कोरोना भाइरस उर्फ ‘कोभिड-१९’ कसरी, कहिले र कहाँबाट मानिसमा फैलियो र अहिले विश्व आक्रन्त बन्यो? केबाट फैलियो? यो प्राकृतिक माहामारी हो अथवा कसैले ल्याबमा बनाएको जैविक हतियार? यो कस्तो विषाणु हो? यो कस्तो त्रास हो?
यो कस्तो समय हो? यो कस्तो भय हो? यसका परिवार कति छन्? यो कुन भाइ हो? यी प्रश्नको उत्तर समयले बताउला अथवा खोज अनुसन्धान गर्नेले गर्लान् र हामीले भविष्यमा पढ्न, सुन्न पाइएला नै। यस बारे मलाई यति थाहा छ कि यो एउटा महामारी फैलाउने भाइरस हो।
यसले धनी, गरिब, मास्टर, मिनिष्टर, लिटरवाला, मिटरवाला केही पनि भन्दैन र देख्दैन। यसले सबैलाई समान व्यवहार गर्छ र यसले कसैलाई काखा, कसैलाई लाखा र कसैलाई पाखा गर्न जान्दैन। जसलाई पनि हमाला गर्न सक्छ।
सरकारको आदेश मान्नु पर्छ। मान्छेसँग दुरी राख्नु पर्छ। घरमै बस्नु पर्छ। राम्रोसँग हात धुनु पर्छ। बस्, कोरोनाका बारेको मेरो पूर्ण ज्ञान यही हो।
म जस्तै तपाईहरूले पनि अहिलेको युगमा पनि घरमै थुनिएर घरबन्दी भएर बस्नुपर्ला भन्ने सोच्नुभएको थिएन होला। यो ‘लकडाउन’ उर्फ ‘बन्दाबन्दी’ कटाउन हामीलाई सामाजिक संजाल र संचार माध्यमले धेरै सहयोग गरिरहेका छन। यदी यि हुन्थेनन् भने हाम्रो समय कसरी कट्थ्यो होला?
त्यतातिर धेरै नजाउँ किनभने आजको यो आलेखको उद्देश्य यो हैन। विषयवस्तु बाहिर जानु सान्दर्भिक पनि छैन। यो समयमा ‘घरबन्दी’ हुँदा सामाजिक संजालमा जे-जे देखियो, त्यसको संक्षिप्त चर्चा मात्र आजको यो आलेखमा गर्न खोजेको छु।
सुरु-सुरुका दिनहरुमा मान्छेलाई लकडाउन हो कि नेपालबन्द हो, थाहा नै भएन। दिनभर घरभित्र बसेका मान्छेहरु साँझ पाँच बजेपछि गुरुरु बाहिर हावा खान हिँडेको देखियो। बोराका बोरा चामल, किलोका किलो दाल र चिनी किनेको, स्यानिटाइजर खोज्दै हिँडेको, एउटै परिवारमा सात वटासम्म ग्यासका सिलिन्डर थुनेको पनि सामाजिक संजालमै देखियो।
यस्तो माहामारी देखेर पनि नडराएर लखर-लखर बाटामा हिँड्ने मान्छेलाई प्रहरीले नीलडाम बस्ने गरी बजाएका र साँचाले समाएका दृश्यहरु पनि देखियो। आफू सुत्ने खाटको तन्ना मिलाए कि मिलाएनन् थाहा छैन तर धेरैले तन्नाका बुट्टा गन्न भ्याए, कतिले झ्यालका डन्डी र फुलेका कपाल गन्न भ्याए।
टिकटक बनाएर प्रतिभा देखाउने र अर्काको फेसबुकमा रहेका पुराना फोटा बुस्ट गर्ने होडबाजी पनि चल्यो त्यो बेला।
यो लकडाउन अवधिमा धार्मिक पक्ष पनि सशक्त देखियो। पण्डितजीले फेसबुक लाइभबाटै महामृत्युञ्जय मन्त्र जपेर र पुराण भनेर भक्तजनको मनमा शान्ति फैलाएको देखियो। पास्टरले येशुका नाममा झाँक्री बसेर कोरोना भगाए र बाइबलका मन्त्र पढेर पायल्स लगायतका रोगको उपचार गरेर विश्वासीका मनको त्रास र शरीरको रोग दुवै भगाएको देखियो।
घरका श्रीमानहरू अरू बेला किचनको डाइनिङ टेबलभन्दा भित्र छिर्थे वा छिर्दैनथे थाहा भएन तर यस पटक श्रीमतीलाई खुरुखुरु भान्साका काममा सघाएको पनि देखियो। गरिबले राहत नपाएर धुरुधुरु रोएको, धनीले राहत कुम्ल्याएर मुसुमुसु हाँस्दै हिँडेको पनि देखियो।
