केही वर्षअघि युके पासपोर्ट होल्डर एक जना गुरुङ थरको दाइसँग मेरो भेट भएको थियो।
भेट त प्राय: गुरुङ थर भएका व्यक्तिसँग भइरहन्छ तर उहासँगको भेट यहाँ विशेष जिकिर गर्नुमा कारण छ।
हाम्रो पहिलो भेटमा उहाँले आफ्नो परिचय पूरै नामले दिनुभएको थियो।
उहाँको थर अनुसारको हुलिया नमिलेको देखेपछि ममा उत्सुकता जाग्यो।
यसरी गुरुङ थरको व्यक्तिलाई पूरै एंगलबाट आर्यन लुक्समा देख्दा मैले दायाँबायाँ केही नसोची फ्याट्ट सोधिहालें –दाइ तपाईं कतैबाट पनि गुरुङ देखिनुहुन्न त?
‘ठ्याक्कै बाहुनको अनुहार परेको छ है बैनी?’, उहाँ रौसिएर भन्नुभयो।
मैले पनि हौसिएर सोधें– हो नि दाइ, पक्कै पनि तपाईंको आमा बाहुन हुनुपर्छ ? तपाईं आमा गोता जानुभएछ क्यारे।
‘बुवा गोता गएर आमाको थर राखेको पनि त हुन सक्छु, कि कसो?’ दाइको जवाफ सही पनि लाग्यो ।
त्यो पनि हुनसक्छ। जसरी नाम राख्न मानिसहरू स्वतन्त्र छन् त्यसरी नै थर राख्न पनि मानिसहरू स्वतन्त्र हुनुपर्छ। जसरी हामी आमाबुवाले राखेको नाम मन नपरेर पछि आफ्नो सुविधा अनुसार नाम परिवर्तन गर्छौं त्यसैगरी थर मन नपर्दा अर्को थर राख्न सबैले पाउनु पर्ने हो।
यदि कुनै थर नै राख्न मन नलागेमा आफूलाई मनपर्ने केही टाइटल राख्न पनि हामी सबै स्वतन्त्र नै छौं।
समाजमा यस्ता उदाहरण प्रशस्तै भेटिन्छन्। आमाबुवाको दुवैको थर राखेर वा नराखेर आफ्नो परिचय बनाउने पनि प्रशस्तै छन् यहाँ।
थरमा बहस गरेर थरको आधारमा व्यक्तिको हुलिया र व्यक्तिको व्यक्तित्वको मूल्यांकन गर्नु उचित हुँदै होइन।
आखिर मानिसहरू आफ्नो इच्छाको मालिक आफैंहुन् । समयअनुसार नाम, थर, धर्म, लिंग यदि स्वच्छाले परिवर्तन गर्न चाहन्छन् भने त्यो उनीहरूको नैसर्गिक अधिकार हो। यो अधिकारमा अनावश्यकरूपमा वकालत गरिरहन जरूरी पनि छैन।
यही सोचेर मैले दाइको थरको बारेमा धेरै जिज्ञासा पोखिनँ। कुरा टुंग्याउन खोजें र प्रसंगलाई अन्तै मोडें। तर दाइ स्वयमले आफ्नो थरको बारेमा चर्चा गर्न रुचाउनुभयो।
‘बैनी, तपाईंलाई पनि थाहा नै छ, हाम्रो समाजमा गुरुङ जातिहरू मंगोलियन लुक्समा चिनिएका छन्। तर जब त्यही गुरुङ थरको कोही व्यक्ति आर्यन लुक्समा देखिन्छन् भने प्रश्न उठ्नु स्वभाविकै हो। तपाईंको उत्सुकता पनि एकदमै जायज नै छ। तपाईं मात्रै पहिलो व्यक्ति होइन मलाई यो प्रश्न गर्ने। नेपालमा पनि मलाई धेरैले यही प्रश्न गर्छन्। विदेशमा बस्ने अरू नेपालीहरूले पनि प्राय: मलाई यही प्रश्न सोधिरहेका हुन्छन्। मलाई पनि यो प्रश्नको जवाफ पाउन कुनै बेला मैले बुवालाई सोध्नुपरेको थियो।
