विचारका आधारमा चल्ने र अरुलाई आफ्नो विचारको प्रभावमा पार्न सक्ने प्राणी मानिस मात्र हो। तर विचार के हो र मानव मस्तिष्कमा कसरी पैदा हुन्छ? समाजमा कसरी फैलिन्छ वा तुहिन्छ? कसरी विचारले अत्याधिक मानिसलाई प्रभावमा पार्दै आफ्नो सशक्त उपस्थिति देखाउदँछ भन्ने सवालमा हजारौँ वर्षदेखि दार्शनिक, तथा वैज्ञानिकहरुले चिन्तन मनन तथा अनुसन्धान गर्दै आइरहेका छन्।
चिन्तन र विचारको संसार आकाशजस्तै अनन्त छ। आधुनिक युगमा विचार तथा चिन्तन बिनाको मानिस मानवीय परिभाषा र विशेषतामा आउन सक्दैन। विचार वा चिन्तनले नै मानिसलाई सामाजिक प्राणी बनाउदै विविध विचार समूहमा आवद्ध गराएको हो। अतः विचार वा चिन्तनको सर्वोच्चता नै ज्वलन्त मानवीय विशेषता हो।
विचारमाथि समाजको प्रभाव कि समाजमाथि विचारको प्रभाव? विचारमाथि तत्वको प्रभाव कि तत्वमाथि विचारको प्रभाव? भनेर पनि बहुतै चिन्तन् मनन् तथा बहस भएका छन्। सम्पूर्ण जगत तथा सृष्टिकै साझा भलाई हुने विचार निर्माणमा अनेकौँ सन्त-महन्त, फकीर, वैज्ञानिक तथा दार्शनिकहरूले आफ्ना जीवनहरू अर्पण गर्दै आएका छन्। मानव इतिहासमा मानिसको स्वार्थमा प्रतक्ष प्रभाव पार्ने विचारहरूमा प्रतिवाद र विमतिका विचार जन्मे। मानिसको स्वार्थलाई प्रभाव नपार्ने विचार परम्परागत सूत्र तथा मान्यताको रुपमा रहे।
जस्तो कि गणित वा विज्ञानका अधिकांश सूत्रहरूले मानिसको मानवीय स्वार्थमा प्रत्यक्ष प्रभाव नपार्ने भएकोले ती विचार न्यूनतम आलोचित हुँदै साझा सूत्र भएर रहे। उदाहरणका लागि बिज गणितका स्वयं सिद्ध तथ्य तथा त्यसमा आधारित सरल तथा जटिल सबै प्रकारका सुत्रहरु, ज्यामितीका स्वयं सिद्ध तथ्यहरु तथा त्यसमा आधारित विचारका शृंखलाहरु।
अर्को तर्फ मानिसको स्वार्थमा प्रत्यक्ष प्रभाव पार्ने विचारहरूमा समर्थन, वादविवाद, प्रतिवाद हुनुको साथ साथै विमतिका विचार जन्मे। उदाहरणका लागि, समाजशास्त्रका, राजनीतिशास्त्रका, अर्थशास्त्रका विचारहरु जो आफैमा संरचनागत रुपले विशुद्ध गणितशास्त्रका विचारभन्दा बढी तरल छन्, त्यसैले तिनीहरु बढी आलोचित तथा बढी परिमार्जित हुने गर्दछन र तिनीहरु अधिकांश व्यक्ति, समय, र स्थान अनुरुप व्याख्या हुने गर्दछन्।
जसरी विचार निर्माणको प्रक्रिया जटिल छ, त्यसैगरी निर्मित तथा संप्रेषित विचारले समाजमाथि पार्ने तत्कालिन तथा दीर्घकालिन असर त्योभन्दा जटिल छ। विचारको संसारमा, विज्ञान, ज्ञान, राजनीति, अर्थनीति, भूगोल, खगोल, इतिहास, भविष्य आदि विविध विधाका विचार समेटिएका छन्। विश्व मानव सभ्यताको इतिहासको विशेषता नै छ, विभिन्न कालखण्डमा विविध विचारको विविध प्रभाव, सृष्टिकालदेखि नै मानव समाजमा पर्दै आएको छ। यिनै असंगठित विविध विचार, चिन्तन, खोज र आविष्कारको स्थायी, संगठित, पद्धतिगत र संस्थागत स्वरुप विश्वविद्यालय हुन्।
