समाजबिना मानिसको अस्तित्व कल्पना बाहिरको कुरा हो। मानिसका मान्यताहरू जीवित रहने स्थान पनि समाज नै हो। जसमा शक्ति संघर्षको महत्वपूर्ण योगदान रहँदै आएको देखिन्छ। मानिसले निर्माण गर्ने मान्यता र सोचहरूले समाजका आधारस्तम्भहरू खडा गरिँदै आए योसँगै मानिसको चेतना एउटा समयदेखि अर्को समयसम्म सँगसँगै हिँडिरहन्छ।
तर बेलाबेलामा निहित सामाजिक चेतका असामाजिक त्यान्द्राहरू विभिन्न घटना र परिघटनाहरूले भत्काइरहेका हुन्छन्। कतिपयले नयाँ स्वरूप लिन्छ भने कतिपय निरूत्तरितरूपमा नै मौन भएर उभिरहन्छन्, र पुनः कुनै न कुनै रूपमा फेरि जीवित भैरहेका हुन्छन् , तर यी घटनाले समाजका चलायमान मान्यतालाई प्रतिबिम्बित गर्ने गर्दछ ।
हाम्रो समाज अग्रगमनको बाटोमा हिँडिरहेको दम्भ भइरहेको भ्रमलाई वरपर घटिरहेका घटनाले सरलक्कै सय वर्ष अघिकै समाज पहिलेकै परिदृश्यमा हिँडिरहेको भान गराइदिन्छ। अनि यो दौरानमा भएका सामाजिक– राजनीतिक क्रान्ति र विकासभित्रका मर्महरू के भ्रममात्रै हुन् त ? ती क्रान्तिको आसय पनि फगत केही विशेष वर्गका निम्ति सत्ताप्राप्त गर्न सकिने खुड्किला मात्र सावित भए त? वर्तमान समय साक्षी बनेको छ- रुकुमको चौरजहारी घटनाको, जसले हामी बाँचिरहेको समाजमा निहित मनस्थितिका नराम्ररी धज्जिया उडाएको छ।
उक्त घटना नांगो स्वरूपमा हाम्रोसामु यसरी उभिएको छ कि यो नरसंहारको घटनाले जन्माएको समाजको वास्तविक स्वरूपलाई नजरअन्दाज गर्न सकिँदैन र हुँदैन पनि किनभने यसले वास्तविक मानव विकासलाई लछारपाटो नलाएको संकेत गराइरहेको छ।
हामीलाई थाहा छ विगतको जनआन्दोलनले असमानताका जराहरू समाजबाट उखेलेर फाल्ने संकल्प गरेको थियो र उत्पीडित वर्गलाई समतामूलक समाजको निर्माणको सपना पनि देखाइएको थियो।
संविधानमा सुनौला अक्षरहरूमा छुवाछूतमुक्त राष्ट्र निर्माणको बिगुल फुकिएको निक्कै समय बितिसकेको छ। आदर्श समाज कल्पना गर्दै हिँडेको हाम्रो चेतको विद्रुप स्वरूप रुकुमको चौरजहारीको घटना हो जसले समाजमा गडेर रहेका आस्थाहरूलाई यसबखत पोस्टमार्टम गरिरहेको छ।
म बाँचिरहेको समाज यस्तो स्वार्थपूर्ण ढंगले बुनिएको समाज हो जहाँ राजनीतिक पार्टीका एजेन्डा हुन वा सत्तामा पुग्नका लागि गरिने रणनीति, छुवाछूतलाई सम्बोधन गर्ने “चेत”लाई पनि सत्तामै पुग्ने रणनीतिका रूपमा लिइँदै आएको छ। अथवा आवश्यकता अनुरूप शक्तिद्वारा नै जातीयता र छुवाछूतको विषय परिचालित भैरहेको हुन्छ।
आफ्ना इच्छा अनुसार बेलाबखत ब्युँताइन्छ, अंगालो हालेजस्तो गरिन्छ, वकालत गरिन्छ र स्वार्थको समाप्तिसँगै पुनः फोहोरकै कन्टेनरमा मिल्काइन्छ। पुनः आवश्यकता अनुरूप तिनमा चेतना भरिन्छ तथा निश्चित समयाअवधि सकिएको खण्डमा अचेत बनाइन्छ।
रुकुमको घटना भविश्यका लागि दर्दनाक इतिहास बनेको छ। जसलाई भविश्यमा लज्जित हुनुपर्ने हो वा सत्ता र शक्तिका चलखेलका कारण यो घटना तोडमोड हुने हो, त्यो भविष्यको कुरा हो, तर वर्तमानमा समस्त मानवीय संवेदनाका निम्ति धब्बा बन्न गएको कुरामा शंकै छैन।
हामीले लोकतान्त्रिक नेपालको सपना मज्जासँगै बुन्यौ जो संविधानका सफा पानाहरूमा काला अक्षरहरूमा टल्किरहेका छन्। तर समाजको लोकतान्त्रीकरण गर्न वा समाजको स्वरूप फेर्न त्यति सहज हुँदैन रहेछ भन्ने कुराको बोध समाजमा घटिरहेको घटनाहरूले बेलबेलामा प्रष्ट पार्दै आएका छन्।
