कोरोना भाइरसको विश्वव्यापी महामारीले अर्थतन्त्रमा गम्भीर संकट देखिएको छ। वर्तमान आवस्थामा सबैको ध्यान कृषिमा छ तर कृषि आफै पनि संकटसँग जुध्नुपर्ने अर्को गम्भीर आवस्था आईपुगेको छ।
अमेरिकन फौजी किरा (अमेरिकन आर्मी वर्म) को आक्रमणले किसानहरु आहत भइरहेको अवस्थामा सूडान, पाकिस्तान हुँदै भारतको राजस्थान, मध्येप्रदेश दिल्ली र उत्तर प्रदेशको झाँसी जिल्लासम्म आईपुगेको सलह (डेजर्ट लोकस्ट) को जोखिम नेपालमा पनि बढेको छ। सलहको आक्रमण भारतमा वर्षेनी हुने भएता पनि २७ वर्षको अन्तरालम यो सबैभन्दा ठूलो प्रकोप हो।
नेपालमा सलहको ठूलो प्रकोप सन १९९६ (विसं २०५३) मा देखिएको थियो जतिबेला चितवन, मकवानपुर, बारा लगायतका जिल्लाका कृषि बालीहारूमा करिब ८०५ ले क्षति भएको थियो।
के हो सलह?
फट्यांग्रा (प्लान्ट होप्पर) प्रजातिको यो सलह किरा (आर्सियन डेजर्ट लोकस्ट/किस्टोसेर्का ग्रिगेरिया) हेर्दा फट्यांग्रा जस्तै देखिए पनि बाली क्षतिका हिसाबमा यो किरा फटयांग्राभन्दा हजारौँ गुणा खतरनाक छ। शारीरिक बानोटका आधारमा सलह र फटयांग्रामा खासै फरक नभए पनि चरन प्रकृतिका आधारमा यी दुई किरा एक आपसमा बिल्कुलै फरक छन्।
सलहले मौसम अनुकूल आफ्नो बानीव्यहोरा परिवर्तन गर्दै आफ्नो औसत आयु, प्रजनन क्षमता तथा उडान क्षमता बढाएर सामूहिक चरन गरि कृषि बालीमा अनियन्त्रित रुपमा अनपेक्षित क्षति पुर्याउदछ।
सामान्यतया यो अफ्रिकी सलह पश्चिम अफ्रिका, मध्य पूर्वदेखि भारतको मरुभूमि तिर बस्दछ र उपयुक्त मौसममा त्यहाँबाट लामो यात्रा गरेर बेलायत, भारत तथा अन्य यूरोपेली देशसम्मका बालीनालीमा क्षति पुर्याउने गर्दछ।
संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार विश्व भरमा सलह करिब ३० देशमा पाइन्छन् र प्रकोपका बेलामा करिब ६० देशका बालीनाली सलहको संभावित खतरामा पर्ने गर्दछन्। १९२१ मा सर बोरिस उवाररोवले फटयांग्रा (सलहको रूपान्तरण पत्ता नलाउँदासम्म सलहको आँधी कहाँबाट आउछ भन्ने कुरा नै राजको विषय थियो।
त्यस अघि सलहले केबल पौराणिक पात्रका रुपमा बेला मौकामा देखा परेर अफ्रिका, मिस्र (इजिप्ट), अस्ट्रेलिया लगायतका स्थानहरुमा महामारी (लोकस्ट प्लेग) निम्त्याउने गर्दथ्यो।
(तस्बिरः टोनी करुम्बा/एएफपी)
सलह दुई चरण (स्टेज) मा आफ्नो जीवनयापन गर्दछ- पहिलो एकल चरन गर्ने र दोस्रो समूहिक चरन गर्ने। सामान्यतया यो किरा एकल चरन गर्ने प्रकृति को हुन्छ। यो किरा एकल हिड्न रुचाउने र लजालु स्वभावको हुन्छ। यतिबेला यसको प्रजनन दर र उड़ान क्षमता पनि कम हुन्छ। जब सलहको बासस्थानमा लामो समयसम्म खडेरी पर्छ तब सलह खानाको खोजीमा एकै ठाउँमा थुप्रिन पुग्छ।
यसरी अचानक बढेको भीडले गर्दा सलहको केन्द्रिय स्नायू प्रणालीले सेरोटोनिन (सेरोटोनिन) नामक रासायनिक पदार्थ उत्पादन गर्दछ जसले गर्दा यी किरा सामूहिक चरणमा रूपान्तरित हुन्छन्। यो चरणमा सलहले आफ्नो रंग तथा शारीरिक बनावट पनि परिबर्तन गर्दछन् र शरीर र मस्तिष्कको आकार पनि बढ्दछ।
सलहको खुट्टा मोटा र बलिया हुन्छन् भने पखेटा पनि ठूला आकारका हुन्छन्। लामो समयसम्मको खडेरी पछि पर्ने पानीसँगै सलह तीव्र दरले प्रजनन् गर्दछ। एउटा पोथी सलहले आफ्नो जिवनकालमा तीन पटकसम्म अण्डा पार्दछ र एक पटकमा ६०-८० वटासम्म अण्डा पार्छ। अण्डाबाट करिब दुईदेखि तीन महिनासम्म वयस्क बन्दछन्।
यसरी सलहको ठूलो झुण्ड बन्दछ र यस्तो झुण्ड खाना खोज्नका लागि टाढा-टाढासम्म उड्दछन्। एक वर्ग किलोमिटरसम्म फैलिने यस्तो झुण्डमा करिब ४-८ करोड सलह हुन्छन्।
कताबाट आउँदैछ सलहरु?