दाइको कुरा झन् रोचक लाग्यो। अब त कुरा नबुझी नहुने भयो मलाई।
वास्तवमा कुरो के रहेछ भने उहाँको हजुरबुवालाई ब्रिटिस लाहुरे बन्ने ठूलो रहर रहेछ। तर त्यतिखेर गुरुङ जातिले मात्रै ब्रिटिस आर्मीमा भर्ना हुन पाउने नियम पनि तोकिएको रहेछ। खाने मुखलाई जुंगाले छेक्दैन भनेजस्तै हजुरबुवाले उपाय निकाल्नुभएछ। सबै शक्ति प्रयोग गरेर ब्रिटिस आर्मीमा भर्ना हुन आफ्नो बाहुन थर परिवर्तन गरेर गुरुङ थर राखिदिनुभएछ। पछि उहाँबाट जन्मेको सबै सन्तानको थर पनि गुरुङ राख्नुपर्ने भयो।
पछि दाइको बुवाले आफ्नो पुरानो थरमा आउन खोज्दा प्रशासकीय प्रक्रिया, कानुनी झमेला धेरै हुने देखियो। त्यसैले पनि उहाँ त्यतातिर जानुभएनछ अनि गुरुङ थर पुस्तौ पुस्तामा हस्तान्तरण हुँदै गएछ। दाइको छोराछोरीको पनि गुरुङ थर नै रहेछ तर भन्नुहुन्छ यदि उनीहरूले पछि गएर अन्य केही थर राख्छु भने पनि स्वतन्त्र छन्। छोराले श्रीमतीको थर राखेर नागरिकता र पासपोर्ट संशोधन गर्छु भने पनि म खुसी नै हुन्छु। छोरीले श्रीमानको थर राख्दै गरेर नागरीकता बनाउँदा छोराले श्रीमतीको थर राखेर नागरिकता बनाउने सुविधा पनि त हुनुपर्यो नि होइन र ? आखिर थरमा के नै छ र होइन बैनी ?
दाइको यो गुरुङ थरको यात्रा सुन्दा कुनै दन्त्य कथा सुनेजस्तो भयो। तर यथार्थ त्यही नै थियो।
दाइसँगको भेटले मलाई धेरै कुरामा सोच्न बाध्य बनायो। त्यो धेरै कुरामा एउटा मनले खाएको कुरा आखिर थरमा के नै रहेछ?
थर त एउटा भ्रम रहेछ जस्तो लाग्यो। हाम्रो सोचाइले सृजना गरेको भयानक भ्रम। यो थर भएको व्यक्ति बाहुन, क्षेत्री, ठकुरी वा नेवार नै हुनुपर्ने, यो थर भएको व्यक्ति गुरुङ समुदायकै हुनुपर्ने, यो थर भएको व्यक्ति दलित समुदायमै पर्ने भनेर हामीले हाम्रो दिमागमा एउटा भ्रमको खेती गरिरहेका रहेछौं।
यही भ्रमले हामीलाई अहंकारी बनाइरहेछ। यही अहंकारले समाजलाई टुक्राटुक्रामा विभाजन गरिरहेछ। अनि थरकै आधारमा त सानो र म ठूलो भनी समाजमा भेदभावको काइदा कानुनको निर्माण गरिरहेछ। तर आखिर बाहुन सम्प्रदायको मान्छे गुरुङ पनि त बन्दो रहेछ। अब प्रश्न रह्यो दाइलाई कुन आधारमा तल्लो जाति र माथिल्लो जातिको भनेर तक्मा लगाउने ?