समाजमा घट्ने यस्ता घृणित घटना आइरहँदा हाम्रो वरपर एउटा शब्द नाँचिरहन्छ: “समाजिक संरचना”।
कुनै पनि भौतिक संरचना निर्माणका लागि इँट्टा , माटो , सिमेन्ट आदिको आवश्यकता रहन्छ, त्यो निर्माण भइसकेपश्चात त्यसलाई भत्काउने काम जटिल हुन्छ जति बन्दै गर्दाको अवस्थामा पुनर्निर्माण गर्न सहज हुने गर्दछ। राजनीतिमा गरिएको युगान्तकारी परिवर्तनले सोच र यथास्थितिवादमा कुनै परिवर्तन ल्याउन सकेको छैन।
सामाजिक संरचनालाई सम्बोधन गरिनु भनेको क्षणिक आवश्यकता हुँदै गएको प्रष्ट छ।
हो, कानुन बनाउने कुरामा नेपाल अघि दर्गुन खोज्छ, तर जड वस्तुस्थिति तीभन्दा भिन्न हुने गरेका छन्।
कतिपय कुरीतिहरूलाई हटाउन कानुन बनाइन्छ। तर केका आधारमा , राज्यले मानिसको मनोविज्ञानमा पनि काम गर्ने दायित्व पनि राज्यकै होइन् र ? अर्थात समाजको सोच र शक्तिको दम्भको सिकार कमजोर ठानिएको वर्गले कहिलेसम्म झेल्नुपर्ने हो?
कहिलेसम्म समाजमा संचालित विभिन्न कुरीति र कुप्रथाहरूका नाममा विशेष वर्ग, लिंगले भोग्दै आइरहेको विभेदका श्रृंखलाहरूले पीडित बन्दै आइरहेका हुन्छन्।
यस्ता व्यवहारहरू हट्ने गतिमा छैनन्, बरु यी सन्दर्भले त समाज “ब्याक गेयरमा” गैरहेको कुरालाई थप पुष्टि गरिरहेको हुन्छ। यो घटनाले हाम्रो समाजमा जात , लिंगकै आधारमा गरिने कतिपय असमान रवैयाहरूको वेगलाई सम्झाइरहेको छ।
कथित सानो जात र ठूलो जातको खेलमा पनि युगौंदेखि जकडिएर आएको व्यवहारगत दृष्टिकोण मुख्य कारण हो। जसलाई सदैव धर्मको उच्चता र संस्कारसँग लगेर जोडिन्छ।
जतिसुकै चेतनशील हुने दम्भ गर्ने हिम्मत गरेता पनि अहिलेको पुस्ताले, अघिल्लो पुस्ताले कथित तल्लो जातसँग गरेको व्यवहारका दृश्य आजीवन मन र मस्तिष्कमा कैद भैरहेका हुन्छन्। जसले उनीहरूसँग गर्ने तल्लो र उपल्लो दर्जाको मनोविज्ञान सहजै उत्रिँदैन।
कयौं प्रकारका असमानता समाजमा निकै समयदेखि नै अस्तित्वमा छन्। जसले अन्ततः मानिसलाई मृत्युवरण गर्न बाध्य तुल्याउँदै आएका छन्। चाहे त्यो कथित तल्लो उपल्लो जातका कुरा हुन् , बोक्सीका कुरा होस् वा अन्य यस्तै प्रकारका विभेदले सृजना गर्ने घटनाका परिणामहरू नै।
सुदूरपश्चिमवासीका नाताले यो घटनाले झस्काएको विभिन्न विभेदका रूपमा एउटा स्वरूप यहाँ वर्षौंदेखि मानिँदै आएको छाउपडीको कुप्रचलन समेतलाई सम्झाएको छ।
यहाँ यही कुसंस्कारकै कारण एउटा महिलाले आफ्नो शरीरमा हुने प्राकृतिक परिवर्तनप्रति पनि अपराधबोध गरिरहनु पर्ने अवस्था विद्यमान छ। सधैं आफ्नो रगतलाई “पाप” का रूपमा लिन बाध्य छन्। यसविरूद्ध राज्यले बनाएको कानुन पनि छ,तर कानुनी प्रक्रियाका दृष्टिले होस् वा मानिसको सोचाइमा, यसले कुनै परिवर्तन ल्याएको देखिँदैन। बरु पत्रिकाका फ्रन्टपेजमा आउने छाउगोठमा महिलाका मृत्यु र बलात्कार घटना बेलाबेलामा आइरहेकै हुन्छन्।
के त्यो वास्तवमै हत्या होइन? के केवल सर्पको डसाइ हो वा हाम्रो वर्षौंदेखि जकडिएर रहेको सामाजिक संरचनाको डसाइ हो त्यो? छाउगोठ भत्काउन त सजिलो छ, ती त फगत माटोका गाराले उभ्याइएका गुफाहरू न हुन्। के ठूलो कुरो भयो ती भत्काउन र तर के कुसंस्कार र कुपरम्परा भत्काइ यत्ति सजिलो छ र?
