मानव समुदाय बन्दाबन्दीमा छ। सानो भौतिक दुनियाँमा बाँधिएको आज ६१ दिन बितिसक्यो। प्रत्यक्ष आँखाले देख्ने र भोग्ने संसार साँघुरिएको छ, सिमित आकाशमुनि सिमित धर्तीको घेरामा बाँधिएको छ मानव जाति।
महिनौको दौडधुपपछि घरको पिँडी, बार्दली, कौसीमा बस्ने अवसर मिल्ने दैनिकी फेरीएको छ। अहिले घरको यही सानो कौसी संसार पढ्ने आँखिझ्याल बनेको छ। टेलिभिजन र रेडियो विश्व बुझ्ने अर्को माध्यम बनेको छ, जो विश्वको हालखबरको फेहरिस्त बोकेर घरभित्र छिर्छ र साँघुरो घेरामा बाँधिएको परिवारलाई विश्वको जानकारी दिन्छ।
मेरो लागि विश्वसँग जोडिने सबैभन्दा महत्वपूर्ण माध्यम बनेको छ सामाजिक संजाल। साँघुरो भौतिक दुनियाँमा आफूलाई बाँधिराख्दा जब अत्यास लाग्न थाल्छ, घरको कौसीबाट म सामाजिक संजालको भर्चुअल दुनियाँमा सुटुक्क छिर्ने गरेको छु। यसमा टेलिभिजन र रेडियोको जस्तो सामाचारसँग मात्र होइन, संसारभरका मानिसहरुसँग भेटघाट हुन्छ, व्यक्ति व्यक्तिको कथा व्यथासँग साक्षात्कार भइन्छ र यसले आफू नै विश्व भ्रमणमा निस्किएको आभास दिलाउँछ।
यही कौसीबाट मैले चीनको मौन नीति, अमेरिकाको गर्जन, इटालीको रोदन, जर्मनी, न्यूजील्याण्ड, डेनमार्क, ताईवानमा महिला नेतृत्वको सफल कार्यशैलीलाई नियाल्ने मौका पाएँ। मानव जातिको लागि सामान्य मानिएको जीवनशैली कसरी वातावरणको लागि असामान्य र घातक बन्न सक्दो रहेछ, त्यसलाई गहिरोसँग मुल्याङ्कन गर्ने समय पाएँ।
आज बन्दाबन्दीको समयमा यही कौसीमा बसेर मैले देखेको संसारको बारेमा केही लेख्ने प्रयास गर्दै छु।
बन्दाबन्दी हाम्रो पुस्ताको लागि नौलो अनुभव हो, सुरुका दिनहरुमा संसारभरका मानिस कसरी घरभित्र थुनिन सक्छन्? संझदा पनि अत्यास लाग्थ्यो। तर अरु उपाय पनि त थिएन। छोटो समयमा नै मानव जातिले यसलाई झेल्न सिक्यो।
विश्वले नै बन्दाबन्दीलाई महामारी रोक्ने एक प्रभावकारी नीतिको रुपमा अभ्यासमा ल्यायो, झन् स्वास्थ्य प्रणाली कमजोर भएका हाम्रो जस्तो राष्ट्रको लागि त यो महामारी नियन्त्रणको एकल नीति नै बन्न पुग्यो। भाइरसले लिङ्ग, जात, धर्म, वर्ग छुट्याएर संक्रमण नगरे पनि, समाजमा विद्यमान बहुआयामिक विभेदको कारण महामारीको प्रभाव फरक पर्दछ भन्ने कुरामा ध्यान नदिई राज्यले सबै नागरिकको अवस्था र हैसियत समान भए जसरी लकडाउनको मोडालिटि तय गर्यो।
यति मात्र होइन, कैयौं सन्देशमूलक सूचनाहरु समेत 'के हो र यो कोरोना, घरै बसी जितिन्छ' मार्काका बने र बजाइए। कर्फ्यूलाई लगातार झेलेको हाम्रो समुदायले बन्दाबन्दीलाई त्यहि शैलीमा लागू गर्न खोज्यो। भौतिक दुरी, स्वास्थ्य र सरसफाईका मापदण्डलाई प्रभावकारी रुपमा लागू गराउनभन्दा सडकमा मानिसहरुको चहलपहल शून्य बनाउनका लागि राज्यको शक्ति र श्रोत परिचालित भए।