बाहुन समाजले थरकै आधारमा उहाँलाई भान्सामा छिर्न नदेला, गुरुङ समाजले अनुहारकै आधारमा कुलपूजामा सामेल नगर्ला। विभेद त उहाँले दुवै समुदायबाट पाउने हुनुभयो त्यो पनि थर कै आधारमा।
अब भन्नुस् समाजवादी पार्टीका नेता बाबुराम भट्टराईज्यू गुरुङ थर भएकै आधारमा उहाँले गुरुङ समुदायमा विना प्रश्नको कठघरामा उभिएर सामेल हुन त पाउनुहुँदैन।
अनि कसरी निष्कर्ष निकाल्नु हुन्छ कि थर परिवर्तन गर्दैमा जातीय भेदभावको यो जरा ओखलिन्छ?
मलाई विश्वास छ जनयुद्धको एउटा एजेण्डा भेदभावमुक्त समाजको निर्माणमा थियो। दस वर्ष तपाईंहरूले सोचाइ परिवर्तन गराउने अभियानमा हिँड्नुभयो न कि थर परिवर्तन गराउने अभियानमा।
भेदभावको सोच परिवर्तन गर्ने अभियानको त्यो जनयुद्धमा पनि हजारौं शहीद भए र आज पनि यो सोच परिवर्तन गर्ने अभियानमा कैयन् युवा र जोडीहरू शहीद भइरहेका छन्।
धेरै कुरा परिवर्तन भयो शताब्दीदेखि तर भेदभावको मुद्दा जहाँको तहीँ छ। यो भेदभाव कोरोनाभाइरसभन्दा पनि तीव्र गतिमा फैलिरहेको छ। चाहे त्यो बाहुनभित्रै होस्, नेवार समुदायभित्रै, तामाङ गुरुङबीचमा होस्, राई लिम्बू बीचमा होस्, झा र यादवबीचमा होस् वा दलित-दलितबीचमा। यो दलदललाई पुर्न आवश्यकता छ, सोचाइमा परिवर्तन ल्याएर। बरु यहीसम्बन्धी कुनै कडा कानुन र विधेयक ल्याउन लबिङ गर्नुस् न। फेसबुकमा यामी थर झुण्डाएर वा कामी थर राख्न सुझाएर परिवर्तन हुन्छ भनेर सोच्नु तपाईंजस्तो बुद्धिमानी मान्छेलाई सुहाउँदैन।
तपाईंको अभिव्यक्तिले जातीय भेदभावको जड नै यही थर मात्र हो भन्ने देखाएको छ। यो अभिव्यक्ति एकपक्षीय देखियो। तपाईंले बोल्नको लागि मात्र यो कुरा बोलेको स्पष्ट देखियो। सायद त्यही भएर धेरैलाई र स्वयंम कामी थरको समुदायलाई पनि यी कुरा अस्वभाविक र बनावटी लाग्यो।
आदरणीय भट्टराईज्यू, तपाईंलाई थाहा छ त, थरमात्रै समस्या होइन मान्छेको संकीर्ण सोचाइ समस्या हो।
जबसम्म सोच परिवर्तन हुँदै तबसम्म थर परिवर्तन गरेर केही हुँदैन भन्ने तर पनि किन यस्तो अभिव्यक्तिहरू आउँछन् ?
तपाईंको यो अभिव्यक्तिले मलाई वासिङ्टन डिसीको लिंकन स्मारकमा १९९३ मा प्रोफेसर डोनाल्ड मिसरस्मिथले नेसनल पार्क सर्भिसको लागि लिंकन मेमोरियल लाइटिङ एण्ड मिड्ज स्टडी नामक तयार पारेका एउटा रिपोर्टको याद आयो।
रिपोर्टमा वासिङ्टन डिसीको लिंकन स्मारक किन बिग्रिरहेको छ भन्ने कुराको चर्चा गरिएको छ।
चर्चा केबल पाँच प्रश्नमाथि देखिन्छ तर ती पाँच प्रश्नको उत्तरले अन्त्यमा स्मारक बिग्रिनुको मुख्य कारण पत्ता लगाइदिन्छ। उल्लेख गरिएका प्रश्न यस प्रकार थिए।
पहिलो प्रश्न : किन स्मारक बिग्रिरहेको छ ?