हुँदाहुँदा अघिल्लो दिन '२५ जनाभन्दा धेरै एक ठाउँमा भेला हुन पाइन्न है' भन्ने मन्त्रीजीले नै भोलिपल्ट २५० भन्दा धेरै पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेको पनि देखियो। सामाजिक संजालले शान्ति र हाँसो मात्र काहाँ दियो र? कुनै-कुनै दृश्यहरुले त मान्छेका आँखा पनि रसाए।
प्रहरी शान्ति सुरक्षाका लागि दिनरात नभनी डटेको, डाक्टर र नर्सले पिपिई बिना पनि बिरामी बचाउन ज्यानको बाजी थापेर खटेको, डाक्टर र नर्स नै स्यानिटाइजरको लाइनमा बसेको, पत्रकारले दिनरात नभनी खट्नुपरेको, यस्तो बेला पनि व्यापारीले कालोबजारी गरेको तर कार्बाहीमा नपरेको, महाकालीपारि नेपाल देश रोएको, निजी अस्पतालले बिरामी लिनै नमानेको, बिरामी छट्पटाई छट्पटाई एम्बुलेन्समै मर्नुपरेको जस्ता दृश्यहरू कम हृदयविदारक थिएनन्। यी सबै कुराहरु पनि देखियो।
झन् यो लकडाउनका समयमा यो देशका धर्मशास्त्री, अर्थशास्त्री, जीवशास्त्री, ज्योतिषी, पोषणविद्, कृषिविद्, वनस्पतिविद्, वातावरणविद्, कवि, लेखक, नेता, अभिनेता, वैज्ञानिकहरूले आफ्ना विचारहरू एकसे बढकर एक राखेको पनि देखियो। कसैले कोरोना फैलिनुको कारण बताए। कसैले भविष्य प्रतिको चिन्ता जताए। कसैले जनचेतना जगाए, कसैले कोरोनाबाट बच्ने उपाय सुझाए।
केही धर्मशास्त्रीले धर्मनष्ट भएर कोरोना फैलिएको निस्कर्ष निकाले। ज्योतिषीले कोरोना फैलिनुमा सूर्य ग्रहणलाई दोषी ठाने। जीवशास्त्रीले प्राकृतिक जीवचक्रमा परेको असर बारे बताए। वातावरणविद्ले वातावरण प्रदूषण नै यसको मूल कारण हो भनेर दावा गरे। खाद्यविद् र पोषणविद्ले खानाका अनेक परिकार सिकाए। सधैँ ह्विस्कीको चुस्की लगाउने मुखलाई पनि गुर्जोको झोल चखाए।
अर्थशास्त्रीले देशको आर्थिक भविष्यबारे चिन्ता गरे। वनस्पतिविद्ले चुरे र चारकोसे मासिएकामा दु:ख व्यक्त गरे। कृषिविद्ले तराईको जमिन काँक्रा चिरिएझैँ चिरिएकामा दुःख व्यक्त गर्दै यस्तै विपत्ति पर्ने हुँदा कृषिमा देश आत्मनिर्भर हुनुपर्ने सुझाव दिए। कवि, लेखक पनि पछि परेनन्। कसैले कोरोना रोक्न विज्ञानले केही गर्न नसकेकामा विज्ञानकै धज्जी उडाए। कसैले संवेदनाका गीत गाए। कसैले जनचेतना फैलाए।
फेसबुक र ट्ववीटरमा मात्र देखिने विद्वानहरूले पनि धेरै ज्ञानगुनका कुरा सिकाए। कसैकसैको त नेपाली भाषामा लेखिएको स्टाटस पढ्दा लाग्थ्यो, नेपाल राष्ट्र बैंकको भावी गभर्नरमा तिनीहरु कै नियुक्ति हुँदै छ। यी सबै देखियो, पढियो।
केही अपवादलाई छाडेर विषयविज्ञ र युवा जमातका धेरै लेख, रचना र अभिव्यक्तिहरु हेर्दा लाग्यो, अब नेपालमा केही हुँदै छ। प्रकृति संरक्षण हुँदै छ। देश कृषिमा आत्मनिर्भर हुँदैछ। अब देशका युवाहरू काम खोज्दै विदेश भौँतारिने छैनन्। देशमै स्वरोजगारको बाटो खोजिनेछ। अब युवा जाग्नेछन्, देश विकासमा लाग्नेछन्। यी सबै देखियो, पढियो पनि।
तर फेरी पनि मलाई लाग्छ- यी सब फुर्सदका गफ मात्र हुन्। २०७२ सालको भूकम्प र नाकाबन्दीमा हामीले यस्तै कुरा गरेका थियौँ तर ती कुरा कति कार्यान्वयन भएका थिए र? देश के मा आत्मनिर्भर भयो? राज्यले उत्पादनमूलक क्षेत्रमा कति लगानी बढायो?