सामान्यतः विचार निर्माण प्रक्रियामा विद्यालय, विश्वविद्यालय, राजनीतिक दल, धार्मिक समूह तथा सञ्चार माध्यमको अत्यधिक प्रभाव समाजका बहुसंख्यक सदस्यमा पर्दछ। समाजमा विचार निर्माणको प्रक्रियामा प्रभाव पार्ने केही संघटक तत्व र विशेषतः विश्वविद्यालयको भूमिकालाई बुझ्नु जरुरी हुन्छ।
आधुनिक तथा उच्चतम शिक्षित व्यक्तिको जीवनको धेरै समय विद्यालय तथा विश्वविद्यालयमा व्यतित हुन्छ। आधुनिक विचारले विद्यालयललाई ‘समाजको आँखा’ र विश्वविद्यालयलाई ‘सामाजिक परिवर्तनको द्वार’ मान्दछ। मानिसको उच्चतम चिन्तन, विचार र अनन्त खोजको भूमिकाले गर्दा यसो भनिएको हो। साधारणयता, एउटा व्यक्तिले जीवनको सुरुआती चरणको १८ वर्षको उमेरसम्म विद्यालय तथा त्यसपछि अरु केही समय विश्वविद्यालय शिक्षा हासिल गर्न बिताउँदछ। मानव जीवनको कालखण्डमा उक्त अवधि व्यक्तिमाथि अरुको विचारको प्रभाव अत्यधिक पर्ने समय हो।
विद्यालय तथा विश्वविद्यालयले अंगिकार गरेको विचारको अत्याधिक प्रभाव विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीमा पर्दछ र कालान्तरमा समग्र समाज माथि। तसर्थ हाम्रा विद्यालय तथा विश्वविद्यालयले कस्तो प्रकारका विचारलाई अंगिकार गरेका छन् भनि घनिभूत छलफल हुनु पर्दछ। एकातिर विद्यालय तथा विश्वविद्यालयले अंगिकार गर्ने विचार धेरै तत्वमाथि आधारित हुन्छ भने अर्कोतिर धेरै तत्वले असर पारिरहेको हुन्छ।
जस्तै शिक्षकको छनौट, पाठ्यक्रम निर्धारण, पुस्तकहरूको चयन, विद्यार्थीको छनौट, स्थान तथा पूर्वाधारको छनौट, सुविधा, सहुलियत र दायित्वको वितरण वा बाँडफाँड, शैक्षिक–दर्शनको निर्धारण, इत्यादी।
शिक्षालय भनेको, ज्ञानको किनबेच (मात्र) हुने, क्रेता तथा बिक्रेताको थलो होइन र कदापी हुनु पनि हुँदैन। ज्ञानको किनबेच गर्नु उचित हो कि अनुचित हो? त्यो दार्शनिक बहसको अर्को पाटो हुनसक्छ। शिक्षालयको आधारभूत जिम्मेवारी के हो? अन्धविश्वासी विचारमाथि विजय पाउन सामाजिक रुपान्तरणको क्रममा वैज्ञानिक शिक्षाको योगदान कदापी भुल्नु सकिन्न। यो योगदानमात्र शिक्षालयको जिम्मेवारी कदापी होइन।
शिक्षालयले आफ्ना विद्यार्थीलाई विशुद्ध प्राविधिक तथा यान्त्रिक मानव बनाउने कि प्रजातन्त्र प्रति आस्था राख्ने, सामाजिक न्यायमा विश्वास राख्ने, वैज्ञानिक ज्ञान तथा सीप भएको, समाजप्रति उत्तरदायी सामाजिक मानव बनाउने? आजको परिप्रेक्षमा यो सोचनीय विषयमाथि यथेष्ट घनिभूत छलफल नै हुनसकेको छैन।
विद्यार्थीको विचार निर्माण प्रक्रियामा शिक्षालयको भूमिका कस्तो हुनु पर्दछ? भविष्यको समाज कस्तो हुनु पर्दछ? हामी भविष्यमा कस्तो समाजमा जीवन जिउन इच्छुक छौँ? यस्ता तमाम प्रश्नको उत्तर विद्यालय वा विश्वविद्यालयसँग हुनुपर्छ। किनकी शिक्षालयले अंगिकार गरेका विचार निर्माण प्रक्रियामा यस्ता सवाल आधारित छन्। विद्यालयभित्र हुने अतिरिक्त वौद्धिक क्रियाकलाप, साहित्य, संगीत तथा नृत्य, वैज्ञानिक प्रयोगहरू, नाटक वा खेलकूद, आदिले विद्यार्थीको सोच्ने पद्धतिमा फरक पारी दक्षता अभिवृद्धि गर्दछ।