उत्तरः किनभने स्मारकलाई सफा राख्न एकदमै कडा केमिकल प्रयोग भइरहेको छ ।
दोश्रो प्रश्न : सफा गर्न किन कडा केमिकल नै चाहियो ?
उत्तर : किनभने त्यहाँ अनगिन्ति चराहरूले फोहोर गरिरहेका छन् ।
तेस्रो प्रश्न : किन त्यहाँ अनगिन्ति चराहरूले फोहोर गरिरहेका छन् ?
उत्तर : किनभने त्यहाँ धेरै माकुरा आउँछन् र चराका लागि गतिलो चारो हुन्छ ।
चौथो प्रश्न : किन त्यहाँ धेरै माकुरा आउँछन् ?
उत्तर : किनभने साँझपख त्यहाँ एकहुल किरा आउँछन्, जसलाई माकुराले खान सक्छन्।
पाँचौं प्रश्न : किन त्यहाँ साँझपख किरा आउँछन् ?
उत्तर : किनभने स्मारकमा बलेको साँझको बत्तीले त्यहाँ वरिपरि भएको किरालाई आकर्षण गर्छ।
स्मारक बिग्रिरहेको कारण त्यहाँ न केमिकल न चरा न माकुरा न त कीरा नै थियो। थियो त स्मारकमा बल्ने साँझको बत्ती जसले गर्दा यी सारा समस्या भइरहेको थियो।
त्यसैगरी कम्युनिष्ट राज्य चीनमा भएको भँगेरा सखाप क्यामपेनको बारेमा पनि हामी प्रायलाई थाहा नै छ। भँगेराले धान खायो भनेर सारा भँगेरा सखाप पारियो तर धान खाने भँगेरा होइन रहेछ, धान खाने त धानमा लागेको कीरा पो रहेछ। संकीर्ण कीरा नदेखेर भँगेरा मात्रै देख्नु दृष्टि र बुद्धि दोष दुवै हो। जसरी प्रमुख समस्याको जड पत्ता नलगाउँदा १९६० मा चीनले जुन दुर्गति भोग्नुपर्यो त्यस्ता दुर्गतिहरू हामीले बारम्बार भोग्न नपरोस्।
स्मारकको केमिकल , कीरा खाने भँगेरालाई जस्तै हामीले अहिले हाम्रो नामको पछाडि झुण्डाएको थर नै प्रमुख समस्याको जड हो भनेर सोचिरहनु गलत छ। थर परिवर्तनमा समस्याको समाधान खोज्नु भनेको स्मारकमा धेरै केमिकल खनाउनु हो। हामीले हाम्रो जीवनमा जुन चिजलाई समस्याको जड भनिरहेका हुन्छौ, आखिर त्यो नै प्रमुख जड नहुन पनि सक्दछ। हाम्रो समस्या एउटा भइरहेको हुन्छ तर अर्को चिजलाई समस्या भनेर त्यसलाई उखलेर फाल्ने प्रयास जीवनभर गरिरहन्छौं। तर वास्तवमा प्रमुख समस्या त समस्या कै रूपमा सधैं रहिरहन्छ । अनि जबसम्म प्रमुख समस्याहरूको समाधान हुँदैन तबसम्म केही चिजको पनि असल परिणाम आउँदैन।
बहुनले दलितको थर र दलितहरूले बाहुनको थर राख्दैमा समाजमा समानता आउँदैन। जबसम्म भेदभाव , छुवाछूत सम्बन्धीमा संकीर्ण सोचमा परिवर्तन आउँदैन र योसँगै देशको हरेक कुना-कुनामा नयाँ सोच पुग्दैन, प्रमुख सरकार र राज्य सरकारबाट कडाभन्दा कडा कानुनको व्यवस्था हुँदैन र अपराधीहरूलाई दण्ड दिने काममा प्रशासनीय प्रक्रियाको जबसम्म ढिलाई भइरहन्छ तबसम्म यो भेदभाव र छुवाछूत थर झैं पुस्तौपुस्तामा हस्तान्तरण भइरहन्छ।