यसले श्रमिक र मजदूरहरुलाई सबैभन्दा ठूलो मर्कामा पार्यो। कार्यक्षेत्रबाट आफ्नो गाउँ जानका लागि मजदूरहरुले हप्तौ कठिन पैदल यात्रा गरेको दर्दनाक दृष्य मैले यही कौसीबाट देखेँ। मजदूरहरुमा पनि जेष्ठ नागरिक, गर्भवती महिला, बालबालिका, दीर्घ रोगीहरुको अवस्था निकै कारुणिक देखियो, राज्य संरचना उनीहरुको आधारभूत मानव अधिकारको संरक्षण गर्न समेत उदासिन बन्यो।
सरकार सबैभन्दा आलोचित त्यती बेला बन्यो, जुन बेला दुई तिहाई जनमतको समाजवादी सरकारले सर्वहारा वर्गको अस्तित्व स्वीकार गर्न र उनीहरुको संरक्षण गर्न सकेन। पछिल्लो समयमा प्रदेश र स्थानीय सरकारको सहकार्यले मजदूरहरुको गृह नगरतर्फको पैदल यात्रालाई केही सहज बनायो।
उता स्थानीय समुदायमा बाहिरबाट आउने यात्रुलाई रोग वाहकको रुपमा हेर्ने र घृणा गर्ने संस्कार विकास भईसकेको परीदृष्य पनि मैले यहि आँखिझ्यालबाट देखेँ। यसले मजदूरहरुको जीवन आफ्नो गाउँ पुगेर पनि सहज बन्न दिएन। विदेशबाट आफ्नो देश फर्कन चाहनेहरुको व्यथा अर्कै देखियो, अन्तर्राष्ट्रिय उडान बन्द भएको कारण उनीहरु चाहेर पनि आफ्नो देश फर्कन सक्ने अवस्था रहेन।
कुटनीतिक पहलमा आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउनको लागि राज्यको उदासिनताले अर्को निराशाजनक अवस्थाको सृजना गर्यो। भारतबाट नेपाल फर्कदै गरेका नेपालीहरुको पीडा र व्यथाले धेरै नेपालीलाई रुवायो। सरकार भने समाधानको उपाय खोज्नभन्दा नागरिक समाज र संचार जगतसँग वादविवादमा उत्रियो।
नागरिक तहमा समेत सहज हुँदा सहर पस्ने, विदेश बस्ने र गाह्रो पर्दा गाउँ चाहिने, देश चाहिने भन्दै गाउँबाट सहर र देशबाट विदेश छिरेका नेपालीमाथि प्रहार गर्ने क्रम बढेर गयो। यसमा पनि सबैभन्दा धेरै प्रहार महिला माथि भए। सहरीया बुहारीले बल्ल आगोले डडेका काला कसौडि र कराई माझ्न सिक्ने भई, सहरमा बसेकी बुहारीले रोपेको मकै भन्दै कैयौँ स्त्रीद्वेषी जोक्स, कमिक्स, कार्टुनमार्फत उनीहरुलाई व्यङ्यको पात्र बनाएको दुःखद दृष्य मलाई यही आँखिझ्यालले देखायो।
स्त्रीद्वेषी जोक्स, कमिक्स, कार्टुनहरु गाउँ फर्किएका महिलाहरुका लागि मात्र सिमित रहेन, हरेक महिलाको आत्मसम्मानमा आघात पुर्याउने यस्ता हर्कत महिलाको अनुहारको सौन्दर्य, शरीरको साइज र आकार, प्रजनन् भूमिका, यौनिकतादेखि संबन्धहरुसम्म जोडिएर आए।