कागजी रूपमा बनेका कानुनसँग कहिलेसम्मको विरोधाभासको स्थिति भइरहने हो! अचार वा फर्सीका लहरा कुनै अन्य कारणले कुहिँदा पनि महिलाको रगतमाथि शंका गरिने दयनीय मानसिकता कहिलेसम्म झेल्नुपर्ने हो! त्यो रगत जसमा सृजना छ त्यो कसरी विनाशकारी हुनसक्छ ? यसविरूद्ध गर्न खोजिने प्रश्नहरू समाज दिन चाहँदैन। ती निरूत्तरित नै रहेका हुन्छन्। किनभने त्यहाँ महिलालाई तल्लो दर्जाको रुपमा व्यवहार गरिनुपर्ने सशक्त माध्यम रजस्वला बन्दै आएको छ।
मलाई थाहा छ छाउ अर्थात् रजस्वला हुनु पाप होइन बरु यो बखत कुनै कुरा छोइएका खण्डमा अशुद्ध वा अपराधबोध ममा हुनुहुँदैन। तर मैले देखिरहेको हुन्छु शिक्षित र सचेतवर्ग समेत यसविरूद्ध बोल्न हिच्किचाउँछन्।
किनभने यहाँको संस्कारहरूले परिवेशको निर्माण यसरी गरिदिएको छ कि परिवारमा जुनसुकै विपत वा अप्ठ्याराका घटनाहरूमा महिलाको रजस्वला राम्ररी नबारिएको कुरालाई धर्मसँग ल्याएर जोडिन्छ।
मन नलागी नलागी यो कुप्रथा मान्न बाध्य भइरहेका महिला पनि छन् तर बोल्न चाहँदैनन् किनभने उनीहरूलाई थाहा छ , यदि कसैले यो संस्कारलाई भत्काउन खोजेमा समाजमा उनीहरूलाई समाज भाँड्ने आक्षेप लाग्ने त्रास बढी छ। अनि प्रश्न आफ्नो समाजको निरिहतातर्फ तेर्स्याउन मन लाग्छ , के कुनै जादूको छडी पाउन सकिएला जसले यस्ता कुसंस्कारहरूको अन्त्य गर्न सक्छ? समाजमा महिलाहरू बारम्बार बलात्कृत भइरहेका छन्।
यो कुकृत्यको सिकारमा उमेर, जात, नाताहरूको कुनै बन्देज छैन। यो पनि एकप्रकारले सानो लिंग र ठूलो लिंगकै मानसिकताको उपज मान्न सकिन्छ। महिला भोग्या वस्तु हो र उनीहरू कुनै पनि सम्बन्ध र दृष्टिमा उपयोगमात्र गरिनुपर्ने वर्ग मानिँदै आएको छ।
समाजमा सानो र ठूलोबीचको खाडल पुरिएको छैन। चाहे त्यो जातको होस्, लिंगको, धनी गरिब वा अन्य कुनै। यो कहिलेसम्म मानिसको मस्तिष्कमा बसिरहने हो त्यो पनि अनुमान लगाउन नसकिने यथार्थ बनेको छ। किनकि सामाजिक विचलनका स्वरूपहरूका जरा धर्ममा , मान्यतामा, शक्ति , सत्तासँग प्रत्यक्ष वा अप्रत्यक्षरूपले हाम्रो समाजमा शासन गर्दै आइरहेका छन्। कथित ठूलो जातको , लिंगको दलहनको पेलान समाजमा कहिलेसम्म रहिरहने हो अर्थात् यसका छिटाहरू कति समयसम्म सुक्दै नसुकी रहिरहने हुन् यो प्रश्न ज्यादै टड्कारो प्रश्न बनेको छ।