आखिर हामी नेपाली न हौँ। हामी नेपालीहरू सुध्रनका लागि बिग्रेका नि होइनौँ। यी त केवल समस्यामा पर्दा चलेका स्यालका हुइँया हुन्। समस्या सकिएको भोलिपल्टै हामी हाम्रै तालमा आइपुग्छौँ। संकट पर्दा धेरै कुरा सोच्छौँ अनि जब हाम्रो दुख सकिन्छ तब त्यो सबै बिर्सन्छौँ।
खल्तीमा पैसा नहुँदा पैसा भयो भने यस्तो गर्छु उस्तो गर्छु भनेर योजना बनाइन्छ अनि जब पैसा खल्तीमा हुन्छ बिलासी कृयाकलापमा नै भुल्ने बानी जस्तै हो हामी नेपालीको बानी।
हाम्रो पूर्वीय दर्शनले परोपकारका लागि वा समाज र राष्ट्रका लागि बाँच भन्छ। हामीले यसलाई आफ्नै उपकारका लागि बाँच भनेको बुझेका छौँ। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि नै हाम्रोमा आत्मोपकारका लागि बाँच्ने चलन चलेको देखिन्छ।
शाह वंशीय राजा, महाराजाले भोग विलासका लागि रानी थुपारेको, रानीहरूले आफ्नो छोरो राजा बनाउन पाए आफ्नो आत्मोपकार हुन्छ भनेर गाँड कोराकोर गरेर देश ध्वस्त पारेको इतिहासमा हामीले पढेकै छौँ। राणाहरू पनि आत्मोपकारमै रमाएका थिए।
प्रजातन्त्रपछि यसका हिमायतीहरू आत्मोपकारमै लागेकाले पंचायत आयो। यसले पनि परोपकार गर्न सकेन। पुन: प्रजातन्त्र र गणतन्त्रको पनि हालत उस्तै छ। सबैले परोपकारलाई भन्ने आत्मोपकार बुझे। उल्टो कुरा बुझ्ने चलन पुर्खादेखि नै चलिआएको संस्कार न पर्यो। यसको उल्लंघन गर्नु हुँदैन।
लेख्दा-लेख्दै भावुक भएर म प्रसँग बाहिर गएछु। फेरि पनि म आजको यो आलेखको प्रसंगमा फर्कन चाहन्छु।
मेरो फेसबुकका एक जना मित्रले ‘कोरोना’ उर्फ ‘कोभिड- १९’ को महामारीमा दिनरात नभनी आफ्ना जनताको ज्यान बचाउन खटिएका मन्त्रीजी प्रति व्यंग्य गर्दै लेखेका थिए- 'विना सुरक्षा सामग्री कोरोना भाइरसको उपचारमा खटिएका डाक्टरहरुको टोली मन्त्रीजी कहाँ पुगेर, मन्त्रीजी! यस्तै हो भने त हाम्रै काल आयो भनेका त मन्त्रीजीले माल आयो भनेको सुनेछन्।'
उनको यो दावी के कति सत्य हो, थाहा भएन तर यो विषयमा उनको फेसबुक वालमा पक्ष र विपक्षमा दोहोरी चलेको देखियो। पक्षका सबैले एकै पटक हनुमान र विपक्षका सबैले शकुनीको संज्ञा पाएको पनि देखियो।
मन्त्रीजीले स्पष्टीकरण दिएको पनि देखियो। तर, उल्टो मात्र बुझ्न बानी परेका तपाई हामीले उल्टै बुझे पनि त्यसमा मन्त्रीजीको दोष होइन, तपाई हाम्रै दोष हुने हो।
फेरि पनि भन्छु हामी सुध्रदैनौँ। कोरोना त्रास मत्थर भएका भोलिपल्टबाट मच्चिनेहरू अस्तिझैँ मच्चिनै रहनेछौँ। घरमै थच्चिनेहरू थच्चिनै रहनेछौँ, काममा जोतिनेहरू जोतिई नै रहनेछौँ।
यो समयमा कतिले नाम कमाए, कति भाइरल भए, कतिले कला सिके, कति लेखक र कवि बने, कती विश्लेषक बने अनि कति रमिते बनेर बसे। सबैलाई एकमुष्ठ बधाइ छ। धन्न! यो सामाजिक सञ्जाल छ र यति धेरै ज्ञानगुनका कुरा सिक्न पाइएको छ।
यो माहामारी १५ वर्ष अगाडि आएको भए त के हालत हुन्थ्यो होला? यति लामो बन्दाबन्दीको समय सामाजिक संजाल छ र त कटाइँदै छ। सामाजिक सञ्जालका ती सबै पात्रको जय होस्।
इति श्री कोरोना पुराणे, आइसोलेसन खण्डे, लकडाउन महात्म्य, सामाजिक संजाल संवादे, एकान्त बास व्रत कथा प्रथम अध्याय समाप्त।
(लेखक समाजिक अभियान्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन्।)