यो महामारीले सहरी गरिबीको भयावह अवस्था सतहमा ल्याईदिएको तथ्य पनि मैले यही कौसीबाट देखेको हुँ। फोनमार्फत कैयौं दिदीबहिनीहरुका भोको पेटका कथा यहीबाट सुनें। कतिलाई व्यक्तिगत रुपमा सहयोग गर्न सकेँ, कतिलाई सम्बन्धित व्यक्ति, संघसंस्थासँग जोडिदिएँ। धेरैका कथा त सुनें तर केही गर्न नसकेर सँगै रोएर सान्त्वना दिएँ।
रोगले भन्दा भोकले आक्रान्त बनेको सहरको दृष्य मैले यहीबाट देखेँ। बन्दाबन्दीका दिनहरु जति थपिन्छन्, यो अवस्था अझ विकराल बन्ने कुरा अनुमान गर्न मलाई कुनै गाह्रो भएन। गृह श्रमिक (जो विभिन्न फ्याक्ट्रीको काम आफ्नै घरमा बसेर गर्छन र उत्पादित सामानको संख्याको आधारमा ज्याला बुझ्छन्), अरुको घरभित्रको काम गर्ने मजदूर, यौनकर्मीमाथि बन्दाबन्दीले पारेको नकारात्मक प्रभावको चर्चा गरेको मैले खासै सुन्न, पढ्न, देख्न पाइनँ।
मैले देखेका परीदृष्यमा महिला, यौनिक अल्पसंख्यक, दलित, विपन्न, धार्मिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, बालबालिकाहरुको अधिकार संरक्षण र उनीहरुको आवश्यकताको सम्बोधन गर्न जवाफदेही राज्य संरचना र प्रणाली विकास हुन नसकेको तथ्यलाई यो महामारीले छताछुल्ल पार्दियो।
हाम्रा सामाजिक र राजनैतिक प्रणालीले जोखिममा रहेका नागरिकको संरक्षण त गर्न सकेन नै, यो महामारीले सृजना गरेका विभेद र जोखिमताको नयाँ वा विस्तारित स्वरुप जस्तै जेनोफोविया, स्त्रीद्वेषिता, क्वयेरद्वेषिता, वर्गिय विभेद, जातिय विभेद, महिला विरुद्दको घरेलु हिंसा आदिको पूर्वअनुमान पनि गर्न सकेन। यी सामाजिक मुद्दालाई बन्दाबन्दीकै रणनैतिक प्याकेजमा प्याकेजिङ गर्नबाट राज्य चुक्यो। जसले गर्दा राजनैतिक र सामाजिक रुपमा जोखिममा पारिएका व्यक्ति र समुदाय महामारीमा थप जोखिममा परे।
बन्दाबन्दीका सुरुका दिनहरुमा स्थानीय सरकार चीनको मोडालिटीलाई अपनाउने बहानामा अस्थायी अस्पताल र क्वारेन्टिन बनाउनका लागि प्रतिस्पर्धामा उत्रिए। यसका लागि पूरा गर्नुपर्ने आधारभूत मापदण्डलाई बेवास्ता गर्दा पछिल्ला दिनहरुमा यिनै क्वारेन्टिन र अस्थायी अस्पतालहरु संक्रमणको श्रोत बन्न पुगेका तथ्य पनि सार्वजनिक भए।
क्वारेन्टिनमा महिला, किशोरी, बालबालिका, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी आदिका विशेष आवश्यकताको उचित सम्बोधन गर्न नसक्दा उनीहरुको अवस्था थप जटिल बन्यो। राज्यले जारी गरेका मापदण्ड, मार्ग निर्देशन, प्रोटोकलहरु मुख्यतः संक्रमण रोक्नमा केन्द्रित देखिए।
कोभिड–१९ महामारी विरुद्दको अभियानमा अपाङ्गता सम्बन्धि सरोकारवालाहरुको लागि जारी गरिएको मार्ग निर्देशनले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षणको लागि आह्वान त गर्यो तर यो मार्गनिर्देशनले अपाङ्गता भएका व्यक्तिहरुमा भएको विविधतालाई सम्बोधन गर्न सकेन।