अर्थात् सम्पूर्ण मानवीय क्रियाकलाप नै शिक्षाका लागि विचार तथा अनुभवको आधार हो। ज्ञान, विज्ञान र कलाको संयोजन र उपयोगिताको अवसर योग्य सबैलाई उपलब्ध हुनु विद्यालय वा विश्वविद्यालयको सार्थकता हो। विश्वविद्यालयभित्र अभ्यास गरिने प्रजातान्त्रिक पद्धति, विचार र आचरणले विद्यार्थीमा मात्र होइन, प्राध्यापक, अनुसन्धानकर्ता र कर्मचारीको स्वभाव र क्रियाकलापमा पनि उल्लेखनीय प्रभाव पार्दछ।
अप्रजातान्त्रिक वातावरणमा हुर्केका विद्यार्थी वर्गबाट भविष्यमा प्रजातान्त्रिक समाजको कल्पना कदापी गर्न सकिन्न। विश्वविद्यालय भनेको स्थुल शक्तिको होडबाजी होइन वैचारिक तथा विवेकशील प्रष्पिर्धाको अभ्यास गरिने शान्तिक्षेत्र हो। अमानवीय तथा अप्रजातान्त्रिक वातावरणमा हुर्केको तथा सिकिएको ज्ञानले निर्जिव वस्तुलाई वैज्ञानिक ढंगले प्रयोग गर्न निपुर्णता हासिल गर्न सहायक होला, तर त्यस्तो ज्ञान आमरुपमा जीवनउपयोगी हुन सक्दैन।
जब ज्ञान र अनुभव जीवन उपयोगी हुन सक्दैन, तब विद्यालय वा विश्वविद्यालयको भूमिका, सान्दर्भिकता र औचित्यमाथि प्रश्न उठ्न जान्छ। यस्तो प्रश्न उठ्न नपाओस् भन्नेमा स्वयं विद्यालय वा विश्वविद्यालय जिम्मेवार हुनुपर्छ।
समाजमा विचार निर्माणको प्रक्रियामा राजनीतिक दलको प्रभाव उल्लेखनीय हुन्छ। राजनीतिक दलले आफ्ना कार्यक्रम र कार्यकर्ता मार्फत समाजमा निरन्तर विचारको निर्माण गरिरहेका हुन्छन्। नेपालजस्तो मुलुकमा त राजनीतिक दलहरूले हस्तक्षेपकारी विचारकै निर्माण गरिरहेका हुन्छन्। दलका सक्रिय तथा प्रभावशाली व्यक्तिले बोले–गरेका क्रियाकलापले तमाम कार्यकर्ता, समर्थक तथा शुभचिन्तकमा असर परिरहेको हुन्छ। तसर्थ राजनीतिक नेतृत्व विचार प्रवाहमा उच्च सुझबुझ र दूरदर्शिता अपनाउन सक्षम छ भने सामाजिक चेतनामा त्यसको सार्थक र फलदायी प्रभाव उत्पन्न हुन्छ।
सरकारले पनि राजनीतिमा सक्रिय व्यक्तिहरुको लागि समसामयिक विषयमा नियमित अध्ययन गर्ने गराउने व्यवस्थामा विश्वविद्यालयहरूसँग सहकार्य गर्नु आवश्यक हुन्छ। राजनीतिक दलहरु आफ्ना वैचारिक दक्षताका लागि विश्वविद्यालयसँग सहकार्य गर्न तत्पर रहन्छन्, नारा होइन निष्ठा तथा प्रतिवद्धताको विकास गर्न र सामाजिक परिवर्तन तथा राजनीतिक सुधारका लागि तत्पर हुन्छन् भने राजनीति, समाज, विश्वविद्यालय र समग्र राष्ट्रको वैचारिक तह उच्च भएर आउँछ।
विश्वविद्यालयहरूले समाजमा उत्तेजना होइन, चेतना, भ्रम होइन। सत्य, कोरा ज्ञान होइन, प्रमाणसिद्ध ज्ञान–विज्ञानको विकासमा योगदान पुर्याएर आफ्नो नाममा रहेको ‘विश्व’ को व्यापकता सार्थक गर्न आफ्नो भूमिकामा निरन्तर उन्नत र विस्तार गर्ने चेष्टामा हुनुपर्छ। दलका सदस्यहरुले नियमित रुपले उच्चकोटीको अध्यनद्वारा हासिल गरेको ज्ञानले मात्र राजनीतिक दल रचनात्मक राजनीतिक–सामाजिक विचार निर्माणको प्रक्रियामा खरो उत्रन सक्दछ।
