टेक्ली डायल्ड। मिस्टेक्ली डायल्ड भएपछि म पुन म्यासेजको रिप्लाइ र फोन गर्न जरूरी ठान्दिनँ। फेरि केही दिनपछि तिमी फोन गर्छौ म उठाउँछु। तिमी उताबाट बोल्दैनौ।
कुरा रह्यो फेसबुकको, फेसबुकमा फेरि पनि जोडिन मन थियो त किन मलाई ब्लक गर्यौ? अचानक फेरि मलाई फ्रेण्ड रिक्वोस्ट पठाउँछौ, सबै भुलेर तिमीलाई एसेप्ट गर्छु। तिमी दिनदिनै म्यासेज गर्न थाल्छौ। म कुनै पनि म्यासेजको रिप्लाई दिदिनँ। यही कारणले फेरि तिमी मलाई अनफ्रेण्ड गर्छौ अनि ब्लक। मेरो फोटोहरूमा फेक आइडीले लामो कमेन्ट गर्ने पनि तिमी नै हौ र कुनै रियाक्सन नआएपछि कमेन्ट डिलिट गर्ने पनि तिमी नै हौ। जीवनको पाँच वर्ष निष्ठापूर्व मैले तिमीसँग बिताएकी थिएँ। त्यसैले पनि म तिम्रो यस्ता एक-एक विचलित स्वभावसँग परिचित छु।’
मेरो जवाफले ऊ केही बोलेन। पानी मात्रै पिइरह्यो। हाम्रो यो संवादमा पानी ऊ धेरै पिइरहेको थियो तर पिसाबले भने मलाई च्याप्यो।
एकछिन रेस्टरूम गएर आउँछु भनेर म निस्किएँ। रेस्टरूमबाट आउँदै गर्दा वेटरलाई बिल ल्याइदिनू भनेर पनि अराएँ।
म फर्केर आउँदा ऊ मूर्तिझैं त्यहीँ टेबलम विराजमान थियो।
‘जति कुरा गर्यो त्यति निस्कन्छ। भयो अब कुरा नगरौं ती दिनहरूको। अब म निस्कनु पनि पर्छ। तिमीलाई भेटेर खुसी लाग्यो।’ मैले औपचारिता निभाएँ।
‘आइ एम सरी’ उसको भनिहाल्यो।
मलाई हाँसो उठ्यो। उसको सरीले मेरो भावनालाई कहीँकतै छोएन।
‘गुड अन यू, यो तीन शब्द भन्न चार वर्ष लगायौ।’ यति मात्रै भनें।
उसले जाँदाजाँदै एउटा प्रश्न गर्छु भन्यो।
मैले आज्ञा दिएँ।
‘तिमी मलाई अझै महशुस गर्छौ ?’
म जाँदाजाँदै उसलाई उत्तर दिएँ– ‘तिमीलाई मात्र होइन तिमीभन्दा अगाडि आएका ती व्यक्तिहरूलाई पनि म महशुस गर्छु र तिमी गएपछि आएका अन्यलाई पनि महशुस गर्छु। सानोमा भाँडाकुटी खेल्दा मेरो दुलाहा बनेको त्यो व्यक्तिलाई पनि म महशुस गर्छु।’
‘म पुन: तिम्रो राम्रो साथी बन्न चाहन्छु’ जाँदाजाँदै उसले आफ्नो रहर पनि सुनायो।
‘होइन, मलाई त लाग्दैछ तिमी पुन: मेरो प्रेमी हुन चाहन्छौ, साथी होइन।” मलाई यो भन्न कहर लाग्यो।
तिमीबाट टाढा हुने मेरो अर्को कारण, यही तिम्रा बढी बुझ्ने बानी पनि हो। चार वर्षपछि उसले छुट्टिनुको अर्को कारण बतायो।
‘तिम्रो त्यही बुझ्दै नबुझ्ने बानीले मलाई अब पुन: तिम्रो समिपमा आउन रोकिरहेछ।’ मैले पनि साथी बन्न नसक्ने कारण खुलाइदिएँ।
यो संवाद चलिरहँदा वेटरले बिल ल्यायो।
बिल कसलाई दिने वेटर दोधारमा पर्यो। मैले दोधार मेटाउन उसको हातबाट बिल लिएँ। तर उसले मेरो हातबाट बिल तान्यो र पर्सबाट पैसा निकालेर बिलसँगै राखिदियो।
मैले पनि पर्सबाट बिलमा उठेको पैसा उसको पैसामाथि राखिदिएँ।
वेटरलाई के गरूँ गरूँ भयो। मैले सरल पारिदिएँ र भने–‘सरले दिनुभएको पैसा टिप्सको रूपमा आफैं राख्नु होला, यो चाहिँ क्याफेलाई अनि चेन्ज पर्दैन।’
वेटर आनाकानी गर्दै कन्फ्यूज्ड मूडमा भित्र गयो।
म बसेको ठाउँबाट जुरूक्क उठें र भनें– ‘यसरी घुरेर नहेर न। आफ्नो ग्रीन टि र मसरुमको पैसा तिरेको हो। तिम्रो पास्ता र यो हट लेमन विथ हनीको होइन।’
‘तिम्रो यो एटिट्युड, तिम्रो घमण्ड अझै जीवित रहेछ। यो देखेर फेरि एकपटक हेट गर्न मन लाग्यो तिमीलाई। आई हेट यू।’
यो शब्द उसको मुखबाट मलाई नौलो थिएन। केही प्रतिक्रिया नदिइ हातमा ब्याग लिएर बाई भनें।
‘तिमीले सुनिनौ आइ हेट यू। आइ हेट यू मोर देन एनिथिंस्’ ऊ यी शब्द दोर्याइरहेको थियो।
‘वास्तवमा सही कुरो हो, यो लभ अफयेर्स कहिल्यै मर्दैन रहेछ। इट क्यान टर्न इन्टु अ हेट अफर्यस्।’
मलाई अन्त्यमा यत्ति भन्नुथियो। यत्तिनै भनें।
मेरो जवाफले रिसाएर ऊ मभन्दा पहिला नै क्याफेबाट निस्कियो।
क्याफेमा ऊ पहिला आयो अनि पहिले नै गयो। मेरो जीवनमा पनि ऊ आफैं पहिला आयो र पहिलै। उसको पहिलो हुने दौड आजसम्म रहेछ।
उसलाई त राम्ररी बाई भनिनँ। तर टेबलमा नघोलिएको हट लेमन विथ हनीलाई भने प्रेमपूर्वक बाई भनेँ।
ढोकाबाट जाँदै गर्दा फर्केर पुन: नघोलिएको हट लेमन वlथ हनीलाई हेरें र महशुस गरें– कति कुरा नघोलिएको नै वेस्ट हुन्छ।