कोरोना भाइरस संक्रमणबाट महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुमा परेको र पर्न सक्ने असरहरुको बारेमा सुधार तथा सम्बोधन गर्न र सामाजिक संघ/संस्था परिचालन गर्नका लागि बनाइएको कार्ययोजनामा समेत महिला तथा यौनिक अल्पसंख्यक, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका कार्ययोजनाको बीचमा तालमेल देखिएन। यी कार्ययोजनाहरु एक्लै-एक्लै उभिए जस्ता देखिए।
महामारीले सृजना गरेको गाउँ फर्कने अभियानले नेपालको परीवेशमा केही आशाको किरण भने जगाएको देखियो। सबैभन्दा आशालाग्दो पक्ष भनेको गाउँ फर्किएकाहरुले बाँझो जमिनमा खेती गर्न सुरु गरेको परीदृष्य रह्यो। स्थानीय पालिकाहरुले जग्गा बाँझो नराख्नेहरुको लागि प्रोत्साहनका प्याकेज सुरु गरीसकेका समाचार आउन थालिसकेका छन्।
युवा वर्गको कृषिप्रतिको झुकाव लोभलाग्दो रुपमा बढेको देखिनु समुदाय र देशको लागि नै शुभ संकेत हो। यसमा सबै तहका सरकार र सम्बन्धित निकायले समयमै ध्यान पुर्याउन सके युवाशक्तिलाई कृषि विकासमा लगाउन सकिने प्रवल संभावना देखिएको छ।
कोभिड महामारीले विश्वमा ल्याएको कोभिड राष्ट्रियताको लहरलाई पनि मैले यही कौसीबाट महशुस गर्ने मौका पाएँ। महामारीले विश्वका शक्ति राष्ट्रहरुको बीचमा एकताको माग गरेको यो समयमा शक्ति राष्ट्रहरु आ-आफ्नो राष्ट्रियताको एकल नारा लिएर उभिएका देखिए। शक्ति राष्ट्रहरु जस्तै अमेरिका, भारत, चीन महामारी नियन्त्रणको सामुहिक प्रयासमा भन्दा राष्ट्रियताको नाममा शक्ति प्रदर्शनमा लागे जस्तो देखिएका छन्।
शक्ति राष्ट्रबाट सुरु भएको कोभिड राष्ट्रियताको धारले अहिले हाम्रो देशलाई पनि राम्रैसँग हल्लाएको छ। नेपालले कालापानी लिपुलेक तथा लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालको भारतसँग बढेको द्वन्दले नेपालीहरुमा राष्ट्रिय एकताको भावना सृजना गरेको देखिन्छ जुन सकारात्मक पक्ष हो। यसले विभिन्न राजनैतिक दलहरुलाई राष्ट्रिय हितको लागि एक ठाउँमा ल्याउने अपेक्षा गर्न सकिन्छ।
चिन्ताको विषय के भने महामारीसँगै फैलिएको यो राष्ट्रियताको धारले विश्वभर नै जेनोफोविया बढाएको देखिएको छ। भारतबाट नेपाल भित्रिएको भारतीय संकरणको जेनोफोविया धार्मिक हिंसाले नेपालमा पनि नकारात्मक प्रभाव छोड्न सफल भएको छ। महामारीको यो विकराल अवस्थामा राष्ट्रियताको यो लहरले नागरिक प्रतिको राज्यको जवाफदेहीता विचलित हुन नदिने कुरामा राज्यपक्ष सचेत रहनु अत्यन्त जरुरी छ।
यसका लागि प्रतिपक्ष, नागरिक समाज, अधिकारकर्मी, बुद्धिजिवी वर्ग सबैले राज्यलाई जवाफदेही बनाउन खबरदारी गर्न पनि उत्तिकै जरुरी देखिएको छ।