सन् २०१८ मा हिन्द महासागरमा आएका दुई ठूला चक्रवतका कारण अरबी प्रायदीपमा सलहको ठूलो समूह विकसित भएको देखिन्छ। ती सलह हजारौँ माइल दुरी यात्रा गरी पूर्वीय अफ्रिका प्रवेश गरेका थिए। सन् २०१९ को जुनदेखि अफ्रिकी देशमा सलहले प्लेगको रूप लिएर हजारौँ हेक्टरमा लगाएका अन्न तथा तरकारी बाली नष्ट गरेका थिए।
अरबी प्रायदीप हुँदै सलहको ठूलो समूह पाकिस्तान प्रवेश गरेको थियो। पाकिस्तानबाट राजस्थान हुँदै यी सलह २०२० अप्रिलमा भारत प्रवेश गरेका छन् जुन अहिले भारतको राजस्थान, मध्यप्रदेश हुँदै हाम्रो सिमाना जोडिएको उत्तर प्रदेशसम्म आईपुगेका छन्। भारत सरकारको कृषि मन्त्रालयका अनुसार यी सलह दिल्ली तथा महारास्ट्र तिर बढ्दै गैरहेका छन्।
अफ्रिकी देशहरुमा सलहको प्रकोपमा केही कमी भएता पनि छिट्टै दोस्रो लहर सुरू हुन सक्ने र यो लहर अघिल्लोभन्दा २० गुनाले ठूलो हुन सक्ने संयुक्त राष्ट्र संघले प्रक्षेपण गरेको छ। हाल इरान र पाकिस्तानका मरुभूमि क्षेत्रमा सलहको नयाँ पुस्ता विकसित हुँदैछन् र यिनीहरुले जुलाईमा फेरि भारतमा आक्रमण गर्नसक्ने आवस्था देखिन्छ।
कति क्षति गर्छ?
सलहले एक दिनमा आफ्नै शरीरको तौल बराबरको खाना खान सक्छ। यसको स्वभाव छनौट गरेर खानेभन्दा जुनसुकै हरियो वनस्पतिको पात र बोक्रा पनि खाने खालको हुन्छ। एक दिनमा एक मान्छेले करिब २।५ केजी खाना खाने हिसाब लगाउने हो भने करिब एक किमि क्षेत्रफलमा फैलिएको सलहको झुण्डले करिब ३५ हजार जाना मानिसको खाना बराबर एकै दिनमा खान सक्छ।
पूर्वी अफ्रिका र यामनमा सलहले करिब ८/५ अर्ब डलर बराबरको क्षति पुर्याएको विश्व बैंकको अनुमान छ। यसैगरी पकिस्तानमा मात्रै २/५ अर्ब डलर बराबरको क्षति भइसकेको अनुमान छ। आवस्था नियन्त्रण बाहिर गएमा भारतमा मात्र आठ हजार करोडको मुँग बालीमा क्षति पुराउने भारतीय संचार माध्यमले जनाएका छन्।
सलहको आक्रमणमा परेका सबै देशहरु कोरोना भाइरसको चपेटमा पनि परेका छन्। यी देशहरुको आर्थिक आवस्था मन्दीतर्फ जादैछ। यो परिस्थिमा खाद्य संकटको जोखिम त छदै थियो, सलहले झन् आवस्थालाई जटिल बनाउदै छ। संयुक्त राष्ट्र संघका अनुसार विश्वको कुल जनसंख्याको १० प्रतिशत मानवको आजीविकामा सलहको आसर देखिने छ।
पूर्वीआफ्रिकामा मात्र दुई करोड चालिस लाख मान्छेमा खाद्य संकट देखिदैछ र ८० लाख मान्छे विस्थापनको आवस्थामा पुगेका छन्।
(तस्बिरः सुमी सदुर्नी/एएफपी)
नेपालमा जोखिम
नेपालको सिमानाभन्दा करिब ५०० किमि टाडा भारतको झाँसी जिल्लामा यसको प्रकोप व्यापक मात्रामा देखिएको छ। दैनिक रुपमा ५ देखि १५० किमिसम्म यात्रा गर्नसक्ने यो किरा नेपालमा एक हप्तादेखि एक महिनासम्ममा प्रवेश गर्न सक्ने जोखिम देखिन्छ। मनसुन सुरु हुन लागेकाले यसको जोखिम अझ बढ्न सक्ने देखिन्छ।