समाजमा विचार निर्माणको प्रक्रियामा सधैँ सशक्त प्रभावका साथ उपस्थित हुने अर्को महत्वपूर्ण पक्ष सञ्चार माध्यम हो। पत्रपत्रिका तथा अनलाइन सूचनाहरू शिक्षित तथा सुविधा सम्पन्न वर्गका लागि र रेडियो तथा टेलिभिजन सुविधासम्पन्न स्थान र वर्गदेखि अशिक्षित तथा दूरदराजसम्म चेतना फैलाउनका लागि प्रभावकारी हुन्छन्। आजको युगले ‘सूचना नै शक्ति हो र समय भनेको पैसा हो’ भन्ने मान्यता राख्दछ।
सञ्चार माध्यमहरूबाट नियमित रुपमा कुन स्तरको विचार सम्प्रेषण भैरहेको छ र त्यस बारेको जनप्रतिक्रिया कस्तो हुने गरेको भन्नेमा सुक्ष्म मूल्यांकन पद्धति हुनुपर्छ। क्षणिक लाभ–हानीको सोचबाट सदैव माथि उठेको खण्डमा प्राणी तथा बनस्पति मात्रको हित हुने विचार निर्माण कार्यमा योगदान पुग्न सक्दछ।
आज सूचना प्रविधिमा भएको युगान्तरकारी प्रगतिले अधिकांश जनसमुदाय, विशेषगरी युवापुस्ताको हातहातमा इन्टरनेट जडित मोबाइल फोन छ। युवा पुस्ता अनलाइन पत्रपत्रिका अनेकौँ विद्युतीय सञ्चार माध्यमको अधिपति भएको छ र सामाजिक संजालको प्रयोगमा अग्रणी स्थानमा छ। सबै इन्टरनेटमा उपलब्ध सामग्री विश्वसनीय तथा मानव कल्याणको दृष्टिले उपयुक्त हुँदैनन्। कतिपय सामग्री केवल भ्रामक तथा वैचारिक अराजकता र उत्तेजना फैलाउने क्षणिक र स्तरहीन हुन्छन्।
स्तरहीन र अराजक सूचना इन्टरनेटद्वारा समाजमा फैलाउने अनि ठुलो जनसमूहले त्यहिअनुरुप आफ्नो विचार निर्माण गर्ने कार्यले समाज आक्रान्त भएको छ। जब युवा पुस्ता, गहन लेख, रचना तथा आधारिक पुस्तक अध्यन नगरी सतही र षड्यन्त्रकारी हल्ला र भ्रममा भर पर्दछ तब समाजको रचनात्मक विचार मर्दछ, जसको महँगो मूल्य समाजले चुकाउनु पर्ने हुन्छ। धार्मिक, तथा आध्यामिक समूहले निर्माण गरेको विचारलाई अर्धचेतनशील समाजले त अकाट्य रुपमा नै धारण गर्ने गर्दछ।
यस्तो समुह वा वृत्तबाट धर्म र संस्कृतिको नाममा अन्धविश्वास, भ्रम, कर्महिनता, जस्ता विकृति र विसंगति पनि भयावह हुन्छन्। हाम्रा विद्यालय, विश्वविद्यालय र ज्ञान तथा चेतनाका स्रोतहरूले यस्ता विसंगति र कुप्रवृत्तिलाई चिर्नुपर्ने चुनौती विद्यमान छ।
सभ्य तथा विकसित समाजमा जबजब विद्यमान विचारमा प्रश्नचिन्ह लाग्दछ, वा विचारमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकताको महशुस हुन्छ, तब विश्वविद्यालय तथा अनुसन्धान केन्द्रले त्यसमाथि मिहिन चिन्तन, अध्ययन–अनुसन्धान गर्नुपर्ने हुन्छ। वर्षौँसम्म एउटै विषयमाथि, नियमित रुपले यदि विचारविमर्श, चिन्तन मनन, अध्ययन–अनुसन्धान हुन्छ भने त्यो केवल विश्वविद्यालय तथा अनुसन्धानकेन्द्रमा मात्र सम्भव हुन्छ।
तसर्थ, देशको आजको आवश्यकता भनेको विद्यालय तथा विश्वविद्यालयभित्र मानवीय तथा प्रजातान्त्रिक वातावरणको जगेर्ना गर्दै, गहन, तार्किक चिन्तन प्रणालीको विकास गर्दै, मानवीय समाजको रचनात्मक विचार निर्माण गर्ने उच्चकोटीको मानव पात्रको निर्माण गर्नु हो, न कि कोरा वा यान्त्रिक ज्ञानले मात्र भरिएका, समाजप्रति अनुत्तरदायी, मौद्रिक नाफा–नोक्सानबाट मात्र निर्देशित प्रमाणपत्रधारी यान्त्रिक मानव उत्पादन गर्नु हो।