यो किराबाट सुदूरपश्चिम र ५ नम्बर प्रदेश सबैभन्दा धेरै प्रभवित हुने जोखिम छ। कोरोन भाइरसले गर्दा स्थानीय सरकारदेखि संघीय सरकारसम्म आर्थिक रुपमा दबाबमा भएको वर्तमान आवस्थामा यसको नियन्त्रण प्रभावकारी हुनेमा शंका छ। नेपालमा प्रवेश गरेमा यो किराले धानको ब्याडमा क्षति पुराउने छ।
साथसाथै, फलफूलको बोटबिरुवा र अन्य रुखमा पनि यासको प्रोकाप भयावह हुनेछ। भारतमा यसको प्रोकोप धेरै देखिएको आवस्थामा नेपालमा पनि सलह प्रवेश गरेमा हाम्रो खाद्य संचितिमा असर देखिने छ र भोकमरीको सम्भावना हुनसक्छ। नियन्त्रणका लागि प्रयोग गरिने किटनासक विषादीका कारण हाम्रो जैविक विविधता तथा वातावरणमा पनि नकारात्मक प्रभाव पर्न सक्छ।
नियन्त्रणका उपायः
यो किरा नियन्त्रण गर्न कठिन छ। यसको समूह ठूलो हुने भएकाले यसलाई प्राकृतिक रुपमा नियन्त्रण गर्न प्रायः असम्भव नै छ। चीनले पाकिस्तानलाई लाखौँ हाँस सलह नियन्त्रणका लागि दिएता पनि यसको प्रभावकारिता देखिएको छैन। यसको नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी उपाय विषादी प्रयोग नै हो। नियन्त्रणका लागि अर्गानोफास्फेट समूह विषादी प्रयोग गर्न सकिन्छ।
सलह जस्ता किराहरु किसानको स्तरबाट मात्र नियन्त्रण सम्भव छैन। संघीय, प्रादेशिक र स्थानीय सरकारहरुको तत्पर्ता आवश्य छ। नेपाल सरकारले तत्काल भारत सरकारसँग समन्वय गरेर यसको जोखिम र नेपालमा भित्रिन सक्ने सम्भावनाको बारेमा अध्ययन गर्नु आवश्यक देखिन्छ।
साथसाथै, विषादीको उपलब्धता बारे पनि ध्यान दिनु आवश्यक छ। हामीसँग उपलब्ध साना हाते स्प्रेले मात्र विषादी छर्न सम्भव छैन। त्यसैले दमकल तथा हेलिकोप्टरको पनि व्यवस्था गर्न कृषि विभागले बेलैमा ध्यान दिनु पर्दछ। यस किराको निगरानीका लागि ड्रोनको प्रोयोग गर्न सकिन्छ।
निरन्तरको जलवायु परिवर्तनले गर्दा सलह, फौजी किरा जस्ता हानिकारक किराहरुको प्रोकोप अझै बढ्ने सम्भावना छ। त्यसैले, कृषि विभाग अन्तर्गत यस्ता किरा नियन्त्रण तथा निगरानीका लागि द्रुत कार्य बलू (र्यापिड टास्क फोर्स) को स्थापना गर्न आवश्यक छ। यस्ता संयन्त्रले नेपालमा प्रवेश गर्ने किरा तथा रोगहरु तत्काल नै नियन्त्रण गर्न मद्धत गर्दछ।
सरकार सँगसँगै किसानले पनि आफ्नो बालीनाली बचाउन केही उपाए गर्न सक्छन्। चर्को ध्वनीले गर्दा यी किरा बोटबिरुवामा नबस्ने भएकाले आफ्नो बारीमा थाल र ड्रम ठटाउने अनि चर्को आवाजमा गीत बजाउन सक्दछन्। सलह नेपालमा प्रवेश गरेमा आफ्नो बारीमा विषादी छर्कने पनि गर्नु पर्दछ।
यो बेला धानको बीउ राख्ने भएकोले एक हप्ता जतिपछि बीउ राख्नद राम्रो हुन्छ। बीउ राखीसकेको भए त्यसलाई बचाउन झुलको व्यवस्था गर्न सकिन्छ।
(लेखक द्वय बाली संरक्षणकर्मी हुन्।)